Successfully Copied

महिनावारी शारीरिक प्रक्रिया कि पाप ?

हाम्रो धर्म र संस्कारले नि:सन्तानलाई कागबेते भन्छ । सन्तान नभए वैतरणी तरिँदैन भन्ने भनाइ छ र सन्तान जन्माउनुलाई पुण्य र धर्म प्राप्तिका रूपमा लिइन्छ ।

हाम्रो धर्म र संस्कारले नि:सन्तानलाई कागबेते भन्छ । सन्तान नभए वैतरणी तरिँदैन भन्ने भनाइ छ र सन्तान जन्माउनुलाई पुण्य र धर्म प्राप्तिका रूपमा लिइन्छ । यद्यपि त्यही सन्तान जन्माउने एउटा प्रक्रियासँग जोडिएको महिलाको महिनावारीलाई भने पापसँग जोडेर हेर्ने चलन छ । महिनावारी भएका बेला महिलालाई भातभान्सा त परै जाओस् अन्य कोठासम्म छुन नदिने चलन सहरिया पढेलेखेकाहरूमा समेत जीवितै छ । एउटी नारी महिनामा चार दिन आफ्नै घरभित्र अछूत हुनुको पीडा अनि त्यसबखत गुज्रनुपर्ने मानसिक अवस्था कस्तो होला अनुमान लगाउन गाह्रो छ । महिनावारी भएकी महिलाले भातभान्सा वा बोटबिरुवा छुँदा पाप लाग्ने कुरा सत्य हो त ?

रोजिना मानन्धर,मनोवैज्ञानिक

बोध इन्टिग्रटेड हिलिङ एण्ड साइकोलोजिकल सर्भिसेज

यो विश्वासको कुरा हो । विगत १४ वर्षदेखि मनोविज्ञानका क्षेत्रमा कार्यरत तथा ३ वर्षदेखि युवतीहरूमाझ काम गरेको अनुभवका आधारमा मैले के पाएकी छु भने उनीहरू स्वास्थ्य परामर्श गर्दा केटा र केटीलाई छुट्टाछुट्टै राखौं भन्दा पर्दैन हामी सबै कुरा सेयर गर्छौं भन्छन् । हिजोआजका युवतीहरू यो विषयमा विद्रोही छन् उनीहरू महिनावारी भएको कुरा घरमा बताउँदैनन् किनभने उनीहरू चार दिन भए पनि हामी किन भान्सामा रिजेक्ट हुने भन्ने सोच्छन् । कतिपयको विश्वासमा गणेशलाई भने छुन हुन्छ किनभने महिनावारी भएका बेला विवाह पनि पर्न सक्छ । जुन महिला आफू महिला हुनुमा गर्व गर्दैनन् हीनताबोध हुन्छ, तिनलाई पाठेघरको समस्या हुन्छ । यो पनि त्यस्तै हो मलाई पाप लाग्छ भन्ने सोचेर बस्यो भने त्यस्तै हुन्छ । होइन म ढुक्क छु मलाई यसो गर्दा केही हुँदैन भन्यो भने केही पनि हुँदैन । त्यसैले यो धेरै हदसम्म मनोविज्ञानसँग जोडिएको विषय हो ।

डा. मञ्जु मिश्र

संस्थापक प्रिन्सिपल, कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन

\"\"म नास्तिक परिवारमा हुर्किएँ, नास्तिक देशमै पढ्न गएँ । मैले आजसम्म कहिल्यै महिनावारी बारेकी छैन । रसिया, दुबई आदिको लामो बसाइपछि नेपाल र्फकदा म धर्ममा भन्दा कर्ममा बढी विश्वास राख्न थालिसकेकी थिएँ । हाम्रो समाजमा महिनावारी छुवाछूतसँग जोडिएको छ । यही परम्परा संस्कृतिका रूपमा जरा गाडेर बसेको छ । महिनावारीको अवस्थामा महिलालाई असजिलो बनाइने होइन कि महिला स्वयं नै असहज महसुस गर्छन् । बढी रगत गए पनि तनाव, कम भए पनि तनाव हुने भएकाले महिलाहरूलाई असहज महसुस हुन्छ । यो नितान्त स्वास्थ्यसँग जोडिएको विषय हो । यो विषय आर्थिक कुरासँग पनि जोडिन सक्छ तर अरू जेसुकै भए पनि यो पाप र धर्मसँग जोडिएको विषय भने होइन ।

