Successfully Copied

एक–अर्काको साथमा रमाएको जोडी

विवाहपछि श्रीमतीले सधैं खुट्टा ढोग्नुपर्ने पम्परालाई नमानेका कमलराजले दुवैले नुहाएर आएपछि हात जोडेर एक–अर्काको हात ढोग्ने र एकले अर्काेलाई गाला जोडेर माया गर्ने चलन चलाए जुन आजसम्म पनि यथावत् छ ।

कमलराज रेग्मी  र  विमला रेग्मी

रा.जनीतिज्ञ तथा साहित्यकार कमलराज रेग्मी पाल्पा घर भए पनि अध्ययनका लागि सानैदेखि काठमाडौं बस्थे । १८ वर्षको उमेरमा घरबाट केटी हेरी ठिक्क पारेर विवाहका लागि उनलाई पाल्पा बोलाइयो । त्यतिबेला केटाले केटी हेर्ने चलन थिएन । उनी छुट्टी लिएर विवाह गर्न पाल्पा पुगे । ११ वर्षकी विमलासँग उनको विवाह भयो । कमलराज काठमाडौंमा वामपन्थी राजनीति गर्थे भने उनी सुधारवादी थिए । त्यसैले विवाहमा श्रीमानकाे खुट्टा धोएर पानी खाने र ढोग्ने परम्परा बहिष्कार गरे । त्यतिबेला विवाहपछि दुई वर्ष माइतीमै बसी काम सिकेर आउने चलन थियो । त्यसैले भोलिपल्टै ससुरालाई छोरीलाई पढ्न र लेख्न जानेपछि मात्र पठाइदिन चिठी लेखे । उनी दुई वर्षपछि पढ्न बनारस गए । विवाह गरेको ३ वर्षपछि मात्र उनीहरूको राम्रोसँग देखभेट भयो । माइतीमा बसेर विमलाले श्रीमान्को इच्छाबमोजिम पढ्न–लेख्न सिकिन् । पछि घरमा आएपछि श्रीमान्ले नै सिकाउन थाले । 

२००७ सालमा पाल्पामा पहिलो पटक पार्टीको झण्डा उठाएका कमलराज रेग्मीको राजनीतिप्रतिको समर्पण देखेर विमला पनि पार्टीमा लागिन् । महिला संगठन बिस्तार गरी ठाउँठाउँमा पुगेर जनजागरणका भाषण दिने विमलालाई परिवारले हेला गर्न थाल्यो । २०१५ सालको निर्वाचनमा पाल्पाबाट कमलराजले विजय प्राप्त गरे भने २०१७ सालमा ५ वर्ष जेल परे । त्यतिबेला विमलाको जीवनमा धेरै दु:ख आइपर्‍यो । उनी पाल्पाको मिसनरी हस्पिटलमा लुगा धुने काम गर्न पुगिन् । त्यहाँका अमेरिकन डाक्टरले विमलाको मेहनत देखेर नर्सिङ पढ्न सहयोग गरे । कमलराजलाई जेलमा बस्दा पेटका विभिन्न रोगका साथै अल्सरले सारै दु:ख दियो । त्यसपछि उनी सरकारलाई माफीसहितको चिठी लेखेर जेलमुक्त भए । पञ्चायतबाट चुनाव उठेर राष्ट्रिय पञ्चायत सदस्य भएपछि श्रीमती र बालबच्चा बोकेर काठमाडौं आए । डेरामा बसेर चार छोरी र एक छोरालाई हुर्काए । एउटा घर त चाहिन्छ भनेर विभिन्न ठाउँमा सापटी लिएर धोवीघाटको अहिले घर भएको जग्गा जोडे । सबै सन्तानलाई राम्रो शिक्षा दिएका उनीहरू अहिले ८९ र ८२ वर्षका भएका छन् । दुवैको शरीरमा ३–४ किसिमका अप्रेसनका घाउ छन् । तैपनि उनीहरूको मनोबल कुनै कमी देखिँदैन । जवानीमा धेरै वर्ष अलग–अलग बसेका यी दम्पती वृद्धावस्थामा एकले अर्काेलाई साथ दिँदै चौबीसै घन्टा सँगै बस्छन् । विमला सधै श्रीमान्संगै मर्न पाए हुन्थ्यो भनिरहन्छिन्, उता कमलराजलाई पनि आफू पहिले बिते श्रीमतीले दु:ख पाउँछिन् कि भन्ने डर छ । रेग्मीका अनुसार जवानीमा हुने माया र बुढेसकालको माया फरक हुन्छ, वृद्धावस्थामा विशेष माया हुन्छ । 

विवाहपछि श्रीमतीले सधैं खुट्टा ढोग्नुपर्ने पम्परालाई नमानेका कमलराजले दुवैले नुहाएर आएपछि हात जोडेर एक–अर्काको हात ढोग्ने र एकले अर्काेलाई गाला जोडेर माया गर्ने चलन चलाए जुन आजसम्म पनि यथावत् छ । विगत ७ वर्षदेखि कुनै गरगहना नलगाएकी विमलाले आफ्नो हातमा कमल र विमला लेखिएको डोरा बाँधेकी छिन् । श्रीमतीले सन्तानको जिम्मेवारी राम्रोसँग निर्वाह गरेकीले नै आफू राजनीतिमा लाग्न पाएको कमलराज बताउँछन् । विमला भने माया गर्ने, परिवारलाई प्राथमिकता दिने श्रीमान् पाएकोमा गर्व गर्छिन् । सबै सन्तान आ–आफ्ना काममा व्यस्त भएकाले दिउँसो यो जोडी एक–अर्काका साथमा रमाइरहेको हुन्छ । 

सिर्जना दुवाल श्रेष्ठ

 Image