Successfully Copied

दृष्टिकोण पुरुषको

भनिन्छ-महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । उत्तिकै महत्व भएकाले सृष्टिको निरन्तरताका लागि महिला-पुरुष दुवैको उत्तिकै सक्रिय सहभागिता

भनिन्छ-महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । उत्तिकै महत्व भएकाले सृष्टिको निरन्तरताका लागि महिला-पुरुष दुवैको उत्तिकै सक्रिय सहभागिता एवं मेलमिलाप आवश्यक छ । महिलाहरू पुरुषको सहयात्रामा पूर्ण हुन्छन् भने पुरुषहरूको जीवनको सम्पूर्ण साँचो महिलाकै हातमा हुन्छ । कुनै पनि पुरुषको जन्म, लालनपालन, अध्ययन, प्रगतिलगायत सबै क्षेेत्रमा महिलाको हात हुन्छ, जुन कुरा पुरुषहरू पनि स्वीकार गर्छन् । कुनै पनि सन्तानलाई सुमार्गमा लाने काम पनि महिलाबाटै हुन्छ । त्यसैले यी दुईको परस्पर सम्बन्धमै संसार अडिएको छ भन्न सकिन्छ ।

उच्च ओहोदामा पुगेका वा समाजमा विशिष्ट पहिचान कायम गर्न सफल पुरुषहरू पनि महिलाबिनाको संसार कल्पना पनि गर्न नसकिने कुरा बताउँछन् । त्यस्ता पुरुषहरूले आफ्नो जीवनमा आमाको जस्तो स्थान कसैले लिन नसक्ने कुरा पनि बताउँदै आएका छन् । नारीको यो अंकमा समेटिएका पुरुषमध्ये कतिपयले आमालाई बाल्यावस्थामै गुमाउनुपरेको थियो । यद्यपि आमासँग बिताएका क्षणिक तथा सुनौला पल अहिले पनि मानसपटलमा ताजै रहेको र आमाप्रति श्रद्धाभाव उत्तिकै रहेको उनीहरूले बताए । जीवनमा आमा, श्रीमती, दिदिबहिनी वा अन्य यस्तै नाता पनि सबै पुरुषका लागि उत्तिकै अविस्मरणीय रहेको उनीहरूले बताए । नारीको यो अंकमा महिलाका विविध पक्ष अर्थात् सम्बन्धका बारेमा विभिन्न क्षेत्रमा स्थापित पुरुषहरूको धारणा बुझ्ने प्रयास गरिएको छ । .

प्रदीप ज्ञवाली

केन्द्रीय कमिटी सचिव, एमाले

\"\"गुल्मीमा जन्मिएका प्रदीप ज्ञवालीले स्कुले शिक्षा गुल्मीकै विद्यालयबाट हासिल गरे । १३ वर्षमा एसएलसी दिएलगत्तै प्रजातान्त्रिक आन्दोलनमा होमिएका ज्ञवाली १७ वर्षको उमेरमा जेल गए । जेलबाट निस्किएपछि करिब १७ वर्ष भूमिगत भए । २०४६ सालदेखि उनले सक्रिय रूपमा एमालेको विभिन्न तहमा बसेर काम गरे । २०५६ सालमा पहिलोपटक चुनाव लडे भने २०६९ सालमा पर्यटन मन्त्री भए । सामान्य किसान परिवारमा जन्मिएका ज्ञवाली करिब डेढ घन्टा हिँडेर स्कुल पढ्न जान्थे । अभाव, पछौटेपन तथा दु:खका कारण उनी आन्दोलनमा लाग्न उत्प्रेरित भएका हुन् । सानैदेखि पुस्तकमा रम्ने ज्ञवाली निकै संवेदनशील छन् ।

आमा

मेरो व्यक्तित्व निर्माणमा आमाको ठूलो भूमिका छ । आमा निरक्षर भए पनि हामीहरूलाई पढ्न उत्साहित गर्नुहुन्थ्यो । मेरी आमा ममता, परिश्रम तथा उदारताकी त्रिवेणी हुनुहुन्थ्यो । आमाले पूरै परिवार चलाउनुहुन्थ्यो । उहाँ निकै सद्गुणी हुनुहुन्थ्यो । इमान्दारिता, विनम्रता, सेवा गर्ने भावना आदि गुण मैले आमाबाट पाएको हुँ । अहिले मलाई दिवंगत आमाको अभाव पाइला-पाइलामा महसुस हुन्छ ।

 

श्रीमती

सरस्वती अर्यालसँग मेरो २०४१ सालमा विवाह भयो । उनी मेरी सबैभन्दा नजिककी साथी हुन् जोसँग म हरेक कुरा शेयर गर्न सक्छु । उनी मलाई निकै भरोसा दिन्छिन् । विवाहपछि मैले आफ्नो जीवनमा पूर्णता पाएँ । मेरा हरेक कदममा उनको साथ छ ।

छोरी

छोरीसँग मेरो भावनात्मक सम्बन्ध छ । उनी बोल्न सक्दिनन् तर पनि उनको भावना तथा आँखाबाट उनको मप्रतिको सम्मान तथा माया अनुभव गर्न सक्छु ।

