Successfully Copied

ब्राइडल डिजाइनर वेयर

एक दशकअघिसम्म पनि विवाहको मौसम सुरु भएपछि गहना पसलमा गहना बनाउनेहरूको भीड लाग्थ्यो ।

एक दशकअघिसम्म पनि विवाहको मौसम सुरु भएपछि गहना पसलमा गहना बनाउनेहरूको भीड लाग्थ्यो । दुलहीको साडीमा बनारसी तथा बाबरनेटको साडी लगाउनुपर्ने भएकाले परम्पराअनुसार दोपट्टा साडीमा तासको चोली लगाउने चलन थियो । त्यसैले दुलहीहरूले आफ्नो ब्राइडल वेयरका बारेमा सोच्नु जरुरी हुँदैनथ्यो तर अहिले समयले यति छिटो फड्को मारेको छ कि परम्पराअनुसार बनारसी साडी लगाएर विवाह गर्ने दुलही निकै कम देखिन थालेका छन् । बुटिकको लहरसँगै हरेक दुलही वर्ष दिनअघिदेखि नै डिजाइनरकहाँ गएर विवाहको पहिरन बनाउन थाल्छन् । जीवनमा एकपटक गर्ने विवाहका लागि डिजाइन, फेब्रिक तथा मूल्यमा कुनै सम्झौंता गर्न चाहँदैनन् । आफूलाई त्यो दिन कसरी सकेसम्म सुन्दर बनाउन सकिन्छ, कुन पहिरनले आफूलाई राम्रो देखाउँछ सोहीअनुसार साडी, लेहेंगा, फिक्स साडी डिजाइन गराउने चलन बढ्दो छ । पहिलेजस्तो दुलहीले रातै रंगको साडी लगाउनुपर्छ भन्ने मान्यता पनि छैन । त्यसैले सिक्वेन्सको लेहेंगा, गोल्डेन, मजेन्दा, ग्रिन, पिंक, अरेन्ज आदिको कम्बिनेसनमा ब्राइडल वेयर बनाएर विशेष देखिन चाहने दुलहीहरूको संख्या बढ्दो छ ।

 

उत्तम बनेपाली, डिजाइनर

सुप्रसिद्ध फेसन डिजाइनर उत्तम बनेपालीले यसपटक लेहेंगालाई नै मोडिफाइ गरेर ब्राइडल वेयर डिजाइन गरेका छन् । पहिले जस्तो दुलहीको पहिरन रातै चाहिन्छ भन्ने कन्सेप्ट हटेकाले उत्तम्स क्रियसनमा गोल्डेन, मजेन्दा तथा पिंकको कम्बिनेसनमा ब्राइडल वेयरहरू तयार पारिएको छ । सजिलोका लागि लेहेंगा स्टाइलको साडीमा फरक-फरक डिजाइन गरिएको छ । यसपटक यस्तै डिजाइनका साडी स्टाइलका लेहेंगा नै बनेपालीका प्राथमिकतामा परेका छन् । लेहेंगा साडी लगाउँदा फिगरसमेत राम्रो देखिन्छ जसको ओढनीमा क्राउन राखिएको छ । मंसिर तथा माघ महिनामा जाडो हुने भएकाले बनेपालीले हल्का भेल्भेटको लेहेंगा, भेल्भेट तथा ब्रोकेट मिक्स फिक्स साडी, फूलकारी डिजाइन अर्थात् मल्टी कलर, सिक्वेन्स राखेर ब्राइडल वेयर तयार पारेका छन् । अहिलेका युवतीहरूले राजस्थानी कढाइ भएको साडी तथा लेहेंगा पनि रुचाएकाले डिजाइनर बनेपालीले यस्ता पहिरन बनाएका हुन् । बनेपालीले लेहेंगा तथा साडीमा मिरर वर्क गरेर पनि डिजाइन तयार पारेका छन् भने नेपाली संस्कृतिअनुसार तासको ब्लाउजमा सिक्वेन्स, ब्रोकेट, भेल्भेट तथा ह्यान्ड वर्क गरेर दुलहीको पहिरनमा नयाँपन दिएका छन् । बनेपाली दुलहीका साथै दुलाहाका लागि पनि दौरा-सुरुवाल तथा ढाकाको कोट आदि पनि तयार गर्छन् । उत्तम्स क्रियसनमा राम्रै खालको ब्राइडल लेहेंगा तथा साडी १८ हजार रुपैंयाँभन्दा माथि ग्राहकको माग, डिजाइन एवं चाहनाअनुसार निर्माण गरिन्छ ।

