Successfully Copied

ल्यापटपलाई कुन–कुन ठाउँमा राखेर प्रयोग गर्नुहुँदैन ?

ल्यापटप विद्युतीय उपकरण भएकाले यसको निरन्तर प्रयोग गर्दा एक मिटरको परिधिमा विद्युत् चुम्बकीय घेरा उत्पन्न हुन्छ ।

आइटी

सुनी जोशी, कम्प्युटर विशेषज्ञ, माइक्रोल्यान्ड

लामो समय निरन्तर ल्यापटप प्रयोग गर्दा कुनै नकारात्मक असर गर्छ कि ?

ल्यापटप विद्युतीय उपकरण भएकाले यसको निरन्तर प्रयोग गर्दा एक मिटरको परिधिमा विद्युत् चुम्बकीय घेरा उत्पन्न हुन्छ । यस्तो घेरामा लामो समय बिताउँदा अनिद्रा, थकान, चिडचिडेपन आदि देखापर्न सक्छ । यसबाट जोगिन २–३ घन्टाको अन्तरालमा विश्राम गरी ३–४ मिनेट खुल्ला ठाउँमा लामो श्वासप्रश्वास लिनुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

ल्यापटपलाई कुन–कुन ठाउँमा राखेर प्रयोग गर्नुहुँदैन ?

ल्यापटपलाई लामो समयसम्म तिघ्रामाथि राखेर चलाउनु हुँदैन । तिघ्रामाथि राखेर चलाउँदा चुम्बकीय तरंगले महिला तथा पुरुषको सन्तान उत्पादन गर्ने क्षमतामा गम्भीर असर पारी बाँझोपन निम्तिन सक्छ ।

ल्यापटप खरिद गर्दा कुन–कुन कुराको जानकारी हुनुपर्छ ?

बजारमा पाइने ल्यापटपहरूमा ल्यापटपको मात्र मूल्य तोकिएको हुन्छ । त्यसैले अपरेटिङ सिस्टम अर्थात् विन्डोज तथा एप्सहरू छुट्टाछुट्टै खरिद गर्नुपर्छ । यसरी छुट्टाछुट्टै खरिद गरिएका विन्डोज तथा एप्स सक्कली हुन्छन् । जुन भाइरस एवं वगरहित हुन्छन् । त्यस्तै ल्यापटपमा प्रोसेसर सकेट अपग्रेडेवल हो कि होइन थाहा पाउनुपर्छ । ग्राफिक चिप छुट्टै छ–छैन जानकारी लिनुपर्छ । ल्यापटपमा प्रयोग भएको विन्डोजलगायत विभिन्न एप्सहरू सक्कली हुन् कि नक्कली निश्चित गर्नुपर्छ ।

ल्यापटप चलाउँदा ध्यान दिनुपर्ने कुराहरू के–के छन् ?

चार्जर एडप्टर बन्द अवस्थामा मात्र जोड्ने–झिक्ने बानी बसाल्नुपर्छ । संचालित अवस्थामा ल्यापटप बिग्रनुका साथै आगजनी हुनसक्छ । ल्यापटपमाथि कुनै पनि सामान राख्नु हुँदैन । समय–समयमा एन्टी भाइरस प्रोग्राम राख्नुपर्छ । ल्यापटपको पावर अन नभए वा कुनै प्रोग्रामका कारण रोकिए पूर्णत: बन्द नहुनसक्छ । यस्तो अवस्थामा एडप्टर तथा ब्याट्री छुटाउनुपर्छ । पुन: एडप्टरबिना ब्याट्री जोडेर अन गरेपछि मात्र ल्यापटप संचालन हुन्छ ।

पर्यटन

कामिनिमा शेर्पा, होटल व्यवसायी, लुक्ला, सोलुखुम्बु

अग्लो र चिसो ठाउँमा कस्तो खाना उपयुक्त हुन्छ ?

