Successfully Copied

घरको स्वरूपमा फरक सोच

विशेषगरी उपत्यकाका भित्री सहरमा एक आना जग्गामा ७–८ तल्लासम्मको घर बनेको देखिन्छ । त्यो शतप्रतिशत असुरक्षित तासको घर हो ।

विशेषगरी उपत्यकाका भित्री सहरमा एक आना जग्गामा ७–८ तल्लासम्मको घर बनेको देखिन्छ । त्यो शतप्रतिशत असुरक्षित तासको घर हो । मापदण्डअनुसार कतै पनि घरको चौडाइको साढे दुई गुनाभन्दा अग्लो घर बनाउन पाइँदैन । यो नियमअनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिट चौडा घरलाई तीन तल्लाभन्दा ठूलो बनाउनु जोखिम नै हो । नगरपालिकाले बन्देज लगाए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

भूकम्पले सहरमा सिमेन्ट र गाउँमा माटो–ढुंगाबाट बनेका धेरैजसो घर बस्नै नमिल्ने गरी ध्वस्त बनाएको छ । बिस्तारै नयाँ निर्माण कस्तो गर्ने, कस्ता घर बनाउने भन्ने बहस सुरु भएको छ । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पको डर सधैँ हुने विज्ञहरूले बताउँदै आएका छन् । यसबीच आकर्षक एवं भूकम्पप्रतिरोधक घर बनाउने कुरामा चासो बढिरहेको छ । भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग निर्माण हुने घरप्रति सबैको आकर्षण छ । विकल्पका रूपमा बाँस तथा प्रिबेकका घरहरूमा पनि जनमानसको चासो बढ्दै गएको देखिन्छ । कमाएको पैसाले विशाल महल बनाएका व्यक्तिहरू पनि भूकम्पप्रतिरोधात्मक घरप्रति आकर्षित हुँदै गएका छन् ।

बाँसका आधुनिक घर निर्माण गर्दै आएको ‘आवारी एण्ड बेम्बो रिसर्च सेन्टर’ ले नेपाली पहिचानको झझल्को दिने बाँस, माटो र ढुंगाको घर आधुनिक तरिकाले बनाउन सकिने सुझाव दिएको छ । ‘अब घर बनाउँदा सोच्नैपर्ने भएको छ, कंक्रिटभन्दा हाम्रै स्थानीय साधन प्रयोग गरेर पनि बलिया घर बनाउन सकिन्छ,’ आवारीका निर्देशक नृपल अधिकारीले नारीसँग भने, ‘हामी नेपाली परम्परागत घरलाई नै आधुनिक प्रविधि अनुरूप डिजाइन गर्छौं, यो सुरक्षित र सस्तो पनि हुन्छ ।’ दुई लाख रुपैयाँमा आवारीले दुईवटा कोठा र एउटा भान्सा कोठासहितको नेपाली परम्परागत घर बनाइदिन्छ । २२ इन्चसम्मको जग हालेपछि कस्तो घर बनाउने हो त्यस्तै भित्ता उठाइन्छ । घरमा काठ र पिल्लरको साटो बाँस प्रयोग गरिन्छ । ग्राहकहरूले चाहेअनुसार भित्ता बाँस, माटो वा ढुंगाको हुन सक्छ । छानामा पनि बाँस नै प्रयोग हुन्छ तर बाहिरबाट जस्ता, खर आदिले पनि छाउन सकिन्छ । माटोलाई ‘रिफाइन’ गरेर सिमेन्टजस्तै बनाएपछि त्यसले भित्ता पोत्ने काम हुन्छ । ‘माटो पनि सिमेन्ट भन्दा कम छैन,’ आवारीका निर्देशक अधिकारी भन्छन्–‘हामीसँग धेरै थरिको माटो छ । त्यसैलाई प्रयोग गर्न सकिन्छ, माटो कहिल्यै बिग्रदैन । भत्किए पनि यसको पुनर्निर्माण वा मर्मत गर्न सकिन्छ ।’ नृपलले यस्ता घर ठाउँ हेरी बनाउन सुझाव दिएका छन् । उनका अनुसार पहाड र हिमालमा घर बनाउँदा भित्तामा बाँस, माटो र ढुँगा प्रयोग गर्न सकिन्छ । तराईमा भने बाँसले नै बारेको घर उपयुक्त हुन्छ । तातो चाहिने भएकाले बाहिरी भित्ता पहाडमा ढुंगा वा माटोको बनाउन सकिन्छ । तराईमा भने बाँसको घर नै उपयुक्त हुने नृपलले जिकिर गरे । माटोले वातावरणलाई मौसमअनुसार न्यानो र शीतल राख्छ । नृपल यस्ता घरलाई अर्गानिक घर भन्छन् । यी घर खासगरी भूकम्प प्रतिरोधात्मक हुन्छन् ।

