Successfully Copied

भूकम्पले भत्कायो सपनाको घर ?

आधारभूत आवश्यकताबाट वञ्चित भएपछि मानिसको जीवन कठिन हुन्छ। यही कठिनाइको सामना गरिरहेका नेपालीहरू यतिबेला बाँच्नका लागि संघर्ष गर्दैछन्।

आधारभूत आवश्यकताबाट वञ्चित भएपछि मानिसको जीवन कठिन हुन्छ। यही कठिनाइको सामना गरिरहेका नेपालीहरू यतिबेला बाँच्नका लागि संघर्ष गर्दैछन्। गत वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा  मुलुक विनाशकारी भूकम्पको मारमा परेको थियो। सात दशमलव नौ रेक्टरको उक्त भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो। जसकारण विकासको गतिमा नेपाल फेरि पछाडि धकेलिएको छ। यो क्षति एक व्यक्तिकालागि मात्र नभएर सिंगो मुलुक एवं नागरिकका लागि दु:खलाग्दो कुरा हो। मानिस सामान्य जीवनमा फर्कन समय त लाग्छ नै तथापि प्राकृतिक प्रकोपले घरहरूलाई भग्नावशेषमा परिणत गरिदिएका कारण पुन:संरचना गर्नुपर्ने अर्काे चुनौती पनि थपिएकोछ। भूकम्पले आम नेपालीको सपनाको घर भत्काई उनीहरूलाई घरबारविहीन बनाएकोछ।

विभिन्न अनुसन्धानअनुसार भूकम्पको जोखिमममा नेपाल विश्वको ११ आंै स्थानमा छ। काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी जोखिम भएको सहरमध्येमा पर्छ। त्यसकारण यहाँ घर बनाउँदा पूर्वतयारी आवश्यक छ। काठमाडौंका धेरैजसो घर, अफिस एवं अपार्टमेन्टहरू भूकम्प प्रतिरोधी मापदण्डअनुसार नबनेकाले एकदमै जोखिमपूर्ण अवस्थामा छन्। त्यसैले पनि यसपटक धेरैले घरबारविहीन हुनुपरेको हो। काठमाडौं उपत्यका पहिले ठूलो ताल भएकाले यहाँको माटोको बनोटमा भूकम्पको धक्का बढ्ने, त्यसले जमिनलाई थलथल पारिदिने भएका लेबलियोसँग बनाइएका भवनहरू पनि ढल्ने डर हुने विज्ञहरू बताउँछन्। त्यसैले पनि गएकोभूकम्पले देशमा ठूलो नोक्सानी भयो। काठमाडौंको माटो पहिलेको तालमुुनि भएकाले यसले भूकम्पको झट्कालाई अझ बढाउँछ, घरहरूलाई बेस्सरी थर्काउँछ र हल्लाउँछ। त्यसैले पनि नेपालको तराई र काठमाडौं उपत्यकामा घर बनाउँदा अन्य ठाउँमा भन्दा बढी भूकम्प प्रतिरोधक प्रविधि उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूले दिँदै आएकाछन्। काठमाडौंका सबैजसो घर, आवास एवं अपार्टमेन्ट हेर्दै ८ रेक्टरको झ्टकामै ढल्ने खालका छन्। काठमाडौंमा भवन निर्माण गर्न अनुपयुक्त ठाउँमा पार्क अथवा ग्रिनवेल्ट बनाउनुको साटो धमाधम घर नै बनाइएका छन्। ऐन–कानुन तथा मापदण्ड हुँदाहुँदै पनि यति धेरै विनाश हुनु भनेको भएका नियमको पालन नगर्नु नै हो। काठमाडौंका जोखिमपूर्ण भवनहरूको कंक्रिट फ्रेम भूकम्पको थर्काइ थाम्न नसक्ने प्रकृतिका छन्। बिम बाहेकका एक सल इँटाका गारो छडहरू छिराएर बलियो गरी नबनाइने हुनाले सजिलै भत्कन्छन्। अहिलेको भूकम्पमा अधिकांश पुराना तथा कमसल घरहरू भत्किएका छन्। विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिका कारण मानिसलाई पहिलेको अवस्थामा पुग्न निकै समय लाग्ने सहजै अनुमान लगाउन सकिन्छ। यस्तो दैवीप्रकोप झेलिसकेको अवस्थामा अब कुनै पनि संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधक मापदण्डका बारेमा ख्याल गर्नु आवश्यक छ अन्यथा हामीले यस्ता प्राकृतिक विपत्तिको मार आगामी दिनमा अझ बढी झेल्नुपर्ने हुन्छ। स्तरीय तथा दिगो संरचना निर्माण नगरिनु, भूकम्प प्रतिरोधक भवन नबनाइनु, नदीकिनारको बसोबास तथा अतिक्रमणमा नियन्त्रण नहुनुजस्ता कारणले गर्दापनि हामीले अहिलेको अवस्था भोग्नुपरेको हो।

