Successfully Copied

त्रसित बनाउने अपार्टमेन्ट

एबीसी रेसिडेन्ट (नाम परिवर्तन) ११ तल्लामा शनिबारको दिन साथीभाइसँगको जमघट, मीठो परिकार अनि मीठा कुराकानी।

एबीसी रेसिडेन्ट (नाम परिवर्तन) ११ तल्लामा शनिबारको दिन साथीभाइसँगको जमघट, मीठो परिकार अनि मीठा कुराकानी। वातावरण निकै रमाइलो थियो। छ दिनको थकाइ मेटाउन यो अपार्टमेन्टको ११ तल्लामा समिरजंगले आफ्ना साथीभाइलाई खाना खान घर बोलाएका  थिए। त्यो दिन यस्तो घटना घट्छ भनेर कसैले पनि सोचेका थिएनन्। भूकम्पको झट्कासँगै उनीहरूको होस  उड्यो। लिफट बन्द भयो। ११ तल्लाबाट तल आउने आँट कसैमा आएन।  जब भूकम्प रोकियो। ती चार जनाले एघार तल्ला कसरी पार गरे उनीहरूलाई  पत्तो भएन। तल आएर माथि हेरेपछि बल्ल बचियो भनेर ती चारै जनाले लामो  सास फेरे। यो त एउटा उदाहरण मात्र हो। काठमाडौंमा अपार्टमेन्ट लिएर बस्ने  अधिकांश नेपालीको स्थिति यस्तै थियो।

भूकम्प जाँदा कसैको भित्ता खसेर चोट लाग्यो, कसैको भर्‍याङबाट झर्दा  हातखुट्टा भाँच्चिए। कोही अहिले पनि त्यो त्रासदिपूर्ण घटना सम्झँदै आँखाभरि  आँसु निकाल्छन्।  कसैको जीवनभरको कमाइ क्षणभरमै खरानी भयो।  कंक्रिटको सहर काठमाडौंको स्थिति क्षणभरमै क्षत–विक्षत भयो। नयाँ अवधारणामा  निर्माण गरिएका घरहरू पिङझैं मच्चिए। यो मच्चाइले ती अग्ला घरहरू निकै  प्रभावित भए। क्षणभरमै यति सुन्दर सहरको अवस्था यस्तो हुन्छ कसैले कल्पना  गरेका थिएनन्। काठमाडौं भूकम्पीय दृष्टिले जोखिमपूर्ण सहर हो त्यसैले पनि  काठमाडौंमा अग्ला तथा व्यापारिक हिसाबले निर्माण गरिएका कमजोर  घरहरूको भविष्य अन्योल छ। एक दशकदेखि अपार्टमेन्ट बनाउने होड  चलेको नेपालमा सानादेखि ठूल्ठूला व्यापारिक संस्थाहरूले भटाभट यसमा लगानी गरिरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरू पनि यस्ता अपार्टमेन्ट  निर्माणमा सहकार्य गर्न उदार नै देखिन्छन् । यद्यपि यसको भविष्य कस्तो होला कसैको ध्यान पुगेको छैन। निर्माण गरिएका धेरैजसो संरचना बिक्री पनि भएका  छन् तर पनि काठमाडौंजस्तो भूकम्पको जोखिममा रहेको सहरमा यसरी  बिनायोजना यस्ता संरचना तयार गर्नु कत्तिको उचित छ त्यसप्रति कसैको चासो गएन। केवल जग्गा किनेर घर बनाई बिक्री गर्ने लहर चल्यो।

मानिसहरूको बसोबास हुँदै आएको तथा निर्माणधीन अपार्टमेन्ट एवं कम्प्लेक्सहरू क्षणभरमै चिराचिरा भए। कतिपय धराशायी भए। कतिपयका भित्ता भत्किए। पुराना  धेरै संचरना पनि धराशायी नभएका होइनन् यद्यपि पुराना धराशायी हुनुमा र नयाँको अवस्था यस्तो हुनुमा धेरै फरक छ। अपार्टमेन्ट निर्माणकर्ताहरूले आफ्ना विज्ञापन तथा अन्तर्वार्ताहरूमा आफूले बनाएका अपार्टमेन्ट निकै बलिया एवं भूकम्पप्रतिरोधात्मक रहेको बताएर बिक्री–वितरण गरिरहेका बेला उत्पन्न यस्तो परिस्थितिले उनीहरूलाई झूटो साबित गरिदिएको छ। काठमाडौंमा बनेका यस्ता अधिकांश संरचनामा भूकम्पको प्रभाव सजिलै देख्न सकिन्छ।

