Successfully Copied

ब्रान्डेड बजार

नेपालीहरूको जीवनशैलीमा परिवर्तन आइरहेको छ । नेपालीहरूको रहनसहन, लवाइखवाइ तथा जिउने तरिकामा पनि निकै फरक भएको छ ।

नेपालीहरूको जीवनशैलीमा परिवर्तन आइरहेको छ । नेपालीहरूको रहनसहन, लवाइखवाइ तथा जिउने तरिकामा पनि निकै फरक भएको छ । एक दशकअघि मात्रै पनि नेपाली समाज यस्तो प्राविधिक तथा फेसनमय थिएन । एक दशकमा नेपाली बजार तथा उपभोक्ताहरूमा आकाश–जमिनको फरक आएको छ । यसबीच नेपालमा बहुराष्ट्रिय कम्पनीका आधिकारिक शोरुमहरू खुल्ने क्रम तीव्र भएको छ । दरबारमार्ग, पुतलीसडक, कुमारीपाटी तथा नेपालका अधिकांश मलमा अनेकौं ब्रान्डेड शोरुम खुलेका छन् । सम्भवत: नेपालमा सबै ब्रान्डेड उत्पादनका शोरुम छन् । दरबारमार्गलाई नियाल्ने हो भने त यो ब्रान्डेड परेड नै बनेको छ । यहाँ सबै प्रसिद्ध बहुराष्ट्रिय ब्रान्डका आउटलेट छन् । ब्रान्डेड सामग्रीहरूले आफ्नो विश्वसनीयता तथा गुणस्तरीयता विश्वव्यापी रूपमा प्राप्त गरेकाले पनि मानिसहरू ब्रान्डेडतर्फ आकर्षित भएका हुन् । ब्रान्डेड सामग्रीहरू एकपटक खरिद गरेपछि लामो समयसम्म उस्तै रूपमा प्रयोग गर्न सकिन्छ । त्यसको रंग जाने, चाँडै बिग्रने सम्भावना हुँदैन । लामो समयको अनुसन्धानपछि मात्र सामग्री उत्पादन गरिने भएकाले ब्रान्डेड सामग्री गुणस्तरीय हुन्छन् । त्यसैले ब्रान्डेड उत्पादनहरूले नेपाली उपभोक्तालाई बिस्तारै आफूतिर तान्दैछन् । कुनै समय मानिसहरू ब्रान्डेड शोरुममा छिर्न हिच्किचाउँथे । आवरण तथा संरचना पनि आकर्षक भएकाले हम्मेसी जोकोही यस्ता शोरुममा छिर्दैनथे तर अब स्थिति त्यस्तो छैन । अहिले यस्ता ब्रान्डेड शोरुमहरूमा ग्राहकको भीड अरू पसलमा झैं हुन्छ । लगाउने कपडा मात्र होइन घडी, चस्मा, ब्याग, जुत्ता, सौन्दर्य प्रसाधन, अन्तर्वस्त्र तथा अन्य एसेसरिजहरूका पनि ब्रान्डेड शोरुम खुलेका छन् । दिलीप पाण्डेले विगत १ दशकदेखि रिबोकका सामान बिक्री गर्दै आएका छन् । रिबोकले स्पोटीबाहेक महिलाहरूलाई लक्षित गरेर विविध रेन्ज बजारमा उतारेको छ । विशेषगरी रिबोकका जुत्ता, टिसर्ट तथा चस्मा नेपाली ग्राहकहरूले बढी रुचाएको पाइन्छ । समय सुहाउँदा विभिन्न किसिमका सामगं्री आयात गर्ने यो शोरुमले आफ्ना शाखा विविध स्थानमा बिस्तार गरेको छ । पाण्डे भन्छन्, रिबोकका सामग्रीहरू लामो समयसम्म टिक्छन् र भनेजस्ता रंगमा उपलब्ध छन् ।’ दसंैको मौकामा यहाँ सेल पनि लागेको पाण्डेले बताए । 

