Successfully Copied

श्रीमानको कमाइ कति छ ?

महिलाको उमेर र पुरुषको आय नसोध्नु भन्ने उक्ति हाम्रो समाजमा निकै प्रचलित छ । अधिकांश श्रीमती श्रीमानको आयप्रति बेवास्ता गर्छन् । यसलाई स्वीकार गर्छन् र थाहा नभएजस्तो देखाउँछन् ।

महिलाको उमेर र  पुरुषको आय नसोध्नु भन्ने उक्ति हाम्रो समाजमा निकै प्रचलित छ । अधिकांश श्रीमती श्रीमानको आयप्रति बेवास्ता गर्छन् । यसलाई स्वीकार गर्छन् र थाहा नभएजस्तो देखाउँछन् । उनीहरूलाई आफ्नो पूरा बजेट प्राप्त भए, खाना, नाना र छानाको आवश्यकता पूरा भए, अन्य कुराको खासै वास्ता हुँदैन । उनीहरू आफ्नो आवश्यकता पूरा भए कुनै खोजीनीति गर्न चाहँदैनन् । चावहिलकी रमा लामा श्रीमान्को कमाइका सम्बन्धमा कुनै चासो नभएको बताउँछिन् । रमा भन्छिन्–आफ्नो कमाइ खर्च गर्नुपरेको छैन सबै उहाँले पुर्‍याउनुभएको छ, कति कमाइ छ भनी किन चासो राख्ने ?  

कतिपय महिला भने श्रीमान्को कमाइमा निकै ध्यान पुर्‍याउँछन् । उनीहरू श्रीमान्को आयस्रोत के–के छ ? कहाँबाट कति आम्दानी भयो त्यो कहाँ–कहाँ खर्च भयो, सम्पूर्ण हरहिसाब राख्छन् । आर्थिक कारोबारमा पनि दम्पतीको विश्वास अडेको हुन्छ । कतिपय दम्पती यसमा पारदर्शी हुन्छन् भने कतिपय अपारदर्शी । यद्यपि आयको हिसाब राख्नु आवश्यक छ । अहिलेको बढ्दो महँगीमा आफ्नो बजेट तथा सन्ततिको भविष्यका लागि खर्च कम गरी बचत गर्ने बानी बसाल्नु बुद्धिमानी हुन्छ । एक एनजीओमा कार्यरत भगवती पंगेनी भन्छन्–जसरी अरु मुद्दा पारदर्शी हुनुपर्छ, त्यसैगरी आर्थिक मुद्दा पनि पारदर्शी हुनुपर्छ । श्रीमान्–श्रीमतीको समझदारीमा अघि बढ्दा कहिल्यै आर्थिक संकट आउँदैन अनि भविष्य सुरक्षित हुन्छ । यसले महिलाहरूलाई पनि आर्थिक स्वतन्त्रताको अनुभव दिलाउँछ ।

श्रीमान्–श्रीमतीबीचमा आयको विषयलाई लिएर कुराकानी हँुदा आपसी सम्बन्ध अझ सुमधुर हुन्छ । श्रीमान्–श्रीमती दुवै कमाउँछन् भने कति कमाउँछन् ? उनीहरूको एकाउन्ट कहाँ–कहाँ छ ? रुपैयाँ कहाँ कति जम्मा छ ? नोकरीका साथमा अरू व्यापार छ भने त्यसको पैसा कहाँ जम्मा भएको छ ? ज्वाइन्ट एकाउन्ट, लकर, जीवन बीमा, शेयर, बचत, लोन आदि सबै मुद्दामा दुवैको चर्चा हुनुपर्छ । उनीहरू यस विषयमा सन्तुष्ट छन् भने आपसी सम्बन्ध पनि राम्रोसँग अघि बढ्छ । आर्थिक विषयमा अपारदर्शी दम्पतीको भविष्य असुरक्षित हुन्छ । यसले उनीहरूको भविष्यलाई दु:खद् बनाउँछ । दुवैका बीच सधैं तनाव रहन्छ । साँचो कुरा भए पनि झूटो हुन्छ ।

मिलेर बनाउनुपर्छ योजना

श्रीमान्–श्रीमती एउटै रथका दुई पाङ्ग्रा हुन् । त्यसैले अर्थ व्यवस्था पनि दुवैले मिलेर अघि बढाउनुपर्छ ।  सफल तथा उज्ज्वल भविष्यका लागि श्रीमान्–श्रीमतीले आफ्नो आयको स्रोतका सम्बन्धमा खुलस्त बताउनुपर्छ । एनसीसी बैंककी चाँदनी श्रेष्ठका अनुसार आर्थिक मतभेदले सम्बन्धमा सधैं तिक्तता ल्याउँछ र घरायसी वातावरण पनि नराम्रो बनाउँछ । त्यसैले आफ्नो आय के–कहाँ खर्च गर्ने कहाँ लगानी गर्ने तथा कसरी बचत गर्ने कुरा श्रीमान्–श्रीमती मिलेर बनाउनुपर्छ । ऋण तथा तिर्ने ठाउँ पनि रुटिन बनाएर अघि बढ्नुपर्छ ।