हजुरआमा

उहाँ हाम्री असल अभिभावक हुनुहुन्थ्यो । हरेक कुराको माग म हजुरआमासँग गर्थें । उहाँ हरेक रात मीठा-मीठा कथा सुनाउनुहुन्थ्यो । म उहाँको निकै नजिक थिएँ ।

दिदी

सानो उमेरमा दिदीको विवाह भयो । मेरो हित्तचित्त मिल्ने साथी मेरी दिदी हुनुहुन्थ्यो । म दाइभन्दा दिदीसँग बढी मिल्थें । दिदीको विवाहपछि मलाई घरै बिरानो लागेको थियो । अहिले पनि तिहार र तीज आउनेबित्तिकै म दिदीको सम्झनाले खुसी हुन्छु । म दिदीसित बिताएका बाल्यकालका पलहरू सम्झदा पुलकित हुन्छु ।

महिला कार्यकर्ता

महिला कार्यकर्ताहरू हाम्रो पार्टीका मेरुदण्ड हुन् । उनीहरू निकै परिपक्व छन् । उनीहरू इमान्दार तथा जिम्मेवारी बहन गर्न सक्ने खालका छन् । उनीहरू सक्रिय तथा आफूलाई जुनसुकै काममा लगाउन तयार छन् ।

-झरना नहर्की

———————————————-

डा. धु्रवचन्द्र गौतम

साहित्यकार

\"\"डा. धु्रवचन्द्र गौतम २००० साल पुस २ गते वीरगन्जमा जन्मिएका हुन् । आमा दीपवती तथा बुवा गोविन्दचन्द्रका सात छोरामध्ये उनी काइँला छोरा हुन् । डा. गौतम सात वर्षका हुँदा नै आमाको मृत्यु भएको थियो । धु्रवचन्द्र भन्छन्-'प्रत्येक मानिसको जीवनमा आमाको अभाव कसैले टार्न सक्दैन । मेरो लेखन यात्रा १० वर्षकै उमेरमा प्रारम्भ भयो । आमाको वियोगमा नै मैले पहिलोपटक संवेदनशील भएर कविता लेखेको थिएँ । त्यो कविता युद्धका बारेमा भए पनि आमाको सम्झनामा लेखेको थिएँ ।' गौतमका कविता, कथा तथा उपन्यास गरी चार दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

मेरी आमा

म सानै छँदा आमाको मृत्यु भए पनि आमाको स्नेह एवं ममता मेरो स्मृतिपटलमा अझै जीवित छ । गर्भमा नौ महिना राख्नु त छँदैछ प्रत्येक आमा सन्तानका लागि प्रेरणाकी स्रोत हुन् । कुनै पनि सन्तानका लागि आमा अपरिहार्य हुन्छन् । आमाको क्षतिपूर्ति कसैले गर्न सक्दैन । आमासँग क्षणिक समय बिताउन पाए पनि त्यो मेरो जीवनको सुनौलो पल हो ।

सासू

मेरी सासू कोमल, विनम्र तथा असल स्वभावकी हुनुहुन्थ्यो । शान्त स्वभावकी मेरी सासूको आदर गर्ने स्वभाव मेरो मानसपटलमा अझै जीवित छ ।

श्रीमती

मेरी श्रीमती स्वस्तिका गौतम मेरो जीवनको महत्वपूर्ण पाटो हुन् । उनले मलाई सुखमा त साथ दिइन् नै दु:ख र अभावमा पनि समान सहभागिता देखाएर मेरो प्रत्येक क्षणमा सहभागिता जनाइन् । झन्डै पाँच दशक पुग्न लागेको हाम्रो वैवाहिक जीवनको आरोह-अवरोहमा उनले घर-परिवार सम्हाल्दै साथ दिइन् । मेरो करियर अघि बढ्नुमा उनको ठूलो देन छ ।

छोरी

छोरी सुभ्रताको जन्मपछि मेरो परिवारमा खुसी छाएको थियो । छोरी विवाह गरेर गएपछि भने केही शून्यता महसुस भयो ।

बहिनीहरू

मेरा चारजना बहिनीमध्ये जेठी बहिनीको मृत्यु भैसकेको छ । तीनजना बहिनीसँग चाडपर्व तथा पारिवारिक जमघटमा भेट भैरहन्छ । भेट हुँदा बाल्यावस्थाका, रमाइला तथा झगडा गरेका पल सम्झना गर्छौं । उनीहरूलाई भेट्दा छुट्टै आनन्द प्राप्त हुन्छ ।

महिला साथी

लजालु स्वभावको भएकाले महिलासँग कमै संगत गरियो तर पनि केही सीमित महिला साथी थिए । एमए पढ्दाका मेरा साथी लता तथा निर्मलासँग मिलेर सँगै खाजा खाँदै गीत गाएर रमाइलो गरेको क्षण अहिले पनि मानसपटलमा ताजै छ । यसैगरी पीएचडी गर्ने क्रममा फेला परेकी मेरी भन्ने साथी पनि मेरा लागि अविस्मरणीय छिन् ।

महिला विद्यार्थी

मेरो करियरको सुरुवात महिला विद्यार्थीबाटै भयो । कान्ता र कुसुम नाम गरेका विद्यार्थीलाई मैले ट्युसन पढाएको थिएँ । उनीहरूसँग अहिले पनि भेट हुन्छ । त्यसैगरी रत्नराज्यमा पढाउँदा पनि महिला मात्र थिए । विद्यार्थीसँग पिकनिक गएको तथा उनीहरूलाई पढाएको सम्झदा अहिले पनि रमाइलो लाग्छ ।

