Successfully Copied

म सबैको हुँ

राष्ट्रको गरिमामय तथा उच्च पदमा महिलाको प्रवेशपछि समग्र नेपालीमा महिलाको भाग्योदय हुने आशा र विश्वास पलाएको छ । राष्ट्राध्यक्ष, सभामुख तथा आगामी चैतपछि स्वत: प्रधानन्यायाधीश जस्तो प्रतिष्ठित पदमा पुग्ने सुशीला कार्कीजस्ता निर्णायक तहमा पुगिसकेका एवं पुग्नेहरूले अब महिलाले पनि कुशल र कलात्मक तरिकाले

विद्यादेवी भण्डारी - महामहिम राष्ट्रप्रमुख

म सबैको हुँ

जन्म : वि.सं. २०१८ साल असार ५ गते । 

जन्मस्थान : मानेभञ्ज्याङ, भोजपुर । 

राजनीतिमा प्रवेश : वि.सं. २०३५ साल ।

संगठन : नेकपा (एमाले) सम्बद्ध युवा लिग ।

विवाह : वि.सं. २०३९  साल ।

श्रीमान् : मदन भण्डारी ।

सांसद : वि.सं. २०५०, ०५१ र ०५६

मन्त्री : वि.सं. २०५४ मा वातावरण तथा जनसंख्या मन्त्री र ०६७ मा रक्षामन्त्री ।

केन्द्रीय सदस्य : वि.सं. २०५४ देखि (नेकपा एमाले) ।

उपाध्यक्ष : वि.सं. २०६४ देखि (नेकपा एमाले) ।

राष्ट्रपति निर्वाचित : वि.सं. २०७२ कार्तिक ११ गते ।

नेपालको संविधान–२०७२ जारी भएसँगै मुलुकले नयाँ गति पाएको छ । संविधान जारी भएपछि मुलुकको बागडोर हाँक्ने क्षमतावान् व्यक्तिको चयन, मनोनयन एवं चुनावी प्रक्रिया सुरु भएको थियो । मुलुकमै नयाँ इतिहास रच्दै विद्यादेवी भण्डारी गणतन्त्र मुलुकको दोस्रो तथा प्रथम राष्ट्रपति महिला बन्न सफल भएकी छिन् । नयाँ संरचनामा मुलुक अघि बढिरहेका बेला राष्ट्रको परमाधिपतिको अधिकार महिलाको हातमा परेको छ । 

राष्ट्रको गरिमामय तथा उच्च पदमा महिलाको प्रवेशपछि समग्र नेपालीमा महिलाको भाग्योदय हुने आशा र विश्वास पलाएको छ । राष्ट्राध्यक्ष, सभामुख तथा आगामी चैतपछि स्वत: प्रधानन्यायाधीश जस्तो प्रतिष्ठित पदमा पुग्ने सुशीला कार्कीजस्ता निर्णायक तहमा पुगिसकेका एवं पुग्नेहरूले अब महिलाले पनि कुशल र कलात्मक तरिकाले मुलुक हाँक्न सक्छन् भन्ने चुनौतीलाई प्रमाणित गर्नुपर्ने गहन जिम्मेवारी थपिएको छ । 

राजनीतिमा प्रवेश

वि.सं. २०३७ सालमा अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा भाग लिन राजधानी आएकी विद्याको गतिविधि थाहा पाएर त्यतातिर नलाग्न दबाब दिएको उनको परिवार कांग्रेस समर्थक थियो । प्रधानपञ्चकी नातिनी तथा कांग्रेस परिवारकी सदस्य विद्या झापा विद्रोह निकट विद्यार्थी संगठनको सम्मेलनमा भाग लिने निर्णयमा पुगिन् । सानैदेखि दृढ व्यक्तित्वकी धनी विद्या पारिवारिक विरोधको वास्ता नगरी राजनीतिमा कटिबद्ध भइन् । परिवारको सल्लाहबिना अध्ययन एवं पार्टीगत क्रियाकलाप एकसाथ अघि बढाउने योजनामा उनी विराटनगर झरिन् । यही सिलसिलामा पार्टीकै संयोजनमा विद्याको विवाह तत्कालीन वामपन्थी नेता मदन भण्डारीसँग भयो । उनी वि.सं. २०३७ देखि २०४० सालसम्म सक्रिय राजनीतिमा रहिन् । 