‘पहिले हामीलाई बाँसमा भएको गुलियो पदार्थका कारण छिट्टै कीरा लाग्छ भन्ने चिन्ता थियो तर ट्रिटमेन्ट गरेपछि बाँस आगोले पनि नसमात्ने भैसकेको हुन्छ । यद्यपि आगो नै नलाग्ने भन्ने हुँदैन । अहिले नृपलको टिममा २५ जना छन् । गाउँगाउँबाट यस्ता घर बनाउन माग आए उनीहरू त्यहाँ गएर स्थानीय बासिन्दाहरूलाई तालिम दिने योजनामा छन् । नेपालमा बाँसका १ हजार घर बनाइसकेको यो कम्पनीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प प्रतिरोधी हुने बताएको छ । बाँसबाट निर्माण हुने यो घरमा एक–एकवटा बेडरुम र किचेन गरेर दुई कोठा हुन्छन् भने ट्वाइलेट घरबाहिर बनाउनुपर्छ । श्रमदान गर्ने हो भने यो घरको मूल्य अझ कम हुन्छ । घर निर्माण गर्दा आफैले श्रम गरे लागत थप घट्छ ।

‘हामी ग्राहकले चाहेअनुसारको घर निर्माण गर्न सक्छौं । न्यून, मध्यम र उच्च आय भएका ग्राहकको मागअनुसार घर निर्माण गर्न सक्ने क्षमता छ,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प पीडितहरूको पुनस्र्थापनाको हो । त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको घरलाई बढी लक्षित गरेका छौं ।’ कम्पनीले बाँसबाट निर्माण भएको घरको आयु ३० वर्ष हुने दाबी गरेको छ तर त्यो भन्दा बढी पनि टिक्छ,’ जोशी भन्छन्, ‘ घर निर्माणलाई दिगो बनाउने हाम्रो प्रयास हो ।’ यस्तो घर बनाउँदा प्रयोग हुने बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ । कम्पनीका अनुसार ट्रिटमेन्ट गरेपछि बाँसमा कीरा तथा धुलिया लाग्ने समस्या हुँदैन । बाँस आफै इन्सुलेटेड भएकाले बिग्रने समस्या पनि कम हुन्छ । साढे तीन लाखमा दुई वटा कोठा, किचेन र ट्वाइलेट तयार हुन्छ । यो घर ३ सय ६० स्क्वायर फिटको हुन्छ । कम्पनीले घर निर्माण गर्दा चारवटा एलईडी वल्व, ट्वाइलेटको प्यान एवं किचेन सिंकसमेत प्रदान गर्छ । ‘हामीले निर्माण गरेको घर ग्राहकले केही नगरी बस्न मिल्छ । घर निर्माण हुँदा नै विद्युत्का सबै सामग्री जोडिएको हुन्छ,’ जोशीले भने, ‘ ग्राहकले एउटा पूर्ण घर प्राप्त गर्छन् ।’

सस्तोमा सुरक्षित घर : प्रिबेक

महाभूकम्पपछि बिस्तारै सामान्य बन्दै गएको राष्ट्रिय जीवनमा एउटा नयाँ विषयले जबरजस्त स्थान लिएको छ, त्यो हो–घर । अंग्रेजीको प्रिबेरिकेटेडलाई नेपालीमा ‘पूर्वनिर्मित संरचना’ बुझिन्छ । छोटकरीमा यसैलाई प्रिबेक भनिएको हो । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै खालका घर तथा भवन निर्माणका लागि आवश्यक सामान पहिले नै फ्याक्ट्रीमा उत्पादन गर्ने र पछि जडान गरी छोटो समयमै तयार पारिएको पूर्ण संरचना नै प्रिबेक हो । यस्ता घर एउटा कोठादेखि गगनचुम्बी भवनसम्म हुनसक्छन् । घर, पसल, विद्यालय तथा कार्यालय निर्माणमा प्रिबेक प्रयोग गर्न सकिन्छ ।