डा. रचना शाह

स्त्रीरोग विशेषज्ञ, केएमसी अस्पताल

\"\"कुनै पनि युवती हुर्कने क्रममा उनको शरीर मातृत्वका लागि पनि तयार हुँदै जान्छ । पहिले १२-१५ वर्षको उमेरमा महिनावारी हुन्थ्यो तर अहिले राम्रो पोषणका कारण दस वर्षमै हुन थालेको छ । यो पूर्णरूपमा प्राकृतिक एवं शारीरिक प्रक्रिया हो । यो प्रकृतिले सृष्टिका लागि बनाएको कुरा हो । यो अवस्थामा ४-५ दिन आराम दिइनु ठीकै पनि हो । महिनावारीमा शारीरिक सम्पर्क गर्न हुन्छ भन्ने कुरा मेडिकल्ली प्रमाणित भैसकेको छ । हुँदैन भनिनुको कारण त्यस अवधिमा सरसफाइको कमीले विविध किसिमको संक्रमण हुन्छ भनेर हो । महाभारतमा यस्तो अवस्थामा द्रौपदी पनि ४-५ दिन कोठा भित्रै हुन्थिन् भन्ने कुरा उल्लेख छ । कसैको महिनावारी हुँदै हुँदैन त्यसको कारण पाठेघर नै नभएको हुनसक्छ वा अरू कुनै रोग त्यसको कारण हुनसक्छ ।

संगीता थापा श्रेष्ठ

प्रोप्राइटर, बिविच, कुपन्डोल

\"\"म पहिलो पटक महिनावारी हुँदा मैतीदेवीबाट खानीखोला पुर्‍याइएँ । त्यहाँ चिनेका मान्छे कोही थिएनन् । १३ दिनपछि निस्कँदा मेरो केशभरि जुम्रैजुम्रा थिए, महिनावारी भएको कुराले लाज पनि लाग्यो । अहिले म त्यो क्षण सम्झन पनि चाहन्न । कतिपय परिवारमा अझैसम्म भान्सा, धारा तथा जनै आदि छोइन्छ भन्ने मान्यता छ । बुहारी भएपछि महिनावारी हुँदा एउटै कोठामा डल्लो परेर बस्नुपथ्र्यो । यो कुरा कत्तिको विश्वास लिएर गरिएको छ त्यसमा पनि निर्भर हुन्छ । जब कसैले म महिनावारी भएका बेला बोटबिरुवा छोए मर्छ भनेर छोइयो भने मर्छ पनि तर म भातभान्सा मजाले गर्छु । खै, कसैलाई रोग लाग्दैन, केही नराम्रो पनि हुँदैन । कुरा यत्ति हो त्यस्तो बेलामा सरसफाइको भने विशेष ख्याल गर्नुपर्छ ।

डा. ज्ञानु श्रेष्ठ

समाजशास्त्री

\"\"शिकारी युगमा महिनावारीका बारेमा कुनै उल्लेख पाइँदैन जब मानिस कृषिमा सेटल भएर बस्न थाले र हिन्दू धर्मको उदय भयो त्यसपछि यो क्रम सुरु भयो । यो सृष्टिको प्राकृतिक प्रक्रिया हो । आमा हुन महिनावारी अत्यावश्यक छ । कस्तो वातावरणयुक्त परिवारमा जन्मिएको छ, उसका आमा-हजुरआमाले कसरी महिनावारी व्यवस्थापन गर्दै आइरहेका छन् धेरै कुरा त्यसमा निर्भर हुन्छ । पहिले-पहिले स्यानिटरीजस्ता अन्तर्वस्त्र लगाइँदैनथ्यो तसर्थ पनि बार्नुपर्छ भनिएको होला तर अहिले महिनावारी व्यवस्थापनका लागि विविध सामग्री उपलब्ध छन् । उतिबेला स्वास्थ्यका हिसाबले पनि ४ दिन छुट्टै राख्न खोजिएको हुनसक्छ । म पनि पहिलोपटक १२ दिन अर्काको घरको अँध्यारो कोठामा बसेकी थिएँ । बुझ्ने भएपछि यो प्रकृतिप्रदत्त शारीरिक प्रक्रिया मात्र हो भन्ने जानकारी भयो । हामीकहाँ कतिपय यस्ता महिला छन् जो संयुक्त परिवारमा हुँदा महिनावारी बार्छन् तर एकल भएपछि बार्दैनन् ।

 

 Image