Successfully Copied

वर्षका चर्चित महिला

समयको गति एउटै हुँदैन । समयले कसैलाई उचाइमा पुर्‍याउँछ भने माथि पुगेका कतिपयलाई तल झारिदिन्छ । कोही आफ्नै पौरखले माथि पुग्छन् । कसैलाई भाग्यले साथ दिन्छ भने कसैका लागि समय बलवान् भएर आइदिन्छ । कतिपय मानिस ठूलो मेहनत गर्दागर्दै पनि समय र भाग्यले

समयको गति एउटै हुँदैन । समयले कसैलाई उचाइमा पुर्‍याउँछ भने माथि पुगेका कतिपयलाई तल झारिदिन्छ । कोही आफ्नै पौरखले माथि पुग्छन् । कसैलाई भाग्यले साथ दिन्छ भने कसैका लागि समय बलवान् भएर आइदिन्छ । कतिपय मानिस ठूलो मेहनत गर्दागर्दै पनि समय र भाग्यले साथ नदिँदा अलिकति पछाडि हुन पुग्छन् । वर्ष २०७२ नेपाली महिलाका लागि यस्तै उतारचढावयुक्त वर्ष रह्यो । 

वर्षको सुरुमै आएको विनाशकारी भूकम्पले धन–जनको क्षति हुँदा त्यसको सोझो असर महिला एवं बालबालिकाहरूमा पर्‍यो । अन्नपात पुरिँदा र मृत्युको त्रासले घेरिँदा पनि महिलाहरूले भान्सामा बसेर खाना बनाएर परिवारलाई ख्वाइरहेको दृश्यबाट उनीहरूको आँटिलो स्वभाव राम्रैसँग अनुभव गर्न पाइयो । सयौंंपटक पराकम्प जाँदा पनि महिलाहरूको विश्वास घरबाट बाहिर गएन । भूकम्पले हल्लाएका बेला घरबाहिर निस्किएको एकैछिनमा उनीहरू पुन: घरको काममा व्यस्त भैरहेको देखिनु वर्षकै सबैभन्दा ठूलो आश्चर्यपूर्ण दृश्य रह्यो । जसलाई विदेशी सञ्चारमाध्यमहरूले पनि महत्व दिए । पछिल्ला केही वर्षमा आर्थिक क्षेत्रमा नेपाली महिलाहरूले राम्रै प्रगति गरिरहेका थिए तर भूकम्प र त्यसपछि लगत्तै भएको भारतीय नाकाबन्दीका कारण यो वर्ष महिलाहरू निस्सासिन पुगे । एलपी ग्यासमा खाना पकाउने बानी परेका लाखौं महिला आफ्नो परिवारको पेटमा तातो खाना कसरी पुर्‍याउने भन्ने चिन्ताले छटपटिए । आर्थिक गतिविधिमा आएको नकारात्मक प्रभाव उनीहरूको रोजगारीमा पनि पर्‍यो । यो वर्ष धेरै महिलाले जागिर गुमाए । वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या पनि घट्यो । समग्रमा यो वर्ष महिलाहरूका लागि नकारात्मक साबित भयो । 

यति हुँदाहुँदै पनि वर्ष २०७२ ले केही स्टार जन्माएको छ । केही सकारात्मक समाचारले आशा जगाएको छ  । देशले धेरै क्षेत्रमा महिला नेता जन्मायो भने केही कुरामा ऐतिहासिक उपलब्धि नै कायम गर्‍यो । यो वर्ष राजनीति, न्यायालय, खेलकुद र सामाजिक क्षेत्रमा महिलाहरूले सफलताका ठूला–ठूला झण्डा गाडे भने समाजसेवा र सहकारीको क्षेत्रमा संख्या र गुणात्मक दृष्टिले पुरुषहरूलाई पनि पछाडि पारे । केही वर्षदेखि महिलाका नाममा घर–जग्गा किन्ने क्रम बढेको थियो । यो वर्ष महिलाको नाममा सम्पत्ति थपिने क्रम पनि जारी रह्यो । यही गतिमा महिलाहरूले घर–जग्गा किन्ने ट्रेन्ड कायम रहे आगामी एक दशकपछि महिलाको हातमा पुरुषजत्तिकै अचल सम्पत्ति हुने अनुमान गरिन्छ । सरकारी सुविधा र महिलाको चेतनामा आएको परिवर्तन महिलाका क्षेत्रमा स्पष्ट देखिने परिवर्तन हुन् ।   