महिला साहित्यकार

महिला साहित्यकार धेरै छन् । एकताका वानिरा गिरी, प्रेमा शाह तथा पारिजातसँग भेट भैरहन्थ्यो । पारिजातसँग अरूभन्दा बढी घनिष्टता थियो । पारिजातसँगको मित्रता अविस्मरणीय छ । यसैगरी अहिलेका महिला साहित्यकारहरू पनि विशेष छन् । घरको जिम्मेवारी तथा सन्तानको लालनपालनका बाबजुद उनीहरूले साहित्यमा पुर्‍याएको योगदान प्रशंसनीय छ ।

-उपासना पाण्डे

———————————————-

ज्ञानेन्द्रप्रसाद ढुंगाना

प्रमुख कार्यकारी अधिकृत, नेपाल बंगालदेश बैंक

\"\"ज्ञानेन्द्रप्रसाद ढुंगाना बैंकिङ वृत्तमा महिलालाई प्रमोट गर्ने सिइओका रूपमा परिचित छन् । उनले एनबी बैंकलाई पनि महिलामैत्री बनाएका छन् । त्यसैले त एनबी बैंकका कर्मचारीमध्ये ६० प्रतिशत संख्या महिलाको छ । २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत ढुंगाना तेह्रथुमका खुद्रा व्यापारी गंगाप्रसाद तथा द्वारिकादेवीका ५ सन्तानमध्ये कान्छा छोरा हुन् । वि.सं. २०२५ सालमा तेह्रथुममै जन्मिएका ढुंगानाले मीनभवन क्याम्पसबाट बी.कम. तथा भारतबाट चार्टड एकाउन्टेन्टको शिक्षा पूरा गरेका छन् । नेपालमा नारी बचत खाता सुरु गर्ने एनबी बैंकको काठमाडौंभित्र र बाहिर गरी ८ जना महिला शाखा प्रबन्धक छन् भने केन्द्रीय कार्यालयमा ५जना महिला विभागीय प्रमुख छन् । बैंक अफ काठमाडौं, नेपाल राष्ट्र बैंक हुँदै हाल एनबी बैंकको प्रमुखको कार्यभार सम्हालिरहेका ज्ञानेन्द्र आफ्नो सफलतामा महिलाको ठूलो हौसला र प्रेरणा भएको बताउँछन् ।

हजुरआमा

मेरो जीवनको सबैभन्दा ठूलो पूरा नभएको इच्छा नै हजुरआमालाई देख्न नपाउनु हो । म गर्भमा छँदा उहाँको स्वर्गारोहण भएको रे । मैले मामाघरकी हजुरआमालाई देख्न चाहिँ पाएँ । उहाँमा ७ वटा छोरीका ५० भन्दा बढी नातिनातिनाप्रति समान व्यवहार एवं माया गर्ने अतुलनीय कला थियो जुन कलाले म उहाँतर्फ आकषिर्त थिएँ ।

आमा

मेरी आमा मेरा लागि प्रेरणा एवं ममताकी खानी हुनुहुन्छ । उहाँको संस्कार तथा व्यवहारले म आज यहाँसम्म पुग्न सफल भएको हुँ । मेरी आमा पण्डितकी छोरी, हजुरबुवाले छोरीलाई पढाउनकै लागि आफैं स्कुल खोलिदिनुभएको थियो जुन स्कुल आजसम्म छ । त्यसैले मेरी आमाले साक्षर बन्ने अवसर प्राप्त गर्नुभयो । उहाँ अहिले पनि अध्ययन नगरी बस्न सक्नुहुन्न ।

श्रीमती

अनामिका आधा अनि म आधा दुवै मिलेर मात्र हामी पूर्ण छौं । मेरो प्रेरणाको स्रोत उनी नै हुन् । आफ्नो करियरलाई थाती राखी मेरो घरपरिवार, बालबच्चा सम्हालिदिएकाले मैले आफ्नो क्षेत्रमा प्रगति गर्न सकें । हामीमा सेयरिङ, केयरिङ, हेयरिङ सबै कुरा छ । उनी मेरो जीवनकै टर्निङ प्वाइन्ट हुन् ।

छोरी

पहिलो सन्तानका रूपमा मेरी छोरी अमोलिकाको जन्म हुँदा हामी खुसी थियौं । कुनै क्षण पनि पहिलो सन्तान छोरा भएको भए हुन्थ्यो भन्ने लागेन । दोस्रो सन्तान छोरा हुँदा मैले त्यति खर्च गरिन जति छोरीको खेलौना आदिमा गरें । छोरीको आगमनपछि मेरो करियरले दु्रत गति लियो । उनी जन्मिएपछि नै मेरा दु:खका दिन कम हुँदै गए । वरपरको वातावरण तथा समाज हेर्दा लाग्छ छोराभन्दा छोरीले आमाबुवाको भावना बढी बुझ्छन् । उनले कतिपय कुरामा परिपक्व मानिससरह हामीलाई सम्झाउँदा उनी हाम्री अभिभावक हुन् कि जस्तो लाग्छ, ।

