Successfully Copied

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२)

वैशाखको पहिलो साता सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२) को तेह्रौं संस्करण भव्यताका साथ सम्पन्न भएको छ।

वैशाखको पहिलो साता सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२) को तेह्रौं संस्करण भव्यताका साथ सम्पन्न भएको छ। हरेक वर्ष दसैंको मुखमा सञ्चालन गरिने यो सम्मान कार्यक्रम यसपटक भने वर्षको सुरुमै सम्पन्न भयो। विगतभन्दा पृथक् रूपमा प्रस्तुत सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२) मा सम्मानित हुनेहरूमा मोफसलमा रहेर महिला स्वास्थ्य, सशक्तीकरण, आर्थिक आयआर्जन, भूमि अधिकार, महिला तथा बालबालिका संरक्षणमा अहोरात्र खटी योगदान पुर्‍याउने महिलाहरूको बाहुल्यता थियो। कार्यक्रममा आ–आफ्नो पेसामा समर्पित रहँदै सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका नौजना नारीलाई नवदेवीका रूपमा सम्मान गरियो।

विभिन्न क्षेत्रमा उच्च पदमा रहेका तथा प्रशस्त सार्वजनिक अनुहारको उपस्थिति रहेको यो वर्षको सेलिब्रेटिङ वुमनहुड को (नवदेवी सम्मान–२०७२) उद्घाटन विगतमा सम्मानित नौजना महिलाले संयुक्त रूपमा गरेका थिए। त्यसपछि मञ्चमा देखा परिन् सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२) की परिकल्पनाकार सिर्जनासिंह योञ्जन अनि हलमा कवि विप्लव प्रतीकको मैले खोजेको स्वरूप नारीको कवितामा रविन शर्माको स्वर गुञ्जियो। कार्यक्रमको रौनक थप्न स्टेजमा वनिका प्रधान पनि देखा परिन् जसले हिन्दी, भोजपुरी तथा बंगाली गीत गाएर उत्तर भारतमा ख्याति कमाइरहेकी छिन्।

मुलुकभरबाट छनोटमा परेका महिलाहरूलाई ट्रफी, नगद पुरस्कार र पेसा तथा क्षेत्र सुहाउँदो सल ओढाएर सम्मान गरिएको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२) मा विविध क्षेत्रका महिलाहरूको उपस्थिति थियो। १२ वर्षकै उमेरमा प्रवेशिका उत्तीर्ण अमिरा दली जापानमा बिजनेस म्यानेजमेन्ट अध्ययनपछि स्वदेश फर्किएर हरियाली अभियानमा सक्रिय रहिन्। उनलाई वातावरण संरक्षण तथा कृषि व्यवसायमा लगनशील महिलालाई प्रदान गरिने अन्नपूर्ण अवार्ड प्रदान गरियो। साहित्यकार उषा शेरचनलाई लेखनद्वारा सामाजिक चेतना फैलाउने महिलाका रूपमा छनोट गरी भगवती सम्मान दिइयो भने यसपटक सम्मानित महिलाहरू (नवदेवी सम्मान–२०७२) मध्येकी कान्छी २६ वर्षीया माउन्टेन बाइकर लक्ष्मी मगरलाई भवानी अवार्डद्वारा सम्मानित गरियो। कडा परिश्रम गर्नुपर्ने क्षेत्रमा देखाएको समर्पणका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो। झापा चारपानेकी तुलसा खरेललाई ग्रामीण बस्तीका अशिक्षित एवं उत्पीडित महिला तथा बालबालिकाको सहयोगमा निरन्तर खटिएकोमा दुर्गा सम्मान प्रदान गरियो। विगत २४ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत धादिङ मुरली भन्ज्याङकी सावित्रा कोइरालालाई करुणा सम्मान प्रदान गरियो। कार्यक्रमको अन्त्यतिर गायिकाद्वय जुना प्रसाईं र प्रश्ना शाक्यले गायन प्रस्तुतिद्वारा रमाइलो वातावरण सिर्जना गरेका थिए। रंगकर्मी निशा शर्मा पोखरेलले स्टेजमा द्रौपदीको भूमिकामा आफ्नो बेजोड प्रस्तुत दिइन् जुन कार्यक्रमको महत्वपूर्ण पक्ष रह्यो। त्यसैगरी गत वर्ष सरस्वती सम्मान ग्रहण गरेकी धरानकी केशरी थापा एवं लक्ष्मी सम्मान प्राप्त गर्ने काभ्रेकी लक्ष्मी तिमिल्सिनाले सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) ले आफ्नो जीवनमा ल्याएको परिवर्तनका बारेमा अनुभव सेयर गरेका थिए।