भूकम्पका कारणले चर्किएका अग्ला घर, अपार्टमेन्ट तथा कर्पोरेट टावर सबैजसोको स्थिति नाजुक देखिन्छ। अहिले मानिसहरू यस्ता विशाल संरचनामुनि हिँड्न समेत डराइरहेका छन्। हुन पनि यिनीहरूको चर्किएको, भास्सिएको तथा भत्किएको संरचना त्रासदीपूर्ण देखिन्छ। त्यहाँ बस्नेहरू सुरक्षित स्थानमा सरेका छन् भने ती ठूला घरवरिपरि बस्नेहरू घरले आफूलाई थिच्ला भनेर त्रसित छन् । विभिन्न सुविधा तथा सुरक्षाका लोभमा मोटो रकम खर्चेर खरिद गरिएको यस्तो अपार्टमेन्टको दुर्दशाले खरिदकर्ताहरू निकै पछुताएका छन्। काठमाडौंजस्तो भूकम्पको सम्भावना रहेको स्थानमा यस्ता भीमकाय निर्माण नै जोखिमपूर्ण छ। प्रभात बस्नेत (नाम परिवर्तन)  ले मेहनत गरी कमाएको पैसाले बासको व्यवस्था गरेका थिए जुन क्षणभरमै तहसनहस भयो। खरिद गरेको अपार्टमेन्टको भित्ताले आफूलाई जुनसुकै बखत थिच्न सक्ने भएकाले उनी टेन्टमा बस्दै आएका छन्। अब यसको भर्पाइ कसले गर्छ ? उनलाई यसकै चिन्ता छ। सहज एवं सुरक्षाको  दृष्टिले खरिद गरेको अपार्टमेन्टको हालत यस्तो हुन्छ भन्ने थाहा भएको भए उनी अपार्टमेन्ट खरिद गर्दैनथे तर सुविधा तथा भूकम्पको हिसाबले पनि सुरक्षित मानिएको भएर आफूले अपार्टमेन्टमा लगानी गरेको बस्नेत बताउँछन्। आफ्नो अपार्टमेन्टमा फर्कने हिम्मत नभएकाले अहिले उनी एक तल्ले  घरको खोजीमा छन्। उचित मूल्य पाए उनी घाटा खाएरै भए पनि  त्यसलाई  बेच्ने निर्णयमा पुगेका छन्। हरेक संरचना निश्चित डिजाइन एवं आँकडाका आधारमा  बनाइएका हुन्छन्। निर्माणकर्ताहरूले माटोको भारवहन क्षमता, भूकम्पको सम्भावना, भूक्षय,  माटोको प्रभाव र संरचनामा पर्ने भारको विस्तृत अध्ययनपछि कुनै पनि संरचना निर्माणको निर्णय  गर्नुपर्छ  । यद्यपि प्राकृतिक विपत्तिका अगाडि कसैको केही चल्दैन।

एक त हरेक व्यक्ति आफै घर निर्माण गर्न सक्षम हुँदैन। कसैसँग आफ्नो व्यवसायका कारणले समय छैन। कतिपय आफ्नो आर्थिक कारणबाट पनि अपार्टमेन्ट खरिद गर्न बाध्य छन्। यस्ता अपार्टमेन्ट व्यवस्थापनले खरिदकर्तालाई विभिन्न सुविधा दिने कुरा पनि नकार्न सकिँदैन। यहाँ सुरक्षा, पानी, टेलिफोन, बिजुली, सपिङ सेन्टर, जिम, स्वीमिङ पुल, पार्किङ आदिको अतिरिक्त सुविधा पनि छ। जुन आफूले बनाएको एकात्मक घरमा जोहो गर्न कठिन हुन्छ। यी सबै कारणले मानिसहरू अपार्टमेन्टतर्फ आकर्षित भएका हुन्।