दिदी-बहिनी

मेरा १ दिदी १ बहिनी छन् । उमेरको खासै अन्तर नभएकाले हामी मिल्ने साथीजस्ता छौं । सानादेखि ठूला सरसल्लाह, सुख-दु:ख सबै हामीबीच सेयर हुन्छ । हामीकहाँ चेलीबेटीको विशेष स्थान र महत्व छ ।

सासू

मेरी सासू भगवती नेपाल मेरा लागि एउटा यस्तो प्रेरणा हुनुहुन्छ जसबाट मैले धैर्य एवं दृढताको पाठ सिक्ने अवसर पाएँ । उहाँ त्यो समयमा पनि ३ छोरी पाएपछि पुन: पढ्न जानुभयो र दुई विषयमा स्नातकोत्तर गर्न सफल हुनुभयो ।

भाउजू

म चार कक्षा पढ्दा घर भित्रिन आइपुगेकी मेरी ठूली भाउजू मेरा लागि आमा पछाडि आमाकै भूमिका निर्वाह गर्ने असल महिला हुनुहुन्छ । माइली भाउजू र म एउटै उमेरका भएकाले साथीसरह छौं ।

-लक्ष्मी भण्डारी थापा

———————————————-

अशेष मल्ल

रंगमञ्चकर्मी तथा कवि

\"\"वि.सं. २०३२ सालमा धनकुटाबाट ५० जना कलाकारको समूह बोकेर काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा तुवाँलोको बस्ती नाटक देखाउन आएका रंगकर्मी तथा कवि अशेष मल्ल एक महिनाको नाटक प्रदर्शनीपछि अरु कलाकारसँग धनकुटा र्फकेनन् । साहित्य र नाटकमा केही गर्छु भनेर यतै बसे । रंगमञ्चमा एक्लै काम गर्न असम्भव भएका कारण साथीहरू जम्मा पार्दै वि.सं. २०३८ सालमा सर्वनाम स्थापना गरे । सीधै जनतासामु जानुपर्छ भनेर नेपालमा सडक नाटकको सुरुवात गरे । उनको सपना थियो, एउटा रंगमञ्च थिएटर जहाँ नाटक, संगीत, साहित्य र कलाको वातावरण होस् । जीवनको हरेक मोडमा कुनै न कुनै महिला पात्रको सहयोग, साथ र प्रोत्साहन पाइरहेका रंगकर्मी अशेष मल्ल सफल पुरुषको पछाडि महिलाकै हात हुने बताउँछन् ।

आमा

सानैदेखि मेरो कलाकार स्वभावसँग परिचित मेरी आमाले सबै छोराछोरी आ-आफ्नो बाटो लागेपछि मबाट विशेष आशा गर्नुभएको थियो । नाटक देखाउने क्रममा काठमाडौं आएर नफर्किएपछि पनि उहाँले मप्रति कुनै गुनासो गर्नुभएन । त्यो समयमा मलाई आमाले रोइकराइ धनकुटामै बोलाउनुभएको भए सम्भवत: सर्वनाम थिएटरको स्थापना हुँदैनथ्यो । आमा अहिले हुनुहुन्न तर उहाँको मौन स्वीकृति एवं प्रोत्साहन भएकै कारण आज म अशेष मल्ल बन्न सफल भएको हुँ ।

श्रीमती डा. सावित्री

श्रीमती रथका दुई पांग्रामध्ये एक हो भन्ने कथन मेरो जीवनमा पूरै लागू हुन्छ । मेरा हरेक सिर्जनामा श्रीमती सावित्रीको उत्तिकै हात छ । सर्वनाम थिएटर हुनुअघि पुतलीसडकमा सानो कोठामा अफिस थियो । जतिबेला धेरैजनाबाट धोका पाएका कारण म निराश एवं दिक्क थिएँ । अब म रंगमञ्च, साहित्य सबैबाट संन्यास लिन्छु भनेर २० पेजको लिखित पत्र लेखेको थिएँ । त्यतिबेला श्रीमती र छोरी सम्पदाले तपाईंका पछाडि हामी छौं भनेर ३-४ दिनसम्म सम्झाएका थिए । श्रीमती डिमान्ड गर्ने, बिलासीतामा रमाउने एवं कला, साहित्यलाई नरुचाउने भएकी भए म विरक्तिएर बहुलाउँथें वा सडकमा पुग्थें । मेरो सपनाको प्रोजेक्ट सर्वनाम थिएटर बन्नमा उनको मुख्य भूमिका छ । म आज जति सफल छु त्यसमा श्रीमतीको पूरै हात छ । श्रीमती मेरा कृति तथा सिर्जनाकी समीक्षक एवं सल्लाहकार हुन् ।

छोरी सम्पदा

छोरी सम्पदा सानैदेखि सिर्जनशील थिइन् । उनको सिर्जनशीलता, कल्पनाशीलता देखेर डर लाग्थ्यो । ६-७ कक्षामा पढ्दा नै उनका लेख-रचना काठमाडौं पोस्टजस्ता पत्रिकामा प्रकाशित हुन्थे । म लेखनका बारेमा उनीसँग घन्टौं छलफल गर्छु ।

