Successfully Copied

बहुउपयोगी मेवा

गर्मीमा मेवा खानुको आनन्द बेग्लै छ । तातोले पोल्ने घाममा मुख सुकेका बेला रसिलो तथा स्वादिलो मेवाले मनलाई शीतल तुल्याउँछ ।

गर्मीमा मेवा खानुको आनन्द बेग्लै छ । तातोले पोल्ने घाममा मुख सुकेका बेला रसिलो तथा स्वादिलो मेवाले मनलाई शीतल तुल्याउँछ । यसको दैनिक सेवनले स्वास्थ्यमा समेत सहयोगी भूमिका निर्वाह गर्छ । यद्यपि दैनिक मेवा किनेर खानु हाम्रो बजेट अनुकूल नहुन सक्छ । यसका लागि आफ्नो घरको सानो भागमा मेवा रोप्न सकिन्छ । घरमा मेवा रोप्न नर्सरीमा तयार बिरुवा अथवा आफ्नो इच्छाअनुसार मेवाको बीउबाट त्यसको बिरुवा घरमै तयार पार्न सकिन्छ । मेवाको बिरुवा घरमा रोप्दा सुख्खा मौसममा समेत हरियालीको अनुभव हुन्छ । कृषि विभागका हर्टिकल्चरिस्ट अनिलकुमार आचार्यका अनुसार व्यवसायका रूपमा लिनेहरूका लागि मेवा खेती फाइदाजनक छ । एकपटकमा ४० देखि ५० किलोसम्म फल दिने तथा राम्रो मूल्यमा बिक्री हुने हुँदा यो जीविकोपार्जनको समेत भरपर्दो स्रोत हुन सक्छ ।

मेवा रोप्दा व्यवसायका लागि हो अथवा निजी प्रयोगका लागि मात्र हो भन्ने कुरामा सचेत रहनुपर्छ । त्यसपछि आफ्नो इच्छाअनुसार लोकल अथवा हाइबि्रड मेवाको फल लिने र त्यसलाई दुई भागमा काटेर त्यसको बीउ निकाल्ने । हाइबि्रड मेवा नेपालमा भारत, थाइल्यान्ड आदि देशबाट ल्याइन्छ । यसको बिरुवा नर्सरीमा खरिद गर्न सकिन्छ । त्यसैगरी लोकल मेवा आफ्नै छरछिमेकबाट ल्याएर पनि रोप्न सकिन्छ । मेवा मेल, फिमेल तथा बाइसेक्सुअल हुन्छ । फिमेल तथा बाइसेक्सुअल बिरुवाले फल दिन्छ भने मेल मेवाको बिरुवाले फल दिँदैन । बिरुवा रोप्दा त्यो कुन प्रकारको मेवा हो भन्ने थाहा हुँदैन । फूल फुल्न थालेपछि भने त्यो कुरा सजिलै थाहा पाउन सकिन्छ । मेवा एक मिटर अग्लो भएपछि फूल फुल्न थाल्छ । मेल बिरुवाको लामो तथा पातलो डाली हुन्छ र त्यसमा साना फूल धेरै हुन्छन् । फिमेल मेवाको डाली ठूलो हुन्छ भने त्यसमा सिंगल फूल फुल्छ ।