बढी अग्लो ठाउँमा धेरै चिसो हुने हुँदा शरीरलाई तातो दिने पोषणयुक्त खाना खानुपर्छ । यस्ता ठाउँमा गार्लिक सुप अनिवार्य हुन्छ भने नुन, दूध, घिउ तथा चियापत्ती हालेर कम आँचमा धेरैबेर पकाइएको शेर्पा टीले शरीरलाई न्यानोपन मात्र होइन शक्ति पनि प्रदान गर्छ ।

हिमाल चढ्ने, हाइकिङ र ट्ेरकिङ जाने महिलाले खानपानमा कस्तो सचेतता अपनाउनुपर्छ ?

यस्ता पेसामा आबद्ध महिलाले शारीरिक रूपमा पुरुषले जत्तिकै कडा परिश्रम गर्नुपर्ने हुँदा शरीरलाई बल प्रदान गर्ने खानामा जोड दिनुपर्छ । विशेषत: उच्च हिमाली माटो र पानीमा उत्पादित अर्गानिक खाना खानु उत्तम हुन्छ । मासु खाँदा पनि अन्तर्राष्ट्रिय गुणस्तरअनुसार तयार पारिएका परिकारले हानी गर्दैनन् । गार्लिक सुप दैनिक १ देखि ३ लिटर खान सके फाइदा हुन्छ ।

खानपानकै कारण हिमाली महिलामा कुनै स्वास्थ्य समस्या छन् कि ?

हिमालका महिलाहरू खाना खाएर होइन नखाएर बिरामी पर्छन् । प्रशस्त प्रोटिनयुक्त खाना नखानेहरूमा हाडजोर्नी दुख्ने समस्या पाइन्छ । यस्ता ठाउँमा बस्ने र यात्राका लागि जानेहरूले सावधानी अपनाउनुपर्ने मुख्य कुरा खानपान हो ।

हिमालका विशेष खाना के हुन् ?

सुप र शेर्पा टी यहाँका विशेष तथा दैनिक उपभोग्य खाद्यपदार्थ हुन् । त्यसका अतिरिक्त मासु, अर्गानिक सागसब्जी एवं हिमालमै उत्पादित ब्राउन राइस यहाँका मुख्य खाना हुन् । हिउँ पग्लिएर बनेको पानीलाई फिल्टर गर्नु पर्दैन । उक्त पानीबाट भोजन पाक्ने हुँदा स्वादिष्ट नहुने त कुरै भएन । त्यसबाहेक यहाँ आफ्नै बारीमा फलेका अर्गानिक सागसब्जी विशेष हुन्छन् ।

पर्वतारोहण, हाइकिङजस्ता पेसामा आबद्ध व्यक्तिले के खानु हुँदैन ?

यस्ता पेसामा आबद्ध व्यक्तिहरूले आरोहणका बेला गरिष्ठ खानेकुरा खानु हुँदैन किनभने गरिष्ठ खानाले शरीरमा आलस्य पैदा गर्नुका साथै बढी थकित बनाउँछ । यस्तो बेला कम समयान्तरमा थोरै–थोरै सुप, नुडल्स, ब्राउन राइस, बोइल्ड मिटजस्ता हलुका खाना खानु उपयुक्त हुन्छ ।

सौन्दर्य

श्रेया गुरूङ, ओ टु फेसियल, टंगाल, भाटभटेनी

ओ टु फेसियल के हो ?

यो अक्सिजनद्वारा गरिने विशेष प्रकारको फेसियल हो । मेसिनद्वारा प्रत्यक्ष रूपमा अनुहारको रोमछिद्रबाट छालामा अक्सिजन पठाइन्छ ।

यो कसरी गरिन्छ, के यो घरमै गर्न सम्भव छ ?

अक्सिजन फेसियलका लागि छुट्टै प्रकारको मेसिन चाहिन्छ जुन विशिष्ट श्रेणीको हुन्छ । हामीकहाँ भएको मेसिन कोरियाबाट आयात गरिएको हो । यही मेसिनको सहायताले हामी अनुहारमा मसाज दिन्छौं र त्यसैद्वारा अनुहारको छालामा डिप रूपमा अक्सिजन पठाइन्छ । यो फेसियल गर्न मेसिन नै चाहिने हुनाले सबैको घरमा सम्भव नहोला तर जसको घरमा मेसिन छ उनीहरूले सहजै गर्न सक्छन् ।

यसका फाइदा के–के छन् ?