यही क्रममा धेरै महिलाले आफूलाई अब्बल नागरिकका रूपमा उभ्याए । देशका प्रमुख ५ पदमध्ये ३ वटा पद महिलाले प्राप्त गरे । यो समाचार विश्वकै लागि महत्वपूर्ण समाचार बन्यो । नेपाली महिलाको यो प्रगतिले समाजलाई ठूलो प्रभाव पार्‍यो । यद्यपि समाजका केही सेलिब्रेटीहरू भने विभिन्न किसिमका विवादमा मुछिए भने केहीले विभिन्न आरोपको सामना पनि गर्नुपर्‍यो । 

विद्यादेवी  भण्डारी, राष्ट्रपति 

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी भोजपुरकी विद्यादेवी भण्डारी उच्च शिक्षा अध्ययन गर्न विराटनगर पुगेपछि उनको सक्रियता ह्वात्तै बढ्यो । २०३७ सालमै उनी महेन्द्र मोरङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कोषाध्यक्ष निर्वाचित भइन् । त्यसको दुई वर्षमै उनको विवाह तत्कालीन मालेका प्रभावशाली नेता मदन भण्डारीसँग भयो । विवाहपछि उनको राजनीतिक सक्रियता घट्यो । त्यसपछि उनी छोरीहरू हुर्काउने काममा व्यस्त भइन् । २०५० साल जेठमा मदन भण्डारीको मृत्यु भएपछि उनी पुन: सक्रिय राजनीतिमा आइन् । त्यतिबेलै भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराएपछि उनी राष्ट्रिय राजनीतिको चासोमा परेकी  थिइन् । श्रीमती भण्डारीले दुईदशकसम्म एमाले निकट महिला भातृ संगठनको महिला अध्यक्ष भएर काम गरिन् । विद्याकै कार्यकालमा उनको संगठनले नेपालका महत्वपूर्ण पदमा महिलालाई ३३ प्रतिशत आरक्षण दिनुपर्ने माग उठाएको थियो । उनी दुई पटक पार्टीको उच्चतम पदमध्ये एक मानिने उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

वर्ष २०७२ मा यिनै विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । राष्ट्रपतिमा विद्यादेवी भण्डारीको पदग्रहणसँगै नेपाली महिलामा एक किसिमको उत्साह सिर्जना भएको छ । 

सुशीला कार्की, प्रधानन्यायाधीश 

वर्ष २०७२ सालले न्यायालयमा पनि महिलाको उपस्थितिलाई ऐतिहासिक बनायो । वर्षको अन्त्यतिर आइपुग्दा सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश सुशीला कार्की नेपालकी प्रथम प्रमुख न्यायाधीश बन्न पुगिन् । न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि तीन जना व्यक्तिलाई रिफारिस गर्नुपर्ने व्यवस्था छ तर कोही पनि प्रतिस्पर्धी नभएका कारण कार्की एकल सिफारिसमा परिन् । कार्की कानुनी राज्यको अवधारणा सुरु भएको ६५ वर्षपछि कानुनी क्षेत्रको सबैभन्दा उच्च पदमा पुगेकी हुन् । यसै वर्ष सुशीला कार्की प्रधानन्यायाधीश नियुक्ति गर्ने र देशका गम्भीर कानुनी प्रक्रिया केलाउने सबैभन्दा ठूलो पद न्यायपरिषद्की सदस्यसमेत भइन् । न्यायपरिषद्मा प्रधानन्यायाधीश, सर्वोच्चका बरिष्ठ न्यायाधीश तथा कानुन मन्त्री सदस्य हुने परम्परा छ । कार्की यही वर्ष बरिष्ठ न्यायाधीशमा बढुवा पनि भएकी थिइन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनुअघि न्यायपरिषद्ले उनलाई बरिष्ठ न्यायाधीशमा नियुक्ति गरेको थियो । 

