Successfully Copied

गर्मीमा सहज एवं स्टाइलिस पहिरन

दिक्कलाग्दो स्टाइल, पुरानो शैली, उही रंग र त्यही पहिरन। ड्रेसिङ सेन्समा बचतलाई हाबी हुन दिएपछि यस्तै हुन्छ।

दिक्कलाग्दो स्टाइल, पुरानो शैली, उही रंग र त्यही पहिरन। ड्रेसिङ सेन्समा बचतलाई हाबी हुन दिएपछि यस्तै हुन्छ। अहिले गर्मी उत्कर्षतर्फ अघि बढ्दैछ। अत: आफ्नो पहिरनशैली मौसम सुहाउँदो राख्नु उचित हुन्छ। यो मौसममा फेसन पनि हल्का–फुल्का, आरामदायक अनि स्टाइलिस हुनुपर्छ।

फेब्रिक ट्रेन्ड : गर्मीमा सिफन, क्रेप, पोली क्रेप, कटन, सिल्क कटन, मलमल, सफ्ट जर्जेट, खादी, लिनेन आदि हल्का फेब्रिकको जादु छाउँछ। हल्का हुनुका साथै हावा पनि सहजै छिर्ने यस्ता कपडा प्रयोग एवं हेरचाह गर्न पनि सजिला हुन्छन्। यो मौसममा आफूले प्रयोग गर्ने भित्री वस्त्रको फेब्रिकमा पनि ध्यान पुर्‍याउनुपर्छ। यसका लागि कटन सबैभन्दा उत्तम हुन्छ। यसबाहेक हल्का रंग तथा लेस डिजाइनलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ।

रंगको कुरा

त्यसो त गर्मी मौसममा प्राय: हल्का रंगलाई नै प्राथमिकता दिइन्छ। यद्यपि हिजोआज निलन कलर सबैको पहिलो रोजाइ बनेको पाइन्छ। त्यसबाहेक पहेंलो, प्याजी, हरियो, सुन्तला, बैजनी, खैरो, पिंक, नीलो, नेवी ब्लु, क्रिम, सेतो, कालो, बेज, ब्राउन आदि कलर पनि उपयोगी साबित हुन्छन्।

जादु प्रिन्टको

यसपटक फ्लावर प्रिन्ट खुबै चल्नेछ। यो सानो र ठूलो दुवै आकारमा उपलब्ध हुनेछ तर यो प्रिन्टको छनोट आफ्नो शारीरिक बनोटअनुरूप गर्नु उपयुक्त हुन्छ। हेल्दी फिगर भएकालाई सानो प्रिन्ट सुहाउँछ, धेरै उज्यालो र ठूलो प्रिन्टले मोटोपनलाई अझ उजागर गर्छ । शरीर स्लिम छ भने ठूलो आकारको फ्लावर प्रिन्ट व्यक्तित्व उजागर गर्न बढी उपयोगी हुन्छ। त्यसबाहेक एनिमल प्रिन्ट्स, ब्ल्याक एन्ड ह्वाइट प्रिन्ट्स तथा ब्लक प्रिन्ट्स पनि फेसनमा छ।

फेरबदल डिजाइनमा

यसपटक पनि कुर्तीको डिजाइनमा परिवर्तन देख्न पाइएको छ।

स्लिभ : यसपटक क्याम स्लिभ, मेगा स्लिभ एवं थ्री–फोर्थ स्लिभको जादु छाउनेछ। सर्ट स्लिभ र फुल लेन्थ स्लिभ कमै देख्न पाइन सक्छ।

लम्बाइ : जहाँसम्म पहिरनको लम्बाइको प्रश्न छ, त्यो नि–लेन्थ अर्थात् घुँडासम्मको लम्बाइमा रहनेछ। फुल लेन्थ र थर्ड लेन्थ प्रयोग त हुनेछ तर कम प्रचलनमा रहनेछ।

नेकलाइन : नेकलाइन डिजाइनमा राउन्ड नेक हिट हुनेछ। यसबाहेक स्क्वायर, भी, यू नेक पनि प्रचलनमा रहनेछन्।

