Successfully Copied

केही कुरा सिक्यौं : भूकम्पबाट

प्राकृतिक विपत्ति जुनसुकै बेला आउन सक्छ जुन मानिसको वशमा छैन । त्यसो त काठमाडौं भूकम्पका लागि जोखिमयुक्त छ ।

प्राकृतिक विपत्ति जुनसुकै बेला आउन सक्छ जुन मानिसको वशमा छैन । त्यसो त काठमाडौं भूकम्पका लागि जोखिमयुक्त छ । केही वर्षअघिदेखि नै काठमाडौंमा ठूलो भूकम्प आउनेछ यसले ठूलो धनजनको क्षतिका साथै धेरै मानिस हताहत हुनेछन् भन्ने प्रचार प्रारम्भ भएको थियो । त्यस क्रममा संचार माध्यमहरूले पनि भूकम्पका विषयमा विभिन्न विज्ञापन प्रसारण गरिरहेका थिए । विभिन्न गैरसरकारी संस्थाले पनि भूकम्पलाई लिएर ज्ञानवद्र्धक विभिन्न कार्यक्रम संचालन गरिरहेका थिए । जोकोहीलाई भूकम्प आउँछ भन्ने त थियो तर यो मामिलामा धेरैजसो सजग र सचेत देखिएनन् । सबैले भूकम्प आउने कुरालाई ख्यालख्याल माने तसर्थ भूकम्पले ऐतिहासिक मठ–मन्दिर तथा हजारौं घरमा क्षति पुर्‍यायो । यसले कसैलाई विधवा बनायो, कसैलाई बेघर बनायो, कसैलाई अशक्त बनायो, धेरै बालबालिका टुहुरा भए, कसैको काख रित्तियो भने कतिपयको सिन्दूर पुछियो ।

यस्तो प्रकोप जहिले पनि आउन सक्छ । त्यसैले हामी हरसमय सजग र सचेत रहनुपर्छ । यसले धनी, गरिब, बाल, वृद्ध कसैलाई भेदभाव गर्दैन । यसको प्रभाव सबैका लागि समान हुन्छ । हुन पनि भूकम्पले मानिसलाई उसको अस्तित्वको पहिचान गरायो । यसले कसैलाई पनि छोडेन । के पक्की घर, के कच्ची घर, के स्कुल, के मन्दिर, के अस्पताल, के पाटी–पौवा सबैको स्थिति तहसनहस बनायो । अहिले धेरै घरको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ भने हरेक नेपाली समान भएका छन् । सबैको पीडा र समस्या उस्तै छ । सबै पालमुनि सुत्न बाध्य छन् । खुला चौर मानिसहरूको अस्थायी घर बनेको छ । परिणामस्वरूप मानिसमा साधारण जीवन जिउने रहर पलाएको छ । उनीहरू एक छाक खाएर आनन्दसँग सुत्न लोभिएका छन् । उनीहरूमा विशाल घर खडा गर्ने चाहना छैन । सानो घर नै सबैको पहिलो चाहना बनेको छ । अब साधारण जीवन जिउने लालसा बढेको छ । तेरो–मेरो भन्ने भावनामा पनि कमी आएको छ । कोही आफ्नो सम्पत्तिको रवाफ देखाउन चाहँदैनन् । भूकम्पले मानिसहरूमा सहकार्यको भावना विकास गराएको छ । अहिले सबैले सबैलाई सहयोग गरिरहेका छन्, आफ्नो माना काटेर आफ्नो छिमेकीलाई दिन हौसिएका छन् । काठमाडांै जस्तो व्यस्त सहरमा छिमेकी–छिमेकीबीच बोलचाल हुँदैनथ्यो । अहिले सबैले सबैलाई चिन्न थालेका छन् । उनीहरू एउटै परिवार भएका छन् । नेपालीहरूमा थप आत्मीयता तथा सद्भाव देखिएको छ ।

यो महाप्रलयले मानिसलाई सजग तथा सचेत बन्न सन्देश दिएको छ । मानिसको हातमा केही छैन प्रकृतिको वशमा चल्ने हामी मानिसको कुनै सामथ्र्य छैन–अहिले सबैले यसलाई स्वीकार गरेका छन् । नेपालीहरूको ठूलो घर बनाउने चाहना पनि कम भएको छ । सबै जमिनको प्रकृतिअनुसार भुइँतल्ले घर बनाउन प्रेरित भएका छन् । ठूलो घर बनाएर भाडा खानुभन्दा सुरक्षित हिसाबले आफै बस्नका लागि घर बनाउन सबै आकर्षित भएका छन् । अब नेपालमा करोडको होइन लाखको घरको माग बढ्ने सम्भावना छ । आशा गर्न सकिन्छ–आगामी दिनमा मानिसहरूले टन्न जग्गा लिएर घर बनाउनेछन्, वरिपरि रुख रोप्नेछन्, बिस्तारै उनीहरू इको फ्रेन्डली बन्नेछन् । घरमा चाहिने अत्यावश्यक वस्तुहरू आफैसँग राख्नुपर्छ वा देखिने ठाउँमा राख्नुपर्छ–भन्ने कुरामा उनीहरू सजग बन्नेछन् । टेन्ट, टर्च, मैनबत्ती, औषधिजस्ता सामग्रीहरू अहिले सबैको पहिलो आवश्यकता भएका छन् । आमनेपालीको वासस्थान अहिले टेन्ट भएको छ ।

