Successfully Copied

सुरक्षित घर निर्माण गर्ने कि

बारपाकलाई केन्द्र बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा भएको मृत्युको कारण प्रकृतिलाई भन्दा पनि हाम्रो कमजोर निर्माणलाई जान्छ ।

बारपाकलाई केन्द्र बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा भएको मृत्युको कारण प्रकृतिलाई भन्दा पनि हाम्रो कमजोर निर्माणलाई जान्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने लाग्छ, नेपालमा नक्सा पासको नियम नभएको भए नेपालमा इन्जिनियरसँग परामर्श लिएर घर बनाउनेहरूको संख्या हातका औंलामा गन्न सकिने थियो । अहिले पनि परामर्श र नक्साको काम घर सुरक्षित बनाउन नभएर सरकारी नियम पालना गर्न मात्र प्रयोग गरिन्छ, जसका कारण एकपटक नक्सा पास भएपछि त्यहाँ इन्जिनियरको न त कुनै आवश्यकता हुन्छ, न त महत्व नै । अझ घरका हरेक व्यक्ति आफै इन्जिनियर बन्छन्, या त काम गर्ने मिस्त्रीलाई नै इन्जिनियर बनाउँछन् । बिरामी हुँदा एउटा ज्यान जोगाउन जति पनि खर्च गर्ने तर कैयौंको ज्यानको जिम्मा बोकेको घर बनाउँदा इन्जिनियरको शुल्कले बरु अरू कुनै निर्माण सामग्री जुटाउन सकिन्छ भन्ने गलत मानसिकता पनि अहिले भएको मानवीय क्षतिको प्रमुख कारण हो । यति ठूलो क्षति भैसक्दा अब त त्यो धारणा परिवर्तन होला भन्ने आशा गरिएको थियो, तर अझै पनि समाजमा त्यही पुराना गल्तीहरू दोहोर्‍याइएका प्रशस्त उदाहरण देख्न–सुन्न पाइन्छ । मानिसहरूले आफ्ना घरलाई रेट्रो फिटका नाममा इन्जिनियरको परामर्शबिना निर्माण गरेको जताततै देख्न पाइन्छ । सहरी क्षेत्रमा भाडा लाग्दैन कि भनेर घरका दरारहरू हतार–हतार टाल्नेहरूको पनि कुनै कमी छैन । हाम्रो घर निर्माणको अभ्यासमै केही त्रुटि छ । यहाँ तल्लो तल्लामा भन्दा मथिल्लो तल्लाको सतही क्षेत्रफल क्रमश: बढाउने अनि घरमा अनावश्यक लोड थप्ने काम गरिन्छ भने धेरै तौल भएका निर्माण सामग्री प्रयोग गरिन्छ ।

१२ जनवरी, २०१० (स्थानीय समयअनुसार १६:५३) मा गएको ७ रेक्टर स्केलको भूकम्पमा परेर भएको क्षतिको हालसम्म पनि परिपूर्ति हुन नसकेको हाइटी जहाँ २ लाख ८० हजार घर ध्वस्त भएका थिए, अनि ३ लाख १६ हजार मनिसको मृत्यु भएको थियो, तर त्योभन्दा पनि शक्तिशाली भूकम्प २७ फेब्रुअरी, २०१० (स्थानीय समयअनुसार ०३:३४) मा चिलीमा गएको थियो जहाँ ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा मर्नेहरूको संख्या ५ सय २५ थियो जुन हाइटीको तुलनामा धेरै नै कम हो । यसको प्रमुख कारण प्रकृति नभएर हल्का (कम तौल भएका) निर्माण सामग्रीको प्रयोग तथा न्यून निर्माण अभ्यास रहेको प्रख्यात आर्किटेक्ट जोन नायलोरको भनाइ छ ।

विश्वका धेरै देशमा कम तौल भएका निर्माण सामग्रीमा अनुसन्धान भैरहेको छ र चीन, जापान, अस्ट्रेलिया, हाइटीजस्ता देशले अहिले बाँसलाई निर्माणमा व्यापक रूपमा प्रयोग गरिरहेका छन् । बाँसलाई ‘फास्टेस्ट ग्रोविङ प्लान्ट’ भनेर गिनिज वल्र्ड रेकर्डस (२०१४) मा सूचीकृत गरिएको छ । छिटो बढ्ने र अनेकौं प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले यसलाई ‘गरिब मानिसको काठ’ पनि भनिन्छ । प्रयोग त हाम्रा गाउँहरूमा पनि नहुने होइन, तर फरक के हो भने यहाँ हामी बाँसलाई प्राकृतिक अनि परम्परागत रूपमा प्रयोग गर्छौं तर ती राष्ट्रले यसलाई विभिन्न उपचार गरी काठका रूपमा विभिन्न संरचना बनाउन प्रयोग गरिरहेका छन् । अहिले नेपालमा पनि केन्द्रीय प्राविधिक क्याम्पस, पुल्चोकमा बाँसको संरचनात्मक अनुसन्धान भैरहेको छ, जसअन्तर्गत नेपाली बाँसलाई काठको वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ । अत्याधुनिक तरिकाले यसको प्रयोग गरेर घर बनाउने हो भने यसले हाम्रो सुविधासम्पन्न तथा सुरक्षित घरको चाहना पनि सजिलै पूरा गर्न सक्छ ।