राजनीतिमा ब्रेक

वि.सं. २०३९ सालमा विवाह गरेकी विद्या विवाहपछिका करिब एकदशक राजनीतिक क्षेत्रबाट ओझेल परिन् । वि.सं. २०४० सालदेखि वि.सं. २०५० सालसम्म उनी गृहिणीको भूमिकामा अल्झिइन् । दम्पती नै राजनीतिमा लागेका कारण समय कम हुन्थ्यो । विवाहको केही समयपछि जेठी छोरी उषाकिरणको जन्म भएकाले छोरीको पालनपोषणमा विद्याले नै समय दिनुपर्ने भयो । मदन भण्डारी राजनीतिमा सक्रिय भएका कारण परिवारका लागि विद्याले नै सम्झौता गर्नुपर्ने भयो । मोरङस्थित नक्सल प्रा.वि.मा शिक्षण सुरु गर्नु र २०४६ सालपछि राजधानी छिरेर पनि नक्सालको डेरामा सीमित हुनुले उनी सक्रिय राजनीतिबाट किनारा लागेको संकेत गरिरहेको थियो । 

राजनीतिमा पुनरागमन

वि.सं. २०५० साल जेठ ३ गतेको रहस्यमय सडक दुर्घटनामा मदन भण्डारीको निधन भयो । वि.सं. २०३९ साल साउन २४ गते वैवाहिक बन्धनमा बाँधिएको वर्ष दिन नपुग्दै उनको राजनीतिक यात्रामा लगभग ब्रेक लागिसकेको थियो छोरीको पालनपोषण र गृहिणीका रूपमा । श्रीमान्को दुर्घटनामा मृत्यु भएपछि शोकका बीच पनि विद्या पुन: राजनीतिक मैदानमा प्रवेश गरिन् । वि.सं. २०५० सालमा काठमाडौं–१ को उपनिर्वाचनमा एमालेले विद्या भण्डारीलाई उम्मेदवार बनायो । निर्वाचनमा उनले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरिन् । त्यसपछि विद्याले राजनीतिमा पछाडि फकर्नु परेन । 

नेपालकी प्रथम राष्ट्रप्रमुख महिलाका रूपमा विद्याले कीर्तिमान कायम गरेकी छिन् । सँगसँगै उनका अगाडि चुनौतीको पहाड पनि छ । ती चुनौतीका अगाडि डटेर लड्न सकेको खण्डमा इतिहासमा उनको नाम उँचो हुनेमा दुईमत छैन । अर्को कुरा उनको कार्यकालमा भएका क्रियाकलापले महिलाले मुलुकको बागडोर सम्हाल्दाको परिणाम प्रमाणित हुनेछ जसले इतिहासलाई नयाँ मोडमा लिएर जानेछ ।

घटनाक्रमअनुसार प्रधानमन्त्रीसँग असमझदारी भएपछि मात्र राष्ट्रपति विवादमा मुछिन्छन् । विगतका दिनमा पनि उनी प्रतिपक्षसँग हुने हरेक बैठक, सत्ता गठबन्धन वा वार्तामा भण्डारी सहभागी हुँदै आएकी थिइन् । जसको परिणाम अहिले सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका कांग्रेसलगायतका दलका नेताहरूसँग राष्ट्रपति विद्यादेवी भण्डारीको राम्रो सम्बन्ध छ । 

को के भन्छन् ?

सपना मल्ल प्रधान, अधिवक्ता

हिजोको संरचनाबाट हामी नयाँ संरचनामा प्रवेश गरेका छौं अर्थात् राजतन्त्रबाट गणतन्त्रमा । राजतन्त्रमा राजाका जेठा छोरा मात्र राष्ट्रप्रमुख (राजा) हुन पाउँथे भने अब क्षमताका आधारमा जनताका छोरा मात्र होइन छोरी पनि राष्ट्रप्रमुख हुन पाउँछन् । भलै राष्ट्रप्रमुखको पद संवैधानिक होस् महिला पुग्नै नसक्ने अवस्थाबाट यो सफलता हासिल भएको छ यसमा हामीले गर्व गर्नुपर्छ र सँगसँगै हामी सारा नेपाली उत्साहित छौं । हिजो आमाका नाममा नागरिकता, सम्पत्तिमा पैतृक अधिकार, ३३ प्रतिशतको सुनिश्चिततालगायतका महिला मुद्दाका पक्षमा लडेको र यसलाई राम्रोसँग बुझेको व्यक्तित्व राष्ट्रप्रमुखको हैसियतमा आउनुले पनि महिलाहरू बढी आशावादी देखिएका छन् । राष्ट्रप्रमुखका हैसियतले सारा नेपालीको संरक्षण गर्नुपर्ने दायित्व त छँदै छ अझ त्यसमाथि पनि महिला भएका नाताले महिलाका सामाजिक, आर्थिक, राजनीतिक, कानुनीलगायतका अधिकार संरक्षण गर्दै हामी महिलामा स्वस्थ, खुसी र सशक्त जीवनयापन गर्नसक्ने वातावरण सिर्जना होस् भन्ने नेपाली जनताको अपेक्षा छ । 

