Successfully Copied

घर निर्माणअघिको सावधानी

जमिन र माटोको प्रकारका सम्बन्धमा राम्रोसँग परीक्षण गराउनुपर्छ।

    जमिन र माटोको प्रकारका सम्बन्धमा राम्रोसँग परीक्षण गराउनुपर्छ।  

    पिल्लरको साइज र त्यसको दूरीमा विशेष सावधानी अपनाउनु जरुरी छ। त्यसका अतिरिक्त कति र कस्ता प्रकारका डण्डी राख्ने भन्ने विषयमा सचेत हुनुपर्छ।

    सामानको गुणस्तर (गिटी, बालुवा, इँटा, सिमेन्ट, डण्डी आदि) मा विशेष ध्यान दिनुपर्छ।

    प्राविधिक वा इन्जिनियरहरूलाई निरीक्षण गराएर काम गराउनुपर्छ।

    दक्ष लेबर, मिस्त्री आदि छनोट गर्नुपर्छ।

कृष्ण गौतम, बरिष्ठ उपाध्यक्ष, निर्माण व्यवसायी संघ

ज्योतिषशास्त्रअनुसार भूकम्प

    दैवी एवं प्राकृतिक प्रकोपबाट बच्न भगवान्प्रति आस्थावान् हुनुपर्छ भन्छ ज्योतिषशास्त्रले।

    जुन घरमा भगवान्को पूजा हुन्छ, बिहान–बेलुका घन्टी बजाइन्छ त्यहाँ सुरक्षा हुन्छ भन्ने विश्वास छ।

    घर बनाउनुअघि भूमि पूजा गर्नु आवश्यक छ, जसले संकटमोचन गर्छ।

    बलौटे माटो, चिहान भएको जमिन अनि कालो भूमिमा घर बनाउनु हँुदैन।

    जहाँ आस्तिक एवं सकारात्मक सोच राख्ने मानिसहरू बसेका छन् त्यहाँ यस्ता प्राकृतिक विपत्तिले पनि विध्वंश गर्ने सम्भावना कम हुन्छ।

ज्यो. पुष्पकला कौशिक, फलित ज्योतिष

मनोरोगबाट बच्ने उपाय

    अचानक आएको यो दैवीप्रकोपले धेरैलाई मानसिक असर मात्र पारेको छैन रोगी नै बनाएको छ।

    यस्तो बेलामा मानसिक रोग लाग्नुअघि नै त्यसको व्यवस्थापनमा लाग्नु जरुरी छ। मानसिक रोगको उपचारमा लामो समय लाग्ने भएकाले पहिले नै सावधानी अपनाउनुपर्छ।

    चिन्ता, विषाद, भय आदिलाई मनोरोगमा परिणत हुन नदिन उदाहरणीय कथा सुन्ने, सकारात्मक पुस्तक पढ्ने, प्रेरणादायक चलचित्र हेर्ने अनि परिवार एवं साथीभाइसँग घुलमिल हुने काम गर्नुपर्छ।

    मानसिक रोगको सिकार भैहाले तत्काल मनोचिकित्सककहाँ पुगिहाल्नुपर्छ। कतिपय अवस्थामा यो रोगजस्तो लाग्दैन तर यसले बिरामीलाई भित्रभित्रै खोक्रो पारिसकेको हुनसक्छ।

    एक्कासि आएको विपत्तिले धेरैलाई मनोरोगी बनाएको हुनसक्छ। त्यसैले बेलैमा त्यसको पहिचान गरी उपचार गराउनुपर्छ।

डा.शरदमान ताम्राकार, मनोचिकित्सक

मानसिक समास्याको व्यवस्थापन

    भूकम्पका कारण हजारौं मानिसको मानसिक स्थिति बिग्रिएको छ। त्यसमा पनि महिला एवं बालबालिका बढी प्रभावित छन्।

    विपत्तिले ल्याएको मानसिक त्रास, आवेग एवं निष्क्रियतालाई केही मात्रामा भए पनि कम गर्न सकेसम्म छिटो साधारण जीवनमा फर्कन प्रयास गर्नुपर्छ।

    बालबालिकाका अगाडि डराएर बस्नुहुँदैन। अघिपछि जस्तो काम गरिन्थ्यो ती कामलाई निरन्तरता दिनुपर्छ जसले गर्दा बालमानसिकतामा त्यस्तो भयंकर केही भएको रहेनछ भन्ने प्रभाव पर्छ।

    यस्तो बेला सकेसम्म आफूलाई सकारात्मक तरंग आउने कुरामा सहभागी गराउनु, सकारात्मक पुस्तक पढ्नु वा चलचित्र हेर्नु उपयुक्त हुन्छ।

    अरूका कुरा सुन्ने र आफ्ना कुरा पनि अरूसँग सेयर गर्ने जसले मानसिक विचलन कम भएर मन हल्का हुन्छ।

    घरमा उपलब्ध भएका कुरा प्रयोग गर्नुपर्छ। प्रशस्त पानी पिउनुका साथै समय भए आफूलाई जे गर्दा खुसी लाग्छ त्यही गर्नुपर्छ।

सुषमा रेग्मी, मनोवैज्ञानिक

खानेकुरामा ध्यान दिने ?

