Successfully Copied

संकटमा वित्त व्यवस्थापन

प्राकृतिक विपत्ति कुनै सूचना दिएर आउँदैन । यसले समय, पल तथा घडी हेरेर बस्दैन । यो आउँछ, यसको कम्पनले क्षति पुर्‍याउँछ अनि जान्छ ।

प्राकृतिक विपत्ति कुनै सूचना दिएर आउँदैन । यसले समय, पल तथा घडी हेरेर बस्दैन । यो आउँछ, यसको कम्पनले क्षति पुर्‍याउँछ अनि जान्छ । यसको पीडा हामी पृथ्वीमा बस्नेहरूले भोग्नुपर्छ । यसले बाँच्नेहरूको जीवनमा आँकलन गर्न नसकिने परिवर्तन ल्याइदिन्छ । यस्तो परिवर्तनलाई व्यवस्थापन गर्न धैर्य तथा कुशलता चाहिन्छ । भविष्यलाई अध्ययन गर्न सक्नेहरू भने यस्ता संकटकालबाट सजिलै आफूलाई सुरक्षित राख्न सक्छन् । जसले आफ्नो भविष्यप्रति बेवास्ता गर्छ ऊ यसबाट मर्माहत हुन्छ । यस्ता संकटले गास, बास तथा कपासको समस्या निम्त्याउँछन् । कहिलेकाहीँ आफूसँग पर्याप्त पैसा नहुँदा यस्तो विपत्तिको कल्पनाले पनि सबैलाई त्रसित बनाउँछ । यद्यपि संकट आउनु एउटा कुरा हो त्यसभन्दा ठूलो चुनौती त्यसले ल्याएको परिस्थितिसँग जुध्नु हो । यस्ता महाप्रलयहरूले मानसिक, शारीरिक तथा आर्थिक समस्या उत्पन्न गर्छन् । यी तीन समस्यामध्ये पनि आर्थिक समस्यालाई सही व्यवस्थापनबाट सरलीकरण गर्न सकिन्छ ।

पैसा जीवनलाई अघि बढाउने विशेष माध्यम हो । मानिसको जीवनमा बिहान पत्रिका खरिद गर्नेदेखि बेलुका खाने डिनरसम्मका लागि पैसा खर्च गर्नुपर्ने हुन्छ । पैसा खर्च नगरी जीवनको गाडी अघि बढ्न सक्दैन । महँगी दिनप्रतिदिन बढिरहेको छ । अझ यस्तो आपत्कालीन स्थितिमा बजारमा प्राकृतिक सामग्रीहरूको अभाव हुन्छ अनि समग्र अर्थतन्त्र ओरालो लाग्छ । सबैतिर पैसाको अभाव हुन्छ भने व्यापार–व्यवसाय ठप्प हुन्छ । लगानी गरेको ठाउँबाट रकम उठाउन सकिँदैन । आफ्नो पैसा उठाउन निकै दु:ख हुन्छ । आफ्ना ऋणीहरूलाई प्रेसर पनि गर्न सकिँदैन । त्यसैले यस्तो बेला निकै विचार पुर्‍याएर आफ्नो आर्थिकस्थितिलाई अघि बढाउनुपर्छ ।

यस्तो बेला अरु बेलाभन्दा बढी पैसा खर्च हुन्छ । महिला सहकारी संस्थाकी बजार प्रबन्धक रेखा थापा भन्छिन्–विनाशपछि देशको आर्थिक पक्ष निकै संवेदनशील हुन्छ । यसलाई माथि आउन निकै समय लाग्छ । आफ्नो आय भनेजस्तो नभए पनि आफूले दिनहुँ गर्नुपर्ने व्यवहार सबैले गर्नुपर्छ । खाना खानैपर्छ, कार्यालय जानैपर्छ, आफूले दिनहुँ गर्नुपर्ने काम पनि निरन्तर गर्नर्ैपर्छ । धेरैजसो मानिससँग निकै कम बचत छ । आफ्नो दिनहुँको खर्च टार्न मानिसहरू आफ्नो बचत भटाभट निकालिरहेका छन् । यसले वित्तीय संस्थाहरूलाई असर परेको छ तर पनि यस्तो अवस्थामा आफूले जम्मा गरेर राखेको पैसा निकाल्नु आफ्नो अधिकार हो । यसरी निकालिएको पैसाको व्यवस्थापन भने अरु समयभन्दा फरक ढंगले गर्नुपर्छ अर्थात् अरु बेलाभन्दा किफायती हिसाबले पैसा खर्च गर्नुपर्छ । आफूलाई चाहिने अत्यावश्यक सामग्रीभन्दा अरू सामान खरिद गर्न मनलाई बाँध्नुपर्छ ।

एनआइसी एसियाकी चाँदनी श्रेष्ठ जुनसुकै आपत्कालीन अवस्थामा अर्थको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण भएको बताउँछिन् । जीवन सामान्य अवस्थामा आउन केही समय लाग्छ । यस्तो प्रतिकूल अवस्थामा संयम अपनाउनुपर्छ । बचत तथा लगानीमा त्यति जोड दिनु हुँदैन । घरमा आवश्यक खाने सामग्री भण्डार गर्नुपर्छ । आफूसँग भएको पैसा बचत गरी संचय गर्नुपर्छ ।

