Successfully Copied

म्युजिक भिडियोमा सुप्रिया

सुप्रिया कटुवालमा चलचित्र नायिका बन्ने ठूलै रहर छ तर पनि उनले चलचित्रका अफरहरू स्वीकार गरिरहेकी छैनन् ।

सुप्रिया कटुवालमा चलचित्र नायिका बन्ने ठूलै रहर छ तर पनि उनले चलचित्रका अफरहरू स्वीकार गरिरहेकी छैनन् । ४ वर्षअघि पाँचथरबाट काठमाडौं आउँदा अध्ययनलाई राम्रोसँग अघि बढाएर लाने सोच थियो तर २ वर्षअघि एउटा म्युजिक भिडियोमा काम गरेपछि यो क्षेत्रबाट टाढिन कठिन भयो । अहिलेसम्म ४० वटा म्युजिक भिडियोमा काम गरिसकेकी सुप्रिया शेर्पा भाषाको चलचित्र कुसुममा एनआरएनको भूमिकामा देखापरेकी थिइन् भने चलचित्र तीन घुम्तीमा अतिथि कलाकारका रूपमा अभिनय गरिरहेकी छिन् । बीएचएम अध्ययनरत कटुवाल २ वर्षपछि अध्ययनका लागि बाहिर जाने योजनामा छिन् । त्यसैले उनी धेरै समय पढाइकै लागि खर्चिरहेकी छिन् । चलचित्रका लागि महिनौं दिनुपर्ने बाध्यताका कारण उनी एकदिनमै सकिने म्युजिक भिडियोमा रमाउन बाध्य छिन् । पढाइ सकेर नेपाली चलचित्रमा काम गर्ने सोच बनाएकी सुप्रियाले समयले भ्याएका सबै प्रोजेक्टमा काम गर्दै दर्शकहरूको मनमा बस्ने योजनामा छिन् ।

भर्सटाइल गायिका बन्ने होडमा सरु बन

मुड चेन्ज भो गीतकी गायिका सरु बन यही गीतका कारण चर्चामा छिन् । पहिलो एल्बमबाटै चर्चा कमाएकी सरु बनले संगीतमा लाग्नुअघि म्युजिक भिडियोमा मोडलका रूपमा काम गरेकी थिइन् । भर्सटाइल गायिकाका रूपमा स्थापित हुने चाहना बोकेकी सरुको पहिलो एल्बममा सेन्टिमेन्टल, डान्सिङ नम्बर, रक तथा पप गीतहरू समावेश छन् । सेन्टिमेन्टल गीत गाउँदा आनन्द आउने कुरा बताउने सरु बन डान्सिङ नम्बरहरू गाउनुलाई बाध्यता मान्छिन् । उनका अनुसार यस्तै गीतहरूबाट स्टेज शो तथा महोत्सवमा बोलाइने हुँदा एल्बममा यस्ता गीत पनि समावेश गर्नु जरुरी छ । दर्शक-श्रोताहरूले मुड चेन्ज भो गीत रुचाए पनि उनलाई भने रूपै राम्रो देखे पनि मन जाँच्न नसक्ने गीत मन पर्छ । तारादेवी तथा अञ्जु पन्तको स्वर मन पराउने सरु गायनमै भविष्य बनाउने सोचमा छिन् ।

छोटोमीठो - नीता ढुंगाना

आफू कस्तो छु जस्तो लाग्छ ?

सबैसँग मिल्न सक्ने, ठूलो हुन नजान्ने, सोझी नेपाली युवती ।

तपाईंको कमजोरी ?

म जसलाई पनि छिट्टै विश्वास गरिहाल्छु, बढी बोल्छु र अलि बढी नै सोच्छु पनि ।

रमाइलोका लागि के गर्नुहुन्छ ?

घुम्न जान्छु, जोक्स पढ्छु, घरमा बसेर मज्जाले टिभी हेर्छु ।

सबैभन्दा खुसी भएको क्षण ?

स्कुलमा नृत्य प्रतियोगितामा प्रथम हुँदा ।

घुम्न जान मन लाग्ने ठाउँ ?

ओखलढुंगा ।

कस्ता कुरामा रिसाउनुहुन्छ ?

नचाहिने कुरामा झूटो बोल्दा ।

भगवान्प्रति कत्तिको विश्वास छ ?

म साईभक्त हुँ, विश्वास लाग्छ ।

आफूले अभिनय गरेकामध्ये

मनपरेको चलचित्र ?

मसान ।

मनपरेका नायक-नायिका ?

राजेश हमाल र करिश्मा मानन्धर ।

पुरूष

हरि कर्माचार्य, गायक ग्लुमिगाइज ब्यान्ड

तपाईंको आइडियल पर्सन ?

मदर टेरेसा ।

तपाईंको जीवन सफल हुनुमा कुनै महिलाको भूमिका छ कि ?

मेरी आमा, श्रीमती र दुई छोरी  ।

तपाईंको नजरमा आमा र श्रीमती ?

आमा ममताकी खानी हुन् भने श्रीमती प्रेमकी सागर ।

तपाईं प्रभावित भएका महिला गायिकाहरू ?

तारादेवी, अरुणा लामा, कुन्ती मोक्तान र रीमा गुरुङ ।

महिलाका राम्रा पक्ष ?

सहन सक्ने क्षमता एवं माया ।

मननपर्ने बानी ?

कुरा काट्ने र छिट्टै रिसाउने बानी ।

भविष्य राम्रो भएकी गायिका ?

आस्था राउत ।

अहिलेका नारीहरूको अवस्था कस्तो देख्नुभएको छ ?

एकदमै राम्रो छ, संकुचित विचारवाट मुक्त, केही गर्ने चाहना र पर्याप्त जोस छ । यही स्पिड कायम हुने हो भने १० वर्षपछि नेपालमा महिलाहरूको स्थान निक्कै माथि पुग्न सक्छ ।

 Image