२०६७ सालदेखि सर्वोच्च अदालतमा न्यायाधीश रहेकी सुशीला कार्की त्यतिबेला पनि कानुनी क्षेत्रको यो स्थानसम्म पुग्ने एक्ली महिला थिइन् । उनी न्यायाधीश समाजकी सदस्य एवं महिला न्यायाधीशहरूको अन्तर्राष्ट्रिय संगठनकी सदस्य पनि हुन् । उनी न्यायक्षेत्रमा हक्की एवं इमान्दार महिला मानिन्छिन् । न्यायालयमा हुने भ्रष्टाचार रोक्ने काममा पनि उनको सक्रिय योगदान छ । 

 

ओनसरी घर्ती, सभामुख

१० कक्षा मात्र पढेकी रोल्पाको किसान परिवारकी छोरी ओनसरी घर्ती मुलुकको प्रथम पाँच ठूला पदमध्ये एक सभामुख पदमा पुगेकी छिन् । वर्ष २०७२ ले ओनसरी घर्ती मगरलाई उच्च पदमा पुर्‍याएर आम नेपाली महिलाहरू पनि उच्च पदमा पुग्नसक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ । माओवादी सशस्त्र द्वन्द्वमा लाग्ने महिलाहरूमध्ये उनी पहिलो पाँच जनामध्ये एक थिइन् । रोल्पामा पहिलो पटक प्रहरी चौकीमा आक्रमण गर्न जाने दुई महिलामध्ये उनी एक थिइन् । ओनसरीको लडाकु स्वभावलाई मध्यनजर गर्दै माओवादीले उनलाई माओवादीको उच्च सैनिक कमाण्डर बनाएको थियो । पूर्वी पहाडमा माओवादी संगठन बढाउन उनले विशेष भूमिका निर्वाह गरेकी थिइन् । 

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी सभासद् भइन् र २०६७ सालमा युवा तथा खेलकुद मन्त्री । दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीका ठूला नेता पराजित हुँदा उनी रोल्पाबाट निर्वाचित  भइन् । एमाओवादीबाट निर्वाचन जित्ने उनी एक्ली महिला पनि हुन् । 

नवीना लामा, अध्यक्ष, अनेरास्ववियु

विद्यार्थीहरूको शक्ति ठूलो छ । कुनै पनि राजनीतिक मुद्दालाई स्थापित गराउन दलहरूले आफ्नो विद्यार्थी संगठनलाई उपयोग गर्दै आएका छन् । आजका विद्यार्थी नेताहरू नै भविष्यमा राष्ट्रका प्रमुख पदहरूमा पुगेका उदाहरण पनि प्रशस्तै छन् । त्यसैले पनि विद्यार्थी संगठनको प्रमुख हुनु आफैमा ठूलो कुरा मानिन्छ । नवीना लामाले यो वर्ष अखिलको आन्तरिक निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएर आफूलाई एमालेभित्र भोलिको नेतृत्वका लागि योग्य छु भन्ने कुरा प्रमाणित गरेकी छिन् । 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा यो वर्ष चर्चित हुनुको कारण यति मात्र होइन । उनी उक्त संगठनमा रामकुमारी झाँक्रीपछि अध्यक्ष पद हासिल गर्ने दोस्रो महिला हुन् । उनले यसअघि कुनै पनि निर्वाचन हार्नुपरेको थिएन । कक्षा आठदेखि नै अखिलको राजनीति गर्दै आएकी नवीना काभ्रेको दुर्गम गाउँको प्रतिनिधित्व गर्छिन् । राजनीतिमा निकै कम देखिने जनजाति महिला भएका कारण पनि उनी यो वर्ष सबैको आँखामा परेकी हुन् । 