हाल प्रिबेकमा समेत काम गरिरहेको बिरा फनिर्चरका कर्पोरेट निर्देशक महेश मल्ल भन्छन्–यो विकल्पले कंक्रिटको घर बनाउने समय ८० प्रतिशत बचत हुन्छ । भूकम्पलगायत प्राकृतिक विपत्तिमा हुने क्षति कम गर्न सकिन्छ । यसको मूल्य पनि अन्य घरभन्दा कम हुन्छ । विदेशीहरूले भित्र्याएको प्रिबेक प्रविधि सन् २००४ सालतिर नेपालमा पनि व्यावसायिक रूपमा भित्रियो । आरती एण्ड कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर नरेन्द्र महर्जनका अनुसार काठमाडौं रत्नपार्कको सार्वजनिक शौचालय नै नेपालको पहिलो प्रिबेक प्रोजेक्ट हो ।’

अहिले इन्जिनियरिङको ट्रेन्ड नै ‘लाइट’ तर्फ उन्मुख छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन जस्तो बासस्थान बनाए पनि त्यो हलुका हुनुपर्छ । महर्जनका अनुसार नेपालमा करिब दुई खालका प्रिबेक घर बनाउन सकिन्छ । पहिलो, सिमेन्टको पर्खाल भएको घर २० देखि ३० वर्ष चल्छ । दोस्रो एलजीएस (लाइट गेज स्ट्रक्चर) यो चार तल्लासम्म बनाउन सकिन्छ जुन ५० वर्षसम्म ढुक्कले प्रयोग गर्न सकिन्छ । यसमा स्टिलको प्रयोग बढी हुन्छ । भान्सा कोठा, दुई वटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा बाथरुमसहितको एक तल्ले घर एक आना जग्गामै तयार हुनसक्छ जुन एउटा परिवार बस्न मिल्ने खालको हुन्छ । एक तल्ले घर बनाउन करिब ८ लाख लाग्छ । हिमालयन प्रिबेकले घरको जग निर्माणबाहेकको मूल्य साढे ५ लाख राखेको छ । प्रिबेकको घर निर्माणमा संलग्न अर्को कम्पनी बिरा फर्निचरका मल्ल पनि मूल्य करिब ८ देखि ९ लाख पर्ने बताउँछन् । निर्माणमा संलग्न सबैजसो कम्पनीको एउटै कुरा छ–सस्तोमा घर दिन सकिन्छ तर मूल्य त्यहाँको भौगोलिक अवस्था, बाटो र बिजुलीले निर्धारण गर्छ । विपत् व्यवस्थापनका लागि सरकारले पहल गरे सस्तोमा घर बनाउन सकिने प्रिबेक संरचना निर्माणमा संलग्न कम्पनीहरूको दाबी छ ।

अहिले मानिसहरूलाई सबैभन्दा ठूलो डर नै भूकम्प गएर घर ढल्दा पुरिन्छ कि भन्ने देखिन्छ । जुन डर यस्ता घरहरूमा पटक्कै हुँदैन । फ्याक्ट्रीमा घरका विभिन्न भाग बनाइन्छ । त्यसपछि निर्माणस्थलमा लगेर जोडिन्छ । एउटा घर बनाउन पाँच सय भन्दा बढी भाग जोड्नुपर्ने हुनसक्छ । विदेशमा त अझ घर नै निर्माण गरेर ल्याएर थपक्क राख्ने चलन पनि छ । यसको एउटा फाइदा भनेको चिसोमा अति चिसो हुँदैन भने गर्मीमा पनि अति गर्मी हुँदैन । प्रिबेक घरलाई सुरक्षाका दृष्टिले भने त्यति राम्रो मानिँदैन । यसको मुख्य कारण विद्यमान कानुन पनि हो ।

