Successfully Copied

ट्याटु मेकिङ

शरीरमा थरीथरीका कलाकृति कुँदाउने कलालाई ट्याटु भनिन्छ । यो परम्परा निकै पुरानो हो ।

शरीरमा थरीथरीका कलाकृति कुँदाउने कलालाई ट्याटु भनिन्छ । यो परम्परा निकै पुरानो हो । समयअनुसार यो कलामा आमूल परिवर्तन आइसकेको छ । आज यो फेसनको पर्याय बनेको छ भने कतिपय सेलिब्रेटीको ट्याग भएको छ । मानिसहरूमा ट्याटु बनाउने क्रेज बढ्दो छ । कुनै-कुनै संस्कृतिमा धार्मिक दृष्टिकोणले पनि ट्याटु बनाइन्छ । ट्याटु व्यवसायलाई अघि बढाउने उद्देश्यले नेपालमा ट्याटुको अन्तर्राष्ट्रिय कन्भेन्सन पनि हुने गरेको छ ।

कहाँबाट गर्ने कोर्स ?

-    यो कोर्स कुनै कलेजमा सिकाइँदैन ।

-    कुनै प्रोफेसनलको अन्डरमा बसेर ट्याटु बनाउन सिक्नुपर्छ ।

-    हिजोआज विभिन्न पार्लरमा पनि ट्याटु बनाइन्छ ।

-    अनुभवी ट्रेनरबाट तालिम लिनुपर्छ ।

-    ट्याटुका विशेष तथा प्राइभेट क्लास पनि संचालन हुन्छन् ।

योग्यता

ट्याटु मेकरका लागि कुनै प्रोफेसनल डिग्रीको आवश्यकता पर्दैन तर प्राथमिक ज्ञान हुनु आवश्यक छ । राम्रो ट्याटु मेकरलाई चित्र बनाउन आउने हुनुपर्छ । ट्याटु एउटा विशेष कला हो । त्यसैले यसमा रंग तथा कलाको विषयमा जानकारी हुनुपर्छ । त्यसका साथै सिर्जनशील पनि हुनुपर्छ । यो क्षेत्रमा टपमा रहनु छ भने हरेक पल नयाँ काम गर्न जरुरी हन्छ । नयाँ-नयाँ कलाबाट ग्राहकहरूलाई प्रभावित तुल्याउन सके आफ्नो माग पनि बढ्दै जान्छ । यो विषयमा रुचि कम भए नयाँ सिर्जना फुर्न सक्दैन । ट्याटु बनाउने कला त्यति सजिलो पनि छैन किनभने यसमा साधारणदेखि जटिल चित्र पनि कोर्नुपर्ने हुन्छ । त्यसका लागि समय, संयम तथा परिश्रम चाहिन्छ । राम्रो कला सिक्न राम्रो टे्रनरको आवश्यकता पर्छ । चाँडै निराश हुनेहरूका लागि यो क्षेत्र उपयुक्त छैन । कुनै पनि कुरा चाँडै सिक्ने क्षमता वा कला हुनुपर्छ । यो क्षेत्रमा निरन्तर नयाँ-नयाँ डिजाइनको विकास हुन्छ । यस्तो अवस्थामा चाँडै सिक्ने कला भएन भने आफू पछि परिन्छ ।

सम्भावना

आफूलाई ट्याटु बनाउन आउँछ तर लगानी छैन भने आफ्नो घरमै ट्याटु स्टुडियो स्थापना गर्न सकिन्छ । यो व्यापार घरबाटै पनि गर्न सकिन्छ । सुरुका दिनमा सानातिना पम्प्लेटको मद्दत लिन सकिन्छ । साथीभाइको मद्दतबाटै यो काम सुरु गर्न सकिन्छ । ठूल्ठूला मलहरूमा ट्याटु बनाउने काम गर्न सकिन्छ । अहिले यसको बजार राम्रो भएकाले आफ्नै स्टुडियो खोल्दा पनि खासै फरक पर्दैन । कुनै राम्रो ट्याटु पार्लरमा जागिर खाएर पनि करियर सुरु गर्न सकिन्छ । ट्रेनरबाट ट्याटुको तालिम लिँदा त्यो ठाउँमा सबै प्रकारका ट्याटु बनाउन सिकाइन्छ कि सिकाइँदैन बुझ्नुपर्छ ।

ट्याटुका प्रकार

एब्स्ट्रयाक्ट ट्याटु, नेचरलिस्टिक ट्याटु, सिम्लिफिकेसन ट्याटु, कम्प्लेक्स ट्याटु, नेपालमा प्रचलित ट्याटु, देवी-देवताका ट्याटु, मेहन्दी ट्याटु, मयूरको प्वाँख, जनावर ट्याटु, चराको ट्याटु, नामको ट्याटु, राशि चिह्नको ट्याटु ।

 Image