व्यायाम किन जरुरी छ ?
दिनहुँ व्यायाम गर्दा स्वासप्रश्वासको गति बढ्छ जसले गर्दा इनर्जेटिक महसुस गर्न सकिन्छ । व्यायामले हृदयको मांसपेशीलाई स्वस्थ राख्छ । नियमित व्यायामले काम गर्ने क्षमता वृद्धि हुन्छ । व्यायाम गर्दा हाम्रो शरीरबाट एडोर्फिन्स नाम हर्मोन बहन्छ जसले तनाव कम गर्छ । शरीरका हरेक अङ्गमा समान रक्तसंचार हुन्छ । व्यायामले शरीर पनि कसिलो बनाउँछ ।
व्यायामका क्रममा कस्तो भोजन गर्नुपर्छ ?
बढी प्रोटिनयुक्त भोजन गर्नुपर्छ । फलफूल, उम्रिएका गेडागुडी, अण्डा, सलाद, दूध आदि पौष्टिक तत्व खानुपर्छ ।
व्यायामबिना शरीरको वजन घटाउन कस्तो भोजन उपयुक्त हुन्छ ?
स्वस्थ तथा फिट शरीरको चाहना सबैलाई हुन्छ । यद्यपि सन्तुलित भोजन तथा घन्टौं जिममा पसिना बहाउने धैर्य कमैलाई हुन्छ तैपनि व्यायाम नगरी वजन घटाउन निम्न कुराबाट टाढा रहनुपर्छ ।
सेतोको साटो खैरो खाद्यपदार्थ सेवन गर्नुपर्छ ।
नास्ता गर्नुभन्दा पहिले ब्रस गर्नुपर्छ ।
दिनहुँ ६० सेकेन्ड दौडनुपर्छ ।
सुन्तलाको रस पिउनुपर्छ ।
दिनमा एक कचौरा फल खानुपर्छ ।
नुनको प्रयोग कम गर्नुपर्छ । महिनामा एकपटक व्रत बस्नुपर्छ ।
सकभर रातो मासु खानु हुँदैन ।
कुन समयमा व्यायाम गर्नु प्रभावकारी हुन्छ ?
यसका लागि बिहान–बेलुकीको समय उत्तम मानिन्छ । व्यस्त जीवन शैली भएकाले समय निकालेर जिम जान सकिन्छ तर टन्न खाएर व्यायाम गर्न हुँदैन । व्यायाम गरेपछि तुरुन्तै पानी पिउनु हुँदैन ।
व्यायामका लागि क्लब नै जानुपर्छ ?
हिजोआज होम जिम पनि खरिद गर्न सकिन्छ । क्लबमा ट्रेनरहरूको सुपरिवेक्षणमा तालिम दिइन्छ ।
घरमा तालिम दिने कोही हुँदैनन् तर घरमै व्यायाम गर्ने हो भने साइकिलिङ तथा ट्रेडमिल व्यायामका लागि उपयुक्त हुन्छन् ।
व्यायामको कुनै खास विधि ?
यसको खास विधिभन्दा पनि शरीरको आकारअनुसार व्यायाम फरक–फरक हुन्छ । महिलाहरूको बडी सेप एप्पल, आवर ग्लास, पियर, बनाना आदि हुन्छ । जसअनुसार व्यायाम पनि फरक–फरक हुन्छ । शरीरको बनावटअनुसार शरीरका विभिन्न भाग टोन गर्नुपर्छ ।