हट फेसनशैली

    कफ्तान लुक भएका कुर्ता।

    मिहीन डिजाइन भएको सटल लेस।

    डिप नेकलाइन बाहिरिनेछ भने कलरयुक्त नेकलाइन फेसनमा रहनेछ।

    ह्यारम तथा प्लाजो पाइन्ट।

    डेनिम जिन्सको ठाउँ प्रिन्टेड लाइक्रा जिन्सले लिनसक्छ।

    नियन सेडमा जम्प सुट र क्रेपिजको फेसनमा भित्रिनेछ।

    घेरादार धोती सलवारका साथमा यू आकारका सर्ट–कुर्ता।

    केप्रिज र स्कर्ट।

    प्रिन्टेड टि–सर्ट।

    योक कट, पिङटेक र कन्ट्रास्ट कलरका पहिरन।

    इन्डियन प्रिन्टका साथमा घाँघरा स्कर्ट।

    दुपट्टाको ठाउँमा स्टोल र स्कार्फको प्रयोग बढ्नसक्छ।

    मिक्स म्याचको जादु गत वर्षको सिजनमा जस्तै हिट रहनेछ।

    एसेसरिजमा फ्लोरल प्रिन्टयुक्त सनग्लास, नियन रंगका रबर ब्यान्ड, उडल ज्वेलरी, कोल्हापुरी फ्ल्याट चप्पल, डेनिम तथा जुटबाट बनेका ब्यागको प्रचलन बढ्ने जानकारहरू बताउँछन्।

सदाबहार फेसन

फेसनविद्हरूका अनुसार हरेक मौसममा केही नयाँ फेसन भित्रिने र पुरानो विस्थापित हुने क्रम चलिरहन्छ। यद्यपि केही फेसन भने सहाबहार रहन्छन्। समर फेसनमा हट देखिन टाइगर, जेब्रा आदि एनिमल प्रिन्ट तथा पोल्का डटलाई आफ्नो वार्डरोबको हिस्सा बनाउनुपर्छ। यी प्रिन्टले व्यक्तित्वलाई एलिगेन्ट लुक प्रदान गर्छन्। यसैगरी कटन फेब्रिक सदाबहार रहन्छ। कामकाजीहरूले चाउरी नपर्ने अर्थात् नखुम्चिने कटन प्रयोग गर्नुपर्छ। परम्परागत पहिरन रुचाउनेहरूले समर फेब्रिकमा काथा वर्क, लखनवी चिकनकारी, कलमकारी, प्याच वर्क, निडल वर्क, मिरर वर्क आदि प्रयोग गर्नु उपयुक्त हुन्छ। समरमा प्रयोग हुने फेब्रिकको आयु लामो नहुने, रंग फिक्का पर्दै जाने, कपडा पातलिंँदै जाने हुन्छ। त्यसैले समरका पहिरन लामो समयसम्म प्रयोग गर्ने मोह राख्नु ठीक हुँदैन।

–रोजिन शाक्य

कुल लुक्सका लागि पहिरन

मौसमअनुसार फेसन पनि बदलिन्छ। मौसमअनुसार पहिरनमा ध्यान दिँदा लुक्स पनि आकर्षक देखिन्छ। तसर्थ कस्तो पहिरन लगाउनु उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ।

गर्मीमा कटनको पहिरन उत्कृष्ट हुन्छ। यो त्यस्तो फेब्रिक हो जुन हेर्दा वा लगाउँदा दुवै अवस्थामा आकर्षक देखिन्छ। यो पहिरनले व्यक्तित्वमा पनि निखार ल्याउँछ। गर्मीमा स्टाइलिस्ट लुक्सका लागि ब्लु, ग्रीन, पिंक, एलो आदि लाइट कलरका पहिरन उपयुक्त हुन्छन्। गर्मी मौसममा डस्टी सेड र फ्लोरल डिजाइन पनि राम्रो हुन्छ। डट्स, नेचुरल डिजाइन अथवा कालो प्रिन्ट्स पनि गर्मीका स्टाइलिस्ट पहिरन हुन्। सेतो रंगका साथै पहेंलो, रातो तथा क्रिम रंगले पनि कुल लुक्स दिन्छन्। वाटर कलर अर्थात् वेट लुक भएको कलर पनि सुन्दर हुन्छ। कटनका साथै, जर्जेट, सिफन, लाइटवेट सिल्क यो मौसमका लागि उपयुक्त पहिरनमा पर्छन्। हिजोआज रंगीचंगी वा विभिन्न रंग मिसाएर तयार पारिएका पहिरन लगाउने फेसन ट्रेन्ड भएकाले यस्तो लुक्स पनि युनिक देखिन्छ।