लगन एवं परिश्रमका बलमा महिलालाई आर्थिक सशक्तीकरणतर्फ अग्रसर गराउन सफल इटहरी सुनसरीकी राधिका कार्की थापालाई लक्ष्मी सम्मान दिइयो। कला क्षेत्रमा तीन दशकदेखि क्रियाशील रही थुप्रै टेलिफिल्म तथा चलचित्रमा अभिनय गरिसकेकी लक्ष्मी गिरीलाई यो वर्षको महामाया सम्मान प्रदान गरियो भने अरूको जीवनमा शिक्षाको उज्ज्यालो छरेवापत धनगढी कैलालीकी निर्मला बागचनलाई सरस्वती सम्मानद्वारा सम्मानित गरियो। त्यस्तै सकारात्मक परिवर्तनका लागि संयुक्त रूपमा काम गर्ने महिला–पुरुषलाई अर्धनारीश्वरको थिममा प्रदान गरिने शक्ति सम्मान धनुषाका रामकली तथा सुरेन्द्र लोहारको जोडीले प्राप्त गर्‍यो। सुरेन्द्रले आफ्नी श्रीमतीको खुबी र इच्छा बुझेर आफ्नो नेतृत्व श्रीमतीलाई सुम्पिएका थिए फलस्वरूप आज रामकली समाजकी अगुवा बन्न सफल छिन्। यसपटकको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) लाई पशुपति पेन्ट्स, डभ, आर.बी. डायमण्ड तथा ओकेले सघाएका थिए भने नारी मासिक यसको अफिसियल मिडिया पार्टनर रहँदै आएको छ।

सकारात्मक परिवर्तनका लागि सम्मान

सिर्जनासिंह योञ्जन, परिकल्पनाकार

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) समाजमा सकारात्मक परिवर्तनका लागि सुरु भएको अभियान हो। परिश्रम गरे असम्भव केही हुँदैन भन्ने उक्तिलाई प्रमाणित गर्दै आएका महिलाहरूलाई सम्मानित एवं अरूलाई पनि उत्प्रेरित गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना भएको हो। हामी प्रत्येक वर्ष चाहे जहाँसुकै बसेर होस् आ–आफ्नो क्षेत्रमार्फत सामाजिक योगदान पुर्‍याइरहेका नौजना नारीलाई उनीहरूको योगदानको कदरस्वरूप नवदेवीका कार्यसँग तुलना गरी सम्मान गर्छौं। सेलिब्रेटिङ वुमनहुडले महिलाहरूलाई समाजमा सम्मानजनक स्थान प्रदान गर्ने काम गर्दै आएको छ। यो वर्षका नवदेवीलाई उनीहरूको कामप्रतिको दृढता, निष्ठा अनि समाज परिवर्तन गर्न चाहने उत्कण्ठाका आधारमा मुलुकभरबाट छनोट गरिएको हो।    

अन्नपूर्ण

अमिरा दली (संस्थापक, टिस्यु कल्चर फ्याक्ट्री)

अमिरा दली (५९) लाई सृष्टिकर्ताले बनाएको सुन्दर संसारलाई संगाल्ने, सम्हाल्ने तथा भावी सन्ततिमा पनि सृष्टिका सुन्दर पक्षका बारेमा चेतना फैलाउन वातावरण संरक्षण, कृषि व्यवसाय तथा सिर्जनात्मक कार्यमा लगनशील महिलालाई प्रदान गरिने सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको अन्नपूर्ण अवार्डद्वारा सम्मान गरियो।