वन्दना राणा, अधिकारवादी 

महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि लगातार काम गरिरहेकी वन्दना राणा यो वर्ष संयुक्त राष्ट्रसंघले प्रदान गर्ने ‘उमन अफ डिस्टिङ्सन–२०१६’ बाट सम्मानित भइन् । महिला अधिकार र सशक्तीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेबापत विकासोन्मुख देशका महिलालाई वार्षिक रूपमा प्रदान गरिने यो पुरस्कार अफ्रिकी अधिकारकर्मी अमिना महमदसँगै वन्दना राणालाई प्रदान गरिएको हो । साथी नामक गैरसरकारी संस्थाकी संस्थापक कार्यकारी अध्यक्ष राणा महिला अधिकारका क्षेत्रमा, पैरवी, अनुसन्धान, समुदाय परिचालन एवं लैङ्गिक समानताका लागि पुरुष सहभागिताका क्षेत्रमा सक्रिय छिन् । बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जाल तथा घरेलु हिंसाविरुद्धको राष्ट्रिय सञ्जालकी संयोजक राणा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष पनि हुन् ।

 

अनुपम रोशी, साहित्यकार 

वर्ष २०७२ मा धेरै पुस्तक प्रकाशन भए । त्यसमध्ये महिलाका कृति भने उति थिएनन् । प्रकाशनमा आएका महिलाका पुस्तकको पनि त्यति चर्चा हुन सकेन । यो वर्ष महिलाका कृतिहरूले नाम चलेका पुरस्कार पनि प्राप्त गर्न सकेनन् । यति हुँदाहुँदै पनि साहित्यकार अनुपम रोशीको चर्चा आकासियो । ‘नाङ्गो मान्छे, ‘कुमारी आमा’ जस्ता कृतिकी लेखिका अनुपमले ‘छोरी मान्छेले बच्चा जन्माउन विवाह गर्नुपर्ने बाध्यता छैन’ भनेर दिएको अन्तर्वार्ता गैरसाहित्यिक व्यक्तिहरूका लागि पनि आश्चर्यको विषय बन्यो । ‘साप्ताहिक’ मा प्रकाशित उक्त अन्तर्वार्ता इन्टरनेटमा भाइरल भएको थियो । उनका कृतिले पनि यस्तै वकालत गरेका छन् । अविवाहित अनुपम आफ्नो निर्णयमा अडिग रहेको बताउँछिन् । 

प्रकृति श्रेष्ठ, बडिबिल्डर

शारीरिक सुगठनमा महिलाहरूको ध्यान उति जाँदैन तर प्रकृति श्रेष्ठ फरक देखिइन् । प्रकृति अस्ट्ेरलियाको मेलबर्नमा भएको विश्वस्तरीय स्टार एण्ड रोकी अफ द इयर फिजिकल फिटनेस प्रतियोगितामा सहभागी मात्र भइनन्, प्रथम पुरस्कार नै हात पारिन् । त्यति मात्र होइन, उनले शारीरिक सुगठनका विभिन्न स्पर्धामा दुई स्वर्ण र एक रजत पनि हात पारिन् । अस्ट्ेरलियाको ओप्टस टेलिकम्युनिकेसन्समा टेक्निकल म्यानेजरका रूपमा कार्यरत प्रकृति यो पदक हात पारेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रैसँग छाएकी छिन् । 

मीरा राई, धावक

धनकुटाको दुर्गम गाउँ दुम्माकी मीरा राईले यो वर्ष विभिन्न देशमा ४ वटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिन् । २७ वर्षकी मीराले यो वर्ष मात्र इटाली, फ्रान्स र हङकङमा भएका अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा प्रथम पुरस्कार जितिन् । इटालीमा ५७ किलोमिटर दौडिएकी मीरा हङकङमा ५० किलोमिटर कुँदिन् । साढे पाँच घन्टामा पूरा गरिएको उक्त दौडले उनलाई एसियन च्याम्पियनसीप दिलायो ।

१५ वर्षको उमेरमा चरम गरिबीमा परेर उनले माओवादी द्वन्द्वमा लाग्ने निर्णय गरेकी थिइन् । अनमिनले अयोग्य लडाकु मानेर हटाएपछि उनको नेपाली सेनाको जवान हुने सपना अन्त्य भएको  थियो । यद्यपि अनमिनकै निगरानीमा हुँदा गरिएको खेलकुद अभ्यासले उनलाई अन्तर्राष्ट्रिय अवार्ड मात्र दिलाएन, संसार प्रसिद्ध पनि बनाइदियो । 