गर्मीमा सेतो रंगको जादु

सेतो रंगले सदावहार लुक्स प्रदान गर्छ भने त्यसले फेसनेबल लुक्स पनि दिन्छ। सेतो रंगमा कुनै पनि अन्य रंगको पहिरन कम्बिनेसन मिलाएर पनि लगाउन सकिन्छ। सेतो रंगले गर्मीमा छाला तथा आँखालाई शीतलता प्रदान गर्छ। पार्टीमा सेतो रंगको पहिरनमा सिल्भर ज्वेलरी लगाएर जान सकिन्छ।

कामकाजी महिलाका लागि उपयुक्त पहिरन

गर्मीमा कामकाजी महिला कटनको पहिरनमा सजिन रुचाउँछन्। गर्मीमा कुर्ता वा कुर्ती, बिनादुपट्टा लुज फिटिङ पहिरन उनीहरूको पहिलो रोजाइमा पर्छ। यो मौसममा जिन्सका आइटम कम लगाइन्छ। यसैगरी गर्मीका लागि लेनिनको ट्राउजर पनि उपयुक्त मानिन्छ जुन आरामदायक पनि हुन्छ। अफिसमा बसेर गर्ने काम भए हलुका ट्राउजर लगाउँदा आराम मिल्छ । सवारी साधन चलाएर हिँड्ने महिलाहरूले लागि गर्मीमा लगाउने ज्याकेट लगाएर हिँड्नु वेश हुन्छ किनभने अफिस भित्र र बाहिरको गर्मीमा निकै अन्तर हुन्छ। घामले छालामा असर गर्ने हुँदा अफिस भित्र लगाइएको पहिरनले बाहिरको घामको सामना गर्न सक्दैन। त्यसकारण पहिरन छनोट गर्दा ध्यान पुर्‍याउनु आवश्यक छ।

गर्मीमा उपयुक्त इनरवेयर

मौसमअनुसार भित्री वस्त्र पनि फरक लगाउनुपर्छ। गर्मी मौसम सुरु भएसँंगै विभिन्न किसिमका भित्री वस्त्र पनि बजारमा उपलब्ध हुन थाल्छन्। आफ्नो रोजाइ तथा छनोटका कुनै पनि स्टाइलका भित्री वस्त्र छनोट गर्न सकिन्छ। मौसमअनुसारको भित्री वस्त्र किन्नु आफ्नो शरीर तथा मौसमका दृष्टिले पनि राम्रो हुन्छ। भित्री वस्त्र जस्तो भए पनि हुन्छ भन्ने मानसिकताले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। त्यसैले जाडो मौसममा लगाइने भित्री वस्त्र गर्मी मौसमका लागि उपयुक्त हुँदैन।

फेब्रिक र कलर

भित्री वस्त्र खरिद गर्दा आकार तथा फेब्रिकमा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ। गर्मीमा कटन आरामदायक हुन्छ। अहिले बजारमा गर्मीका लागि अन्य विभिन्न प्रकारका फेब्रिक पनि उपलब्ध हुन्छन्।

माइक्रो फाइबर फेब्रिक : यो फेब्रिकको इनरवेयर हलुका हुन्छ। यसले शरीरमा कुप्रभाव पार्दैन किनभने यसमा हावाको आवतजावत राम्रो हुन्छ।

कटन फेब्रिक: कटनका भित्री वस्त्र आरामदायक एवं टिकाउ हुन्छन्। पसिनामा नियन्त्रण गर्न सक्षम कटनको भित्री वस्त्रले परिहनबाट छातीमा हुनसक्ने इन्फेक्सनबाट पनि जोगाउँछ।

लाइक्रा: हिजोआज लाइक्राको पनि फेसन छ। यो नरम तथा आरामदायक हुनुका साथै कटनसरह टिकाउ पनि हुन्छ।