विदेशमा बस्ने नेपालीहरूको देशप्रतिको माया पनि यसपटक अगाध देखियो । भूकम्प गएलगत्तै विदेशमा रहेका नेपालीहरूको एसएमएसको बाढी नै आयो । सबैले आफ्नो देशप्रतिको चिन्ता प्रकट गरे । नेपालमा विभिन्न ठाउँबाट करोडौंको राहत आयो । विदेशमा बस्ने नेपालीहरूले मन खोलेर देशको यस्तो जटिल परिस्थितिमा सहयोग गरे । हरेक नेपालीमा आफ्नै देशप्रतिको चिन्ता देखियो । कतिपय आफ्नो परिवारलाई भेट्न नेपाल फर्किए । सबैले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । पक्कै पनि यो महाप्रलयले नेपालीहरूलाई ठूलो पाठ सिकाएको छ । यसले नेपालीहरूको उदार मन तथा साहसलाई पनि विश्वसामु चिनाएको छ । विनाशपछि हामी सुनौलो तथा सुन्दर नेपालको परिकल्पना गरिरहेका छौं । आशा गरांै गरिएका प्रतिबद्धता पूरा भै नयाँ समुन्नत नेपालको निर्माण चाँडै सम्पन्न हुनेछ ।

कमला श्रेष्ठ, सौन्दर्यविद्

मलाई यो भूकम्पले आजसम्म झस्काइरहेको छ । म तल्लो तल्लामा थिएँ, श्रीमान् माथिल्लो तल्लामा हुनुहुन्थ्यो । भूकम्प गएपछि केही समय त म स्तब्ध भएँ । ५ दिनपछि केही साहस आयो । नेपालीहरूको साहस तथा उनीहरूको धैर्य देखेर मलाई निकै अचम्म लागेको छ । हामी नेपालीहरू जस्तोसुकै संकट पनि सामना गर्न सक्दा रहेछांै । चाँडै सामान्य जीवनमा आउन सक्दा रहेछौं । अझ यो पराकम्पनको त्रासले हामीलाई पछ्याइरहेको छ । यो भूकम्पले हामीमा एकप्रकारको सहकार्य तथा भाइचाराको सम्बन्ध बिस्तार गरिदिएको छ । अहिले सबै नेपाली समान देखिएका छन् । काठमाडौंमा छिमेकीहरूका बीचमा कहिल्यै कुराकानी हुँदैनथ्यो, यसले सबैको सम्बन्ध फुकाएको छ । हरेकले हरेकलाई आफूले सकेको सहयोग गरिरहेका छन् । सहयोग तथा सहकार्यको भावना मौलाएको छ । नेपालमा भूकम्प आउँछ भनेर हल्ला नभएको होइन तर यसरी आउँछ भनेर कसैले सोचेका थिएनन् । त्यसैले हामीले हरेक समय सचेत भएर बस्नुपर्ने भएको छ । घरमा खाद्यपदार्थ स्टोर गरेर राख्नुपर्छ । आपत्कालीन समयका लागि केही पैसा छुट्याउनुपर्छ । यस्तो दैवीप्रकोपको सामना गर्न सधैं तयार हुन पनि यसले सन्देश दिएको छ । अर्को कुरा घर निर्माण गर्दा निर्माणकर्ता, इन्जिनियर, राज्य पक्ष, ठेकेदार तथा प्रयोग गरिने सामान सबै कुराको सही मिश्रण तथा सहकार्य हुनुपर्छ । आफूलाई थिच्ने घर होइन मन रमाउने घर बनाउनु आवश्यक छ ।