लाउरीमाया थामी

जुम्लामा रहेर छाउपडी प्रथा, बालविवाह, जातीय छुवाछूतविरुद्ध जनचेतना जगाउने काममा सक्रिय ६७ वर्षीया लाउरीमाया थामीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिन् । सामान्य साक्षर लाउरीमायालाई वुमन वल्र्ड समिट फाउन्डेसनले स्विट्जरल्यान्डमा सम्पन्न एक अन्तर्राष्ट्रिय समारोहमा उनलाई पुरस्कृत गर्‍यो । जीवनमा कहिल्यै काठमाडौं नआएकी लाउरीमायाले एकैपटक अन्तर्राष्ट्रिय पुरस्कार पाएकी थिइन् । पुरस्कार लिन स्विट्जरल्यान्ड जान नमानेपछि गाउँमै उक्त पुरस्कार पुर्‍याइएको थियो । उक्त संंस्थाले ग्रामीण क्षेत्रमै बसेर सामाजिक विभेदविरुद्ध काम गर्ने व्यक्तिहरूलाई पुरस्कृत गर्छ । प्रत्येक वर्ष संसारभरि खटिएका सयौं महिलामध्ये पहिले १० जना छान्ने र ती १० जनामध्ये पनि उत्कृष्ट कार्य गर्ने महिलालाई यो पुरस्कार प्रदान गरिन्छ । 

 

डा. सुशीला महर्जन, वैज्ञानिक

विश्वका युवा महिला वैज्ञानिकहरूलाई प्रदान गरिने विश्वप्रसिद्ध एल्सभायर विज्ञान पुरस्कार यो वर्ष सुशीला महर्जनले प्राप्त गरिन् । सुशीलाले नेपालको हिमाली क्षेत्रमा फैलने ‘स्ट्रेप्टोमाइसिन ब्याक्टेरिया’ सम्बन्धी अनुसन्धान गरेकी थिइन् । ५ हजार डलरको यो पुरस्कार पाउने उनी प्रथम नेपाली हुन् । सुशीलाले यही विषयमा विद्यावारिधि गरेकी हुन् । 

निमा घर्ती मगर, खेलाडी 

नेपाली खेलकुदमा यसपटक निमा घर्तीमगरले चमत्कार गरिन् । दक्षिण एसियाली खेलकुदमा रोल्पाकी १६ वर्षीया यी किशोरीले उसुको थाउलो स्पर्धामा १६ दशमलब ९१ अंक बटुलेर देशका लागि पहिलो स्वर्ण पदक मात्र हात पारिनन्, उसुमा रहेको सबै राष्ट्रिय रेकर्ड पनि तोडिन् । प्रवेशिका परीक्षा नजिकिएको अवस्थामा उनले पढाइ छाडेर भारतको आसाममा भएको साग प्रतियोगितामा भाग लिएकी थिइन् । निमाले जितेको स्वर्णका कारण साग खेलको सुरुमै नेपालको अवस्था आशाप्रद भएको थियो । 

गौरिका सिंह, पौडीवाज 

उनकी आमाले २०५० सालको एसएलसीमा बोर्ड फस्ट ल्याएर चर्चा कमाएकी थिइन् । त्यतिबेला छात्रा बोर्ड फस्ट हुनु निकै ठूलो कुरा थियो । वर्ष २०७२ मा छोरी गौरिका सिंह पौडीमा एक रजतसहित ४ वटा पदक हात पारेर वर्षकै चर्चित किशोरी बनिन् । जम्मा १४ वर्षकी गौरिकाले साग प्रतियोगितामा पौडीतर्फ १ सय  तथा २ सय मिटर ब्याक स्टोकमा कांस्य जितेकी थिइन् भने फ्रि स्टाइलमा पनि उनले कांस्य पदक हात पारिन् । यसअघि उनले राष्ट्रिय पौडी प्रतियोगितामा सबैलाई छक्क पार्दै नयाँ कीर्तिमानसहित ७ वटा स्वर्ण पदक जितेकी थिइन् । 

