Successfully Copied

रविन र सुनीताको मधुर प्रेम

'लेखेको हुन्छ देखेको हुँदैन' भनेजस्तै वैवाहिक सम्बन्ध पूर्वनिर्धारित हुन्छ भन्ने धारणा राख्नेहरू आज पनि छन् ।

'लेखेको हुन्छ देखेको हुँदैन' भनेजस्तै वैवाहिक सम्बन्ध पूर्वनिर्धारित हुन्छ भन्ने धारणा राख्नेहरू आज पनि छन् । धेरै केटी हेरिसक्दा पनि चित्त बुझाउन नसकेका कार्टुनिस्ट रविन सायमीको जीवनमा पनि यो कुरा लागू हुन्छ । दिदीले विवाहका लागि केटीको तस्बिर देखाउँदा त्यसलाई मिल्काइदिने रविन आफैले पछि उही केटी हेर्न जाऊँ भन्नु र तिनै केटीसँग विवाह हुनुलाई माथिबाटै मिलाएर पठाएको भन्न रुचाउँछन् । रविन साधारण अनुहार, तडकभडकरहित एवं शिक्षण पेसामा आबद्ध सुनीतासँगको पहिलो भेटमै आकषिर्त भएका थिए । उता सुनीताले पनि धेरै प्रस्तावका बाबजुद आफूले सोचेजस्तो वर नपाएकाले विवाह गरेकी थिइनन् ।

दुवै परिवारबाट विवाहको स्वीकृति मिलेपछि रविन र सुनीता दिनहुँ भेटघाट गर्न थाले । सातदोबाटोस्थित एक स्कुलमा पढाउने सुनीतालाई लिन जाने र पुर्‍याउने जिम्मा रविनकै हुँदै गयो । कुरा चलेको ६ महिनामै विवाह भए पनि ती ६ महिनाका दौरान उनीहरू काठमाडौं, नगरकोट, धुलिखेल, गोदावरीजस्ता सबै स्थान पुग्न भ्याए । धेरै बोल्नुपर्ने एवं खुल्ला विचारका रविनको बानीभन्दा विपरीत छिन्-सुनीता । कम बोल्ने, मनको कुरा खुलस्त नभन्ने, नरम स्वरकी सुनीताको मनको कुरा बुझ्न नै श्रीमान् रविनलाई समय लाग्छ । घरमा बस्दा पनि प्राय: पल्टेर कार्टुनका बारेमा सोचिरहने रविनको काममा सुनीताले कहिल्यै बाधा पुर्‍याइनन् । सकभर श्रीमान्ले बनाएको कार्टुन आफै बुझ्ने प्रयास गर्छिन् भने नबुझेको कुरा श्रीमान्सँग सोधेरै बुझ्छिन् । सुनीता कार्टुनिस्ट रविन सायमीकी श्रीमतीका रूपमा चिनिन पाउँदा गर्व महसुस गर्छिन् । महिलाहरूले बाहिर काम गर्नुपर्छ भन्ने मान्यता भए पनि सन्तान सानै भएकाले अहिले सुनीता गृहिणीको भूमिकामा छिन् । उनी छिट्टै फेसन डिजाइनिङको कोर्स गर्ने तयारीमा छिन् । त्यसलाई साथ दिएर सफल बनाउने बचन दिएका छन् रविनले ।

रविन फुर्सद भयो कि पकाउन, भाँडा माझ्न र भान्सामा सरसफाइ गर्न हाजिर भैहाल्छन् । मासु तथा पालक पनिर मीठो पकाउने रविनमा ७ सय जनासम्मलाई पकाएर ख्वाउन सक्ने खुबी छ । रविन भोजभतेरमा खाना पकाउन पाउँदा निकै रमाउँछन् । रविन स्वीमिङ तथा घुमघाम गर्न, गजल सुन्न अनि बियर पिउन रुचाउँछन् । सायमी दम्पती नै रमाइलोका लागि जापनिज, कोरियन, इटालियन, थाइ, इन्डियन, थकाली तथा अन्य लोकल रेस्टुराँहरू च्ाहारेर नयाँ-नयाँ स्वाद लिन्छन् । समय मिल्दा उनीहरू विदेश तथा स्वदेशकै रमाइला ठाउँहरू पुग्छन् । मागी विवाह भए पनि विवाहपूर्व ६ महिना सँगै घुम्दा एकले अर्कालाई बुझ्ने मौका मिलेकाले उनीहरू प्रेम विवाह नै गरेको अनुभव गर्छन् । आफ्नो उल्टो स्वभावकै कारण उत्कृष्ट जोडीका रूपमा सुमधुर सम्बन्ध भएको हुन सक्ने अनुमान गर्दै रविन भन्छन्, दुवै जना ठाडो बोल्ने, बोलिरहने भयो भने त पक्कै झैझगडा हुन्छ तर हामीमा एकले बोल्ने र अर्काले सुन्ने भएकाले हुनसक्छ, सम्बन्ध बलियो र सुमधुर छ ।

सुनीताका बारेमा रविन

समय म्यानेज गर्न सक्दिनन् । मनको कुरा नभन्ने, एकोहोरोपनजस्ता पक्ष हटाउनु आवश्यक छ । त्यसबाहेक उनमा खोट लगाउनुपर्ने कुनै कुरा छैन । उनी असल श्रीमती, आमा, बुहारी तथा सहयात्री हुन् ।

रविनका बारेमा सुनिता

कुनै पनि कुरा अन्तिम समयमा मात्र भन्ने बानी छ जसले गर्दा हरेक काम हतारमा हुन्छ । आफ्नो सामान ठाउँमा नराख्ने, कोठाभरि सामान छर्ने बानी हटाए राम्रो हुन्छ । कुनै कुरा चित्त बुझेन भने भनिहाल्ने बानी छ ।

क्रस चेक

मन पर्ने परिकार

रविन : छ्वेला तथा कचिला

सुनीता : चम्सुर तथा पालुंगोको साग

रंग

रविन : खरानी

सुनीता : गुलाबी

मौसम

रविन : जाडो

सुनीता : दसंैताकाको समय

खेल

रविन : स्वीमिङ तथा क्रिकेट

सुनीता : ब्याडमिन्टन

चलचित्र

रविन : अवतार तथा देवदास

सुनीता : कुछकुछ होता है

पुस्तक

रविन : चिनियाम्ह किसिचा र एनिमल

फार्म

सुनीता : बायोग्राफीहरू

गीत

रविन : गजल तथा क्लासिकल संगीत

सुनीता : पप-आधुनिक

 Image