Successfully Copied

कारमा बालबालिकाको सुरक्षा

बालबालिका स्वभावैले बढी चञ्चल एवं जिज्ञासु हुन्छन् । उनीहरूको बालसुलभ चञ्चलताले कहिलेकाहीँ हामीलाई हैरान बनाउँछ ।

बालबालिका स्वभावैले बढी चञ्चल एवं जिज्ञासु हुन्छन् । उनीहरूको बालसुलभ चञ्चलताले कहिलेकाहीँ हामीलाई हैरान बनाउँछ । घरभित्र भन्दा पनि बाहिर हिँडडुल गर्दा उनीहरूलाई कतिपय कुरामा नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ । यदि आफ्नो निजी सवारी साधन छ र आफैं ड्राइभ गर्ने हो भने बालबालिकाका साथ यात्रा गर्दा थप सतर्कता अपनाउनुपर्ने हुन्छ ।

हामी दुर्घटनाको शिकार हुन चाहँदैनौं । बालबालिकाको कुरामा हामी अझ संवेदनशील हुन्छौं । यद्यपि असावधानी वा लापरबाहीका कारण सधै हामी दुर्घटनाको जोखिममा हुन्छौं ।

अहिले सडक दुर्घटनाका घटना धेरै हुन थालेका छन् । त्यसैले निजी सवारीमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनु जरुरी छ, खासगरी बालबालिकासँग यात्रा गर्दा । केही कुरामा ध्यान दिने हो भने हामी सम्भावित जोखिमबाट जोगिन पनि सक्छौं ।

विपरीत दिशाबाट तीव्र गतिमा आएको अर्को गाडीले ठक्कर दिएको अवस्थामा कारमा सवार सबै यात्री खतरामा पर्न सक्छन् । चाहे अगाडिको सिटमा बसेका हुन् वा पछाडिको सिटमा, कोही त्यसको असरबाट अछुतो रहँदैनन् । अगाडिको सिटमा बसेका बालबालिका विन्ड स्क्रिन फुटेर बाहिर पछारिन सक्छन् ।

सुरक्षा कवच

यस्ता सम्भावित दुर्घटनाबाट जोगिन अनिवार्य सिट बेल्ट प्रयोग गर्नुपर्छ । हेलमेट जत्तिकै महत्वपूर्ण सुरक्षा कवच हो यो । अहिले सबैजसो कारमा सिट बेल्ट इनविल्ट भएर आउँछ । हामीकहाँ सिट बेल्ट बाँध्नुपर्ने प्रावधान भए पनि त्यसलाई कडाइका साथ लागू गरिएको छैन । कार चालक तथा यात्रीले पनि सुरक्षाका दृष्टिले अति विशिष्ट यो फिचरलाई महत्व दिएको पाइँदैन । धेरैजसो मुुलुकमा कारका सवै यात्रीले सिट बेल्ट बाँध्नु कानुनत: अनिवार्य छ ।

दुर्घटनाको पूर्वानुमान गर्न कठिन हुन्छ । दुर्घटना कस्तो प्रकारको होला, कार कस्तो किसिमले कताबाट, कति फोर्समा ठक्कर खाने हो ? थाहा हुँदैन । २५ किलोमिटर प्रतिघन्टाको गतिमा गुडिरहेको कार दुर्घटना हुँदा बिनासिट बेल्ट बसेका बालबालिका तीव्र धक्काले उछिट्टिन्छन् । यो धक्का दुई तल्ले घरको झ्यालबाट खसेको बराबर हुने द पार्लियामेन्ट्री एडभाइजरी कमिटी तथा ट्रान्सपोर्ट सेफ्टी अफ ब्रिटेनले केही वर्षअघि गरेको अध्ययनले देखाएको छ ।

कतिपय अभिभावक के सोच्छन् भने, सिट बेल्टबिना काखमा राखिएका बालबालिका सुरक्षित हुन्छन् । यो भ्रम मात्र हो । दुर्घटनाका क्रममा बालबालिका हातबाट उछिट्टनिे सम्भावना अत्यधिक हुन्छ । कार ठोक्किँदा ठक्करको फोर्सले बालबालिकाको तौल उनीहरूको आफ्नो तौलभन्दा ३० गुणा बढ्छ । त्यसैले सचेत रहँदा-रहँदै पनि बालबालिकालाई सम्हाल्न सम्भव हुँदैन । अत: यस्ता सम्भावित खतरा टार्न सिट बेल्ट बाँध्नैपर्छ ।

सुरक्षित स्थान

काखमा राखिएको शिशु र आफ्ना लागि एउटै सिट बेल्ट प्रयोग नगरौं । बरू बालबालिकालाई अलग्गै पछाडिको सिटमा बेल्ट बाँधेर राख्नु बढी सुरक्षित हुन्छ । यदि पछाडिको सिटमा बेल्ट छैन भने अगाडिको सिटमा बेल्ट बाँधेर बसाउनु उपयुक्त हुन्छ । अगाडि सिटमा बसाइएका बालबालिकालाई खुला छाड्नु हुँदैन । यस्तो अवस्थामा उनीहरूले गाडीका पाटपुर्जा चलाइदिन सक्छन् र त्यसले चालकको ध्यान मोड्न सक्छ ।

अचानक ब्रेक लगाउँदा बालबालिका असन्तुलित भएर ठोक्किन-पछारिन सक्छन् । यस किसिमको जोखिमबाट जोगिन सिट बेल्ट प्रयोग गर्नैपर्छ । प्राय: बालबालिका एकै ठाउँमा चुपचाप बसिरहँदैनन् । उनीहरू चञ्चल हुन्छन् । बसिरहेकै ठाउँमा उफ्रिने, चल्ने, झ्यालबाहिर टाउको तथा हात निकाल्ने आदि काम गर्न सक्छन् । उनीहरू आउजाउ गरिरहेका गाडीमा ईशारा गर्न पनि पछि हट्दैनन् । बालबालिकाको यस्तो गतिविधिमाथि नियन्त्रण गर्नुपर्छ ।

निगरानी राखौं

यदि गाडी पार्किङ गरेर थोरै समयका लागि कतै जानुपर्ने छ भने बालबालिकालाई गाडीमा एक्लै छोड्नुहुँदैन । उनीहरूले क्लच, गियर, ब्रेक आदि चलाइदिन सक्छन् । कहिलेकाहीँ अञ्जानमै गाडीमा चाबी छाडिएको हुनसक्छ, त्यस्तो अवस्थामा उनीहरूले गाडी स्टार्ट पनि गर्न सक्छन् ।

ब्रिटेनमा १९६५ देखि अगाडिको सिटमा बस्ने दुई यात्रीले बेल्ट बाँध्नु अनिवार्य छ । त्यस्तै ब्रिटेनको कारमा इनविल्ट सिट बेल्ट पनि अनिवार्य नै छ । एक अनुमानअनुसार सिट बेल्ट अनिवार्य गरिएपछि अहिलेसम्म ५ सय व्यक्ति सम्भावित मृत्युबाट जोगिएका छन् र १५ सय व्यक्ति गम्भीर चोट लाग्नबाट बचेका छन् ।

 Image