Successfully Copied

वर्षा इन्टेरियर

कोठामा कार्पेट छ भने त्यसमुनि अखबार ओछ्याउनुपर्छ, यसो गर्दा मौसमका कारण आउने ओसलाई अखबारले सोस्छ ।

–कोठामा कार्पेट छ भने त्यसमुनि अखबार ओछ्याउनुपर्छ, यसो गर्दा मौसमका कारण आउने ओसलाई अखबारले सोस्छ ।

–वर्षाका कारण झ्याल–ढोकाका काठ फुलेका छन् भने त्यसमा मैन रगड्नुपर्छ– काठ फुल्न रोकिन्छ । वर्षाका कारण फोहोर भएका झ्यालका सिसा अखबारमा थोरै सिरका लगाएर सफा गर्न सकिन्छ ।

–फर्निचर, पुस्तकको र्‍याक, टेलिभिजन आदि झ्याल नजिक भए वर्षाको पानीका कारण बिग्रन सक्छन् तसर्थ ती सामानको स्थान परिवर्तन गर्नुपर्छ ।

–काठका दराजसँगै फलामका फर्निचरमा पनि ओसका कारण दुर्गन्ध आउँछ । अत: दराजमा भिजेको कपडा राख्नु हुँदैन । मौसम सफा भएको दिन दराज खोलेर खुल्ला छोड्नुपर्छ । पातलो डोरीमा १०–१२ वटा चक राख्नुपर्छ । चकले दराजको ओस सोस्छ । त्यसबाहेक ओडोनिल वा कपूरको टुक्रा पनि राख्न सकिन्छ जसबाट ओस पनि लाग्दैन र कपडालाई कीराबाट सुरक्षा प्राप्त हुन्छ ।

–दराज खोल्दा कपडाबाट सुगन्ध आओस् भन्ने हो भने सेन्टको खाली सिसीलाई कपडाका बीचमा राख्नुपर्छ । यसका लागि साबुनको र्‍यापर पनि प्रयोग गर्न सकिन्छ । पहिरनलाई जोगाउन सिलिका जेल प्रयोग गर्नुपर्छ ।

–सोफा आदिको गद्दामा ओसका कारण सिल्भर फिस देखिनसक्छ । अत: गद्दामा कपर लगाउनु पहिले प्लास्टिक सिट लगाउनुपर्छ ।

–मौसम सफा भएका दिन घरका सबै झ्याल–ढोका खोल्नुपर्छ जसका कारण घरमा ताजा हावाले प्रवेश पाउँछ ।

–घरमा एसी छ भने सातामा दुई पटक जाली सफा गर्नुपर्छ ।

–वर्थ सर्टिफिकेट, पासपोर्ट, इन्स्योरेन्स पोलिसी आदि महत्वपूर्ण कागजातलाई वाटर प्रुफ बक्समा राख्नुपर्छ ।

–निरन्तर भिजेको वाथरुमबाट अचम्मको दुर्गन्ध आउँछ । अत: वाथरुममा राति ब्लिचिङ पाउडर छर्कनुपर्छ । बिहान बढारेर सफा गरे बाथरुम चम्किन्छ । ब्लिचिङ पाउडरलाई भान्साको फ्लोर तथा सिन्कमा पनि प्रयोग गर्न सकिन्छ ।

–घरलाई सुगन्धित बनाउन कटन बल्समा कुनै सेन्ट छर्केर ट्युबलाइटमा राख्नुपर्छ । जब त्यो जल्छ बिस्तारै कोठा सुगन्धित हुन थाल्छ ।

–लामखुट्टे र झिँगाबाट जोगिन दुई लिटर पानीमा लगभग आधा किलोग्राम निमका पात तथा ५ ग्राम कपूर हालेर उमाल्नुपर्छ । पानी आधा भएपछि चिसो बनाई त्यसमा केही थोपा एसेन्सियल ओयल मिसाएर सिसीमा भरी नियमित स्प्रे गर्दा घर सुगन्धित रहनुका साथै झिँगा वा लामखुट्टेबाट पनि जोगिन सकिन्छ ।

 Image