हाम्रो शरीरमा थोरै मात्रामा किन नहोस् अक्सिजनको कमी हुनेबित्तिकै त्यसको असर प्रत्यक्ष रूपमा शरीरमा देखा परिहाल्छ । हाम्रो मन, मस्तिष्क अनि छालाका लागि अक्सिजन अति महत्वपूर्ण छ । अक्सिजनले हाम्रो शरीर सञ्चालनमा विशिष्ट भूमिका खेल्छ । यो फेसियलले छालालाई मात्र होइन मन–मस्तिष्कलाई चुस्त–दुरुस्त राख्दै अनुहारमा थप चमक पैदा गर्छ ।

अन्य फेसियलको तुलनामा यसमा भएको फरकपन ?

आम फेसियलमा मसाज क्रिमको सहायताले हातद्वारा मालिस गर्दै अन्त्यमा प्याक लगाएर सुकाइन्छ तर अक्सिजन फेसियल गर्दा हातको मसाजका अतिरिक्त  मेसिनद्वारा अनुहारमा प्रत्यक्ष रूपमा अक्सिजन पठाइन्छ जसले गर्दा छालामा भित्रैदेखि प्रशस्त अक्सिजन फैलिन्छ । यसले भित्रैदेखिको सुन्दरतामा निखार ल्याई छालालाई चम्किलो, मुलायम एवं आकर्षक बनाउन मद्दत पुर्‍याउँछ ।

स्वास्थ्य

प्रा.डा. दिव्या सिंह, नेफ्रोलोजिस्ट एण्ड ट्रान्सप्लान्ट फिजिसियन, शिक्षण अस्पताल

मिर्गौला प्रत्यारोपण के हो ?

व्यक्तिको दुवै मिर्गौलाले काम गर्न छोडे वा काम नलाग्ने भए अन्य कुनै व्यक्ति वा दाताको मिर्गौला उक्त व्यक्तिको शरीरमा राख्नुलाई नै मिर्गौला प्रत्यारोपण भनिन्छ ।

कस्तो अवस्थामा मिर्गौला प्रत्यारोपण गरिन्छ ?

दुवै मिर्गौलाले काम नगरेको अवस्थामा मिर्गौला प्रत्यारोपण गरिन्छ ।

महिला वा पुरुषमध्ये कसको बढी मिर्गौला प्रत्यारोपण गर्नुपरेको छ ?

अहिले महिलाको तुलनामा पुरुषकै मिर्गौला बढी प्रत्यारोपण गर्नुपरेको छ । यो अनुपात ४ जना पुरुषमा १ जना महिलाजस्तै छ । यसैगरी नेपालमा १२ वर्षदेखि ६८ वर्षसम्मकाको मिर्गौला प्रत्यारोपण भैसकेको छ ।

मिर्गौला दिएपछि दाताले तथा प्रत्यारोपण गरिएको बिरामीले के–कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

दाता ३–४ दिनमै घर जान सक्छन् । केही समय गह्रौं भारी उठाउनुहुँदैन । साधारण सन्तुलित खाना खान मिल्छ । केही दिन आराम गरेपछि नियमित काममा जान सकिन्छ । यसैगरी मिर्गौला प्रत्यारोपण गरेका बिरामी ५ दिनमा घर जान सक्छन् । त्यसपछि केही समयसम्म हप्ताको एकपटक उपचारका लागि आउनुपर्छ । पछि भने वर्षमा एकपटक अवस्था हेरेर आउँदा हुन्छ । प्रत्यारोपण गरेका मानिसको रोग प्रतिरोधात्मक क्षमता कम हुनाले संक्रमण पनि हुनसक्छ ।

त्यसैले रुघाखोकी लागेका मानिसबाट टाढै बस्नुपर्छ । बासी वा सडेगलेका खानेकुरा खानुहुँदैन, धूलोमा बस्नुहुँदैन । आफूलाई रोगी नमानी नयाँ जीवन पाएको सम्झेर खुसी हुनुपर्छ ।

 Image