Successfully Copied

सरसफाइसँग जोडिएको सौन्दर्य

सौन्दर्य र सरसफाइ एक–अर्काका पर्याय हुन्। यिनलाई एक–अर्काबिना प्राप्त गर्न सम्भव छैन।

सौन्दर्य र सरसफाइ एक–अर्काका पर्याय हुन् । यिनलाई एक–अर्काबिना प्राप्त गर्न सम्भव छैन । सौन्दर्य र सरसफाइ हाम्रो रहनसहन तथा खानपानमा भर पर्ने कुरा हो । हामी सुन्दर छौं तर सरसफाइमा ध्यान दिँदैनौं भने सौन्दर्य गौण हुन्छ । यसका साथै खानपानमा ध्यान दिएनौं भने छालामा विभिन्न खालका समस्या देखा पर्न थाल्छन् । सौन्दर्यसँग जोडिएका सरसामानको सरसफाइमा पनि ध्यान दिनु आवश्यक छ । यसका लागि सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष तथा सिनियर ब्युटिसियन कमला श्रेष्ठले हामी सबैमा सौन्दर्यसम्बन्धी ज्ञान हुनुपर्ने बताएकी छिन् । 

–सफा पानीले अनुहार धोएर नरम तथा कोमल रुमालले पुछ्ने । अनुहार पुछ्दा पानी सोस्न छाला रगड्नु हुँदैन । त्यसको साटो रुमालले छालामा थपथपाउनुपर्छ । 

–कुनै पनि मेकअप गर्नुअघि टोनर र मोस्चराइजर प्रयोग गर्नुपर्छ । त्यसैगरी मेकअप सफा गर्न क्लिन्जिङ प्रयोग गर्नुपर्छ । मेकअपअघि टोनर र क्लिन्जिङ नगर्नु भनेको छालामा हुने पोर्स बन्द गर्नु हो । 

–क्लिन्जिङ प्रयोग गर्दा पहिले हल्का पानी अनुहारमा स्प्रे गर्नुपर्छ । त्यसपछि कटनको सहायताले अनुहारमा भएको फोहोर क्लिन्जरको प्रयोगबाट हटाउन सकिन्छ । अनुहार सफा गर्दा गाला, ओठ तथा आँखामा फरक–फरक कटन प्रयोग गर्नुपर्छ । 

–आँखाको मेकअप हटाउन बजारमा छुट्टै आइमेकअप रिमुभर पाइन्छ । आँखा सफा गर्न क्लिन्जिङको ठाउँमा यसको प्रयोग गर्न सकिन्छ । 

–राति क्लिन्जिङ नगरी सुत्नु हुँदैन । त्यसमा पनि नाइट रिपेरिङ क्रिम प्रयोग गर्नुभन्दा पहिले क्लिन्जिङ गर्नु आवश्यक छ । ३० वर्ष कटेका महिलाले अनिवार्य रूपमा नाइट रिपेरिङ क्रिम प्रयोग गर्नुपर्छ । 

–क्लिन्जिङ गर्दा हात कसरी चल्छ भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । यसका लागि क्लिन्जिङ गर्दा क्लक वाइज औंला चलाउने । निधारमा सीधा र दायाँ–बायाँ र गालामा गोलो गरी घुमाउने ।

–हामीमध्ये धेरैले अनुहारमा मात्र मेकअप गर्छौं । मेकअप घाँटी तथा कानमा पनि गर्नुपर्छ । यसले सबैतिर एउटै खालको देखाउँछ । 

–क्रिम औंलाले निकाल्नु हुँदैन । यसका लागि स्टिक प्रयोग गर्न सकिन्छ । 

–त्यसैगरी आइमस्काराबाहेक अरू क्रिम तथा मेकअप सामग्रीलाई फ्रिजमा राख्नुपर्छ । त्यसपछि त्यसलाई लगाउनुभन्दा एक घन्टाअघि निकाल्ने र लगाउने । प्रयोग गरिसकेपछि फेरि त्यसलाई फ्रिजमै राख्ने । 

–हामीले ध्यान नदिने अर्को कुरा काइँयो पनि हो । दैनिक प्रयोग गरे पनि हामीले यसमा कमै ध्यान दिएका हुन्छौं । दैनिक प्रयोग हुने काइँयो सधैं डिटोल पानीले सफा गर्नुपर्छ । काइँयो कसैसँग सेयर गर्नु हुँदैन । 

–प्लास्टिकको मोटो दाँत भएको काइँयो किन्नुपर्छ । मेटलको काइँयोबाट टाढै रहनुपर्छ । 

–मेटलको काइँयो तथा हेयर क्लिप प्रयोग गर्नु हुँदैन । यसले केश तानिने तथा टुक्रिने डर हुन्छ ।

