Successfully Copied

जीवन सहज बनाउँछ पेन्सनले

चितवनकी मनमाया राईको महिनाको खर्च कुल ५ सय रुपैंयाँ छ । महिनावारी पेन्सनले उनी यो आफ्नो नितान्त व्यक्तिगत खर्च पुर्‍याउँछिन् ।

चितवनकी मनमाया राईको महिनाको खर्च कुल ५ सय रुपैंयाँ छ । महिनावारी पेन्सनले उनी यो आफ्नो नितान्त व्यक्तिगत खर्च पुर्‍याउँछिन् । जे भए पनि वृद्ध भएपछि अरु खर्च छोरा छोरीले पुर्‍याउने भएकाले उनको आफ्नो खर्च उनी आफै पुर्‍याउँछिन् । यो पैसाले उनलाई निकै राहत दिएको छ । सरकारी जागिरबाट रिटायर भएका अधिकांश भूपू कर्मचारीले पेन्सनका नाममा केही आर्थिक रकम प्राप्त गर्छन् । यसले कुनै पनि वृद्धवृद्धाको जीवनलाई  सहज  बनाउँछ । बूढाबूढी भएपछि मानिस अशक्त हुन्छ अनि उसले भनेजति काम तथा दाम कमाउन सक्दैन । पेन्सन यस्तो अस्त्र हो जसले बुढेसकालमा पनि जीवन तनावरहित रहन्छ । पेन्सन मानिसहरूले आफ्नो कामबाट बिदा लिएपछि प्राप्त गर्छन् । पेन्सन विभिन्न प्रकारको हुन्छ । कुनै–कुनै संस्थाले एकमुष्ट पेन्सन दिन्छन् भने कुनै संस्थाले तलबजस्तै नियमित रूपमा महिनामा दिन्छन् । विशेष गरी सरकारी कर्मचारीहरूले पेन्सन पाउँछन् । मानिसहरू वृद्ध भएपछि कमाउन असमर्थ हुन्छन् । नकमाए पनि उनीहरूको खर्च भने यथावत् रहन्छ । वृद्धवृद्धा भएपछि विशेष गरी स्वास्थ्यस्थिति दुरुस्त राख्न विशेष खर्च चाहिन्छ । वृद्धावस्थामा विभिन्न रोगले च्याप्न सक्छ । त्यसका लागि नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । पेन्सन प्राप्त हुँदा आफ्नो साधारण खर्चका लागि कसैको मुख ताक्नु पर्दैन । त्यसैले पनि वृद्धावस्थाका लागि पेन्सन महत्वपूर्ण हुन्छ ।

राज्यले दिने पेन्सन

वृद्धावस्था भनेको जीवनको सबैभन्दा संवेदनशील तथा महत्वपूर्ण चरण हो । यो चरणमा मानिसको जीवन तनावरहित हुनुपर्छ । किनभने यतिबेला मानिस सबै कारणले कमजोर  हुन्छन् । यही संवेदनशीलतालाई ध्यानमा राखी राज्यले आफ्नो देशका नागरिकहरूको हितका लागि केही रकम छुट्याएको हुन्छ । नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या २७ लाख पुगेको छ । हाल विश्वमा ज्येष्ठ नागरिकको संख्या ७६ करोड पुगेको छ । नेपालमा पनि ज्येष्ठ नागरिकको संख्यामा वृद्धि भैरहेको छ । विभिन्न देशले आफ्नो क्षमताअनुसार ज्येष्ठ नागरिकहरूको सहयोग एवं सम्मानका लागि विभिन्न कार्यक्रम संचालनमा ल्याएका छन् । नेपालमा वि. सं. २०१५ तथा २०५२ को आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता उपलब्ध गराइएको थियो । सुरुका वर्षमा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई मासिक रु १ सय उपलब्ध गराइएको थियो भने उक्त रकममा वृद्धि गरी २०६४–६५ देखि रु ५ सय उपलब्ध गराइँदै आएको छ । राज्यले भत्ताका साथै ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम, वृद्धाश्रम दिवासेवा केन्द्र स्थापना तथा ज्येष्ठ नागरिक कल्याण कोष आदि कार्यक्रममा जोड दिने प्रयास गरेको छ तर यस्ता कार्यक्रम कार्यान्वयन हुन नसक्दा नीतिमा मात्र सीमित छ ।

