Successfully Copied

चाडपर्वमा त हो किनमेल गर्ने

नेपाल विविधताले भरिएको देश हो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र हो–नेपाल । यहाँ विभिन्न समुदायमा विभिन्न पर्व आ–आफ्नै तरिकाले मनाइन्छ ।

नेपाल विविधताले भरिएको देश हो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र हो–नेपाल । यहाँ विभिन्न समुदायमा विभिन्न पर्व आ–आफ्नै तरिकाले मनाइन्छ । अहिले देशभरि तिहारको रौनक छ । वर्षैभरि काम र जीवनशैली सहज बनाउन दिनरात खट्नेहरू चाडपर्वको बहानामा आफूलाई खुसी राख्ने प्रयत्नमा जुट्छन् । वर्ष दिनमा आउने यस्ता पर्वले केही दिन भए पनि राहत प्रदान गर्छन् । यसैगरी आफ्ना प्रियजन तथा परिवारसँग वर्षाैंदेखि टाढिएकाहरूलाई पर्वले केही समयका लागि एक ठाउँमा जुटाइदिन्छ तसर्थ चाडपर्वहरू उत्सव मात्र होइनन् आफन्तहरूसँगको मिलन तथा थाकेको ज्यान बिसाउने चौतारी पनि हुन् भन्दा फरक पर्दैन । हुन त समयक्रमसँगै अहिले चाडपर्वसम्बन्धी दृष्टिकोणमा पनि परिवर्तन आउँदैछ । यद्यपि चाडपर्व हरेक मानिसका लागि खुसीको तरंग पैदा गर्ने आधार मानिन्छन् । विश्वभर छरिएर रहेका नेपाली विदेशी भूमिमा भए पनि आफ्नो मौलिकता र पहिचान झल्कने पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँछन् । नेपालको सन्दर्भमा पनि चाडपर्व अत्यावश्यक सामानहरूको खरिद–बिक्रीका कारण महत्वपूर्ण मानिन्छ । 

दसंै–तिहारको मुखमा बजारको चहलपहल उत्कर्षमा पुग्छ । खाद्यान्नदेखि लत्ताकपडासम्मको ठूलो उपभोगका कारण अर्थतन्त्रलाई तरंगित बनाउने भएकाले यतिबेला ग्राहकहरूको चापाचाप हुन्छ भने व्यावसायिक केन्द्रहरूमा पाइला टेक्ने ठाउँसमेत हुँदैन । गत वैशाखमा गएको भूकम्पको मार झेलेकाहरूले दैनिक जीवन सहज बनाउन चाडपर्वलाई माध्यम बनाउने प्रयास गर्न थालेका छन् । दसंै–तिहार दु:खको घाउमा मल्हम लगाउने पर्व भएका छन् । यसैगरी देशबाहिर रहेका कतिपय नेपाली पनि चाड मनाउनकै लागि स्वदेश फर्किएर किनमेलमा सरिक देखिन्छन् । 

चाडपर्वमा धेरै मानिसको योजना नयाँ सामान जोड्ने हुन्छ । त्यसकारण यतिबेला व्यवसायीहरू व्यस्त हुन्छन् । चाडपर्वमा विशेषगरी तयारी पोसाक, जुत्ता, ब्याग, तेल, मरमसला, रंग, गाडी, घरेलु इलेक्ट्रोनिक्स, सुन–चाँदी आदिको माग बढ्छ । चाडपर्वकै यो रौनकमा पहिरन तथा एसेसरिजको बजार उत्कर्षमा हुन्छ । 

चाडपर्वका बेला राजधानीका सडकदेखि पसलसम्म मानिसको भीड देख्न सकिन्छ । खाद्यान्नदेखि लिएर लत्ताकपडा, गरगहना एवं अन्य अत्यावश्यक वस्तु किनमेल गर्नेहरूको भीड फुटपाथदेखि सपिङ मलसम्म देखिन्छ । यस्ता पर्वमा घरमा विशेष सामान जोड्ने चलन पनि छ । यतिबेला इलेक्ट्रोनिक सामान, फर्निचर, सवारी साधन, भाँडाकुँडा, घर सजावटका सामग्री तथा पेन्टिङजस्ता सामानको बिक्रीले बजार तताउँछ । चाडपर्वमा प्रदान गरिने विभिन्न अफर एवं छुटका कारण पनि कतिपय उपभोक्ता दसैं–तिहार कुरेर बस्छन् । 

यो समय विदेशमा रहेका धेरैले पर्वका लागि भन्दै परिवारमा पैसा पठाउने हुँदा सर्वाधिक रेमिट्यान्स पनि जम्मा हुन्छ तसर्थ पनि दसैं–तिहारलाई किनमेलको प्रमुख पर्व भन्दा फरक पर्दैन ।

प्रस्तुति : सरस्वती कटुवाल

 Image