ब्रान्ड भनेको कुनै सामग्रीको चिनारी भन्ने बुझिन्छ । यसले आफ्नो परिभाषा आफै बोक्छ । कतिपय ब्रान्डको नामै काफी छ । यसलाई कुनै अरू चिनारीको आवश्यकता पर्दैन । आँखा चिम्लिएर ग्राहकहरूले त्यसलाई स्वीकार गर्छन् । ब्रान्डले एक वस्तुबाट अर्को वस्तुलाई छुट्याउने काम गर्छ । बजारीकरणमा ब्रान्डले विशेष अर्थ तथा महत्व राख्छ । लोकप्रिय ब्रान्डका सामग्रीहरूको विक्री तीव्र हुन्छ भने त्यससँग सम्बन्धित अरू सामग्रीको माग पनि उच्च हुन्छ । कुनै पनि ब्रान्डले बजारमा लोकप्रियता पाएपछि अरू सामग्री उत्पादन गर्न निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । ब्रान्डमा कमसल सामग्री उत्पादन भए भने त्यसले बजार बिगार्न सक्छ । कुनै पनि उत्पादनको ब्रान्ड नाम, लोगो, संकेत, स्लोगन, रंग, स्वाद, वासना, आकार, ग्राफिक्स ब्रान्डका पर्याय बन्न सक्छन् । जसलाई देख्नेबित्तिकै जोकसैले यो ब्रान्ड भनेर चिन्छन् । तैपनि ब्रान्डेड सामग्रीको मुख्य विशेषता के हो भने यिनले उपभोक्ताहरूको विश्वास जितेका हुन्छन् । कुनै ब्रान्डले कुनै उपभोक्ताको विश्वास जित्छ भने उक्त ब्रान्डले उत्पादन गरेका अरू सामग्री उनीहरू आँखा चिम्लिएर स्वीकार गर्छन् । त्यसैले ब्रान्ड सामान बजारीकरणको सशक्त अस्त्र हो । 

बालुवाटारकी सुनयना शाह भन्छिन्–महँगा भए पनि मलाई ब्रान्डेड सामग्री मन पर्छन् । व्यापार वृत्तकी शाह आफनो स्ट्याटसका लागि पनि ब्रान्डेड नै लगाउनुपर्ने कुरा बताउँछिन् । सुनयना पहिले विदेश गएको बेला आफूलाई चाहिने सबै सामग्री खरिद गरेर ल्याउँथिन् तर अहिले नेपालमा सबैजसो अन्तर्राष्ट्रिय ब्रान्डका शोरुम खुलेकाले आफूलाई चाहिने सामग्रीहरू नेपालमै खरिद गर्छिन् । किनमेलका लागि उनी दरबारमार्ग जान्छिन् जहाँ ब्रान्डेड सामग्री ढुक्क भएर खरिद गर्न सकिन्छ । उनका प्रिय ब्रान्ड भर्साजे, फोसिल्स, एडीडास, डी एण्ड जी, ली भिटेन, पुमा तथा बेली हुन् । दसंैको मौकामा यस्ता ब्रान्डेड शोरुमहरूले विभिन्न अफर राख्ने भएकाले उनी त्यसको फाइदा उठाउने योजनामा छिन् । यद्यपि कहिलेकाहीँ महँगो सामान खरिदपछि सामान कमसल भएको जनगुनासो नभएको चाहिँ होइन । कुनै–कुनै सामग्री मोटो रकम तिरेर खरिद गरे पनि रंग जाने, भुवा आउने, चाँडै बिग्रने, नकारात्मक असर गर्ने आदि समस्या देखिन्छन् । त्यसैले यसमा अनुगमनको खाँचो भएको व्यवसायी बताउँछन् । 

दसंैको रमझम बढ्दै जाँदा यस्ता ब्रान्डेड शोरुमहरूले पनि विभिन्न अफर दिइरहेका छन् । ड्युकले २ को खरिदमा एक सित्तैमा प्रदान गरिरहेको छ । एडीडासले ५० प्रतिशतसम्म छुट दिइरहेको छ । गोसले १ लिपिस्टिकको खरिदमा १ फ्रिमा दिने अफर अगाडि ल्याएको छ । नेपालमा भारतीयदेखि अमेरिकीसम्म सबै देशका आधिकारिक शोरूम खुलेका छन् । यस्ता आउटलेटका लेआउटदेखि रंग संमिश्रणसमेत विदेशकै झझल्को दिने खालका हुन्छन् । 

नेपालमा उस्तै ब्रान्ड नेमका नक्कली सामानहरूको पनि बिगबिगी छ । उस्तै लेभल तर सस्ता सामग्री खरिद गर्दा ग्राहकहरू आफै सजग हुनुपर्छ अन्यथा महँगो रकम खर्चिए पनि कमसल सामग्री हात लाग्नसक्छ । 