फुपु ल्हामु क्षेत्री, जुडो खेलाडी  

१२ औं सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाउने फुपु ल्हामु क्षेत्री पनि यो वर्ष चर्चामा रहिन् । ६३ केजीमुनिको जुडोमा फुपुले स्वर्ण पदक जितेकी हुन् । हंगेरीमा छात्रवृत्ति पाएर उतै खेलको अभ्यास गरिरहेकी फुपु ल्हामु सागका लागि नेपाल आएकी थिइन् । नेपाललाई स्वर्ण पदक दिलाएर हंगेरी फर्किएलगत्तै त्यहाँको राष्ट्रिय खुला जुडो प्रतियोगिता जितेर फुपुले सबैलाई छक्क पारेकी छिन् । उनले हंगेरीको राष्ट्रिय प्रतियोगिताका चर्चित खेलाडी बालोक सारा तथा किरेकेश ग्रेटालाई उछिनेकी थिइन् । फुपुको उक्त जितलाई हंगेरीका राष्ट्रिय च्यानलले महत्वका साथ प्रसारण गरेका थिए । 

दीक्षा श्रेष्ठ, बाइक रेसर

पुरुषहरू मोटरवाइक रेसिङमा भाग लिन अग्रसर हुनु अहिले सामान्यजस्तै भएको छ तर महिलाहरू यस्तो स्पर्धामा भाग लिन हच्कन्थे । २० वर्षीया दीक्षा श्रेष्ठ भने तीभन्दा फरक देखिइन् । सानैदेखि मोटरबाइक स्टन्टकी पारखी दीक्षा यो वर्ष महिलातर्फको वाइक रेसमा प्रथम भइन् । काभ्रेको धुलिखेलमा जन्मिएकी दीक्षाको मोटरवाइक स्टन्ट साँच्चै नै लोभलाग्दो छ । यसअघि पनि उनले दुईपल्ट यस्ता रेस जितिसकेकी थिइन् । प्रतिघन्टा १ सय १८ किलोमिटरसम्म मोटरवाइक कुदाउने दीक्षाले यसअघि स्कुटीमार्फत प्रतियोगिता जितेकी थिइन् । वर्ष २०७२ मा उनले हेभी मोटरसाइकलमा उक्त प्रतिस्पर्धा जितेकी थिइन् । 

आनी छोइङ डोल्मा, गायिका 

त्यसो त आनी छोइङ डोल्माको चर्चा सधैं हुन्छ । तैपनि गएको वर्ष उनले ए आर रहमानसँग एमटिभी अनप्लगमा गीत गाएर अन्तर्राष्ट्रिय चर्चा कमाइन् । त्यसअघि उनी युरोप तथा अमेरिकामा भजन गायिकाका रूपमा प्रख्यात भैसकेकी थिइन् । डोल्माको ‘फूलको आँखामा’ नामक आत्मकथा नेपालीमा प्रकाशन हुनुअघि फ्रान्सेली भाषामा प्रकाशित भएको थियो । वर्ष २०७२ मा भने उनले संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय गायिकाका रूपमा उभिएर नेपाली गायनको प्रतिष्ठा उँचो बनाइन् । उनलाई अन्तर्राष्ट्रिय खुसी दिवसको अवसरमा राष्ट्रसंघीय महासभामा निम्ता गरिएको थियो । आनी युनिसेफकी सद्भावना राजदूत पनि हुन् । आनीले महासभामा ‘गेस्ट अफ अनर फरफरमर’ का रूपमा बौद्ध मन्त्रहरू गाएर सुनाएकी थिइन् । कार्यक्रममा उनले आफ्नो बहुचर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ पनि गाउन भ्याइन् ।

राज्यलक्ष्मी राणा, नायिका 

पहिलो चलचित्रबाटै नाम र दाम कमाउने नायिका बिरलै भेटिन्छन् तर भुवन केसीको निर्देशन रहेको चलचित्र ‘ड्रिम्स’ की डेब्यु नायिका राज्यलक्ष्मी राणाले एउटै चलचित्रबाट ख्याति कमाइन् । अनमोल केसी नायक रहेको उक्त चलचित्रमा राज्यलक्ष्मीको अभिनयले सबैलाई आश्चर्यचकित तुल्यायो । उनको अभिनयकै कारण अनमोललाई आफ्नो अभिनय सुधार गर्नुपर्ने दबाब परेको छ । 

विदेशी पनि...

