Successfully Copied

कुरा इम्प्रेसन म्यानेजमेन्टको

आजको समयमा व्यक्ति चाहे जति नै क्षमतावान्, दक्ष र असल चरित्रको भए पनि जबसम्म उसको खुबी अरूसामु देखिँदैन तबसम्म अरूले उसको क्षमतामा भरोसा गर्दैनन् ।

आजको समयमा व्यक्ति चाहे जति नै क्षमतावान्, दक्ष र असल चरित्रको भए पनि जबसम्म उसको खुबी अरूसामु देखिँदैन तबसम्म अरूले उसको क्षमतामा भरोसा गर्दैनन् । त्यसैले इम्प्रेसन म्यानेजमेन्टको माध्यमबाट प्रोफेसनल जीवनमा आफ्नो विशेष पहिचान बनाउनु आवश्यक छ । प्राय: मानिसहरू अरूको व्यक्तित्वलाई एकै नजरमा मूल्यांकन गर्न सक्ने दाबी गछ्र्रन् तर वास्तविकता त्यस्तो हुँदैन । मानिसहरू आफ्नो आत्मविश्वासका कारण त्यसो भन्छन्् । अरूको व्यक्तित्व सही ढंगबाट बुझ्नु सहज कुरा होइन तर जसले बुझ्न सक्छ, उसले बाजी मार्छ । मनोविज्ञानको भाषामा यसलाई सोसल इन्टेलिजेन्स भनिन्छ । 

के हो सोसल इन्टेलिजेन्स 

सामाजिक जीवनमा सफलता प्राप्त गर्न आफ्नो जिम्मेवारी निर्वाह गर्नु मात्र पर्याप्त हुँदैन, यसका लागि आफू वरपरका व्यक्तिका व्यक्तित्वको खुबी एवं कमजोरीहरू बुझ्दै, त्यहीअनुरूप सन्तुलित व्यवहार गर्नुपर्छ । कर्पोरेट जगत्मा जसले अरूको व्यक्तित्व पढ्ने कला जान्दछ, उसको सफलता निश्चित हुने बताइन्छ । अत: व्यक्तित्वको पहिलो इम्प्रेसन उसको व्यक्तित्वको एउटा यस्तो महत्वपूर्ण पक्ष हुन्छ जसलाई बेवास्ता गर्न सकिँदैन । त्यसैले भनिन्छ–फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन । 

आँखाबाट सुन्नुपर्छ 

मानवीय व्यवहारमा लामो समयदेखि शोध गरिरहेका अमेरिकी मनोवैज्ञानिक अलवर्ट मेहरावियनका अनुसार जब हामी कसैसित कुराकानी गर्छौँ, त्यतिबेला बोलिएका शब्दको मात्र ७ प्रतिशत, आवाज र लवजको ३८ प्रतिशत प्रभाव हुन्छ भने ५५ प्रतिशत प्रभाव बढी ल्याङ्ग्वेजको हुन्छ । त्यसैले जब कसैले आफूसँग कुराकानी गर्छ, त्यतिबेला उसले भनेको शब्द मात्र पर्याप्त हुँदैन, उसको कुरा सुन्नुका साथै उसको बढी ल्याङ्ग्वेजका स–साना पक्ष पनि बुझ्ने प्रयास गर्नुपर्छ अर्थात् आफूसित कुरा गरिरहेको व्यक्तिको कुरा सुन्नुका साथै उसको हाउभाउप्रति पनि दृष्टि राख्नुपर्छ । 

अरूलाई सहमत गर्नुपर्छ 

आजको मितिमा त्यही व्यक्ति जसले आफ्नो कुराबाट अरूको विचार बदल्न सक्ने क्षमता राख्छ । कर्पोरेट संसारमा व्यक्तिगत सफलताको सबैभन्दा ठूलो आधार यही हुन्छ कि व्यक्तिले आफ्नो कुराबाट अरूलाई विशेष गरी उच्च पदस्थ अधिकारीलाई प्रभावित गर्न तथा उनीहरूको सहमति प्राप्त गर्न कति सक्षम हुन्छ ? त्यसैले आवश्यकताअनुरूप तर्कसहित आफ्नो असहमति पनि दर्ज गराउनु आवश्यक छ तर यसो गर्दा आफ्नो भाषा र बडी ल्याङ्ग्वेज भने शालीन हुनुपर्छ । 

व्यक्तित्वको ऐना 

शब्दमा भनिएका कतिपय कुराबाहेक मुहारको हाउभाउ, उठ्ने, बस्ने आदि शैलीको धेरै महत्व एवं अर्थ हुन्छ । अर्को शब्दमा भन्नुपर्दा बढी ल्याङ्ग्वेज नै व्यक्तिको वास्तविक ऐना हुन्छ । त्यसैले आफ्नो बडी ल्याङ्ग्वेज सुधारेर व्यक्तित्वमा नयाँ र सकारात्मक परिवर्तन ल्याउनु आवश्यक छ । 

 Image