ज्येष्ठ नागरिकहरूलाई वृद्ध भत्ताले मात्र नपुग्ने हुँदा नीतिगत सुधार गर्दै उनीहरूको सवलीकरणका लागि नयाँ–नयाँ कार्यक्रम ल्याउनु जरुरी छ । नेपालमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भन्नाले वृद्ध भत्तामात्र हो भन्ने प्रचलन छ । अन्य सुविधाका बारेमा जनता अनभिज्ञ रहेको पाइन्छ । यही भत्ता वितरणमा पनि थुप्रै चुनौतीहरू छन् । विभिन्न पत्रपत्रिका र पुलिस रिपोर्टलाई आधार मानेर तयार पारिएको रिपोर्टअनुरूप ज्येष्ठ नागरिकहरूले भत्ता उपभोग गर्न अनेकौं समस्या  झेल्नुपर्छ  । विशेष गरी नेपालमा सेना, पुलिस, शिक्षण सेवामा लागेकाहरूलाई पेन्सन दिइन्छ ।

पेन्सन योजना

आजको बचतले भविष्य उज्ज्वल बनाउँछ । आज गरिएको सानो बचतले भोलिका दिनमा जीवनलाई सुखमय बनाउँछ । त्यसैले उमेर छँदै आफ्नो बुढेसकालका बारेमा सोच्न थाल्नुपर्छ ।  आफ्नो सुखद् भविष्यका लागि समयमै बचत प्रारम्भ गनुपर्छ । आफ्नो राम्रो कमाइ हुँदै आफ्नो बुढेसकालका लागि विभिन्न योजनामा सहभागी हुनुपर्छ । आफ्नो कमाइको सबै भाग खर्च गरेर भविष्य अन्धकार बनाउनु हुँदैन । अहिले विभिन्न वित्तीय संस्थाहरूले पनि विभिन्न प्रकारका पेन्सन योजना सुरु गरेका छन् । वित्तीय संस्थाहरूले वृद्धवृद्धाहरूलाई मध्यनजर गरेर नै यस्तो योजना अघि सारेका हुन् । विभिन्न वित्तीय संस्थाहरूले विविध प्रकारका पेन्सन योजना अघि ल्याएका छन् । आफ्नो रुचि तथा सहजताअनुसार पेन्सन प्लान छनोट गर्न सकिन्छ । एउटा विज्ञापन एजेन्सी चलाएर बसेकी अमृता सिंह आफ्नो बुढेसकाल सम्झेर निकै डराउँछिन् । सिंह भन्छिन्–पारिवारिक विखण्डनले गर्दा आफ्नो भविष्यप्रति निकै चिन्ता लाग्छ भन्छिन् । त्यसैले उनी बरू अहिले सुख–दु:ख गरेर दिन बिताउने तर बुढेसकाल भने तनावरहित जीवन जिउन चाहन्छिन् । त्यसो त उनी विभिन्न योजनामा सहभागी छिन् । उनको आयको ५० प्रतिशत भाग संचयमा खर्च हुन्छ । उनी भन्छिन्–अहिले त हातखुट्टा बलिया छन् गर्न सक्छु तर ६० कटेपछि जीवन अशक्त हुन्छ । चाहेर पनि केही गर्न सकिँदैन । त्यसैले उनी समयमै बचत गर्न चाहन्छिन् । उनले एनबी बंैक तथा प्राइम लाइफ इन्स्योरेन्सको पेन्सन प्लानमा आफ्नो पैसा संचय गरेकी छिन् । सिंहका अनुसार बुढेसकालमा हाम्रा लागि आफ्नो बचत सबैभन्दा ठूलो सहारा हो । आफूलाई रहर लागेको हरेक चाहना पूरा गर्न कसैका सामु हात फैलाउनु पर्दैन । त्यसैले अहिले खुलेका यस्ता योजनाले हाम्रो जीवन सफल तथा आनन्ददायक बनाउन सघाउँछन् । आफू आर्थिक रूपमा सबल भए हेला होइन सम्मानको पात्र बनिने उनको राय छ । अहिले गरिने फजुल खर्च कम गरेर आजैदेखि यस्तो योजनामा आफूलाई सहभागी गराउन उनी सबैसँग आग्रह गर्छिन् । नेपाली वित्तीय संस्थाहरूमध्ये कसैले पेन्सन प्लान कसैले ज्येष्ठ नागरिक योजना खाता आदि ल्याएका छन् । हरेक वित्तीय संस्थाका आ–आफ्नै नीति हुन्छन् जसअनुसार पेन्सन योजनाको नाम तथा प्रकृति पनि फरक–फरक छ । आफ्नो आवश्यकताअनुसार पेन्सनको मिति पनि छनोट गर्न सकिन्छ ।