विगत थुप्रै वर्षदेखि हिमालय क्षेत्रमा भूकम्प आउने कुरा भूगर्भविद् तथा भूकम्पविद्हरूले पूर्वानुमान गरिसकेको सूचना मिडियाहरूबाट बाहिर आएपनि त्यसप्रतिको बेवास्ताका कारण आज काठमाडौंले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको विज्ञहरूको दाबी छ। भूकम्पप्रति यति धेरै त्रास भए पनि त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा भने त्यति चासो दिइएको पाइँदैन। देशका सबैजसो मानिस यसबाट बच्नसक्ने उपायका बारेमा बेखबर देखिन्छन्। यति ठूलो क्षतिको मारमा परेका हामीले अब भूकम्पीय विनाशबाट जोगिने उपयाहरूका बारेमा सचेत हुनैपर्छ र त्यसका लागि दीर्घकालीन उपाय अपनाउनुपर्छ। भूकम्पबाट पर्ने असर कम गर्न आवास निर्माण गर्दा नै भूकम्प प्रतिरोधक मापदण्डका बारेमा विशेष ध्यान दिइनुपर्छ। गत महिना गएको भूकम्पका बारेमा निकै टीकाटिपणी भए। धैरैजसो मानिसले ८१ वर्षपछि २०९० सालको जस्तै भूकम्प आएको तर्क गरे। लामो समयसम्म आएको कम्पलाई नब्बेसालकै जस्तो भनियो। भूकम्पले जनधनको ठूलो विनाश गरेको कुरा पनि भए। नब्बे सालको भूकम्पको तुलनामा २०७२ साल वैशाख १२ गतेको भूकम्पले किन बढी क्षति पुर्‍यायो भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ भन्ने कुरामा भने मानिसहरूले कुरा गरेको सुनिएन। अबपनि भोलि आइपर्ने समस्याका बारेमा संवेदनशील नहुने हो भने हामी पुन: आइपर्ने प्राकृतिक विपत्तिको सिकार हुने निश्चित छ। विक्रम संवत् १९९० सालको भूकम्पको सम्झनामा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ। यो दिवस सन् १९९९ सालदेखि मनाइन थालेको हो। वर्षैपिच्छे मनाइने भूकम्प सुरक्षा दिवसमा संरचनात्मक क्षति एवं जनजागरणको अभियान चलाइन्छ। भूकम्पीय सुरक्षालाई नेपाल सरकारले पनि ध्यान दिएको छ। सरकारले भवनलाई भूकम्पीय दृष्टिले सुरक्षित बनाउन देश–विदेशका विशेषज्ञको सहयोगमा आचारसंहिता समेत तयार पारेको छ। सबैले आफू बस्ने घरलाई आचारसंहिता पालन गरेर मात्र निर्माण गर्नुपर्छ। भवन आचारसंहिता साधारण भवन, आरसीसी, लोड बियरिङका साथै फुसको छाना भएका सबै किसिमका घरका लागि उपयुक्त हुने संहिता हो। आचारसंहिता ठूल्ठूला भवनका लागि बनाइएको हो भन्ने बुझ्नु हँुदैन। यो त सामान्य नियम हो। भूकम्पको मापन ५ रेक्टर स्केलदेखि सामान्यतया ९ देखि १० रेक्टर स्केलसम्म हुनसक्छ। बढी रेक्टर स्केलको भूकम्प प्रतिरोधात्मक क्षमता भएका ठूल्ठूला भवन कार्यालय, अस्पताल, स्कुल आदि जनघनत्व बढी हुने ठाउँमा निर्माण गरिन्छ। सामान्य आवास तथा घर साना भूकम्प थेग्ने तथा ठूला भूकम्पमा भौतिक क्षति कम हुने गरी बनाउँदा पनि हुन्छ। यहाँ दिनुपर्नै कुरा के पनि हो भने मुलुकका सबै घर भूकम्प प्रतिरोधक मापदण्डअनुरूप हुनुपर्छ। .