सामाजिक विकास, महिला शिक्षा एवं सशक्तीकरणसँगै नेपालको हरियाली अभियानमा क्रियाशील अमिराको सफलता अहिले अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय सावित भएको छ। दलीलाई जापानको टोकियोस्थित विश्वप्रसिद्ध सोफिया विश्वविद्यालयमा बिजनेस म्यानेजमेन्ट पढ्ने अवसर प्राप्त भयो। अध्ययन पूरा गरेपछि विभिन्न कामका प्रस्ताव आए पनि आफ्नै मुलुक फर्किएर केही गर्ने उद्देश्यले अमिरा स्वदेश फर्किन्। विदेश बस्दा अमिरालाई त्यहाँको हरियाली वातावरणले निकै छोएको थियो। नेपाल फर्किएपछि उजाडिँदै गएका डाँडाकाँडा देखेर उनको मन दुख्यो। नेपालमा हरियालीको संरक्षण गर्नुपर्ने सोचले उनले लभ ग्रिन नेपाल स्थापना गरिन्। हरियाली अभियानका लागि ग्रामीण समुदायसँगै बसेर वृक्षारोपण गर्न थालिन्। दली बालिका शिक्षा, हरियाली बिस्तार, महिला सशक्तीकरण एवं दिगो कृषिमा निरन्तर लागिपरेकी छिन्। शिक्षा, चेतना, सीप र क्षमताबाट महिलालाई सशक्त बनाउन उनले स्कुल स्थापनासँगै बालिका पढाउने व्यवस्था मिलाउन थालिन्। करिब ५ सय बालबालिकालाई छात्रवृत्ति प्रदान गरिसकेको बताउने दली तीमध्ये १४ जनाले जापनिज आइटी कम्पनीमा काम पाइसकेको र कतिले उतै बेकरी चलाइरहेको बताउँछिन्। लभ ग्रिन नेपालको सहयोगमा महिला स्वास्थ्य एवं हरियाली संरक्षणका लागि समुदायमा बायोग्यासको सुरुवात गरिएको छ। यो संस्थाले लगभग २५ वर्षको अवधिमा कृषिजन्य वस्तु एवं जनशक्ति उत्पादनमा ठूलो फड्को मारेको छ। काममा विविधता रुचाउने अमिराले टिस्युकल्चरबाट उन्नत जातका बिरुवा उत्पादन गर्ने कामलाई पनि अघि बढाइरहेकी छिन्।

भवानी

लक्ष्मी मगर, माउन्टेन बाइकर

रोमाञ्चक क्षेत्रमा चुनौती पनि उत्तिकै हुन्छ। यस्ता क्षेत्रमा महिलाको उपस्थिति न्यून छ। नुवाकोटकी लक्ष्मी मगर (२६) त्यस्ती साहसी युवती हुन् जसले विगत ७ वर्षदेखि चुनौतीपूर्ण क्षेत्रमा महिला सहभागिता बढाउन उदाहरणीय काम गरिरहेकी छिन्। काठमाडौंको ललितकला क्याम्पसमा स्नातकोत्तर अध्ययनरत लक्ष्मीलाई कलेज जाने क्रममा साथीहरूले साइकल चढ्न सुझाव दिनुका साथै साइकल रेसमा भाग लिन हौस्याए। उनले साथीको साइकल मागेर काठमाडौंदेखि नगरकोटसम्मको यात्रामा भाग लिइन्। उनी त्यतिबेला द्वितीय भइन्। यो सफलताले उनलाई यसक्षेत्रतर्फ लोभ्यायो। सामान्य साइकल चढ्ने लक्ष्मीसँग माउन्टेन बाइक किन्ने सामथ्र्य थिएन त्यसैले उनी कहिले साथीको त कहिले कसैको साइकल मागेर प्रतिस्पर्धामा भाग लिन्थिन्। विविध कठिनाइका बाबजुद प्रतियोगिताहरूमा विजयी हुँदा उनमा हौसला थपिन्थ्यो। उनको आँट र साहसले उनलाई सहयोग पुर्‍याउँदै गयो। १ लाख रूपैंयाँ पर्ने माउन्टेन बाइक किन्दा उनमा अपार खुसी र जाँगर थपिएको थियो। उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब ३० भन्दा बढी प्रतियोगितामा भाग लिइसकेकी छिन्। विश्वकै महँगो र उच्चस्तरको रोमाञ्चक खेलमा पाँचौं स्थानमा पर्ने अन्नपूर्ण क्षेत्रमा हुने साइक्लिङ प्रतियोगिता याक अटेकमा उनी धेरैपटक सहभागी भैसकेकी छिन् भने दक्षिण एसियाली स्तरको साइक्लिङ प्रतियोगितामा पनि उनको सहभागिता रहँदै आएको छ। पर्यटन विकाससँग जोडिएको साइक्लिङ यात्राका क्रममा देखिने प्राकृतिक सुन्दरतालाई उनी क्यानभासमा उतार्छिन्। साइक्लिङबाट उनले साहसिक युवतीको पहिचान बनाएकी छिन्। प्राय: विदेशीहरूको वर्चस्व रहँदै आएको साइक्लिङमा लक्ष्मीलाई भेट्नेहरू सुरुमा उनलाई पनि विदेशी नै मान्छन् र नेपाली भनेर चिनेपछि खुसी हुँदै साहसी नेपाली छोरीको संज्ञा दिन्छन्। खेलकुद क्षेत्रमा बनाएको पहिचान,  पुर्‍याएको योगदान एवं निरन्तरताको कदरस्वरूप लक्ष्मीलाई यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको भवानी सम्मान प्रदान गरिएको थियो।