साथी ज्ञानु श्रेष्ठ

विवाह हुनुअघि म नेपाल परिवार नियोजन संघमा काम गर्थें । त्यतिबेला नाटक देखाउन काभ्रे गएर आउँदा कलाकार टोली बोकेको गाडी धुलिखेलमा पल्टिँदा नराम्रोसँग घाइते भइयो । आफूले गर्दा साथीहरूले दु:ख पाए भनेर डिप्रेसनजस्तै भएका बेला मलाई त्यहाँ काम गर्ने समकालीन साथी ज्ञानु श्रेष्ठले मानसिक रूपमा सम्हाल्ने काम गरिन् । जीवन र सत्यताको पहिचान गराइन् , साहस प्रदान गरिन् ।

सर्वनामका महिला कलाकार

सर्वनाममा अहिले उत्कृष्ट महिला कलाकारहरू छन् जो पढेलेखेका तथा विश्व टेक्नोलोजी पनि राम्रोसँग बुझेका छन् । उनीहरूकै अभिनय क्षमताले मेरो सपनाको सर्वनाम सफल हुँदैछ ।

-सिर्जना दुवाल श्रेष्ठ

———————————————-

डा. भोला रिजाल

वरिष्ठ स्त्री तथा, प्रसूति रोग विशेषज्ञ

\"\"डा. भोला रिजालको जन्म आजभन्दा ६७ वर्षअघि धरानमा स्व. आमा पूर्णमाया तथा बुवा जननीप्रसाद रिजालको सुपुत्रका रूपमा भएको हो । स्कुले शिक्षाकै क्रममा विवाह भएकाले उनको थप अध्ययन विवाहपछि नै पूरा भयो । रिजाल परिवारमा धेरै सन्तान थिए । संयुक्त परिवार थियो । हजुरबुवाको मन पर्ने नाति भएकाले हजुरबुवाकै आग्रहमा उनको विवाह बाल्यकालमै भएको थियो ।

रिजाल भन्छन्-'बाल्यकालदेखि अहिलेसम्म मैले धेरैजसो समय महिलासँग बिताएको छु । मैले लेख्ने गीत तथा बनाउने चलचित्र पनि महिलाकेन्दि्रत हुन्छन् । महिला हकहितकै लागि लड्ने भएकाले चार वर्षअघि मैले नारीप्रधान चलचित्र गौंथली निर्माण गरेको थिएँ । महिला सहनशील तथा करुणाकी खानी हुन् । अहिले पनि मेरो दिनचर्या महिलाकै सेवाबाट सुरु भएर त्यसमै अन्त्य हुन्छ ।'

मेरी आमा

आमा ब्रह्मरूप हुन् जसले नौ महिनासम्म कोखमा राखेर ठूलो प्रसव वेदना सही सन्तानलाई जन्म दिन्छिन् । म यो अवस्थामा आइपुग्नुमा मेरी आमाको ठूलो हात छ । आफूले दु:ख सहेर, नखाएर पनि सन्तानका लागि मरिहत्ते गर्ने प्रत्येक आमा आफ्ना सन्तानका लागि महान् हुन्छन् ।

श्रीमती

मेरो विवाह १५ वर्षकै उमेरमा सरलासँग भयो । विवाहपछि नै मेरो चिकित्सकीय अध्ययन सुरुवात भयो । अहिले म जे छु श्रीमतीकै कारण छु । विवाहपछि कत्ति पनि गुनासो नगरी पढाइमा हौसला दिँदै विषम परिस्थितिमा आफू एक्लैले सन्तान हुर्काउने जुन काम सरलाले गरिन् त्यो प्रशंसनीय छ । उनको यो गुण म जीवनभर बिर्सन सक्दिन । सरला मेरो सुख-दु:खमा साथ दिने सहयात्री हुन् ।

दिदी-बहिनी

मेरा दुई दिदी तथा एक बहिनी छन् । मलाई दिदी-बहिनीलाई भेट्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ । म नियमित रूपमा मेरा दिदी-बहिनीलाई भेट्छु । अहिले पनि हामी समय-समयमा दिदी-बहिनीलाई बोलाएर रमाइलो गर्छौं ।

भान्जीहरू

भान्जा-भान्जीलाई हाम्रो समाजमा देवता मान्ने चलन छ । म आफ्ना भान्जीहरू देखेर रमाउँछु । चाडपर्व तथा पारिवारिक जमघटमा उनीहरूसँग भेट्न पाउँदा खुसी लाग्छ ।

भाइबुहारी

मेरो भाइको केही वर्षअघि मृत्यु भएको थियो । बुहारीले कठिन परिस्थितिमा पनि विचलित नभै छोराछोरीलाई शिक्षा दिइन् । उनी एकदम सहनशील छिन् ।

भतिजी

मेरी एउटी भतिजी छिन् । उनको प्रगति देख्दा मलाई रमाइलो लाग्छ ।

छोरा-बुहारी

मेरा तीन बुहारी छोरीसरह छन्, आँखामा राखे पनि नबिझाउने । उनीहरूले हामीप्रति गर्ने व्यवहार पनि छोरीको जस्तै छ । म उनीहरूलाई बुहारीका रूपमा होइन छोरीका रूपमा हेर्छु । उनीहरू विदेश भए पनि स्काइपमा दिनहुँ कुराकानी हुन्छ ।