भूकम्प प्रतिरोधक मापदण्ड

- घरको बनावट सेस्मिक डिजाइनमा तयार गर्नुपर्छ।

- जमिनको क्षेत्रफल २० स्क्वायर मिटरभन्दा बढी हुनुपर्छ।

- भवनको उचाइ ५ मिटरभन्दा अग्लो हुनुपर्छ। हरेक तला यही किसिमले डिजाइन गरिनुपर्छ।

- १ दशमलव ५ मिटरको कंक्रिट वाल हुनुआवश्यक छ।

- भर्टिकल सेमियो सिस्टम एवं होरिजन्टल वार्सिङ सिस्टमलाई ध्यानमा राखी भवन निर्माण गरिनुपर्छ।

- वर्किङ स्ट्रेस विधि एवं लिमिट स्टेट विधिबाट निर्माण गरिएका भवन भूकम्पीय क्षतिबाट सुरक्षित हुन्छन्।

- कुन प्रकारको संरचना निर्माण गर्ने योजना छ सोहीअनुरूप भवन निर्माणका लागि आवश्यक सबै कुरामा समान हिसाबले ध्यान पुर्‍याउनुपर्छ।

मापदण्ड विपरीत बनाइएका घरहरू कडाइका साथ भत्काइनुपर्छ।

– डा. सूर्यराज आचार्य, पूर्वाधार नीति विज्ञ

भूकम्प प्रतिरोधात्मक मापदण्ड के हो ?

भूकम्प प्रतिरोधी भवन निर्माण अर्थसँग सम्बन्धित कुरा पनि हो। भवनमा जति लगानी हुन्छ त्यो ननकोल्याप्स हुनुपर्छ। मापदण्ड विपरीत घर बनाइयो भने हामी आफैले खतरा निम्त्याइरहेका छौं भन्ने बुझेहुन्छ।

नेपालमा भवन निर्माण मापदण्ड कत्तिको प्रभावकारी छ ?

खासगरी नेपाल सरकारले तय गरेको भवन निर्माण आचारसंहिता अपूरो छ। त्यो सोलोडोलो निर्देशिका मात्र हो। उक्त आचारसंहिता अनावश्यक रूपमा बढी खर्चिलो छ भने भवन पूर्णरूपमा सुरक्षित हुने खालकोछैन । त्यसैले उक्त आचारसंहिता परिमार्जित गर्नु आवश्यक छ।

आचारसंहिता नागरिकहरूको हितमा छैन भन्नुभएको हो ?

नागरिकहरूको हितमा छ तर जति हुनुपर्ने हो त्यति छैन। नागरिकहरूमा पनि चेतनाको कमी छ। उपत्यकामा तीन तलाको नक्सा पास गरेर छ तलाको घर  बनाइएका कारण पनि ठूलो समस्या आएको हो। छिमेकीले नियम मिचेर छ तलाको घर बनाएकाले छेउमा बस्ने मानिसलाई समेत समस्या परेको छ। मापदण्डअनुसार बनाइएका घर सुरक्षित छन्। मापदण्ड विपरीत बनाइएका घरहरू कडाइकासाथ भत्काइनुपर्छ।

उपत्यकामा अग्ला घर बनाउनु जोखिमपूर्ण हो ?

खतरा छैन, तर जति तलाको घर बनाउने योजना छ सोहीअनुरूप मापदण्ड अपनाउनुपर्छ। तीन तलाको नक्सा पास गरेर छ तलाको बनाउनु हुँदैन। निर्माण विधि चुस्त हुनुपर्छ। इन्जिनियरिङ डिजाइन राम्रो हुनुपर्छ। वर्कम्यानसिप पारदर्शी हुनुपर्छ। लो कस्ट हाउजिङमा ध्यानदिने हो भने कुनै खतरा हुँदैन। काठमाडांैमा अग्ला घर बनाउनुहुँदैन भन्ने कुरामा म सहमत छैन। बरु प्राविधिक रूपमा अनुसन्धान गरेर काम गर्नुपर्छ। काठमाडौंका सबै ठाउँमा फाउन्डेसनको कन्डिसन एउटै छैन। यो विषयमा अलिकति ध्यान दिने हो भने सहजै समाधान निस्कन्छ। काठमाडौंमा हाइडेन्सिटी (अग्ला भवनहरू) र मास ट्रान्जिट सिस्टमलाई कम्बाइन गरेर भवन बनाउँदा एकदमै टिकाउ एवं आकर्षक घर बनाउन सकिन्छ।

भूकम्पले अहिले पुर्‍याएको ठूलो क्षति प्रति के भन्नुहुन्छ ?

यो लापरबाही हो। मापदण्ड विपरीत भवन बनाइएका कारण यति क्षति भएको हो।  मापदण्डअनुसार निर्माण गरिएका भवनमा कुनै क्षति पुगेको छैन। भूकम्पपछि काठमाडौंमा अग्ला घर बनाउनुहुँदैन भन्नुचाहिँ काँचो निष्कर्ष हो। ग्राउन्ड कन्डिसनको पूर्ण अध्ययन गरी सर्वे र स्याम्पलमार्फत इन्जिनियर, भूकम्पविद्, पूर्वाधारविद् आदिको राय लिएर आवश्यक सबैकुराको तथ्य अध्ययनपछि निकालिएको निष्कर्षअनुसार भवन निर्माण गर्ने हो भने यस्तो विनाश हुँदैन।

 Image