महामाया

लक्ष्मी गिरी, वरिष्ठ अभिनेतृ

एघार वर्षको उमेरमा कला क्षेत्रमा प्रवेश गरेकी लक्ष्मी गिरी नेपाली चलचित्र, टेलिचलचित्र तथा रंगमञ्चकी लोकप्रिय कलाकार हुन्। बाल्यकालमा आफ्नो नृत्यमा रमाउने उनको परिवारले उमेर बढ्दै जाँदा आफ्नो प्रतिभालाई सम्मानजनक पेसाका रूपमा नलिएको लक्ष्मीको आँँकलन छ। विवाहपछि उनको कलाकारिताले केही समय विश्राम लियो। राष्ट्र बैंकको जागिरे छँदा बैंकको रजतजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको अभिनयले प्रथम स्थान हासिल गर्‍यो। यो सफलताले उनी भित्रको कलाकारितालाई जगायो र उनले आफूलाई पूर्णरूपले कला क्षेत्रमा समर्पित गर्न राष्ट्र बैंकको जागिर छोडिन्। त्यो समयमा कलाकारितालाई पेसाका रूपमा अंगाल्न त्यति सहज थिएन। आफूभित्र अठोट भए पनि आफ्नै परिवारको कटु बचन, असन्तोष र असहमति सहनुपर्‍यो। पेसा र पारिवारिक जीवनबीचको सन्तुलनलाई कायम राख्दै महिलाले निर्वाह गर्नुपर्ने हरेक भूमिका पूरा गर्दै उनी अघि बढिन्। ३० वर्षदेखि निरन्तर कला क्षेत्रमा समर्पित गिरीले सयभन्दा बढी चलचित्र एवं ३ सय ७२ टेलिचलचित्रमा अभिनय गरिसकेकी छिन्। भोजपुरी, मैथिली तथा नेपाल भाषाका चलचित्रमा अभिनय गरेकी गिरीको अर्को सशक्त पाटो रंगमञ्च पनि हो। उनी क्यारिकेचरमा पनि उत्तिकै पोख्त छिन्। आफ्नो कलामार्फत आज उनी समाजमा सम्मानजनक जीवनयापन गरिरहेकी छिन्। कलाकारितालाई रहर होइन साधना मान्ने लक्ष्मी यो क्षेत्रलाई कसरी सुरक्षित र सम्मानित बनाउन सकिन्छ भन्ने कुरामा चिन्तित छिन्। लक्ष्मीले कलाका क्षेत्रमा निरन्तर पुर्‍याइरहेको योगदानको कदर गर्दै उनलाई यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको महामाया सम्मानले सम्मानित गरिएको छ।