–त्यसैगरी केश बाँध्न पनि राम्रो खालको रबर प्रयोग गर्नुपर्छ । 

–आइस्याडो, मस्कारा, आइलाइनर, गाजल आदि महत्वपूर्ण कुरा २–३ वर्षभन्दा बढी प्रयोग नगर्ने । यी सामग्रीहरू किन्दा एक्सपाइरी डेट हेर्नुपर्छ । 

–समय–समयमा क्रिम तथा स्याम्पु फेर्ने । आफूलाई त्यो स्याम्पु तथा क्रिम सुट गरेको छ भन्दैमा लामो समयसम्म त्यही प्रयोग गर्नु हुँदैन । क्रिम तथा स्याम्पु मौसमअनुसार बदल्नुपर्छ । 

–केशमा चायाँ परेको छ भन्दैमा हरेक पटक स्याम्पु गर्दा एन्टी ड्रान्डफ स्याम्पु प्रयोग नगर्ने । एन्टी ड्रान्डफ स्याम्पु कडा हुन्छ जसले केशलाई हानि पुर्‍याउँछ । 

–नुहाएपछि चिसो केशलाई झट्कार्दा केश टुक्रिन्छ । 

–डियोड्ेर्रन्ट प्रयोग गर्नु पहिले रुमालमा आई क्युब राखेर काखी पुछ्ने । त्यसपछि डियोड्ेरन्ट स्प्रे गर्ने । 

–वायक्स नगरी डियोड्ेरन्ट प्रयोग गर्नु हुँदैन । 

–तैलीय छाला छ भने दिनमा कम्तीमा ३–४ पटक अनुहार धुनुपर्छ । मोस्चराइजर क्रिमको साटो जेल बेस्ड क्रिम प्रयोग गर्ने ।

–सुख्खा छालामा हेभी मेकअप गरेपछि त्यसलाई हटाउँदा ओलिभ आयल पनि प्रयोग गर्न सकिन्छ । यसले छालामा भएको सुख्खापन कम गर्छ । 

–हातखुट्टामा एकपटक लगाएको नेलपोलिस २–३ दिनभन्दा बढी नराख्ने । पुरानो पोलिस नहटाई त्यसमाथि नयाँ पोलिस नथप्ने । 

–नेलपोलिस पातलो लगाउनु नै राम्रो हुन्छ । यसले साइनिङ दिन्छ । 

–खुट्टाका नङ जरैसम्म नकाट्ने । यसो गरे नङ छालाभित्र गडेर पाक्ने तथा दुख्ने हुन्छ । 

–सस्तो खालको नेलपोलिस लिनु हँुदैन । ब्रान्ड रोज्नुपर्छ । नेलपोलिस रिमुभ गर्दा एकैपटकमा जाने हुनुपर्छ । 

–नङमा रिमुभर घोटिरहनु हुँदैन । नङलाई हप्ताको दुई दिन खुल्ला छोड्नुपर्छ । 

–यदि नङ भाँच्चिने समस्या छ भने नङलाई छिनछिनमा तातो तथा चिसो पानीमा डुबाउनु हुँदैन । 

–नङ काट्दा प्रयोग हुने पुसर तथा क्युटिकल कटर स्ट्रलाइज गरेको हुनुपर्छ । 

–मेकअप लगाउँदा प्रयोग गर्ने स्पोन्ज दिनहुँ धुनुपर्छ । 

–गर्मीमा बाहिर निस्किनुभन्दा पहिले सनस्क्रिम तथा पाउडर प्रयोग गर्नुपर्छ । मेकअपका सामग्री प्रयोग गर्दा वाटर पु्रफ प्रयोग गर्नु राम्रो हुन्छ । 

–त्यसैगरी गर्मीमा म्याट लिपिस्टिक प्रयोग गर्ने । 

–मेकअप गर्दा छालाको रंगअनुसारको बेस प्रयोग गर्नु हुँदैन ।

–आँखाको मेकअपले जति हाम्रो मुहार सुन्दर बनाउँछ त्यसको गलत मेकअपले त्यति नै कुरूप । त्यसैले आँखाको मेकअप गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

–ओठमा लाइन कोर्दा इनलाइन तथा आउटलाइन एउटै सेडको हुनुपर्छ । 

–बाहिर हिँड्दा दिनभर एउटै मेकअपमा नहिँड्ने । अनुहार सफा गर्ने समय नमिले त्यसमाथि मेकअप थप्ने गल्ती नगर्ने । 

 Image