Successfully Copied

सच्चा प्रेमी नौलखा दम्पती

प्राय: मारवाडी परिवार पैसा कमाउनेतिर लाग्ने भए पनि कोइराला परिवारको सामीप्य एवं श्रीमतीको उदार मनकै कारण क्रान्तिमा लागेर पैसाको पछाडि कहिल्यै दौडनु नपरेको भीमराज बताउँछन् । राजनीतिमा लागेका भीमराज जैन धर्ममा पनि उत्तिकै सक्रिय छन् । उनी जैन साधुमा जाँदा श्रीमतीलाई पनि सँगै

भीमराज नौलखा र इन्दुदेवी नौलखा

स्वतन्त्रता सेनानी भीमराज नौलखा र इन्दुदेवी नौलखाको विवाह भएको ६८ वर्ष बितिसकेको छ । यद्यपि उनीहरूबीचको प्रेम, सद्भाव र आपसी समझदारी हेर्दा भर्खर प्रेममा परेका जोडीहरू भन्दा कम देखिँदैन । ८३ वर्षकी इन्दु ८७ वर्षका श्रीमान्लाई आफै स्याहार्छिन् । बिरामी भएका श्रीमान्लाई छोराछोरी एवं नातिहरूले स्याहारेको पनि उनलाई मन पर्दैन । उनी आफैं श्रीमानका लागि खाना पकाउने, हिँडडुल गराउने, लुगा फेराउने तथा औषधि ख्वाउने आदि काम सम्पन्न गर्छिन् ।
 
 

हुन त, भारत राजस्थानको सम्पन्न परिवारकी छोरी इन्दुको जीवनमा कुनै कुराको कमी थिएन । त्यतिबेला नेपालमा बसोबास गरिरहेका भीमराजसँग उनको विवाह भयो । भीमराज त्यतिबेला मुक्ति  सेनाका सदस्य थिए । बीपीकी आमा दिव्याले क्रान्तिमा जान भीमराजलाई लिन आउँदा उनकी जीवनसंगिनी इन्दुदेवीले आफूसँग भएको १ सय तोला सुनसमेत दिएर श्रीमान्लाई क्रान्तिमा पठाएकी थिइन् । त्यतिबेला उनी गर्भवती थिइन् । शिशु जन्मने बेलामा यसरी सबै सुन दिएर श्रीमान्लाई आन्दोलनमा पठाउनु इन्दुको बहादुरी थियो । उनको त्यो त्याग र आँटले नै आज भीमराज नौलखालाई जिउँदो सहिदको दर्जा दिइन्छ । श्रीमान् क्रान्तिमा निस्किएकै दिन इन्दुले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् ।

नौलखा दम्पतीका ६ छोरी तथा ३ छोरालाई इन्दु आफैंले हुर्काइन् भने श्रीमान्लाई कुनै घरायसी तनाव दिइनन् । प्राय: मारवाडी परिवार पैसा कमाउनेतिर लाग्ने भए पनि कोइराला परिवारको सामीप्य एवं श्रीमतीको उदार मनकै कारण क्रान्तिमा लागेर पैसाको पछाडि कहिल्यै दौडनु नपरेको भीमराज बताउँछन् । राजनीतिमा लागेका भीमराज जैन धर्ममा पनि उत्तिकै सक्रिय छन् । उनी जैन साधुमा जाँदा श्रीमतीलाई पनि सँगै लान्थे । राजस्थानबाट जैन साधुहरूको सेवा गरी हिँड्दै विराटनगरसम्म आइपुग्थे । राजनीतिमा सामूहिक सरकारमा उनी मार्केटिङ इन्स्पेक्टर थिए भने पछि काठमाडौंमा बीपीको सुराकीका रूपमा भरत शमशेरकहाँ भाँडा माझ्नसमेत बसे । खुकुरी दलले आक्रमण गर्ने बेला बीपीलाई उनैले भगाएका थिए ।

अहिले वृद्धावस्थामा आइपुगेका नौलखा दम्पतीको जीवनमा धेरै उत्तारचढाव आए पनि भीमराज इन्दुजस्ती जीवनसंगिनी पाएर आफ्नो जीवन सार्थक भएको बताउँछन् । चाउरिएको शरीरमा उत्तिकै बल भएकी इन्दु श्रीमानलाइ हातमा हात राखेर नाति–पनातिहरूसँग रमाइरहेका छिन् । इन्दु राज्यका सच्चा सेवककी धर्मपत्नी हुन पाउनुलाई आफ्नो सौभाग्य मान्छिन् । कुनै लोभ, लालच एवं मोह नराख्ने नौलखा दम्पती सच्चा प्रेमका प्रतीक हुन् ।

तस्बिर : श्रृती श्रेष्ठ

 Image