हेमा मानन्धर, संचालक नेप्लिज फेसन होम

यसपटकको भूकम्पले नेपालीहरूको आँखा खोलेको छ । जीवन रहे सबै कुरा रहन्छ, जीवन छैन भने केही रहँदैन । समयमा राम्रोसँग गाडी चलाउन नजानेको भए म पनि मिचाइमा पर्थें । गाडी भित्र चार जना नानीका साथमा बिताएको त्यो संकटलाई सम्झदा अहिले आङ जिरिङ्ग हुन्छ । एकैछिनको कम्पनले आमनेपालीहरूको जिउने शैली, सोच्ने शैली तथा हरेक पक्षमा परिवर्तन ल्याएको छ । हुन पनि आफ्नो आडम्बरका कारण अग्ला–अग्ला घर बनाउन हौसिएका नेपालीहरू अहिले भुइँतल्ले घरको मोहमा छन् । उनीहरू अब पाँच तल्ले घर होइन बिनात्रास बाँच्न सकिने वासस्थानको खोजीमा छन् । राहत बाँड्ने क्रममा म भूकम्प ग्रसित धेरै जिल्ला पुगें । यसरी घुम्दा मन रोयो पनि तर नेपालीहरूको साहस र धैर्य देख्दा सेल्युट गर्न मन लाग्यो । हामी नेपालीहरूमा नडग्मगाउने सामथ्र्य पशुपतिनाथले दिएका छन् । टुटेका घरका सामान पन्छाउन सबैले सबैलाई सहयोग गरिरहेका छन् । अरुबेला जस्तै अञ्जान भए पनि अहिलेको विपत्तिमा भएको भाइचारा सम्बन्ध मलाई हामी नेपालीहरूको सबैभन्दा सकारात्मक पक्ष लाग्यो । प्रकृतिका विभिन्न रंग हुन्छन् । कहिले यसले दु:ख पनि दिन्छ त्यसैले हामी सबै सजग रहनुपर्छ । यस्ता विपत्तिप्रति वेवास्ता गर्नु हुँदैन । आफू समयमै सजग हुनुपर्छ ।

डा. सुदेष्णा श्रेष्ठ, सिद्धि पोली क्लिनिक

भूकम्प आएको समयमा म आफ्नै क्लिनिकमा थिएँ । भूकम्पको धक्काले हामी सबै डरायौं । हामीले सबै बिरामी तथा कर्मचारीहरूलाई बाहिर व्यवस्थापन गरायौं तर म केही समयदेखि भूकम्प आउन सक्छ भन्नेमा थिएँ । त्यसैले मैले आफूलाई तयारी अवस्थामा राख्थें । आगामी दिनमा हरेक नेपालीले घरमा औषधि एवं खाद्यपदार्थको जोहो गर्नुपर्छ । भूकम्प गएपछि चाहिने एउटा लाइट, छाता, सी फर्म, झुल तथा टेन्ट घरमा राख्नुपर्छ । भूकम्प गएको रात प्राय: नेपालीहरूले चौरमा रात गुजारेका छन् । अब ठूला–ठूला होइन स–साना चिटिक्क परेका भवन बनाउनुपर्छ । घरमा तल्ला थप्नुभन्दा जग्गा थप्नुपर्छ । एक–दुई लाखको मुख हेरेर कमसल घर बनाउनुभन्दा प्राविधिकको सहयोगमा भूकम्पप्रतिरोधात्मक घर बनाउनुपर्छ । घर बनाउँदा प्रयोग गरिने कच्चा पदार्थमा सम्झौता गर्नुहुँदैन ।

अजय श्रेष्ठ, दुबई

भूकम्प आएको समयमा म नेपाली साथीसँग फोनमा कुरा गर्दै थिएँ । मैले उनको डराएको चित्कार फोनमा सुनें । यसले मलाई निकै चिन्तित तुल्यायो । धरहरा पनि ढल्यो भन्ने म्यासेज आयो । मन नरमाइलो भयो । फोन राखेर नेट सर्च गरें नेपालमा ठूलो भूकम्प आएको रहेछ । त्यसपछि मैले सोचें अब नेपाल ध्वस्त भयो । परिवार बिचल्लीमा परे । फोन गर्दा फोन सम्पर्क भएन । त्यो झट्काले दुबई बसेको मलाई पनि ठूलो चिन्तामा पार्‍यो । अहिले १५ दिनदेखि म नेपालमै छु । परिवार ठीकै पाएँ । साथीभाइहरूलाई सकुशल भेटें तर प्रभावित गाउँमा मानिसहरू बढी हताहत भएको पाएँ । अहिले म गाउँगाउँमा सहयोगका लागि हिँडिरहेको छु । हामीले देशलाई अहिले नगरे कहिले गर्ने ? भूकम्प प्रभावित गाउँको स्थिति देखेर नरमाइलो लाग्छ तर हामी नेपाली कत्ति पनि बिचलित भएका छैनांै । हरेकको मुहारमा उही हाँसो पाएको छु । यो नेपालका लागि गौरवको कुरा हो ।

 Image