नातिनीहरू

मेरा नातिनीहरू मेरा मुटु हुन् । म उनीहरूबिनाको संसार कल्पनै गर्न सक्दिन । विदेशमा पनि उनीहरूले शिक्षामा राम्रो गरेको सुन्दा खुसी लाग्छ ।

महिला सहयात्री

मेरो जीवनको अधिकांश समय महिला सहकर्मीकै साथमा बित्छ । शिक्षण अस्पतालदेखि अहिलेसम्म सँगै काम गरेको डा. सुपात्रा कोइराला तथा डा. लुइस राजपूतसँग हो । उहाँहरूसँग काम गर्न सजिलो हुन्छ । यसैगरी मेरो कान्छो छोराको जन्ममा डा. कस्तूरी मल्ल तथा डा. विमला अर्यालले लगाउनुभएको गुन म जीवनभर बिर्सन सक्दिन ।

महिला बिरामी

अहिले बिरामीको चाप बढ्दो छ । सबै जनालाई चाहेर पनि समय दिन सकेको छैन । त्यसैले छनोट गरेर मात्र बिरामी हेर्न पाए सुनमा सुगन्ध हुने थियो । महिला बिरामीको सेवा गरेर रोग निको पार्दा होस् वा नि:सन्तान महिलाले सन्तान प्राप्त गर्दा होस् मलाई असाध्यै खुसी लाग्छ । साथै अहिले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने चलन व्यापक छ, यसको अन्त्य हुनुपर्छ । छोरीलाई पनि छोरासरह शिक्षा दिनुपर्छ । शिक्षाको विकल्प छैन । छोरी शिक्षित भए उज्यालो आफै आउनेछ ।

———————————————-

चण्डिका भट्ट

पूर्व महाप्रबन्धक, आयल निगम

\"\"चण्डिका भट्टको जन्म गोरखाको मसेल गाविसमा भएको थियो । काम गरेर आफूलाई प्रमाणित गर्न मन पराउने बानीले गर्दा भट्ट हरेक समय सफल छन् । जीवनमा जेजस्तो परिस्थिति आए पनि हतारमा होइन विचार गरेर समय लगाएर निर्णय गर्ने उनको क्षमता प्रशंसनीय छ । भट्टले १० कक्षासम्मको अध्ययन गोरखाको स्कुलबाट पूरा गरे भने उच्चशिक्षा काठमाडौं आएर अघि बढाए । अमृत साइन्स क्याम्पस हुँदै भारतबाट इन्जिनियर, बैंककबाट मास्टर्स तथा जापानबाट सन् २००५ मा पिएचडी पूरा गरे । १६ वर्ष उद्योग विभागमा बिताएका महाप्रबन्धक भट्ट हाल आयल निगममा महाप्रबन्धकका रूपमा कार्यरत छन् । उनको अध्ययनको क्षेत्र पनि केमिकल इन्जिनियरिङ हो ।

आमा

प्रकृतिले हरेक सन्ततिलाई दिएको अनुपम उपहार हो-आमा । म मेरी आमाप्रति गर्व गर्छु । म बाल्यकालको घटना स्मरण गर्छु । त्यतिबेला पनि उहाँ मेरो पढाइमा निकै चिन्तित हुनुहुन्थ्यो । सदैव राम्रो अंक ल्याउन प्रेरणा दिनुहुन्थ्यो । हामीलाई समयमा ख्वाउने, सुताउने तथा बिरामी हुँदा रातदिन जाग्ने मेरी आमा आज मसँगै बस्नुहुन्छ । उहाँ आमा मात्र नभएर मेरो प्रेरणाकी स्रोत पनि हुनुहुन्छ । उहाँको छत्रछायामा बस्न पाउँदा मलाई निकै खुसी लाग्छ ।

सासू

विवाहपछि मैले आफूलाई अगाध माया गर्ने एक जना मानिस थपिएको महसुस गरें उहाँ हुनुहुन्छ-मेरी सासू आमा । उहाँ मलाई छोराकै नजरले हेर्नुहुन्छ । म आफ्ना हरेक कुरा उहाँसँग खुलेर शेयर गर्छु ।

श्रीमती

मेरो जीवनमा श्रीमती कुमुदको आगमनपछि निकै परिवर्तन आएको छ । उनी मेरो जीवनकै सुखकी स्रोत हुन् । हाम्रो वैवाहिक जीवन यति सुमधुर हुनुमा उनको ठूलो हात छ । मागी विवाह भएकाले हामीले एक-अर्कालाई बुझ्न केही समय लाग्यो । त्यसपछि मैले उनलाई परफेक्ट श्रीमतीका रूपमा पाएको छु । उनीबिनाको संसार अधूरो महसुस गर्न थालेको छु । कुनै पनि काम गर्दा म उनको सल्लाह लिन्छु । निकै सहज तथा ठूलो मनकी कुमुदको हँसिलो स्वभाव नै मेरो ऊर्जा हो ।

छोरी

मेरो खुसीको स्रोत मेरी छोरी कुञ्जल हुन् । जुन दिन उनको जन्म भयो त्यो दिन म सबैभन्दा धेरै खुसी भएको थिएँ । मैले सदैव उनमा आफ्नो बाल्यकाल पाउँछु । मैले जस्ती छोरीको चाहना गरेको थिएँ उनी त्यस्तै छिन् । हाम्रो सम्बन्ध साथीको जस्तो छ । उनी नभएको बेला घर नै शून्य लाग्छ । उनी मलाई निकै माया गर्छिन् ।