लामो अवधिका लागि हेर्ने हो भने चाँडो बढ्न सक्ने, कम लागत अनि नेपालका ७३ जिल्लामा पाइने बाँसलाई अब आधुनिक रूपले औद्योगिक रूपमा उत्पादन गरी संरचनात्मक प्रयोग बढाउनुपर्ने देखिन्छ । नेपाल सरकारले ग्रामीण गरिबी निवारण गर्न पूर्वी नेपालमा बाँसमा आधारित माइक्रो उद्यम परियोजनाहरूको विकास प्रारम्भ गर्न प्रस्ताव गरेको छ । त्यसैगरी कच्चा बाँसका लागि क्षेत्रीय बजार केन्द्रका रूपमा लहानमा पनि एक प्रोटोटाइप बाँस मेट बोर्ड कारखाना राख्ने योजनासमेत छ ।

भूकम्प इन्जिनियरिङ विज्ञ प्राध्यापक डा. प्रेमनाथ मास्केका अनुसार ‘अब हाम्रा बाँसको उपयोगमा राज्यले नै नीति बनाएर प्रोत्साहन दिनुपर्छ । बाँसको घर जति सुरक्षित अरू कुनै पनि हुँदैन ।’ अहिले अस्ट्ेरलियामा २५ तल्ले भवन नै बाँसबाट निर्माण भैरहेको छ । त्यहाँ एक जना नेपाली डा. रिजन श्रेष्ठ बाँसलाई न्यूनतम खर्चमा काठका रूपमा उत्पादन गर्न अनुसन्धान गरिरहेका छन् ।

भूकम्पपछि कतिपय गाउँका सम्पूर्ण घर नै ध्वस्त भएका छन्, त्यसैले हालको आवश्यकता हेर्ने हो भने भूकम्पमा घर गुमाएकाहरूलाई अस्थायी आश्रय (टेम्पोररी सेल्टर) पछि अब अर्धस्थायी वा भनौं स्थायी बसोबासको तुरुन्त व्यवस्था गर्नुपर्ने देखिन्छ र त्यसका लागि विभिन्न संस्थाले सहयोग गर्न विभिन्न मोडल पनि प्रस्ताव गरिसकेका छन् । हालै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एकहप्ते आश्रय प्रदर्शनी पनि सम्पन्न भयो, जसमा इन्जिनियरिङका विद्यार्थीहरूले नेपालको सन्दर्भमा स्थानीय स्तरमा निर्माण गर्न सकिने विभिन्न मोडल प्रदर्शन गरे भने अरू विभिन्न कम्पनीले पनि आफ्ना मोडलहरू प्रदर्शन गरे, जसमध्ये कतिपय हाम्रा लागि पूर्णरूपमै नयाँ थिए । केही विशेष ठाउँका लागि त्यो पनि ठीक होला तर विभिन्न संघ–संस्थाले अनि प्रदर्शनीमा पनि राखिएको पुल्चोक क्याम्पसका विद्यार्थी र अन्य केही बाहेक अरू मोडलका घर तयार पार्न आवश्यक सामग्री नेपालमा निर्माण हुँदैनन्, सबै विदेशबाट मगाउनुपर्ने हुन्छ । त्यस्ता मोडलमा गरिने सबै लगानी बिदेसिन्छ र त्यस्ता मोडललाई ठूलो संख्यामा निर्माण गर्ने हो भने देशको आर्थिक स्तर कहाँ पुग्छ ? ध्यान पुर्‍याउनैपर्छ । यदि हामीले कसैको सहयोगमा घर निर्माण गर्ने हो भने हाम्रो स्थानीय निर्माणमा देखिने कला, शैली एवं सांस्कृतिक मौलिकता त त्यसै पनि लोप हुने भयो । त्यसकारण अब बन्ने घरमा हाम्रो कला, शैली अनि प्रविधिका साथै स्थानीय स्रोत, साधन अनि श्रमको उच्चतम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ई. ओमकुमार साह

(साहले हाल नेपालमा पाइने बाँसमा संरचनात्मक अनुसन्धान गरिरहेका छन् ।)

 Image