लगानीमा सजगता : आपत्कालीन अवस्थामा अर्थतन्त्रका हरेक क्षेत्रको विकास शून्य हुन्छ । यसलाई पहिलेको अवस्थामा आउन केही समय लाग्छ । यस्तो बेला पैसा आफैसँग राख्नुपर्छ । कुन समयमा कस्तो समस्या आइलाग्छ थाहा हुँदैन । यस्तो बेला गरिएको लगानीको कुनै अर्थ हुँदैन । अर्थतन्त्र शिथिल भएका बेला आफूले गरेको लगानीको प्रतिफल आउँछ भन्नु बुद्धिमानी होइन । अवस्था हेरेर मात्र लगानीमा हात बढाउनुपर्छ । अझ ठूल्ठूला लगानी त सोच्नै हुँदैन । यतिबेला कुनै पनि व्यवसायको भविष्य अन्योलपूर्ण हुन्छ । यतिबेला अर्थतन्त्रको हरेक पाटो ठप्प हुन्छ । आफूसँग भएको पैसा लगानी गर्दाको परिणाम सकारात्मक नभए ठूलो धोका हुनसक्छ ।

खर्चमा कटौती : यस्तो बेला मितव्ययिता अपनाउनु नै जीवन सहज बनाउने सबैभन्दा उत्तम उपाय हो । जुन जीवनशैलीमा बाँचिएको छ त्यसलाई परिवर्तन गरी सादा जीवन जिउनुपर्छ । भएभरको पैसा खर्च गर्नुहुँदैन । दिनहुँ मासु खाइन्थ्यो भने त्यसको साटो केही दिन तरकारीको मज्जा लिन सकिन्छ । रेस्टुरेन्टका परिकार घरैमा तयार गरेर खान सकिन्छ । फिल्म हेर्ने तथा घुमघाम गर्ने काममा पनि कटौती गर्नुपर्छ । पोसाक, पार्लर, स्पा, टेलिफोन कार्ड आदि खर्चमा पनि कटौती गर्नुपर्छ । बालबालिकाहरूलाई जंगफुडको साटो घरमै तयार गरिएको खाना ख्वाउनुपर्छ । कठिन समयमा खर्च कटौती गर्न सकियो भने पछिल्ला दिनहरू सहज हुन्छन् ।

भण्डारण : आपत्कालीन समयका लागि अत्यावश्यक सामग्री भण्डारण गर्नुपर्छ । कतिबेला नाका बन्द हुन्छ वा कतिबेला बजार बन्द हुन्छ त्यसको कसैले अनुमान लगाउन सक्दैनन् । त्यसैले आफूलाई दिनहुँ चाहिने चामल, दाल, चिनी, चिउरा, तेल, घिउ, मसला, ग्यास, पानी आदि सकेसम्म भण्डार गर्नुपर्छ । चाँडै गल्ने तथा सड्ने सामग्री भने धेरै खरिद गर्नु हुँदैन । तरकारीका लागि चना, केराउ आदि सुकेका गेडागुडी भण्डार गर्न सकिन्छ । सामान सजिलै निकाल्न सकिने गरी राख्नुपर्छ । भण्डारणको नाममा आफूसँग भएको सबै पैसा खर्च गर्नुहुँदैन । समस्या टर्ने हिसाबले खरिद गर्नुपर्छ । आफूले नियमित खानैपर्ने औषधि पनि खरिद गरेर राख्नुपर्छ । यसबाहेक अन्य आवश्यक सामग्री पनि खरिद गरी भण्डारण गर्नुपर्छ ।

निर्माण कार्य : यस्तो जटिल परिस्थितिमा सकेसम्म निर्माण कार्य गर्नु हुँदैन । यतिबेला निर्माण सामग्रीदेखि काम गर्ने कामदारसमेत सजिलै पाइँदैनन् । कामदार पाइए पनि उनीहरूको ज्याला निकै बढी हुन्छ । निर्माण सामग्रीहरूको आपूर्ति पनि भनेजस्तो हुँदैन । त्यसैले कहिलेकाहीँ निर्माण कार्यमा ढिलाइ हुँदा निर्माणका लागि छुट्याइएको बजेट पनि नपुग हुन्छ किनभने कामदार नपाइनु, ज्याला बढी लाग्नु, निर्माण सामग्री सजिलै नपाउनु आर्थिक रूपमा भार हो ।

बिमा : बिमा कुनै पनि जटिल परिस्थितिका लागि सहयोगी हुन्छ । जोखिम जतिबेला पनि जन्मन सक्छ । त्यससँग लड्ने एकमात्र अस्त्र बिमा नै हो । यसले हामीलाई यस्तो विषम परिस्थितिमा सहारा प्रदान गर्छ । आफ्नो सम्पत्तिमा कुनै समस्या देखिएको छ भने बिमा दाबी गर्न ढिलाइ गर्नु हुँदैन । तुरुन्तै बिमा कम्पनीमा सम्पर्क राखेर आफूले पाउनुपर्ने सहुलियत लिनुपर्छ । यसले यस्तो विषम परिस्थितिमा राहत प्रदान गर्छ । आफ्नो सम्पत्ति बिमा गरिएको छैन भने गराउनुपर्छ । आफ्ना चौपाया, घरलगायत अरु सम्पत्तिको बिमा गराएर ढुक्क हुन सकिन्छ । अहिले सबै खालका बिमा हुन्छन् ।

धैर्य : यस्तो जटिल परिस्थितिमा वित्त व्यवस्थापनसँगै आफू पनि संयमित हुनुपर्छ । विपत्तिलाई मनमा लिएर आत्तिनु हुँदैन । यस्तो बेला परिवारलाई हौसला प्रदान गर्नुपर्छ । आफूसँग भएको पैसा मिलाएर खर्च गर्नुपर्छ । विपत्ति आफूलाई मात्र होइन सबैलाई आएको छ, देश नै संकटमा छ भनेर मन बुझाउनुपर्छ ।

 Image