‘कानुनले यसलाई स्थायी घर मान्दैन । टहरोको मात्र मान्यता दिन्छ’, सापकोटा भन्छन्, ‘यो पनि घर नै हो भन्ने सोच राज्यमा आइसकेको छैन । प्रिबेकको अर्को फाइदा भनेको यो वातावरणमैत्री छ । यो घर निर्माण गर्न धेरै पानी चाहिँदैन, वन विनाश हुँदैन र आयु सकिएपछि पनि यसका धेरै सामग्री पुन: प्रयोग गर्न सकिन्छ ।’

सरकारद्वारा प्रस्तावित घर

सरकारले १० प्रकारका भूकम्पप्रतिरोधी घरको डिजाइन तयार पारेको बताइन्छ । सहरी विकास तथा भवन निर्माण विभागले देशका जुनसुकै क्षेत्र तथा भूबनोटमा निर्माण गर्न सकिने गरी परम्परागत तथा आधुनिक गरी १० थरी प्रविधि सर्वसाधारणमा लान लागेको हो । यो प्रविधि र डिजाइन अनुमोदन भएपछि घर बनाउनेहरूले यीमध्ये कुनै एक प्रविधि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ ।

विभागले न्यूनतम ४ लाख ७१ हजारदेखि २० लाख रुपैयाँसम्मको लागतमा बनाउन मिल्ने घरका डिजाइन तयार गरेको बताइन्छ । डिजाइनभन्दा प्रविधिमा केन्द्रित रही नमुना बनाइएकाले भूकम्पप्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चापदार्थ तथा निर्माण सामग्रीको प्रयोग अनिवार्य हुने विभागले उल्लेख गरेको छ । घरका अधिकांश डिजाइन र प्रविधि ग्रामीण क्षेत्रलाई केन्द्रित गरिएका छन् । विभागले दिएको प्राविधिक सुझाव पालना गरे गाउँमा तीन तल्लासम्मका घर बनाउँदा इन्जिनियरको सहयोग नलिए पनि हुन्छ । विभागका अनुसार त्यसभन्दा अग्ला भवन बनाउन इन्जिनियरले नक्सा डिजाइन तयार पार्नुका साथै अनिवार्य रूपमा माटोसमेत परीक्षण गराउनुपर्नेछ । अहिले तयार पारिएका घरको डिजाइन र प्रविधि स्वीकृत भएपछि डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने योजना पनि सँगसँगै कार्यान्वयन गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ । गाउँमा माटो परीक्षण गराएर घर बनाउन सक्ने क्षमता धेरैमा नहुने भएकाले जुनसुकै किसिमको माटोमा पनि टिक्न सक्ने प्रविधि तथा निर्माण सामग्रीको संयोजन गरिएको विभागले जानकारी दिएको छ । माटो परीक्षण गर्न १ लाख रुपैयाँभन्दा बढी खर्च हुने बताइन्छ । भूकम्पले घर ध्वस्त भएका व्यक्ति तथा परिवारलाई दुई प्रतिशत व्याजमा ऋण प्रदान गरिने भएकाले मन्त्रालयले केही दिनभित्रै प्रस्तावित प्रविधिलाई स्वीकृति दिने तयारी गरेको छ । उक्त ऋण सरकारद्वारा सिफारिस गरिएका मापदण्डका घरलाई मात्र प्रदान गरिनेछ । असार १० मा हुने दाता सम्मेलनमा घरका डिजाइन तथा प्रयोग हुने प्रविधिका नमुना प्रस्तुत गर्न योजना पनि सरकारको छ ।

पिल्लर र बिम कस्तो ?

