Successfully Copied

अधबैंसे आमाको चलन

आधुनिक जमानाका करियर ओरिएन्टेड महिलाहरू करियरप्रतिको क्रेजका कारण जीवनका कतिपय पललाई पछाडि नै छोड्छन्।

आधुनिक जमानाका करियर ओरिएन्टेड महिलाहरू करियरप्रतिको क्रेजका कारण जीवनका कतिपय पललाई पछाडि नै छोड्छन्। उनीहरू आफ्नो करियरको उचाइ चुम्न यति व्यस्त हुन्छन् कि विवाहलाई पनि दोस्रो विकल्पका रूपमा लिन्छन्। त्यसैले महिलाहरूको विवाहको उमेर बढिरहेको छ। ढिलो विवाह भए पनि उनीहरू सन्तान जन्माउन हतार गर्दैनन्। आफ्नो करियर सेटल भएपछि सन्तानको योजना बनाउँछन्। उनीहरू आफ्ना सन्तानको लालनपालन शत प्रतिशत समय दिएर उचित रूपमा गर्न चाहन्छन्।

सानेपाकी ३६ वर्षीया रञ्जु शाहले ३५ वर्षको उमेरमा सन्तान जन्माउने योजना बनाइन्। गत वर्ष उनको डेलिभरी भयो। उनी अब पूर्णरूपमा आफ्नो शिशुको लालनपालनका लागि तयार थिइन्। अहिले उनी हरेक तर्फबाट स्वतन्त्र छिन्। आर्थिक रूपमा पनि कुनै समस्या छैन। केही वर्षअघि आर्थिक मन्दीका कारण उनले सन्तानको योजना बनाउन सकेकी थिइनन्।

पेसाले बैंंकर नीता लामा पनि एक निश्चित समयपछि बालबालिकाको योजना बनाउनुपर्ने बताउँछिन्। मानसिक तथा आर्थिक रूपमा सन्तानका लागि तयार हुनुपर्छ। ३० वर्षपछि सन्तानको योजनाले भविष्य सुरक्षित हुन्छ।

हलिउड, बलिउड तथा कलिउडका नायिकाहरूले पनि ३० वर्षपछि मात्र सन्तान जन्माएका छन्। शरीरको राम्रो हेरचाह गर्न सकियो भने यो उमेरमा पनि स्वस्थ शिशु जन्माउन सकिन्छ। हाम्रो समाजमा बढ्दो उमेरमा आमा बन्दा अनेकांै समस्या आइपर्ने भ्रम छ। ३० वर्षपछि आमा बन्दा शिशुमा मानसिक तथा शारीरिक समस्या देखा पर्न सक्छ। गर्भपतनको सम्भावना रहने कुराले एक प्रकारको त्रास जन्माउँछ। बाल विशेषज्ञ डा. धनराज अर्यालका अनुसार राम्रोसँग हेरचाह भयो भने ३० वर्षपछि महिलाहरूले स्वस्थ शिशु जन्माउन सक्ने कुरामा दुई मत छैन।

डा. धनराज अर्याल

३० देखि ४० वर्षको बीचमा आमा बन्दा कुनै समस्या हँुदैन।

यो उमेरमा महिलाहरू आफ्नो सुरक्षाप्रति बढी सचेत हुनुका साथै मानसिक तथा आर्थिक रूपमा मजबुत अनि अरू धेरै कुरामा परिपक्व हुन्छन्। आफ्नो गर्भधारणलाई लिएर उनीहरू सचेत हुन्छन्।

मेडिकल साइन्स गर्भधारणपछि आउने समस्या समाधान गर्न सक्षम छ।

तीस वर्षपछि आमा बन्दा उत्पन्न हुने समस्या

हुन त करियरको चक्करमा हिजोआजका महिलाहरू उमेर छिप्पिएपछि विवाह गर्छन्। त्यसको प्रत्यक्ष प्रभाव गर्भस्थ शिशुमा पर्छ। ३० वर्षपछि आमा बन्दा समस्या उत्पन्न नहुने होइन। यो उमेरमा सन्तान उत्पन्न गर्दा थुपै्र समस्या सिर्जना हुन सक्छन्। चिकित्सकहरू आज पनि आमा बन्ने सही उमेर २० वर्षपछिलाई मान्छन्। ३० वर्षपछि शिशु जन्माउँदा अनेकौं समस्या उत्पन्न हुन्छन्। बढ्दो उमेरमा शिशुको योजना बनाउँदा आमा तथा शिशु दुवैलाई खतरा हुन सक्छ।

डा. मिरा ओझा  

पाको उमेरमा गर्भधारण गर्दा शिशु शारीरिक रूपमा कमजोर हुनु, समयभन्दा पहिले जन्मनुका साथै अन्य थुपै्र समस्या सिर्जना हुन सक्छन्।

मिसक्यारेज तथा अप्रेसनको सम्भावना रहन्छ।

महिलाहरूको शारीरिक क्षमता मध्यनजर गरी बेड रेस्ट गराउनुपर्छ।

यस्तो केसमा कुनै किसिमको लापरबाही गर्नु हुँदैन।

उचित हेरचाह भएन भने गर्भवती महिलाहरूमा हाई ब्लडप्रेसर तथा डाइबिटिजको समस्या उत्पन्न हुन सक्छ।

हेल्दी टिप्स

    यो उमेरमा गर्भधारण गर्ने महिलाले बढी आराम गर्नुपर्छ।

    कुनै प्रकारको चिन्ता लिनु हुँदैन।

    राम्रो तथा अनुभवी चिकित्सकको सल्लाह लिनुपर्छ।

    खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ।

    आफू एवं गर्भस्थ शिशुको राम्रो ख्याल राख्नुपर्छ।

    धेरै दौडधुप गर्नु हुँदैन।

    दिनहुँ सामान्य व्यायाम गर्नुपर्छ।

 Image