Successfully Copied

कोरियामा नेपाली संस्कृतिको दुई दशक

कोरियामा नेपालीहरूले सांस्कृतिक कार्यक्रम गर्न थालेको दुई दशक भयो । यहाँ नेपाली सांस्कृतिक कार्यक्रमको प्रारम्भ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । नेपाली सम्पर्क समितिले हास्यकलाकारद्वयलाई आमन्त्रण गरेर सन् १९९४ मा आन्याङ सहरमा पहिलो पटक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

कोरियामा नेपालीहरूले सांस्कृतिक कार्यक्रम गर्न थालेको दुई दशक भयो । यहाँ नेपाली सांस्कृतिक कार्यक्रमको प्रारम्भ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । नेपाली सम्पर्क समितिले हास्यकलाकारद्वयलाई आमन्त्रण गरेर सन् १९९४ मा आन्याङ सहरमा पहिलो पटक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । त्यसयता कोरियाली नयाँ वर्ष ‘सलनाल’ र थ्यांक्स गिभिङ डेको रूपमा मनाइने ‘चुसक’  जस्ता पर्वहरूमा प्रत्येक वर्ष नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । यी पर्वहरूमा प्राय: तीन दिन बिदा हुने भएकाले विभिन्न संस्थाले कलाकार बोलाएर कार्यक्रम गर्छन् । यसबाहेक दसैं, तिहार, ल्होसार, तीज, चासोक तङनाम, साकेलाजस्ता नेपाली चाडहरूमा पनि रमाइला कार्यक्रम आयोजना गरिन्छन् । 

कोरियामा सामाजिक, जातीय, क्षेत्रीय र परोपकारी आदि विभिन्न संस्था छन् । प्राय: यिनै संस्थाहरूले पालैपालो सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् । कार्यक्रममा उनीहरूले  जातीय, क्षेत्रीय र विधाका आधारमा कलाकार छनोट गर्छन् । यसो गरेर सबै खालका दर्शकको  चित्त बुझाउन सकिने उनीहरूको बुझाइ छ ।

कोरियाली स्टेजमा नायिका निरुता सिंहदेखि रञ्जिता गुरुङ, सुषमा कार्कीले नृत्य गर्न भ्याएका छन् । यहाँका नेपाली दर्शकहरूले महानायक राजेश हमालदेखि सौगात मल्ल र प्रशान्त तामाङसम्मको कला र गला चाखेका  छन् । हास्यकलाकारहरू मह, सन्तोष पन्तदेखि विल्सनविक्रम राई, जितु नेपाल, सीताराम कट्टेल, कुञ्जना घिमिरेसम्मका प्रहसनहरूमा हाँसेका छन् । पप गायक धीरज राई, यशकुमार, निमा रुम्बा, राजु लामा, एड्रिन प्रधान, दीपक बज्राचार्यदेखि रक गायिका अभय सुब्बासँग झुमेका छन् । कुन्ति मोक्तान, अञ्जु पन्त र मिलन अमात्यसम्मका नयाँ पुराना आधुनिक गायिकाहरूसँगै गुनगुनाएका छन् । बद्री पंगेनी, पशुपति शर्मा, बीमाकुमारी दुरा, शिला आले हुँदै राधिका हमाल र पछिल्लो पुस्ताकी सम्झना लामिछाने मगरसँग लोकभाकामा नाचेका छन् । गत महिना मात्र दीप श्रेष्ठले सोल, सुवन, किम्हे आदि सहरमा एकल गायन प्रस्तुत गरेर धेरैलाई मनोरञ्जन दिएका थिए  ।

राजेशपायल राई, मनोज गजुरेल, दीपक लिम्बू, कोमल वली आदि कलाकारहरू कोरियामा सर्वाधिक बोलाइने कलाकार हुन् । उनीहरूले विभिन्न स्टेजमा दर्जनौं पटक प्रस्तुति दिएका छन् । उनीहरू दर्शकको ‘वान्स मोर’ पाइरहन्छन् । हालसम्म अञ्जु पन्त र प्रशान्त तामाङ धेरै पारिश्रमिक पाउने कलाकारका रूपमा परिचित छन् । अन्य कलाकारलाई सामान्यत: ८० हजार रुपैयाँ र बढीमा २ लाख ५० हजारसम्म पारिश्रमिक दिने गरिएको एक संस्था प्रमुख बताउँछन् । पछिल्लो एक वर्षमा मात्र ४० भन्दा बढी कलाकार कोरियामा आमन्त्रण गरिएको थियो । कोरियामा सांस्कृतिक कार्यक्रम मात्र होइन चर्चा पाएका चलचित्र समेत रिलिज हुने गरेका छन् । गत वर्षमात्र मैना, फेसबुक, लुट, चपली हाइट आदि चलचित्र रिलिज भएका थिए ।

कोरियामा स्थानीय नेपाली कलाकारहरू मिलेर ट्रिनटी, बिसौनी र सुनाखरीजस्ता सांस्कृतिक समूह स्थापनाा गरिएको छ । यी समूहका र अन्य कलाकारहरूले  आरिराङ, मान्नाम  फेस्टिभलका साथै सोल, छनान, छाङवनजस्ता महानगरपालिकाले आयोजना गर्ने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा मौलिक संस्कृति प्रस्तुत गर्ने गरेका छन् । 

नेपाली संस्थाका लागि सलनाल र चुसक  आउनु केही महिनाअघि नै नेपाली सम्पर्क समितिले सांस्कृतिक कार्यक्रमको  निवेदन आह्वान गर्छ । उक्त निवेदनअनुसार आवेदन गर्ने कार्यक्रम गर्न इच्छुक संस्थाले आवेदन गर्छन् । आवेदकको संख्या धेरै भयो भने समझदारीमा निर्णय गरिन्छ । समाजसेवा वा परोपकार गर्नु  कार्यक्रमको मुख्य उद्देश्य भनिए पनि समाजमा आफ्नो संस्थाको छवि स्थापना गर्नु ती आयोजकको अप्रत्यक्ष उद्देश्य मानिन्छ । कार्यक्रम गर्नुअघि समाजसेवाको ठूलो नारा दिए पनि समापनपछि  उसले समाज सेवा गरे–नगरेको मूल्यांकन गर्ने कुनै निकाय छैन । केही संस्थाले राम्रो काम गरे पनि अधिकांश आयोजकको पारदर्शिता रहस्यमै रहने गरेको छ  ।

यहाँ वर्षमा कम्तीमा ५ वटा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । एउटा कार्यक्रम  आयोजना गर्दा करिब ३० लाख रुपैयाँ खर्च हुने भएकाले वार्षिक १ करोड ५० लाख रुपैयाँभन्दा बढी मनोरञ्जनमा खर्च हुने गरेको छ । टिकटदर करिब २ हजार २ सय रुपैयाँ पर्ने भएकाले त्यति सहज नभएको केही दर्शकहरू बताउँछन् । कलाकारको पारिश्रमिक, हल र प्राविधिक व्यवस्थापन उस्तै महँगो पर्ने भएकाले अधिकांश आयोजकले घाटा ब्यहोर्नुपरेको नेपाली सम्पर्क समितिका पूर्व अध्यक्ष केपी सिटौला बताउँछन् ।  

 Image