पिल्लर गाउँघरको थामजस्तै हो । थाम सबैभन्दा बलियो हुन्छ । आधुनिक घरमा पनि यही नियम लागू हुन्छ । मानिसको शरीरको मांसपेशीलाई हड्डीले भर दिएजस्तै घरको सबै बोझ पिल्लरले बोक्छ । त्यसैले पिल्लर सधैं घन्टी (नब्बे डिग्री) मा ठडिनुपर्छ । घरको मजबुतीको आधार नै पिल्लर हो । पिल्लरको साइज पनि घरको तल्लामै भर पर्छ । सामान्य घरमा पनि कम्तीमा ९ इन्च चौडाइ तथा १४ इन्च लामो पिल्लर चाहिन्छ । ती पिल्लरमा पाँच लाइन र चार लाइन गरेर ८ वटा डन्डी राख्नुपर्छ । डन्डीमा कहिल्यै कञ्जुस्याइँ गर्नुहँुदैन । डन्डीमा लोभ नगरे पनि बाँध्ने तरिका मिलेन भने सबै खर्च व्यर्थ हुन्छ । पिल्लरको डन्डी बाँधेर आकार दिन चुरी (रिंग) चाहिन्छ । चुरीमा दुई लाइनको डन्डी प्रयोग गर्ने चलन छ । चुरीले घरलाई धक्का परेको बेला पिल्लरलाई जोगाएर राख्छ । त्यसैले चुरी बनाउने र बाँध्ने तरिका ठ्याक्कै मिल्नुपर्छ । चुरीको दुरी ४ देखि ६ इन्चभन्दा बढी हुनु हुँदैन । पिल्लरको उचाइ आठदेखि नौ फिट हुन्छ । यसमा एकैपटकमा ढलान गर्ने चलन छ । आवासीय भवनमा सबैले यही गल्ती गरिरहेका छन् । पिल्लरलाई आधा गरेर दुईपटक ढलान गर्नुपर्छ ।

एकपटकमा ढलान गर्दा डन्डी नब्बे डिग्रीमा नबसेर बीचमा थोरै बांगिन सक्छ । अर्को नौ फिटमाथिबाट मसला खसाल्दा पहिले रोडा मात्र झर्छ । यसले मुनिको केही फिटमा रोडाको मात्रा बालुवा–सिमेन्टभन्दा कम हुन सक्छ । पिल्लर कमजोर भए घर जोखिमपूर्ण हुने भएकाले एकपटकमा ५ फिट मात्र ढलान गर्न सके घर थप मजबुत हुन्छ ।

बिमले पुराना घरमा निदालको काम गर्छ । यसले पिल्लरमाथि बसेर ढलानको भार थाम्छ । बिमको आकार पिल्लरभन्दा केही कम हुँदा पनि फरक पर्दैन । यसमा पनि डन्डी बाँध्ने तरिका मिलाउनुपर्छ । दुइटा पिल्लरको छेउछाउमा डन्डीको टुक्रा थपेर बिमलाई बलियो पार्नुपर्छ । पिल्लर र बिममा डन्डी गाँस्दा ध्यान पुर्‍याउनुपर्छ । डन्डीको मोटाइ, पिल्लर र बिमको लम्बाइअनुसार खप्टिने भाग निर्धारित हुन्छ । यसलाई कम्तीमा साढे दुई फिट खप्टाउनु अनिवार्य छ । पिल्लर वा बिममा पर्याप्त डन्डी हुन्छन् । ती डन्डी काट्ने बेला अलग–अलग लम्बाइको बनाउनु जरुरी छ । त्यसो नगरे एकै ठाउँमा गाँस पर्छ । यस्तो गल्ती भयो भने घरमा कुनै बोझ वा धक्का पर्दा गाँसिएकै ठाउँबाट क्षति हुन्छ । आजभोलिका घरमा दलिनको काम डन्डीले गर्छ । सिमेन्ट, रोडा र बालुवा मिसाइएको कंक्रिटले तल्ला थपिन्छ । ढलान बलियो बनाउन डन्डीको जाली ६ इन्चमा बाँध्नु राम्रो हुन्छ । बिमको नजिक र टपमा ‘डबल’ जाली बुन्नुपर्छ । पिल्लर र बिममा कम डन्डी हाल्ने, अर्कातिर ढलानमा चाहिनेभन्दा बढी छाप्ने चलन छ । सामान्य घरमा अढाइ लाइनको डन्डी भए पुग्छ । यसको ज्ञान नभएर चार लाइनसम्मको डन्डी हालिएको देखिन्छ । यस्तो गल्तीले घर बोझिलो त हुन्छ नै, खर्च पनि दोब्बर हुन्छ । पिल्लर र बिममा नारीजतिको मोटो डन्डी प्रयोग गरिने ठूला भवनमा समेत ढलानमा अढाइ र तीन लाइनको डन्डी हाले पुग्छ । आवासीय भवनमा ढलानको मोटाइ सामान्यतया ५ इन्च भए पुग्छ । ढलानको मसला जालीभन्दा माथि हाल्नुपर्छ । जाली धेरै माथि पारेर मसला तल हालियो भने ढलान कच्चा हुन्छ । यस्तो गल्तीले भुइँचालो आएका बेला वा कोठामा धेरै भीड भएको बेला जालीलाई छाडेर ढलान खस्ने डर हुन्छ । ढलानको जाली फर्माभन्दा एक इन्चमाथि उठाए पुग्छ । जालीले ढलानलाई बोक्ने हो, झुन्ड्याउने होइन । पानीको गुणस्तर पनि ज्यादै महत्वपूर्ण हुन्छ । यसमा ढलको पानी हाल्न मिल्दैन । आइरन अधिक भएको पानी पनि कंक्रिटमा प्रयोग गर्नु हुँदैन । कंक्रिटलाई बलियो बनाउन तापक्रमको पनि उत्तिकै महत्व हुन्छ । अत्यधिक चिसो वा गर्मीमा ढलान गर्दा घर बलियो हुँदैन, खति मात्र हुन्छ । त्यसका लागि १० देखि ३० डिग्री तापक्रम उपयुक्त हुन्छ ।