ब्रान्डेड सामग्री खरिद गर्दा 

आधिकारिक शोरुम पहिचान गरी सामान खरिद गर्ने निर्णय गर्नुपर्छ । 

लेभल तथा यसमा देखाइएको रंगअनुसारकै सामान खरिद गर्नुपर्छ । 

मूल्यको तुलना गर्नुपर्छ । 

ग्यारेन्टीका विषयमा जानकारी लिनुपर्छ । 

सामान प्रयोग गर्ने तरिकाका बारेमा सोधपुछ गर्नुपर्छ । 

सामान कमसल देखिए तुरुन्तै शोरुममा सम्पर्क गर्नुपर्छ । 

ट्रेडमार्क तथा ब्रान्डका विषयमा जानकारी लिनुपर्छ । 

संगीता विष्ट, प्रोप्राइटर, विविच 

दसंैको अवसर पारेर के–कस्ता अफर छन् ? 

दसंैको अवसरमा ग्राहकहरूलाई सुविधा दिने उद्देश्यले सेल तथा छुटको व्यवस्था गरेका छांै । 

नेपालमा ब्रान्डेड सामग्रीप्रति ग्राहकहरूको सोच कस्तो छ ? 

नेपालमा अहिले उपभोक्ताहरू ब्रान्डेड सामग्रीतर्फ आकर्षित हुँदै गएका छन् । केही वर्षअघिसम्म विद्यमान किन ब्रान्डेडमा बढी पैसा खर्च भन्ने सोचमा परिवर्तन देखिएको छ । अहिले पुरुष मात्र होइन महिला दिदीबहिनीहरू पनि ब्रान्डेड शोरुम खोजी–खोजी आउँछन् ।  

अहिलेसम्मको अनुभव कस्तो छ ? 

अहिलेसम्मको अनुभव निकै राम्रो छ । हामी जर्मन ब्रान्डका सामान बेच्छौं । प्रयोगकर्ताहरू एकपटक यसलाई प्रयोग गरेपछि फेरि–फेरि यसको उपयोगका लागि लालायित हुन्छन् । रिफ्रेन्न्सका अधारमा पनि ग्राहक बढिरहेका छन् । ब्रान्डेडमा साइजको समस्या हुँदैन । यहाँ सानादेखि सबैलाई मिल्ने आकारका सामान पाइन्छन् । त्यसैले सबैको इच्छा पूरा गर्न सकिएको छ । 

ग्राहकहरूले सामग्री महँगो भयो त भन्दैनन् ? 

पहिले त भन्थे तर आजभोलि नेपालीहरू पनि विदेश भ्रमण गर्न थालेका छन् । उनीहरूको चेतना बढेको छ । उनीहरू सस्ता सामान खरिद गरेर पटक–पटक धोका पाउनुभन्दा एकै पटक खरिद गरेर ढुक्क हुन चाहन्छन् । विदेश भ्रमण गरेर यस्ता ब्रान्डहरूको विषयमा जानेकाहरू नेपालमै यसको शोरुम देख्दा खुसी हुन्छन् । महिला दिदीबहिनीहरू बिस्तारै आर्थिक रूपमा सबल बन्दै गएकाले उनीहरू आफ्ना लागि खर्च गर्न कत्ति पनि हिच्किचाउँदैनन् । 

ब्रान्डेड सामग्रीका विशेषता के–के हुन् ? 

ब्रान्डेड सामग्रीको प्रमुख विशेषता विश्वसनीयता हो । विक्रेताले सामानको ग्यारेन्टी दिएर सामान बिक्री गर्छन् । यसमा रंग जाने, सानो हुने तथा चाँडै बिग्रने समस्या आउँदैन । यसको आफ्नै फरक शोरुम हुन्छ । 

कस्ता ग्राहक ब्रान्डेड सामग्रीप्रति आकर्षित छन् ? 

नेपालमा यही ग्राहक ब्रान्डेड क्रेता हो भन्ने अवस्था छैन । ब्रान्ड फलो गर्ने चलनले अझै व्यापकता पाइसकेको छैन । तैपनि ब्रान्ड स्टाटस सिम्बोल बन्दै गएकाले तथा व्यक्तित्वमा निखार ल्याउन धेरैले ब्रान्डेड सामग्री मात्र खरिद गर्छन् । सजग उपभोक्ताहरू ब्रान्डेड सामग्रीतर्फ आकर्षित भएका छन् । 

प्रस्तुति : झरना नहर्की 

 Image