राधाकृष्ण मैनाली, केन्द्रीय सदस्य, एमाले

विद्याका पक्षमा यतिबेला राजनीतिको पल्ला भारी त छ नै त्यसका अतिरिक्त मदन भण्डारीकी श्रीमती तथा महिला हुनुका नाताले सामाजिक सहानुभूति पनि छ । यसले पनि राष्ट्रपतिको भूमिका निर्वाह गर्न सहज हुनेछ । 

विद्यादेवी भण्डारी  (राष्ट्रपति) 

म सबैको हुँ 

यो पदमा कोही न कोही आउनैपथ्र्यो र आउँथे पनि । जसका लागि काम गरें, गरिरहेकी छु, अब भविष्यमा पनि उनीहरूकै लागि काम गर्ने हो । शैली र स्थान फरक भए पनि राष्ट्र र जनताका लागि काम गर्ने हो । अब मैले विशेष पक्षभन्दा पनि समग्र पक्षलाई सहभागी गराई काम गर्नुपर्ने हुन्छ । महिला–पुरुष, उत्पीडित वर्ग तथा हेपिएका हरेकले आफू पछाडि परेको, प्रताडित भएको अनुभव गर्नु भएन । हामी सबै मुलुकमा त्यस्तो वातावरण बनाउन समर्पित हुनुपर्छ । म यो पदमा रहेर नेपालीको गौरव र प्रतिष्ठा बढ्ने गरी काम गर्नेछु । आधा जनसंख्या भएका महिलाहरू कमजोर भए सिंगो मुलुक नै अपाङ्ग हुन्छ । त्यस्तो स्थिति आउन दिनु भएन । 

हिजो मैले पाएको जिम्मेवारीप्रति जति सजग, सचेत र निष्ठावान् रहें अब पनि त्यसरी नै काम गर्नेछु । मुलुकको हितमा आँच आउन नदिने ढंगले काम गर्नेछु । म नेपाल र नेपालीका लागि जुनसुकै परिस्थितिमा पनि पक्षपातरहित ढंगले काम गर्न समर्पित रहनेछु । प्रतिनिधिसभाका १५ वर्ष, रक्षामन्त्री हुँदाको समय वा अन्य जिम्मेवारी निर्वाह गर्दा आएका चुनौतीपूर्ण अवसर र समयमा पनि मैले विवादरहित काम गरेंजस्तो लाग्छ, इमान्दारिताका साथ ती जिम्मेवारी पूरा गरें भन्ने लागेको छ । मनले भलो चिताएर काम गर्ने हो भने परिणाम पनि राम्रै हुन्छ । मनमा कुनै कटुता र खराब भावना नराखी काम गरेकै कारण आज यहाँ आउन सफल भएँ ।

सहभागिताको पक्ष कमजोर भएको अवस्थामा शिक्षाले विशेष भूमिका खेल्छ । शिक्षाले दक्ष शक्ति उत्पादनमा सहयोग पुर्‍याउँछ तसर्थ नारी शिक्षा महिला सहभागिताको अर्को महत्वपूर्ण कडी हो । हाम्रो मुलुकको अवस्था हेर्दा पुरुषहरू महिलाहरूको तुलनामा एक तह अघि छन् अब महिलाहरूलाई पनि उनीहरू सरह नै बनाउन शिक्षाको विकल्प छैन । कहिलेकाहीँ अवसरहरू सिर्जना हुन्छन् तर अवसर लिन सक्ने वातावरण बनाइएन भने त्यो गुम्ने खतरा हुन्छ । 

अहिले हामी संक्रमणकालीन अवस्थामा छौं । मुलुक विभिन्न समस्याले आक्रान्त छ । अर्कातर्फ सबै कुरा नयाँ छ । नयाँ नेतृत्व, नयाँ परिवेशमा सेटल हुन केही समय लाग्ला तर हामी सदा मुलुक र जनताको अधिकार र हितका लागि कटिबद्ध छौं । यो चुनौतीलाई सकारात्मक रूपमा ग्रहण गर्दै हामीले आफूलाई प्रमाणित गर्नुपर्छ । 

 

 Image