    यस्तो बेलामा ताजा खानेकुराको अभाव हुनसक्छ। प्राय: मानिस जंक फुडको सहायतामा बाँच्न बाध्य छन्।

    जंक फुड नै खाए पनि चाउचाउ आदिलाई राम्रोसँग पकाएर खानुपर्छ।

    यतिबेला बाहिरी वातावरण निकै प्रदूषित हुने भएकाले अरु बेलाको तुलनामा उमालेको पानी प्रशस्त पिउनुपर्छ।

    भूकम्पपछिको समयमा काममा त्यति व्यस्त हुनु नपर्दा घरमा बढी खानेकुरा पाक्ने गरेको पाइन्छ। यस्तो अवस्थामा धेरै खाइने हुनाले डाइट कन्ट्रोल गर्नुपर्छ।

    वातावरण बढी प्रदूषित भएको यो अवस्थामा माछा–मासुको साटो सागपात एवं ताजा तरकारीमा जोड दिनु उत्तम हुन्छ।

    यतिबेला फुर्सद पाइयो भनेर सुत्नुभन्दा शारीरिक कसरतमा जोड दिनुपर्छ।

रश्मि बजिमय श्रेष्ठ, डाइटिसियन

बिमा दाबी गर्दा

    विगतको हाम्रो पोलिसीमा यो महाभूकम्पपछि परिवर्तन गरिएको छ। विगतको तुलनामा अहिले प्रभावितहरूलाई सहज होस् भनेर बिमा दाबीको प्रक्रिया छोट्याइएको छ।

    अहिले सहज र सरल कागजपत्रका आधारमा बिमा दाबी गर्न सकिन्छ।

    भत्किएका घर, क्षति भएका सवारीसाधन वा अन्य क्षतिग्रस्त वस्तुमा बिमालेखकको सर्तअनुसार दाबी भुक्तानी गर्न सकिन्छ।

    बिमा गरेर पनि दाबी गर्न असहज भएका वा नसकेकाहरूका लागि बिमा समितिले ५ जना पदाधिकारीको व्यक्तिगत फोन नम्बर चौबीसै घन्टा खुला राखेको छ जसले गर्दा सर्वसाधारणले सहजै सेवा प्राप्त गर्न सक्छन।

    यो भूकम्पपछि हरेक बिमा कम्पनीको कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरिएको छ।

पूजन ढुंगेल, उप–निर्देशक, नेपाल बिमा समिति

भान्साको रेखदेख

    गर्मीमा विशेषत: झिंगा, लामखुट्टे आदिको बाक्लो उपस्थिति हुने हुँदा भान्साको विशेष हेरचाह गर्नु जरुरी छ।

    हरेक दिन बिहान भान्सा कोठालाई फिनेल वा सर्फ पानीले सफा गर्नुपर्छ जसले गर्दा झिंगालगायत अन्य कीटाणु पर भाग्छन्।

    गर्मीमा हरिया तरकारी एवं फलफूललाई स्टोर गरेर राख्नुहँुदैन किनभने गर्मीमा यस्ता चीज छिट्टै कुहिने समस्या हुन्छ।

    यो समयमा बेलुकाका भाँडा सिंकमा त्यसै छाडिराख्नु हुँदैन जसले गर्दा भुसुना भन्किने र विभिन्न रोग निम्तिने सम्भावना हुन्छ।

    बढी भएको खानेकुरा भरसक फ्रिजमा स्टोर गरेर राख्नु उपयुक्त हुन्छ।

रुबी महतो, गृहिणी

फोहोरमैलाको घरेलु व्यवस्थापन

    प्राकृतिक प्रकोपपछिको महामारीका बेला विशेषत: भान्सा तथा घरको सरसफाइमा ध्यान दिनुपर्छ।

    झिंगा तथा लामखुट्टेको संक्रमण हुन नदिन पानी जमेका खाल्डाखुल्डीको व्यवस्थापन गर्नुपर्छ। सडे–गलेका बासी खानेकुरा पुर्नुपर्छ। प्लास्टिकमा बाँधेर पुर्नु हुँदैन। त्यसो गर्दा त्यसभित्रका खानेकुरा गल्न पाउँदैनन्।

    बाल्दा खरानी हुने सामग्रीहरू जलाएर नष्ट गर्नुपर्छ।

    समय–समयमा फिनेल पानी छर्कने तथा भान्साको सफाइमा पर्याप्त ध्यान दिने।

    यस्तो बेला फोहोर व्यवस्थापनकर्ताहरूको उपस्थित हुन नसकेकाले जलाउन तथा गलाउन नमिल्ने सामानहरू छुट्टै छोपेर राख्नु जरुरी हुन्छ।

सिम्पल जोशी, गृहिणी

 Image