नेपालसम्बन्धी काम गरेका विदेशी महिलाहरूले पनि यो वर्ष केही अन्तर्राष्ट्रिय पुरस्कार र चर्चा पाए जसमध्ये कतिपयले नेपालमा बसेर काम गरेका थिए भने कतिपयले विदेशमा बसेर नेपालका लागि काम गरेका थिए । 

बेलायती नायिका जोआना लुम्ले अन्तर्राष्ट्रिय स्तरमा नेपालका लागि काम गर्ने महिला हुन् । उनले भूकम्पमा ध्वस्त भएका संरचना र तत्कालका लागि खाद्यान्नलगायतका सामग्रीका लागि ठूलो रकम संकलन गरिन् । उनले १ महिना लगाएर ५ अर्ब ७ करोड रुपैंयाँ संकलन गरी तत्कालै हवाईजहाजमा खानेकुरा पठाइन् भने केही रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गरिन् । उनले संकलन गरेको पैसाले ब्रिटिस गोर्खामार्फत नेपालमा केही विद्यालय निर्माण भैरहेका छन् । 

लुम्ले ब्रिटिस आर्मीकी छोरी हुन् । बुवाको मुखबाट गोर्खा आर्मीका बारेमा सयौं कथा सुनेकी लुम्लेले सुरुदेखि नै गोर्खामाथि हुने विभेदका विरुद्ध आवाज उठाइरहिन् । उनकै नेतृत्वमा बेलायतको न्यायालयमा ब्रिटिस गोर्खाविरुद्ध भएको भेदभावसम्बन्धी मुद्दा परेको थियो । १९९७ अघि सेवानिवृत्त हुने गोर्खा सैनिकलाई आवासीय भिसा दिन बेलायत सरकार राजी हुनुमा लुम्लेको पनि योगदान रहेको बताइन्छ । 

आना स्टारले नेपाली लोक संगीतमा विद्यावारिधि गरेर नेपाली संगीतलाई विश्वमा चिनाइरहेकी छिन् । उनलाई वर्ष २०७२ मा अलिमिया वाङमय पुरस्कारले सम्मान गरिएको छ । नेपाली भाषा राम्रोसँग बोल्ने आना युनिभर्सिटी अफ हवाईकी प्राध्यापक हुन् । उनले अमेरिकामा नेपाली पर्यटनको प्रचार गरिरहेकी छिन् । 

नेपालमा सेवा गरेका कारण अर्की एक विदेशी सिएनएन हिरो घोषित भइन् । अमेरिकाको प्रसिद्ध टेलिभिजन च्यानलले विश्वभरि विभिन्न समस्यामा रहेका मानिसहरूलाई सेवा प्रदान गरेबापत सिएनएन हिरोको अवार्ड दिने गरेको छ । यो अवार्ड अहिलेसम्म दुईजना नेपाली महिलाले प्राप्त गरेका छन् । पहिलो अवार्ड अनुराधा कोइरालाले प्राप्त गरेकी थिइन् भने दोस्रो अवार्ड पुष्पा बस्नेतको हातमा पुगेको थियो । नेपाली बालबालिकाहरूको सेवा गरेबापत म्यागी डोयनलाई उक्त अवार्ड प्राप्त भएको छ । सन् २००५ मा हाईस्कुल उत्तीर्ण गरेर नेपाल आएकी म्यागी यतै रमाइन् । सन् २०१० देखि कोपिला विद्यालय चलाइरहेकी म्यागीले २ सय ५० अनाथ बालबालिकालाई सम्पूर्ण सुविधासहित शिक्षा प्रदान गरिरहेकी छन् । 