फुपू

फुपू र भदाको सम्बन्ध निकै रमाइलो हुन्छ । मलाई सबै फुपूले निकै माया गर्नुहुन्थ्यो । केही नयाँ कुरा भयो भने म फूपुलाई सुनाउँथें ।

माइजू

हाम्रो देशमा भान्जा-भान्जीलाई भगवान्का रूपमा सम्मान गरिन्छ । मलाई पनि माइजूले निकै माया गर्नुहुन्थ्यो । नयाँ कुनै चीज खान मन लागे म माइजूलाई भन्थें ।

महिला सहकर्मी

स्कुल एवं कलेज पढ्दा महिला साथीहरू थिए तर पछि अध्ययनको सिलसिलामा म बाहिर गएँ । अहिले उनीहरूसँंग कुराकानी भएको छैन तर पढाइका क्रममा उनीहरूसँग बिताएका पलले अझै पुलकित बनाउँछ ।

———————————————-

दीप श्रेष्ठ

गायक

\"\"सुगम संगीतका स्तम्भ दीप श्रेष्ठका दर्जनौं गीत अत्यन्त लोकप्रिय छन् । थुप्रै सदाबहार गीतका गायक दीप श्रेष्ठ आफूलाई गाउनकै लागि जन्मिएको व्यक्ति भन्न रुचाउँछन् । धनकुटा पुख्र्यौली घर भए पनि उनी आमासँग धरानमा हुर्किएका हुन् । सानैदेखि गायनमा लागेका श्रेष्ठको जीवनमा महिला पात्रहरूको सहयोग, साथ एवं भूमिका अहम् छ ।

आमा

मेरी आमा अहिले हुनुहुन्न तर म आमालाई हरेक पल सम्झन्छु । आमाले जन्म दिनु र हुर्काउनु सामान्य कुरा हो । मेरी आमाले मलाई दिने अर्ती-उपदेश, जीवनका यथार्थहरू अहिले सार्थक भैरहेका छन् । ममा गायनको प्रभाव नै आमाले उति बेला गुनगुनाउने गीतहरू हुन् ।

ठूली आमा

मेरी दुईवटी आमा, ठूली आमाले हामीहरूप्रति कहिल्यै सौतेनी व्यवहार गर्नुभएन । मेरी आमालाई पनि ठूली आमाले सबै व्यवहार सिकाएर बहिनीजस्तै गरेर राख्नुभयो । हामी धरानमा बस्थ्यौं भने ठूली आमाहरू धनकुटामा बस्नुहुन्थ्यो । अहिले पनि ठूली आमाले गर्नुभएको सहयोगको सम्झना आउँछ ।

भाउजू तथा दिदीहरू

मेरी ठूली आमातिरका दुईवटी भाउजू र दुईवटी दिदीले देखाएको माया तथा कर्तव्य निर्वाह गरेकोले मेरो आत्मबल वृद्धि हुनुका साथै जिम्मेवारी पनि बोध गराउँछ ।

बहिनीहरू

मेरा तीन बहिनीमा ठूली बहिनी बितिसकेकी छिन् । सानैदेखि मलाई बहिनीहरूले सघाउँथे । बुवा बितेपछि घर-व्यवहारको जिम्मा बहिनी र मेरो टाउकोमा आइपरेको थियो । बहिनीले मलाई त्यतिबेला घर चलाउन आर्थिकदेखि लिएर सामाजिक जिम्मेवारी बहन गर्नसम्म सहयोग गरिन् । त्यसैले मैले गायनलाई छोड्नु परेन ।

बालसखाहरू

मसँग गाउने र मेरो गीतमा सुझाव दिने त्यतिबेलाका साथीहरू सावित्री जोशी र सुशीला सुब्बालाई म अहिले पनि सम्झन्छु ।

शान्ति ठटाल दिदी

दार्जीलिङमा हुँदा शान्ति ठटाल दिदीसँग संगत भयो । उहाँले मलाई रागको राम्रो ज्ञान दिनुभयो । अझै पनि उहाँ मलाई त्यत्तिकै माया गर्नुहुन्छ ।

श्रीमती सोफिया गुरुङ

आज म जुन ठाउँमा उभिएको छु, त्यसको श्रेय म श्रीमती सोफियालाई दिन चाहन्छु । उनी दार्जीलिङमा राम्री गायिकाका रूपमा परिचित छिन् । अरुणा लामा दिदीसँग गाउन विराटनगर आउँदा सोफिया र उनकी दिदी सरला गुरुङसँग भेट भयो । एकै नजरमा मन परेपछि धेरै पटकको प्रयासमा उनको मन जित्न सफल भएँ । उनी छुट्टीमा काठमाडौं आउँदा गीत रेकर्ड पनि गरायौं तर विवाहपछि उनैले दुवैले गाएर घर चलाउन गार्‍हो हुन्छ भन्दै एयर होस्टेजको काम थालिन् । उनले काम गरेपछि जीविका चलाउन धेरै सजिलो भयो । मैले केही गर्नुपर्छ भनेर सोच्नै परेन । त्यसपछि नै मेरा राम्रा गीत तथा कम्पोजिसनहरू बजारमा आएका हुन् । एउटा सफल व्यक्तिका पछाडि महिलाको हात हुन्छ भनेजस्तै मेरो संगीत यात्रालाई सफल बनाउन उनकै हात छ ।