दुर्गा

तुलसा खरेल, सामाजिक अभियन्ता

झापा, चारपानेकी तुलसा खरेल (५६) पूर्वी नेपालका महिला तथा बालबालिकाका लागि मार्गदर्शक  तथा सहज जीवनयापनका लागि असल अभिभावक पनि सावित भएकी छिन्। उनले जिल्लामा आपत्कालीन स्वास्थ्य सेवाका लागि स्वास्थ्य केन्द्रको स्थापना, महिलाका लागि नेतृत्व विकास तालिम, विद्यालय जान नपाएका र बीचैमा पढाइ छुटेका महिलाका लागि स्कुल स्थापना एवं जिल्लाका ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आएकी छिन्। छोरी पढे बिग्रन्छन्, पोइल जान्छन् भन्ने सामाजिक परिवेशमा हुर्किएकी तुलसा जतिसक्दो छिटो घरको काम सकेर लुकीछिपी विद्यालय पुग्दा ठूलो युद्ध जितेको महसुस गर्थिन्। ठूलै संघर्ष गरेर ८ कक्षासम्म पढेपछि परिवारले विवाह गरेर पठाइदिएपछि चार सन्तान अनि पारिवारिक जिम्मेवारीको बोझले थिचिँँदा–थिचिँदै उनी थला पर्ने गरी बिरामी भइन्। त्यतिबेला उनलाई केही नगरी मर्छु भन्ने लागेको थियो तर बिस्तारै रोग निको हुँदै गएपछि उनी अशक्त एवं बिरामीहरूको सेवा–सहयोगमा जुट्न थालिन्। प्रारम्भिक चरणमा परिवारबाट उनको विरोध समेत भयो। तुलसा बिहान तीनै बजे उठेर राति अबेरसम्म पारिवारिक जिम्मेवारी निर्वाहका साथ समाजसेवामा समर्पित हुन थालिन्। काम गर्दै जाँदा उनले ०५१ सालमा ग्रामीण सरोकार समूह स्थापना गरिन्। सुरुमा रुखको छहारी र झोलाबाट चलाएको संस्था फुसको छानो भएको एक कोठे छाप्रो हुँदै हाल छ कोठाको पक्की भवनमा स्थानान्तरण भएको छ। अहिले तुलसाको संस्थाले महिलाहरूलाई रोजगारमूलक तालिम समेत प्रदान गर्दै आएको छ। उनको संस्थामा २ हजार दिदीबहिनीको संलग्नता छ। तुलसाको सहयोगमा झापाका तीन गा.वि.स. मा बचत तथा ऋण सहकारी र कृषि सहकारी संस्था सञ्चालित छन्। आयआर्जनका लागि महिला सहभागी रहेको अनमोल अर्गानिक कृषि फार्ममा तरकारी खेतीका साथै गाई–बाख्रा तथा कुखुरा समेत पाल्दै आएकी तुलसाले दरिलो अठोटका साथ निर्वाह गरेको सामाजिक दायित्वको कदर गर्दै यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तगर्तको दुर्गा सम्मानले सम्मानित गरिएको छ।

करुणा

सावित्रा कोइराला, महिला स्वास्थ्य स्वयंसेविका

४२ वर्षीया सावित्रा कोइराला विगत चौबीस वर्षदेखि स्वास्थ्य स्वयंसेविका मात्र होइन स्वास्थ्यसेविका सञ्जाल धादिङकी अध्यक्षका रूपमा समेत सक्रिय छिन्। ग्रामीण बस्तीका महिलामा स्वाथ्यसम्बन्धी जनचेतना जगाउने कार्यमा उनको निरन्तरता प्रशंसनीय छ। सुत्केरी हुँदा कम्मरको हँसियाले साल काटेर चुल्ठोको धागोले नाल बाँध्ने कुसंस्कारको अन्त्य, कुपोषण भएका बालबालिका एवं पाठेघर खस्ने समस्याबाट प्रभावित महिलाको उपचारका साथै मातृ एवं बाल मृत्युदर न्यूनीकरणमा उनले पुर्‍याएको योगदानका कारण सावित्रालाई उदाहरणीय महिला मान्न करै लाग्छ।

