Successfully Copied

नीता ढुंगाना, नायिका

हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि अभिनय कौशल देखाउँदै आएकी नायिका नीता ढुंगाना आज प्रिय नायिकाका रूपमा स्थापित छिन् ।

हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि अभिनय कौशल देखाउँदै आएकी नायिका नीता ढुंगाना आज प्रिय नायिकाका रूपमा स्थापित छिन् । ८ वर्षको उमेरमा चलचित्र मितिनीमा बालकलाकारका रूपमा अभिनय गरेकी नीता त्यसपछि अजम्बरी नातामा पनि बालकलाकारका रूपमा देखा परिन् । १६ वर्षको उमेरमा हाम्रो माया जुनीजुनीमाकी नायिकाका रूपमा डेब्यु गरेकी नीता विगत ६ वर्षदेखि चलचित्रमा सक्रिय छिन् । नायिकाका रूपमा उनले अहिलेसम्म २० वटा चलचित्रमा काम गरिसकेकी छिन् । नोटबुक, ६ एकान ६, मसान, भूलभूलैया उनलाई आफूले अभिनय गरेकामध्ये मनपर्ने चलचित्र हुन् ।

नीताले राष्ट्रिय, एनएनडीसी तथा डिजिटल अवार्डमा उत्कृष्ट नायिकाको उपाधि हात पारिसकेकी छिन् । अभिनयबाहेक गायनमा रुचि राख्ने नीता गीत रेकर्डको तयारीमा छिन् । आधुनिक गीत रेकर्ड गर्न लागेकी नीताको गायन भविष्य कस्तो हुने हो त्यो त समयले नै बताउला तर उनी साथीहरूले स्वर राम्रो छ भनेकैले गायन क्षेत्रमा प्रवेश गर्न लागेको बताउँछिन् ।

नीता त्यति पार्लर धाउँदिनन् । अर्गानिक वस्तुहरूले घरमै क्लिन्जिङ, एवं वासिङ गर्छिन् । उनी मौसमअनुरूप खाना खान्छिन् । गर्मीमा तैलीय खाना त्यति खाँदिनन्, फलफूल एवं जुसहरू बढी सेवन गर्छिन् भने जाडोमा सुपमा जोड दिन्छिन् । उनी हरेक दिन व्यायाम गर्छिन् । क्याजुअल पहिरन रुचाउने नीता पार्टीका लागि लंग गाउन तथा साडी मन पराउँछिन् । एसेसरिजहरू सकेसम्म नलगाउने नीता घडीको भने सौखिन छिन् । उनको  कलेक्सनमा राडो घडी समेत छ । फेसबुक तथा ट्विटरजस्ता सामाजिक सञ्जालमा अपडेट भैरहने नीता समयअनुसार चल्ने नायिकाका रूपमा परिचित छिन् ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

मेकअप तथा हेयर स्टाइल :

 नन्दा अधिकारी

पहिरन स्रोत : साधना कला केन्द्र

लोकेसन : सानागाउँ, ललितपुर

 Image