Successfully Copied

झुमर फेसनमा बलिउड

अभिनेता शैल अली खानको चलचित्र ‘एजेन्ट विनोद’ ले सोचेअनुरूपको सफलता हात नपारे पनि उक्त चलचित्रमा अभिनेतृ करिना कपूरले आफ्नो कम्मर मर्काइ

अभिनेता शैल अली खानको चलचित्र ‘एजेन्ट विनोद’ ले सोचेअनुरूपको सफलता हात नपारे पनि उक्त चलचित्रमा अभिनेतृ करिना कपूरले आफ्नो कम्मर मर्काइ र लुकबाट सबैको ध्यान आकर्षित गरिन् । करिना उक्त चलचित्रमा मुजरा लुकमा प्रस्तुत भएकी थिइन् । त्यतिबेला करिनाको लुकलाई पूर्णता प्रदान गरेको थियो, उनको निधारमा लट्किएको वन पिस ज्वेलरीले । उक्त गीतमार्फत झुमरले बलिउडमा पुन: चम्कने अवसर प्राप्त गरेको थियो । करिनाकी बेस्ट फ्रेन्ड अमृता अरोडाकी दिदी अर्थात् अभिनेतृ मलाईका अरोडाले पनि झुमरको प्रयोगलाई लोकप्रिय बनाएकी छिन् । साजिद खानद्वारा निर्देशित चलचित्र ‘हाउसफुल–२’ को गीत ‘अनारकली डिस्को चली’ मा मलाईका अरोडाको डान्स एवं लुकलाई पनि खुबै रुचाइएको थियो । उनको सेक्सी लुकलाई अझ उजागर गर्न शिरमा प्रयोग गरिएको ज्वेलरी ‘झुमर’ लाई बिर्सन सकिँदैन । आफ्नो ब्याकलेस चोलीमा जब उनी फर्केर सेक्सी अन्दाजमा सलामको मुद्रामा प्रस्तुत हुन्छिन्, तब कानमा प्रयोग भएको झुम्कासँगै म्याच गरेको झुमरले उनको लुक्सलाई अझ आकर्षक बनाएको छ ।

अभिनेतृ ऐश्वर्या रायले पनि ‘झुमर’ लाई आफ्नो सुन्दरतालाई अझ फराकिलो र लोभलाग्दो अन्दाजमा प्रस्तुत गर्न एकपटक मात्र होइन दुईपटक प्रयोग गरेको पाइन्छ । पहिलो पटक चलचित्र ‘बन्टी और बब्ली’ को आधुनिक शैलीको मुजरा ‘कजरा रे कजरा रे’ मा र दोस्रो पटक चलचित्र ‘उमरावजान’ मा । ऐश्वर्याको त्यो स्टाइल आजसम्म धेरैको मस्तिष्कमा ताजै छ, जसमा उनी आफ्नो ओठलाई अत्यन्त सेक्सी पोज दिँदै विशेष शैलीमा हेर्छिन् । त्यतिबेला उनले शरीरमा प्रयोग गरिएको झुमरले उनको स्टाइललाई जबर्जस्त बनाएको थियो ।

नयाँ उमरावजानको चर्चा गर्दा पुरानो उमरावजानलाई बिर्सन सकिँदैन । मुजफ्फर अलीको कवितामय क्लासिक–चलचित्र उमरावजानमा अभिनेतृ रेखाले झुमरको प्रयोग गरी सबैको मन जितेकी थिइन् । रेखाको उक्त लुकलाई आज पनि धेरैले उत्तिकै रुचाउँछन् । पुराना हिन्दी चलचित्रमा झुमर लगाउनुको अर्थ कोठीको चरित्रलाई सिद्ध गर्नु हुन्थ्यो । त्यसैले पनि चलचित्र पाकिजामा मीनाकुमारीको यादगर छवि सबैका सामु ताजै छ जसमा मीनाले आफ्नो शरीरमा झुमर लगाएकी थिइन् । उनको त्यो ठूलो आकारको झुमरले फिल्मी कोठीको चरित्रलाई पहिचान प्रदान गरेको थियो । त्यसैले पनि जब सञ्जयलीला भन्सालीले माधुरी दीक्षितलाई चलचित्र देवदासमा कोठीको चरित्र चन्द्रमुखीको भूमिका दिए, तब उनको शिरमा झुमर पहिर्‍याउन छुटाएनन् । शरदचन्द्र चट्टोपाध्यायको उपन्यासमा आधारित चलचित्र देवदासमा उक्त झुमरले चलचित्रकै चमक–दमक बढाएको थियो । झुमरलाई रानी मुखर्जीले पनि प्रयोगमा ल्याइन् । चलचित्र ‘मङ्गल पाण्डे द राइजिङ’ मा उनले हीराको भूमिकामा सुनको झुमर प्रयोग गरेकी थिइन् । यद्यपि चलचित्र मङ्गल पाण्डेले कुनै प्रभाव छोड्न सकेन ।

अभिनेतृ कटरिना कैफले पनि आफूद्वारा अभिनीत एक हास्य चलचित्रमा झुमर लगाएकी थिइन् । फरहा खानका श्रीमान् शिरीष कुन्दराको चलचित्र ‘तीस मार खान’ मा कटरिनाले झुमर लगाएर आफ्नो लुकमा परिवर्तन ल्याइन् । उनले आफ्नो उक्त लुकबाट मांगरिका नलगाए पनि झुमरमा सजिन सकिन्छ भन्ने कुरा प्रमाणित गरेकी थिइन् । झुमरको कुरा गर्दा सोनिया जहाँलाई पनि बिर्सन सकिँदैन । मुगलहरूको कथामा आधारित चलचित्र ‘ताजमहल’ का निर्देशक अकबर खानले अभिनेतृ सोनिया जहाँलाई झुमर प्रयोग गर्न दिएका थिए । सोनियाको गरिमामय मुहारमा झुमर त्यसरी नै सेट भएको देखिन्थ्यो मानौं त्यो कुनै मुगल महारानीको निधारमा विशेष रूपले विराजमान छ । अफविट चलचित्रका लागि परिचित अभिनेतृ कोकणा सेन शर्मा एउटा फेसन शोको र्‍याम्पमा झुमर लुकमा प्रस्तुत हुँदा धेरैले उनको प्रशंसा गरेका थिए । मिस इन्डिया रहिसकेकी अभिनेतृ गुल पनागले दुलहीको अभिनय गर्नुपर्दा झुमर नै प्रयोग गरेकी थिइन् । गुलको उक्त लुकलाई धेरैले रुचाएका थिए ।

 Image