किसान परिवारकी सावित्रा आठ दिदीबहिनीमध्येकी एकमात्र शिक्षित छोरी हुन्। उनले करियरको सुरुवाती दिनमा धेरै कुरा सुन्नुपर्‍यो। जागिरे भएर लखरलखर गाउँ चहारिरहन्छे भन्नेदेखि खोपसम्बन्धी तालिम दिन जाँदा सुई लगाएर बच्चा मार्ने भई भन्ने आरोपको समेत सामना गर्नुपर्‍यो। कहिले माया गरेर त कहिले चेतनामूलक गीत गाउँदै सावित्राले आमा समूह गठन गर्दै सरसफाइ, परिवार नियोजनका अस्थायी साधन, आमा र शिशुको स्याहार, खोप र गर्भपतन सेवाजस्ता विषयमा चेतना फैलाउँदै समाजलाई ठूलो गुन लगाएकी छिन्। तीन सन्तानको स्याहार र खेतबारीको काम पनि एकसाथ भ्याउँदै उनले स्वयंसेविकाको भूमिका खुसी साथ निर्वाह गर्दै आएकी छिन्। मनमा लागेको कुरालाई मीठो भाकामा सुनाउन सिपालु सावित्रा घरको सबै काम सकेपछि रातको १० बजेपछि लेख्ने काम गर्छिन् जसलाई उनी विभिन्न महिला समूह तथा कार्यक्रममा लयबद्ध तरिकाले गाउँछिन्। महिला बचत तथा सहकारीको स्थापना गर्न होस् वा अन्यायमा परेका महिलालाई न्याय दिलाउन उनी हरदम तत्पर रहन्छिन्। ग्रामीण भेग र कुनाकाप्चासम्म पुगेर नि:स्वार्थ भावले प्रजनन् स्वास्थ्य सुरक्षामा समर्पित सावित्रा कोइरालाले यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको दुर्गा सम्मान प्राप्त गरेकी छिन्।

भगवती

उषा शेरचन, साहित्यकार

उषा शेरचन (६०) को साहित्यिक यात्रा वि.सं. २०३५ सालमा गोरखापत्रमा प्रकाशित कविता जिन्दगीबाट प्रारम्भ भएको हो। आफ्नो जीवनको लामो कालखण्ड साहित्य सिर्जनामा बिताएकी शेरचनको जन्म पोखरा गणेश टोलमा भएको हो। व्यवसायी परिवारमा जन्मिएकी उषाले बिलासी जीवनशैलीलाई मात्र प्राप्ति नमानी सामाजिक परिवेशमा देखिएका यथार्थ घटना एवं नारीको समवेदनामा कलम चलाउँदै आएकी छिन्। मानिसका रूपमा धर्तीमा जन्म लिएपछि आफ्ना लागि मात्र होइन समाज र राष्ट्रसँगै मानवीयताका पक्षमा योगदान गर्नुपर्छ भन्ने चेतनाले उनलाई साहित्यमा लाग्न प्रेरित गर्‍यो। नारी स्रष्टाको विकास र पहिचानका लागि नारी स्रष्टाहरूकै सक्रियतामा स्थापित गुञ्जन साहित्यिक संस्थामा स्थापना कालदेखि नै उनको योगदान रहँदै आएको छ। उषा आदिवासी गीतकार समाजमा पनि आबद्ध छिन्। पोखरेली युवा सांस्कृतिक परिवार तथा पोखरेली दिदीबहिनी समूह, नई प्रकाशन, कोइलीदेवी संगीतकोष एवं नारायणगोपाल संगीत कोष जस्ता साहित्यिक संस्थामा उनको सक्रिय संलग्नता रहँदै आएको छ। लेखनद्वारा विभेदविरुद्ध लड्ने, चेतना फैलाउने र आफ्नो जीवनलाई एक उदाहरणका रूपमा बाँच्ने महिलालाई प्रदान गरिने सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको यो वर्षको भगवती सम्मानद्वारा सम्मानित भएपछि हर्षित हुँदै उषाले भनिन्–कुनै पनि सम्मान पाउँदा ममा डर मिश्रित खुसी सञ्चार हुन्छ किनभने यसले थप जिम्मेवारीबोध गराउँछ।