घरको स्ट्रक्चरको काम सकिएपछि मात्र गारो लगाउनुपर्छ । ढलान गरेको दुईचार दिनमै गारो लगाउँदा बिम, पिल्लर आदि कमजोर हुन्छन् । कंक्रिट जम्न २२ दिन लाग्ने भएकाले त्यति कुरेर मात्र गारो लगाउनुपर्छ । ढलान भैसकेपछि गारो लगाउँदा सुरक्षित हुन्छ । गारो कुनै हालतमा ४ इन्चको लगाउनु हुँदैन । त्यसका लागि ९ इन्च आवश्यक छ । गारो लगाउँदा ठाउँठाउँमा दुई लाइनको डन्डी ठाडो र तेर्सो राख्नुपर्छ ।

पिल्लर सिस्टममा बनेको सामान्य आकारको कंकरिटको घरको वजन पनि सयौं टन हुन्छ । यति बोझिलो घर ढंग नपुर्‍याई बनाइयो भने त्यो जोखिमपूर्ण हुन्छ ।

भूकम्पप्रतिरोधात्मक घर यसरी बनाऔं र ढुक्कसँग बसौं

सुषमा खत्री रञ्जित, इन्जिनियर

घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ । थोरै जग्गामा आकाश छुने घर बनाउँदा भुइँचालोको सानो झट्काले पनि घर गल्र्यामगुर्लुम हुनसक्छ ।

निकास आवश्यक

भुइँचालो मात्र होइन, आगलागी, करेन्ट सट हुँदा वा अन्य विपत्ति आइलाग्दा घरबाट बाहिर निस्कने उचित प्रबन्ध आवश्यक हुन्छ । घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ । त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुन जरुरी छ । भर्‍याङ सधैं फराकिलो र बलियो बनाउनुपर्छ । ठूला व्यापारिक भवन, अपार्टमेन्ट, स्कुल, कलेज, अस्पतालजस्ता सार्वजनिक भवनमा एउटा भर्‍याङले पुग्दैन । ठूला भवनको बाहिरबाट सिरानपुछार एउटा भर्‍याङ राख्न मापदण्डले अनिवार्य गरेको छ । आपत् परेका बेला भाग्न मात्र होइन, उद्धार कार्यमा समेत सजिलो होस् भनेर बाहिरबाट भर्‍याङ राखिएको हुन्छ ।

जग बलियो हुनुपर्छ भन्ने विषयको ज्ञान सबैलाई छ तर कस्तो जग बलियो हुन्छ भन्ने विषय असाध्यै जटिल छ । पिल्लर सिस्टमको घरमा कति गहिरो जग खन्ने ? (पिल्लरको जग) कत्रो बनाउने ? डन्डी कसरी बाँध्नेजस्ता कुरा असाध्यै जटिल हुन्छन् । हचुवाका भरमा गहिराइ, लम्बाइ, चौडाइका बारेमा भन्न सकिँदैन । जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिल्लरको आकार, लम्बाइ, चौडाइ आदिका आधारमा जगको गहिराइ निर्धारण हुन्छ । घरको प्रयोजन के हो त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । उत्रै आकार–प्रकारको आवासीय घर र विद्यालय भवनको जगको गहिराइ तथा अन्य सामान भिन्न हुन्छन् । आवासीय प्रयोजनका लागि बनाइने दुई तल्ले घरको जग माटोको प्रकारअनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको आश्रय घर

