Successfully Copied

प्रभाव जमाउने उपाय

अन्तर्वार्ताका लागि होस् वा कार्यालयको पहिलो दिन, कुनै औपचारिक भेटघाट होस् वा आफ्नो प्रियतमिसतको पहिलो डेट, अधिकतर युवतीमा आफ्नो प्रभाव कसरी जमाउने भन्ने कुरामा अन्योल पाइन्छ ।

अन्तर्वार्ताका लागि होस् वा कार्यालयको पहिलो दिन, कुनै औपचारिक भेटघाट होस् वा आफ्नो प्रियतमिसतको पहिलो डेट, अधिकतर युवतीमा आफ्नो प्रभाव कसरी जमाउने भन्ने कुरामा अन्योल पाइन्छ । उनीहरू आफ्नो ड्रेसअपमा त ध्यान दिन्छन् तर अन्य कुरामा भने सजग देखिँदैनन् । 

–शब्द वा बानीबाट सबै कुरा झल्कन्छ भन्ने छैन, धेरै कुरा व्यक्तिको आँखाको भाव र भाकाबाटै थाहा पाउन सकिन्छ । अत: विशेष भेटघाटमा जानुपूर्व आँखा आकर्षक देखियोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । त्यसैले महत्त्वपूर्ण भेटघाटको अघिल्लो दिन आरामले पूरा निद्रा सुत्नुपर्छ । ढिलो सुत्ने बानी छ भने दिउँसो आरामका लागि केही समय निकाल्नुपर्छ । 

–आँखाको मेकअप अत्यन्त गाढा नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । कम मेकअपका कारण आँखाको आकर्षण र सुन्दरतामा कमी नआओस् भन्ने पनि ख्याल राख्नुपर्छ । 

–कुराकानी गर्दा आँखामै हेर्नुपर्छ ।

–सुन्दर एवं मधुर मुस्कानका साथै ओठको प्राकृतिक मेकअप महत्त्वपूर्ण हुन्छ । ओठको मेकअप आफू सुहाउँदो हुनुपर्छ । 

–आफ्नो सुन्दर केशको स्याहार–सम्भारमा समय दिनुपर्छ । महत्त्वपूर्ण भेटघाटपूर्व स्याम्पु एवं कन्डिसनिङ गर्नु राम्रो हुन्छ । कुराकानीका क्रममा भरसक केश चलाउनु हुँदैन ।

–हातले पनि व्यक्तित्वमा प्रभाव पार्न सक्ने भएकाले राम्रोसित मेनिक्योर गराउनुपर्छ । नङमा लगाइएको पालिस पहिरन एवं व्यक्तित्व सुहाउँदो हुनु आवश्यक छ । हातमा चुरा, औंठी, ब्रासलेट, आर्मलेट आदि एसेसरिज लगाइन्छ भने त्यो पनि वातावरण, पहिरन एवं व्यक्तित्व सुहाउँदो छ–छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । 

–अनुहारको आभा भन्नु नै भित्री खुसी हो । यदि कोही मनबाटै खुसी र आत्मविश्वासी छैन भने त्यो मुहारमा झल्कन्छ । अत: आफ्नो आत्मविश्वास र खुसीलाई कायम राख्नुपर्छ । मुहारको मेकअप गाढा नहोस् भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ ।

–उठ्ने, बस्ने, हिँड्ने, बोल्ने आदि शैलीबाट शालीनता तथा आत्मविश्वास झल्कनुुपर्छ । मीठो बोली र व्यवहारबाट अरूलाई सजिलै प्रभावमा पार्न सकिन्छ । कुराकानीमा आत्मविश्वास झल्कनुपर्छ । बोली स्पष्ट, कुरामा पूर्णता एवं आत्मविश्वासले व्यक्तित्वलाई प्रभावशाली बनाउँछ । के, कसरी, कहाँ, कोसित बोलिँदैछ र किन बोलिँदैछ भन्ने कुरामा पनि सजगता अपनाउनुपर्छ । 

–सन्तुलित आहार, नियमित व्यायाम तथा पूरा निद्रालाई दिनचर्या बनाउनुपर्छ । तन, मन र मस्तिष्कको स्वस्थताले व्यक्तित्वलाई आकर्षक बनाउँछ र आकर्षक व्यक्तित्व नै प्रभावशाली हुन्छ । 

–फेसन र स्टाइलका सम्बन्धमा भने शालीन र ट्रेन्डी शैली अँगाल्नु राम्रो हुन्छ । सोहीअनुसार रंग छनोट, पहिरनको डिजाइन तथा एसेसरिजको कम्बिनेसन व्यक्तित्वलाई प्रभावशाली बनाउने र आकर्षक देखाउने हुनुपर्छ । 

 

 Image