बीउ रोप्ने विधि

मेवालाई त्यसको फलभित्र रहेको बीउबाट बिरुवा तयार पार्न सकिन्छ । यो काम सबैभन्दा सजिलो तथा कम खर्चमा सम्पन्न हुन्छ । मेवाको बिरुवा रोप्न तथा हुर्काउन जति सजिलो छ त्यही अनुपातमा यसलाई जोगाउन गाह्रो हुन्छ । यसका लागि बिरुवाको राम्रो हेरचाह गर्नुपर्छ । मेवाको बिरुवा उमार्न फलबाट गेडा निकालेर पोलिब्यागमा छर्ने । पोलिब्यागमा माटो राख्नुपूर्व त्यसलाई राम्राेसँग स्टेरलाइज गर्नुपर्छ । यसरी माटोमा भएका हानिकारक कीटाणुको उपचार गरेपछि माघको अन्तिमतिर बीउ छर्नु उपयुक्त हुन्छ । यसरी छरिएको बीउबाट फागुनको अन्तिमसम्म बिरुवा तयार भएपछि त्यसलाई अर्को ठाउँमा रोप्न सकिन्छ । बिरुवा रोप्दा बालुवा, कम्पोस्ट मल आदिको संमिश्रण तयार गर्ने । त्यसपछि आफूले तयार पारेको मल हालेर मेवाको बिरुवा रोप्ने । ठाउँको छनोट गर्दा उपयुक्त माटो र पर्याप्त सूर्यको प्रकाश पर्ने ठाउँ रोज्नुपर्छ । यसलाई जाडो महिनामा शीत तथा तुषारोबाट जोगाउनुपर्छ । मेवाको बिरुवाले रोपेको ९ महिनामै फल दिन थाल्छ । राम्रो बिरुवाले एकपटकमा ४० देखि ५० किलोसम्म फल दिन्छ । यसलाई समय-समयमा पौष्टिकतत्व दिनुपर्छ । त्यसका लागि कम्पोस्ट मल एवं कीरा नलाग्ने माटोको आवश्यकता पर्छ । गेडा रोपेपछि आधा इन्च कम्पोस्ट र त्यसमाथि चिसो घाँसपात राख्नुपर्छ ।

पानीको मात्रा

मेवा पानी जम्ने ठाउँमा रोप्नु हुँदैन । यसमा मात्रा मिलाएर पानी हाल्नुपर्छ अन्यथा बिरुवाको जरा कुहिएर मर्ने सम्भावना हुन्छ । मेवा रोपेको सुरुका दिनमा दैनिक एकपटक पानी दिनुपर्छ । त्यसपछि भने माटोको अवस्था हेरेर पानी हाल्नु राम्रो हुन्छ । गर्मी महिनामा यसको माटो चिसो तथा जाडो महिनामा सुख्खा राख्नुपर्छ । माटोलाई धेरै चिसो तथा गिलो भने राख्नु हुँदैन ।

मल तथा सूर्यको प्रकाश

मेवालाई उचित मात्रामा मल तथा सूर्यको प्रकाश चाहिन्छ । मलका रूपमा घरमै तयार पारिएको मल तथा गोबर प्रयोग गर्न सकिन्छ । समय-समयमा गोबर मल दिइरहनुपर्छ । गोबरमा मेवालाई चाहिने आवश्यक पौष्टिकतत्व हुन्छ । त्यसैगरी यसलाई प्रशस्त मात्रामा घामको प्रकाश पर्ने ठाउँमा रोप्नुपर्छ । यो बिरुवा घामको प्रकाश पर्ने ठाउँमा बढी फस्टाउँछ ।

मेवामा देखिने समस्या

मेवामा विभिन्न खालका समस्या देखापर्न सक्छन् । यो निकै सम्वेदनशील बिरुवा हो । यसमा कीरा लाग्ने तथा पानीको मात्रा धेरै भए जरा कुहिन्छ । यसको जीवन ३ देखि ५ वर्षसम्मको हुन्छ । यो जति पुरानो हुँदै जान्छ सोही मात्रामा कमजोर पनि हुन्छ । एउटा बिरुवा रोपेको ३ वर्षपछि सोही बिरुवाको छेउमा अर्को बिरुवा रोप्न सकिन्छ जसले गर्दा पुरानो बिरुवा मरे पनि सोही ठाउँमा नयाँ बिरुवा तयार हुन्छ । यसका साथै समय-समयमा यसको हाँगा काट्नुपर्छ जसले गर्दा यो धेरै लामो भएर हावाले तथा फलको भार थेग्न नसकेर ढल्न पाउँदैन ।

लाभदायक मेवा

स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने मेवा रसिलो फल हो । यसमा भएको भिटामिन तथा मिनरलले हाम्रो शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । यो लो क्यालोरीयुक्त हुन्छ । यसको दैनिक सेवनले कोलेस्ट्रोल बढ्ने खतरा कम गर्छ ।

दीपा ओली

 

 Image