छोरी दृष्टि तथा शृंखला

दृष्टि मेरै स्टाइलका गीत रुचाउँछिन् । सानैदेखि मेरा गीत सुन्ने र गाउने दृष्टि आफ्नै एल्बम निकाल्ने सोचमा छिन् । उनले मसँग स्टेजहरूमा गाइ पनि सकेकी छिन् । त्यस्तै सानी छोरी श्रृंखलामा पनि गाउने रहर छ । उनी गितार सिक्दैछिन् भने अंग्रेजी गीत पनि गाउँछिन् । मेरो जीवन अहिले सोफिया, दृष्टि तथा शृंखलाका कारण उज्यालो छ । .

———————————————-

सुमित मैनाली

युवा व्यवसायी

\"\"पितापुर्खाले जोडेको सम्पत्ति र उनीहरूकै पदचाप पछ्याउँदै सफल बन्ने त धेरै होलान् तर आफ्नै बलबुताले शून्यबाट सुरु गरी सयसम्म पुगेकाहरू भने बिरलै भेटिन्छन् । सुमित मैनाली (३८) यस्ता युवा हुन् जो आफ्नो एक्लो मेहनत र संघर्षमा आज धेरैलाई स्वरोजगार बनाउन सफल छन् ।

स्व.विष्णुप्रसाद तथा गोमादेवी मैनालीका ४ छोरामध्ये साहिँला छोराका रूपमा वि. सं. २०३३ साल माघमा रामेछापको पखरबासमा जन्मिएका हुन्-सुमित । १० वर्षको कलिलो उमेरमा काठमाडौं सहर पसेका उनका अंकलहरू चिनियाँ सामानको व्यापार गर्थे जसको प्रेरणाले उनको व्यापारिक जीवन सुरुवात भयो । वि. सं. २०४९ सालमा नयाँबसपार्कमा सानो कोल्डस्टोरबाट सुरु भएको सुमितको व्यवसायको दायरा अहिले निक्कै फराकिलो भएको छ । उनी टुबोर्ग, काल्र्सबर्गको डिलर हुँदै म्याकडोनल्सको डिलरसम्म स्थापना गर्न सफल भए । कडा परिश्रमकै कारण आज उनी धुम्बाराही रिंगरोडमा ओयसिस क्याफे, ओयसिस पार्टी भेन्यु, मेगा मुगलाई रेस्टुराँ, मेगा पार्टी भेन्यु, मेगा इन्टरटेन्मेन्ट, धुलिखेल एग्रो एण्ड फार्म हाउस तथा कमलादीस्थित राइजिङ मलमा क्युज सिनेमा आदिको प्रबन्ध निर्देशक छन् । मैनालीले नेपालमा मात्र होइन जापानमा समेत करिब २ सय ५० जना नेपालीलाई काम दिइरहेका छन् जसमा महिला कर्मचारीको संख्या बढी छ ।

हजुरआमा

म हजुरआमालाई प्रेरणामूलक कथाहरूको संगालो भन्न रुचाउँछु । किनभने इतिहास बोल्ने उहाँका हरेक कुराकानी प्रेरणादायी हुन्थे जसको छाप ममा सानैदेखि पर्‍यो ।

आमा

मेरो जीवनको दह्रो खम्बा । जसलाई हेरेर मैले नारीशक्ति के हो थाहा पाएँ । आमाकै कारण आज म यहाँ छु ।

श्रीमती

मेरी जीवनसंगिनी सहयात्री, सुख-दु:खको साथी, म हतास भएका बेला मलाई सम्हाल्ने । उनको आगमनपछि मेरो जीवन नै बदलियो । उनको हौसला, प्रेरणा एवं विश्वासले मलाई बाँधेर राखेको छ ।

छोरी

मेरो दोस्रो सन्तानका रूपमा जन्मिएकी मेरी छोरी सानै छिन् र पनि उनको कलिलो आँखामा म आफ्नो भविष्य देख्छु । उनको तोतेबोली र कोमल हातको स्पर्शले ममा फरक र विशेष प्रकारको ऊर्जा पैदा गर्छ । उनलाई देखेपछि काम गर्ने उत्साह थपिन्छ ।

 

दिदी-बहिनी

मेरो सुख-दु:खमा सधैं साथ दिने मेरी धर्मदिदी अनिता केसी मेरो संघर्षको साक्षी हुनुहुन्छ । रगतको नाताभन्दा माथि उठेर हामीले एकअर्कालाई सम्म्ाान र विश्वास गर्‍यौं । जसले मलाई महिला-पुरुषको सम्बन्ध नकारात्मक मात्र हुँदैन भन्ने विश्वास पैदा गरायो ।

महिला कर्मचारी

तुलनात्मक रूपमा महिलाहरू कर्तव्यनिष्ठ र इमान्दार भएको मैले पाएको छु । अर्को कुरा महिला कर्मचारीमा आफ्नो संस्थाप्रति अपनत्वको भावना बढी हुन्छ । 

 Image