यसको पोलिसी पूरा भएपछि जीवनभर निश्चित राशि प्राप्त गरिन्छ । आफूले के कति रकम बचत गरिएको छ सोही अनुपातमा भुक्तानी पाइन्छ ।

लागत खर्च कम

कुनै पनि योजना तय गर्दा लागत खर्च कम भएको योजना तय गर्नुपर्छ । आफ्नो आम्दानीले नधान्ने योजना छनोट गर्नु हुँदैन ।

योजनाकर्ता वा विश्लेषकको सहयोग

यो निकै संवेदनशील मुद्दा हो । त्यसैले आफूले बजार नबुझी कुनै पनि योजनालाई अपनाउनु हुँदैन । बजारमा आएका हरेक योजनाको जरासम्म पुगेर कुन योजना उत्कृष्ट तथा सजिलो हुन्छ हेरेर निर्णय गर्नुपर्छ । यदि योजना छनोट गर्न आफूलाई कुनै कठिनाइ वा द्विविधा भए योजनाकर्ता वा विश्लेषकको सहयोग लिनुपर्छ । यस विषयमा सबैथोक जानेका विज्ञको सहयोग लिनुपर्छ ।

पेन्सन प्लानका लागि केही टिप्स

    उदार योजना छनोट गर्नुपर्छ । आत्तिएर जस्तो पायो त्यस्तो योजना रोज्नु हुँदैन । समय लगाएर सबै कुरा बुझेर योजना छान्नुपर्छ । विभिन्न वित्तीय संस्थाले दिएको योजना भिडाएर आफूलाई सहज हुने योजना छनोट गर्नुपर्छ ।

    योजना लिँदा योजनाका सबै कुरा बुझ्नुपर्छ । यसका लागि प्रोवाइडरसँग सबै कागजपत्र लिनुपर्छ ।

    योजना तय गर्दा आफूलाई सजिलो हुने वातावरण छनोट गर्नुपर्छ । प्रिमियम तिर्दा त्यसले आफ्नो बजेट बिगार्नु हुँदैन । आफ्नो बजेटले भ्याउने योजना मात्र छनोट गर्नुपर्छ ।

    योजना छनोट गर्दा के–कस्ता दस्तावेज चाहिन्छन् । के–कति खर्च लाग्छ, सबै कुरा बुझ्नुपर्छ । नियमित प्रिमियम नबुझाउँदा के–कति जरिवाना लाग्छ त्यो पनि बुझ्नुपर्छ ।

    आफूले लिन लागेको जोखिमबाट आफूखुसी हुन सक्ने–नसक्ने यकिन गर्नुपर्छ । आफ्नो चाहना पनि यकिन गर्नुपर्छ ।

    कुनै पनि कुरा चित्त नबुझी कागजातमा हस्ताक्षर गर्नु हुँदैन ।

 Image