गोपालबहादुर कुँवर, आर्किटेक्ट इन्जिनियर

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले भूकम्पले घर भत्काएका परिवारलाई अस्थायी बसोबासका लागि १३ हजार रुपैयाँमा निर्माण गर्न सकिने घरका नमुना तयार पारेका छन् । ‘आश्रय’ नाम दिइएका यस्ता घर भूकम्पबाट घरवारविहीन भएकाहरूलाई उपयुक्त विकल्प हुने अपेक्षा गरिएको छ । थोरै लगानीमा र कम जनशक्तिबाट निर्माण हुने भएकाले यस्तो घर निर्माणको माग तीव्र छ । यस्ता घर बनाउँदा जस्तापाता, फलामका पाइप, इँटा, ढुंगा वा स्थानीय स्तरमा उपलब्ध हुने अन्य सामग्री प्रयोग गर्न सकिन्छ । घर १२ बाई ८ साइजका हुन्छन् । स्थानीय स्तरमा नि:शुल्क उपलब्ध हुने ढुंगा तथा माटो प्रयोग गरी घरधनी आफैंले श्रम गर्ने हो भने लागत अझ घट्न सक्छ । घरको धुरीमा जस्तापाता लगाइन्छ । जस्ताको तापका कारण बस्न कठिन हुने भएकाले जस्ता माथि खर, गहुँको छ्वाली वा अन्य कुनै सामग्री राख्न सकिन्छ । यस्ता घर बनाउन चाहने व्यक्ति वा संस्थालाई नि:शुल्क परामर्श प्रदान गरिन्छ । मुख्यत: भूकम्पपछि टेन्टभन्दा राम्रो विकल्प खोज्दै जाँदा आश्रय घरको कन्सेप्ट आएको हो । यो घर बनाउन स्टक्चरका लागि १ घन्टा लाग्छ भने ५ जना काम गर्ने व्यक्ति भए १ दिनमै तयार हुन्छ । महाभूकम्पपछि अहिलेसम्म यस्ता सयकडौं घर तयार भैसकेका छन् । सस्ता एवं भरपर्दा यस्ता घरका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले ग्रामीण भेगमा गएर प्राविधिक सहयोग पनि गरिरहेका छन् ।

प्रिबेकरिकेटेड हाउस

भूकम्पले घर ध्वस्त भएका स्थानमा बस्ती बसाल्न सहज होस् भनेर काठमाडौं विश्वविद्यालयले एक ठाउँमा बनाएर अर्को स्थानमा जडान गर्न मिल्ने घरको नमुना तयार गरेको छ । विश्वविद्यालयले यस्ता घरलाई ‘प्रिबेकरिकेटेड हाउस’ नाम दिएको छ । विश्वविद्यालयका रजिस्ट्रार भोला थापाका अनुसार विश्वविद्यालयले मेकानिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी तथा विश्वविद्यालयकै प्राध्यापकहरूको अगुवाइमा यस्ता घरका नमुना तयार गरेको हो । यसअघि घरका नमुना मात्र बनाएका थियौं । घरको माग नआएकाले बनाउन पाएका थिएनौं । घर बनाउन सजिलो हुने भएकाले अब यसको माग आउन सक्छ, थापाले भने, ‘यो नमुनाअनुसार अहिले मानिसले फर्निचर पसलबाट पलङ किनेर घरमा जसरी फिटिङ गर्छन् यो घरको संरचना पनि त्यस्तै हुन्छ । आवश्यकताअनुसार यसलाई जता पनि लान सकिन्छ । थापा भन्छन्, ‘यस्ता घरको आयु भने तीन वर्षभन्दा बढी हुँदैन । यो स्थायी घर होइन तर तत्काल घर बनाउन नसक्नेहरूका लागि अस्थायी वासस्थानको उपयुक्त विकल्प हो । यस्ता घर बनाउँदा जस्ता, बाँस, फलाम आदि स्थानीय स्तरमा उपलब्ध सामग्री प्रयोग गरिन्छ । यस्ता घर बनाउन चाहनेहरूलाई नि:शुल्क प्राविधिक सहयोग प्रदान गरिने थापाले बताए ।

 

 Image