विवाहपछि पैसाकै कुरालाई लिएर दम्पतीमा असमझदारी उत्पन्न हुनसक्छ । श्रीमतीमा श्रीमान्को आयलाई लिएर कुनै शंका उत्पन्न हुनुभन्दा पहिले नै कुरा खुल्नुपर्छ ।

नयाँ–नयाँ गृहस्थी बसाउँदा श्रीमान्को खरिद गर्ने बानीमा प्रशंसा गरेर पनि आय जान्न सकिन्छ ।

श्रीमान्को आयका सम्बन्धमा उनका बोस तथा साथीभाइसँग चर्चा गर्नु हुँदैन । आय विवरणमा ध्यान दिनुपर्छ ।

बजेट बनाउँदा आफूसँग पैसा नै नभएको अभिनय गर्नुपर्छ । किनमेल, स्कुल फि, घर खर्च आदि कहाँबाट तिर्ने चिन्ता व्यक्त गर्नुपर्छ ।

जागिरको कर फायल गर्दा श्रीमतीलाई जानकारी दिनुपर्छ ।

पारदर्शिता

पैसा परिवारका लागि सबैथोक होइन र हो पनि । धन खुसी र सबै आवश्यकता पूरा गर्ने आवश्यक साधन हो तसर्थ पूर्ण विश्वास, प्रतिबद्धता एवं आपसी समझदारीका साथ पैसाको मामिलामा पारदर्शी हुनुपर्छ । पैसाले सम्बन्ध बिगार्छ र बनाउँछ पनि । श्रीमान्–श्रीमतीको तारतम्य मिलाउँदा परिवारमा खुसी छाउँछ ।

श्रीमती श्रीमान्की जीवन संगिनी हुन् । एक–अर्काको कामका बारेमा जानकारी छैन भने कुनै समयमा अकस्मात् श्रीमान्को मृत्यु भएको स्थितिमा कारोबार ठप्प हुन्छ । नातेदारहरू पैसा बाँकी छ भनेर लिन आउन सक्छन् तसर्थ श्रीमान्को आयका सम्बन्धमा श्रीमतीलाई जानकारी  भए दु:खद् घडीमा काम लाग्छ ।

श्रीमान् खर्चालु छन् भने श्रीमतीले लगानी कहाँ–कहाँ छ पत्ता लगाउनुपर्छ । गलत ढंगबाट गरिएको लगानीले संकट निम्त्याउन सक्छ । कुनै समस्या आउनुभन्दा पहिले कहाँ–कहाँ कति पैसा लगानी र बचत छ जाँच्नुपर्छ ।

आफूले महँगो माग राख्नुभन्दा पहिले श्रीमान्को आयका सम्बन्धमा जान्नुपर्छ । यसका आधारमा खर्चको सूची बनाउनुपर्छ ।

आयस्रोत थाहा पाउनुपर्छ

श्रीमतीलाई श्रीमान्को आयका सम्बन्धमा जानकारी छ भने बढी खर्च, ऋण, व्याज कहाँबाट तिर्ने भन्ने चिन्ता हुन्छ । श्रीमतीहरूले कारोबारका बारेमा जानकारी लिनुपर्छ । बढी खर्चले परिवारको भविष्य जोखिममा पुग्छ । त्यसैले उनीहरूको आय जान्नुपर्छ ।

श्रीमान्–श्रीमती दुवैको अलग–अलग एकाउन्ट हुनु राम्रो हो तर गुप्त एकाउन्टले सम्बन्धमा निराशा पैदा गराउँछ । यसले भविष्यमा नकारात्मक परिस्थिति उत्पन्न गर्छ । गुप्त एकाउन्टले परस्त्री सम्बन्ध, अन्डर वल्र्ड सरोकार, भ्रष्टाचारको अकुत सम्पत्तितर्फ इंगित गर्छ । यस्तो समस्या उत्पन्न नहोस् भनेर पनि आयका सम्बन्धमा जानकारी राख्नु आवश्यक छ ।

फाइदाका साथ बेफाइदा पनि

पैसा अलग–अलग राखौं वा एकसाथ यसको फाइदा–बेफाइदा भने जानिराखौं ।

अलग बैंक एकाउन्ट

फाइदा : आफ्नो पैसाको आवत–जावतमा एक–अर्कालाई जिम्मेवार बनाउनु हुँदैन । यसले फजुल खर्चबाट जोगाउँछ । ऋणको जवाफदेही कोही हुँदैन ।

बेफाइदा : आपसी समझदारीमा कमी आउँछ । पैसा लुकाउन सकिन्छ ।

बचत

फाइदा : दुवैले अलग–अलग बचत गर्न सक्छन् । यो एक प्रकारको सुरक्षा हो ।

बेफाइदा : आफैले गरेको निर्णयमा प्रश्नचिन्ह खडा हुनसक्छ ।

ज्वाइन्ट एकाउन्ट

फाइदा : श्रीमान्–श्रीमतीमा आपसी विश्वास रहन्छ । दुवैको आयमा समान पहुँच हुन्छ । यसले खर्च नियन्त्रण गर्छ ।

बेफाइदा : पैसा निकाल्दा दुवैको हस्ताक्षर चाहिन्छ ।

घर तथा अचल सम्पत्ति

फाइदा : बढी सुरक्षित हुन्छ ।

बेफाइदा : दुवैको स्वीकृतिबिना बेच्न सकिँदैन ।

 Image