यद्यपि यो भूकम्पपछि सबै अपार्टमेन्टप्रति सशंकित छन् । यस्तो परिस्थितिले नेपालमा अपार्टमेन्ट संस्कृतिमा प्रश्नचिन्ह लाग्न सक्ने इन्जिनियरहरू बताउँछन्। आफूले लिएको रकमको जोखिम व्यवस्थापनमा पहिलो दायित्व परियोजना निर्माणकर्ताको हुन्छ। परियोजनाकारले योजना बनाएपछि जोखिम व्यवस्थापनका विषयमा निकै गम्भीर भएर सोच्नुपर्ने हुन्छ। उनीहरूको दायित्व जनताको पैसा संकलन गर्ने मात्र नभएर बास उपलब्ध गराएपछि सामाजिक जिम्मेवारी पूरा गर्नु पनि हो।  किनभने परियोजना कम रकम खर्चेर बढी मुनाफा कमाउने मुख्य उद्देश्य हुन्छ। त्यसकारण परियोजनाका हरेक सूक्ष्म काममा आइपर्ने जोखिममा जोखिमको पहिचान, विश्लेषण, त्यसको वर्गीकरण र सम्बोधनको प्रक्रिया  पूरा गर्नुपर्ने हुन्छ। यद्यपि सबैले यस्तो प्रक्रिया पूरा गरेको पाइँदैन। प्रतिस्पर्धाका क्रममा कम लगानीमै पनि संरचना निर्माण भैरहेको छ। जसले गर्दा कमसल संरचनाको किनबेच बढी भैरहेको छ। यसमा कसैले पनि आफ्नो जिम्मेवारी बहन गरेको पाइदैन जसले गर्दा जोखिम व्यवस्थापनमा कमजोरी देखिन्छ अनि यस्ता संरचनाको अवस्था यस्तो दयनीय बन्न पुग्छ। यस्ता  अपार्टमेन्ट निर्माण गर्दा घर–जग्गा व्यवस्थापनको अनुगमन, निरीक्षण, नगर विकास प्राधिकरण एवं  भवन विभागले चासो दिएको पाइँदैन। किनभने भवन ठीक छ कि छैन भनेर न त त्यसको जाँच  गरिन्छ। न भवनको नक्सा जाँच हुन्छ न निर्माणकर्तालाई कुनै सल्लाह नै दिइन्छ। यद्यपि त्यसको  मारमा साधारण जनता पर्छन् तर व्यवसायीहरू उम्कन्छन्। नेपाल सरकारको संयुक्त आवास ऐन  १९९० अन्तर्गत निर्माण भएका संयुक्त आवासहरू विभिन्न जोखिमलाई किन्नेहरूको भागमा राखेर बिक्री गरिएको पाइन्छ। एकदशक यता नेपालमा यस्ता प्रशस्त अपार्टमेन्ट निर्माण भएका छन्।

वैशाख १२  गते गएको भूकम्पले अपार्टमेन्ट क्रेताहरूलाई नै समस्यामा पारेको छ। यस्ता कतिपय  अपार्टमेन्टहरूका जग भासिएका छन्, भित्ता भत्किएका छन्। निर्मित तथा निर्माणाधीन अवस्थामा  रहेका यस्ता अपार्टमेन्टहरू जोखिमको मुख्य केन्द्र बनेका छन्। यो भूकम्पसँगै काठमाडौंमा  अपार्टमेन्ट संस्कृतिमाथि नै प्रश्नचिह्न खडा भएको छ।  मानिसहरूमा  अहिले अपार्टमेन्ट भन्नेबित्तिकै एक प्रकारको भय महसुस  हुन थालेको छ। यस्ता अपार्टमेन्टहरूमा  जग दबिने, बिम फुट्ने, स्लाब चर्किने, गार्‍होमा चिरा देखिने आदि समस्या देखिएका छन्।  आरसीसी गरी बनाइएका घर तथा अपार्टमेन्टका पर्खालहरू चर्किएका छन् जसलाई मर्मत गर्न  सकिन्छ तर जग भासिने, बिम फुट्ने, स्लाब भाँच्चिने समस्या भएका घर राम्रोसँग जाँचपछि  प्रयोगमा आउन सक्ने–नसक्ने निक्र्यौल हुन्छ। यस्ता अपार्टमेन्टहरू थोरै जग्गामा अधिक तल्ला  बनाइन्छ। क्षतिपूर्ति पनि उपभोक्ताले निकै कम प्राप्त गर्छन्।  कुनै पनि संरचना खडा गर्दा  त्यसमा लगानी, जनशक्ति तथा देशको परिस्थितिले प्रभाव पार्छ। आम उपभोक्ताहरूको लगानी  तथा उनीहरूको जिउधनको ग्यारेन्टी यस्ता अपार्टमेन्ट निर्माणकर्ताले लिँदैनन् भने उनीहरूले  गुणस्तरीय सामानहरू प्रयोग गरेर बलियो संरचना तयार गर्नुपर्छ। अबको समय निकै चुनौतीपूर्ण  छ। व्यवसायीहरूले आफूले निर्माण  गरेका यस्ता संरचनामा खासै असर नपरेको र चर्किने तथा  भत्किने कुरा सामान्य भएको बताए पनि अबका खरिदकर्ताले  सबै मापदण्ड पूरा गरेको तथा प्रयोग  गरिएका सामग्रीको सुनिश्चित गरी यस्ता अचल सम्पत्ति  खरिद गर्नुपर्छ। घर जोड्नु सर्वसाधारण नेपालीका लागि चानचुने कुरा होइन। त्यसैले अरूको बहकाउमा नलागी  आफैं सजग भएर घर खरिद गर्नुपर्छ।

 Image