विवादमा आएका महिला

यो वर्ष गायिका ज्योती मगर, विवादास्पद अन्तर्वार्ता दिएपछि अर्चना पनेरू तथा लोकगायिका रेखा शाहहरू विवादमा आए । ज्योति मगरले आफूले गाउने गीतमा मोडलिङ गर्दा उत्तेजक पहिरन लगाएको भन्दै विरोध भयो । त्यसलाई ज्योतिले सजिलै व्यवस्थापन गरिन् । यता अर्चना पनेरूले आफूले पोर्न स्टार बन्ने सपना पालेको भन्दै अन्तर्वार्ता दिइन् । उनका केही अश्लील भिडियो विश्वप्रसिद्ध पोर्न साइटहरूमा पनि राखिएको छ । आफ्नै कोठामा सामान्य मोबाइलले खिचिएका ती भिडियो इन्टरनेटमा अपलोड भएपछि उनले विभिन्न म्युजिक भिडियो र चलचित्रमा काम थालेकी छिन् । अर्चनालाई प्रहरीले पटक–पटक पक्राउ गरेर चेतावती दिए पनि उनले त्यसलाई सामान्य रूपमा लिएको देखिन्छ । 

त्यसैगरी लोकगायिका रेखा शाह अरूलाई चर्को ब्याजमा पैसा लगाएको तथा आफ्ना ऋणीहरूलाई धाकधम्की दिएको आरोपमा प्रहरी चौकीमा पुगिन् । यद्यपि शाहले आफ्नो गिरफ्तारीलाई अमानवीय एवं प्रतिशोधले प्रेरित बताएकी छिन् । अर्कातर्फ उद्योगपति राज्यलक्ष्मी गोल्छाले सभासद् बन्न नेकपा एमालेलाई ५ करोड दस्तुर तिरेको भन्दै आफ्नै पदको अपमान गरिन् । राज्यलक्ष्मीको यो घोषणासँगै उद्योगी–व्यवसायीहरू सभासद् बन्न करोडौं रुपैंयाँ चन्दा दिन्छन् भन्ने आरोप पनि पुष्टि भयो । यसले व्यवसायीहरूको मानमर्दन त गर्‍यो नै नेपालको राजनीति र यसलाई अघि बढाउने दलहरू आर्थिक मामिलामा के–के गर्छन् भन्ने कुरा पनि बाहिर आएको छ । 

यो वर्ष नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव पटक–पटक विवादमा परिन् । विशेषगरी उनी शिक्षामन्त्री हुँदा डा. गोविन्द केसीले गरेको आमरण अनशन तोड्दा सरकारले गरेको प्रतिबद्धता विपरीत ८ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिएपछि ठूलो विवादमा तानिइन् । यही विवाद चुलिँदा पहिले कमाएको उनको राजनीतिक छविमै धक्का लाग्यो । यही कारणले उनले नेपाली कांग्रेसको महाधिवेशनमा कोषाध्यक्ष पदमा समेत पराजित हुनुपर्‍यो । 

महिलाबाट अपराध  

पहिले–पहिले ठूला अपराध पुरुषबाट मात्र हुन्छन् भन्ने अवधारणा थियो । विश्वमा ठूला अपराधमा महिलाहरूको संलग्नता धेरै अघिदेखि देखिए पनि नेपालमा त्यस्तो पाइएको थिएन । केही वर्षयता भने नेपाली महिलाहरू पनि ठूला अपराधमा मुछिन थालेका छन् । सामान्य ठगी, चेलिबेटी बेचबिखन हुँदै महिलाहरूले ठूला अपराध र हत्याजस्ता जघन्य अपराध पनि गर्न थालेका छन् । वर्ष २०७२ मा केही महिला यस्तै घटनाका नायिकेका रूपमा देखिए । 

विनीता बाँस्कोटा भण्डारीले जेलमा परेका आफ्ना श्रीमान् छुटाउन बालिकाको अपहरण गरेको घटना यो वर्ष चर्चित रह्यो । श्रीमान्लाई निरपराध घोषित गर्न पैसा जुटाउन नसकेपछि उनले धनाढ्य व्यक्तिका छोराछोरी अपहरण गरेको देखिएको छ । भण्डारीले आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । 

त्यसैगरी संगीता पाण्डे महर्जनले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी आफ्नै बुवाको हत्या गरेको घटनाले पनि धेरैलाई हल्लायो–वैशाख १२ गतेको भूकम्पजत्तिकै ।

 Image