पिमा कटन : हिजोआज प्राकृतिक पिमामार्फत पनि भित्री वस्त्र उत्पादन हुन थालेका छन्। अमेरिकाको टेक्सासमा उत्पादन हुने यो धागोबाट निर्मित भित्री वस्त्रको उत्पादनले विश्वभर बजार पाएको छ। सामान्य कटनभन्दा गुणस्तरीय धागोबाट बन्ने यस्ता पहिरन अत्यन्तै नरम हुन्छन्। यिनमा पसिना सोस्ने क्षमता पनि बढी हुन्छ। छालाको एलर्जी भएकाहरूका लागि पनि यो फाइदाजनक छ।

गर्मीका लागि उचित इनरवेयर

हल्टर : यो इनरवेयर स्वीमिङ गर्ने बेलामा लगाउनु उपयुक्त हुन्छ। यसलाई समुद्री इलाकामा बढी लगाइन्छ। यसको ब्रामा घाँटीमा बाँध्ने डोरी पनि हुन्छ। यो इनरवेयर नाइटसुटका रूपमा पनि लगाउन सकिन्छ।

स्पगेटी : यो इनरवेयर कुनै पनि पहिरनसँग लगाउन मिल्छ। स्पगेटीले टान्सपरेन्ट सुट वा समिजको काम पनि सहजै गर्छ।

विदआउट स्टेप : यो इनरवेयर स्टेपलेस पहिरनमा लगाउन सकिन्छ। यसलाई धेरै डिप नेकमा पनि लगाउन सकिन्छ।

रेजर बेक : यो एक्ससाइज गर्दा लगाइने इनरवेयर हो। सामान्य कलरको पहिरनमा पनि लगाउन सकिन्छ।

एट्याच विथ ब्रा: यो इनरवेयर ब्रासँगै जोडिएको हुन्छ। यसलाई पहिरनको लम्बाइसँग मिलाएर लगाउन सकिन्छ।

ब्रान्ड स्टेप : यो चारपाटे डिजाइन भएको इनरवेयर हो। यसलाई टप, टिसर्ट, सुट आदि पहिरनमा लगाउन सकिन्छ। बजारमा यो स्टाइलको इनरवेयर प्रिन्टेड तथा अन्य विभिन्न रंगमा उपलब्ध छन्।

सरस्वती कटुवाल

गर्मीमा गहनायुक्त स्कार्फ

आभूषण र स्कार्फको मिश्रित रूप हो–ज्युल्ड स्कार्फ। यसलाई कुनै पनि साधारण पहिरनसित मिसाएर लगाई आफ्नो लुकलाई विशेष बनाउन सकिन्छ।

प्रकार : अधिकांश ज्युल्ड स्कार्फमा एउटा सेन्टर पिस र दुईवटा साइड ह्याङ्गिङ पिस हुन्छन्। यो ह्याङ्गिङ पिस मेटल, मोती, खिप आदिबाट बनेको हुन्छ।

पहिरनसित कम्बिनेसन

ज्युल्ड स्कार्फ सलिड कलर्ड पहिरनमा बढी सुहाउँछ।

जम्पसुट : मिरर ह्याङ्गिङ स्कार्फ।

रेजोर्ट गाउन : सेल ह्याङ्गिङ स्कार्फ।

सलवार–कुर्ता : टाइ एण्ड स्कार्फ।

प्रिन्टेड लङ स्कर्ट र टप सोलिङ कलर्ड स्कार्फ।

ड्रेपिङ स्टाइल

यसलाई घाँटी, कम्मर एवं काँधमा विभिन्न तरिकाले ड्रेप गर्न सकिन्छ। स्कार्फलाई हेड गियरका रूपमा पनि प्रयोग गर्ने चलन छ।

फेब्रिक र कलर

अहिले कटन, सिल्क, सिफन तथा जर्जेटजस्ता फ्लोइ फेब्रिकका स्कार्फ लोकप्रिय छन्।

कलरमा नियन, बबलगम पिंक, इलेक्ट्रिक ब्लु तथा पेरोट ग्रीनजस्ता भाइब्रेन्ट कलर्स ज्युल्ड स्कार्फमा मन पराइएको पाइन्छ।

 

 Image