लक्ष्मी

राधिका कार्की थापा, उद्यमी

सामान्य किसान परिवारका चार दिदीबहिनी र दुई दाजुभाइमध्येकी माइली राधिका कार्की थापाको बाल्यकाल गरिबी र विभेदमा बित्यो। महिलाले हलो जोत्नु हुँदैन भन्ने समाजमा गरिबी र विवशताका कारण आमाले हलो उठाएपछि छोरीहरूले पनि हलो जोत्ने काममा सघाउन थाले। जानी नजानी परिवर्तनको बाटो पहिल्याएको यो कार्यले राधिकाका बुवाको मनस्थिति बदलियो। उनले छोरीलाई पनि पढाउनुपर्ने रहेछ भन्ने महसुस गरी उनीहरूलाई रेडियो सुन्न अनि पत्रपत्रिका पढ्न हौस्याउन थाले। राधिकाको पढाइ एसएलसीमा फेल भएपछि केही समय रोकिन पुग्यो। यसै अवसरमा राधिकाले घरेलुबाट सिलाइ तालिम लिएर ९ महिना करारमा काम गरी अरूलाई तालिम दिन थालिन्। २ वटा मेसिन किनेर बहिनीसँग पहिलो व्यवसाय टेलरिङ खोलिन्। यो व्यवसायले स्कुल अध्ययनरत भाइ र माइतीलाई ठूलो राहत मिल्यो। इटहरीमा उनको न्यु राधिका टेलरिङ छ। उनी तलेजु ऋण तथा बचत सहकारी संस्थाकी अध्यक्ष पनि हुन्। एक करोडको लगानीमा स्थापित न्यु राधिका ह्यान्डिक्राफ्टमार्फत अहिले उनी जि.वि.स. तथा नगरपालिकाअन्तर्गत महिला तथा युवालाई ड्राइभिङ, कुक, प्लम्बिङको तालिम प्रदान गर्छिन्।

व्यक्तिगत जीवनमा उनले ठूलो पीडा खेप्नुपर्‍यो। प्रेम विवाह गरेकी राधिकाका श्रीमान्ले विवाहको केही वर्षपछि कान्छी श्रीमती ल्याए तर उनले पीडालाई शक्तिमा बदल्दै सन्तानको भविष्य र पारिवारिक मेलमिलापका लागि समझदारी अपनाइन्। सौतासँँग मिलेर उनलाई खाना बनाउने, सन्तान स्याहार्ने तथा पारिवारिक कामको जिम्मा सुम्पेर आफू सामाजिक काम र छुटेको पढाइ पूरा गर्नतर्फ लागिन्। एसएलसी फेल भएको १५ वर्षपछि पुन: शैक्षिक यात्रा प्रारम्भ गरिन्। अहिले ४१ वर्षको उमेरमा उनी १२ कक्षामा अध्ययनरत छिन्। हरेक दिन घरबाट काममा निस्कदा स्वतन्त्रता र स्वाभिमानको अनुभूति हुन्छ उनलाई। राधिकाको सहयोग पाएर हिजो विभेद र हिंसा खेपेका दिदीबहिनीहरू आफ्नै सीप र कमाइमा रमाउन थालेका छन्। आर्थिक सशक्तीकरणले महिला हिंसा कम गर्न सहयोग गर्छ भन्ने उदाहरण हुन् राधिका। आफ्नो सीप एवं क्षमताले जीवनका कठिन चुनौतीलाई जित्दै सफल उद्यमीका रूपमा सामाजिक कार्यमा अग्रसर राधिका कार्की थापालाई यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको लक्ष्मी सम्मानद्वारा सम्मानित गरिएको छ।

सरस्वती

निर्मला बागचन, अभियन्ता

नपढेकै कारण महिलाले इज्जत र मायाबाट वञ्चित हुनुपर्छ भन्ने अनुभव संगालेकी धनगढी कैलालीकी निर्मला बागचनको ९ कक्षा पढ्ने क्रममा विवाह भएको थियो। विवाहपछि घरेलु कामकाजमै व्यस्त निर्मलालाई छिमेकमा हुने घरायसी झैझगडाले पोलिरहन्थ्यो। महिलाका लागि शिक्षा नै इज्जतपूर्ण जीवनयापनको पहिलो सर्त हो भन्ने कुराको प्रमाणित गर्न पढाइ छुटेको २५ वर्षपछि उनले पुन कान्छो छोरासँगै १२ कक्षाको अध्ययन प्रारम्भ गरिन्। आफ्नो जिम्मेवारी सिध्याई राति ३ बजे उठेर पढ्ने निर्मलाले १२ कक्षा उत्तीर्ण गरिन्। आफू शिक्षित भएलगत्तै उनले अन्य महिलाका लागि प्रौढ कक्षा सञ्चालन गरिन्। ०५० सालमा टोलका ४० जना दलित महिलाका लागि ६–६ महिनाका ३ वटा प्रौढ कक्षा सञ्चालन गरिन्। ०६६ सालमा धनगढी बजारका होटल तथा घरमा काम गर्ने बालबालिकाको पहिचान गरी पढ्न चाहनेहरूलाई विभिन्न विद्यालयमा नि:शुल्क पढाउन थालिन्। अहिले त्यस्ता विद्यार्थी नवदुर्गा स्कुल तथा सरस्वती नि.मा.वि. मा नि:शुल्क पढिरहेका छन्। निर्मला कैलालीको पथरैया गाविसका १३ वटा समूहका झन्डै ३ सय दलित महिलालाई आर्थिक, सामाजिक, शैक्षिक एवं राजनीतिक रूपमा सबल बनाउन क्रियाशील छिन्। गाविसका ६ वटा प्रौढ कक्षा दलित महिलाको चेतना अभिवृद्धिका लागि सञ्चालन भैरहेका छन्। निर्मला नारी उत्थान नामक संस्थाकी अध्यक्ष तथा महिला मानव अधिकार रक्षम सञ्जाल कैलालीकी अध्यक्ष हुन्। हाल निर्मला बीचैमा पढाइ छुटेका, विवाहपछि पढ्ने अवसर नपाएका, गृहिणीहरूका लागि विशेष कक्षा सञ्चालनमा लागिपरेकी छिन्। दृढ अठोट एवं अथक प्रयासका साथ शिक्षाको उज्ज्यालो छर्दै समाजमा ल्याएको परिवर्तनका लागि निर्मला बागचनलाई यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको सरस्वती सम्मानले सम्मानित गरिएको छ।

शक्ति

रामकली र सुरेन्द्र लोहार, धनुषा

कमजोर आर्थिक अवस्थाको परिवार त्यसमा पनि ७ वटी छोरी। रामकली त्यही परिवारको एक हिस्सा, ७ दिदीबहिनीमध्येकी जेठी छोरी रामकलीको जीवन अत्यन्तै संघर्षमय थियो। उनी ८ वर्षकी हुँदा उनकी आमा थला परिन्। उपचार गराउनुको साटो छोरा नपाएको भन्दै उनका बुवाले आमालाई हेला गर्न थाले। ४ कक्षामा पढ्ने रामकलीले छिमेकी एवं आफन्तहरूसँग हारगुहार गरी आमाको उपचार गराइन्। बहिनीहरूको स्याहारसुसार र बिरामी आमाको सेवामा लाग्ने हुँदा उनको पढाइ छुट्यो। छोरीको विवाह हेर्ने आमाको धोकोका कारण रामकलीले ११ वर्षको उमेरमै विवाह गर्नुपर्‍यो। श्रीमान्ले गर्ने फलाम पिट्ने, बजार लाने आदि सबै काममा रामकलीले हात बढाउन थालिन्। कुरा सुन्दै र बुझ्दै जाँदा उनलाई लाग्यो  भूमिहीन, गरिब, दलित एवं महिलाहरूको पक्षमा धेरै काम सकिन्छ। अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण रामकली रातभर फलामको काम गरेर दिउँसो समुदायको छलफलमा सहभागी हुन थालिन्। फलामको कामबाट आर्जिएको कमाइले भैंसी पालन गर्न थालिन्। हरेक संघर्षमा श्रीमान्को दरिलो साथ पाएकी रामकलीले आफू सुकुम्बासी भएका कारण ढल्केबरमा १० धुर जमिन जोडिन्। त्यो रामकली र सुरेन्द्रको पुख्र्यौली इतिहासमै आफ्नो नाममा जमिन भएको पहिलो घटना थियो। रामकलीको साहस र सफलता देखेर जिल्ला भूमि अधिकार मञ्चले उनलाई धनुषा जिल्लाको उपाध्यक्षको जिम्मेवारी दियो। झुपडीबाट सानो पक्की घर पनि बनाएकी रामकली दाइजोका कारण मधेसमा महिला हिंसा हुने र त्यसको न्यूनीकरणका लागि दाइजो होइन शिक्षा र अधिकार दिनुपर्ने बताउँछिन्। उनले बिनादाइजो आफ्ना दुइटी छोरीको विवाह गराइन्। संयुक्त प्रयासले प्रतिकूल वातावरणलाई अनुकूल बनाउँछ जसले अरूको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण बनेका रामकली र सुरेन्द्र लोहारलाई अर्धनारीश्वरको प्रतिमूर्ति मान्दै यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) अन्तर्गतको शक्ति सम्मानले सम्मानित गरिएको छ।

 Image