खुश्बु डंगोल, डिजाइनर

कुपन्डोलस्थित ओढनी बुटिक ४ वर्षमै ब्राइडल ग्राहकमाझ लोकप्रिय बुटिकका रूपमा स्थापित भैसकेको छ । ओढनीकी डिजाइनर खुश्बु डंगोल विवाहका अवसरमा भिन्न र आकर्षक देखिन चाहने युवतीहरू बुटिकसम्म पुग्ने कुरा बताउँछिन् । यसपटक ब्राइडल वेयरमा गत वर्षको जस्तो बोर्डर राखिएको साडी-लेहेंगाको फेसन आउट भएको छ । अहिले दुलहीहरूमाझ बोर्डर नराखिएका हेभी सल, हेभी ब्लाउज तथा प्लेन लेहेंगा लोकप्रिय छ । यसपटक फ्लेयर बढी भएको लेहेंगा चल्तीमा छ जसमा ओपन हेभी चोली बनाइन्छ । यस्तो लेहेंगाको चोलीमा हेभी इम्ब्रोइडरी गरेर ब्राइडल लुक्स देखाउन खोजिएको देखिन्छ । ब्राइडल साडी तथा लेहेंगाका लागि कोरियन नेट प्रयोग गरिएको डंगोल बताउँछिन् । नेटका साथमा भेल्भेट तथा ब्रोकेटबाट पनि दुलहीका पहिरन पारिन्छ जसमा जरी, टप्को तथा स्टोनले इम्ब्रोइडरी गरिन्छ । दुलहीहरू पहिलेभन्दा धेरै आधुनिक भएकाले मागअनुसार ओढनीले गोल्डेन, अफ ह्वाइट, बेबी पिंक, अरेन्ज तथा ग्रिन लेहेंगा एवं रेड भेल्भेटका डिजाइनर चोलीहरू बनाइरहेको छ । त्यसमा सल निकै हेभी हुन्छ । यसपटक ओढनीको ब्राइडल वेयरमा भेल्भेटको हेभी ब्लाउज, सल एवं प्लेन लेहेंगा डिजाइन गरिएको छ । ओढनीमा १७ हजारदेखि ३ लाख रुपैयाँसम्मका ब्राइडल वेयर उपलब्ध छन् ।

मञ्जु बञ्जारा, डिजाइनर

कुपन्डोलका दर्जनौं बुटिकमाझ आफ्नो छुट्टै पहिचान बनाई अघि बढिरहेको बुटिक हो- ड्रिम वेयर । अहिले धेरै बुटिकमा रेडिमेड, प्याच वर्क तथा बोर्डर राखेर डिजाइन गर्ने चलन बढी भए पनि ड्रिम वेयर एउटा यस्तो बुटिक हो, जसमा रेडिमेड पहिरन राखिँदैन, ह्यान्ड वर्कलाई नै प्राथमिकता दिइन्छ । ड्रिम वेयर ब्राइडल वेयरका लागि रुचाइएको बुटिक हो । यहाँ भेल्भेटको ह्यान्ड वर्क गरिएको लेहेंगाको माग उच्च छ । वर्षैपिच्छे डिजाइनमा मोडिफाइ गरेर अर्थात् नयाँपन दिएर भेल्भेटको लेहेंगा तयार पारिन्छ । शुभ रंगका रूपमा रातै रंगलाई प्राथमिकता दिने मञ्जुका ब्राइडल वेयरमा नेपालीपन झल्कन्छ । डिजाइनर बञ्जाराका अनुसार यसपटकको ब्राइडल वेयरमा भेल्भेटको लेहेंगालाई प्राथमिकतामा राखिएको छ । जसमा कपडा तथा भराइको शैली नेपाली तर हेर्दा वेस्टर्न लुक्स देखिन्छ । यहाँ नेपाली परम्पराअनुसार पहिले दुलहीका लागि चोखो मानिने बावरलेटको साडीजस्तै दुलहीका लागि नेटकै मात्र साडी बनाइन्छ । त्यसमा धेरै किसिमका बुट्टा र डिजाइन निकालिएको छ । लेहेंगा भने भेल्भेटबाहेक नेट तथा ब्रोकेटमा पनि तयार पारिन्छ । ब्राइडल वेयरमा मोती, कार्चोपी, स्टोन, सितारा, धागो, जरी, रेसम आदिले इम्ब्रोइडरी गरिन्छ । अहिले कम मूल्यमा राम्रो खोजिने हुँदा ड्रिम वेयरले त्यस्तै पहिरनलाई आफ्नो प्राथमिकतामा राखेको छ । दुलहीको पहिरनमा जुत्ता, ब्याग, बेल्टका साथै घुम्टीसहितको सेट नै उपलब्ध हुन्छ । ड्रिम वेयरमा पाइने दुलहीका पहिरनको मूल्य २० हजारदेखि ९० हजारसम्म पर्छ ।

विशाल कपूर, डिजाइनर

भारतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका फेसन डिजाइनर विशाल कपूर अहिले नेपालीहरूको पहिरन डिजाइन गर्दैछन् । विशाल दुई वर्षअघि खुलेको श्वेता सिरोहियाको पनास रनवे बुटिकका डिजाइनर हुन् । एलिगेन्ट र वान पिस डिजाइनमा बन्ने उनका पहिरन कहिल्यै दोहोरिँदैनन् । एउटा ब्राइडल वेयर एक पिसभन्दा बढी नबनाइने हुँदा यहाँका पहिरन अरूभन्दा केही महँगा लाग्न सक्छन् । विवाहमा आफूले लगाएको पहिरन युनिक होस्, त्यस्तै पहिरन अरू कसैको नहोस् भन्ने चाहना राख्नेहरूका लागि पनास रनवेको ब्राइडल वेयर पहिलो च्वाइस हुन सक्छ । विशाल कपूरले नेपालीहरूको रुचिमा ध्यान दिँदै रातो, हरियो तथा पिंक रंगमा ब्राइडल वेयर डिजाइन गरेका छन् । कपूरले केही फ्युजन अरेन्ज तथा पिंक कम्बिनेसनमा मिक्स गरेर मुगल इम्ब्रोइडरी जर्दोजी र सरोस्की क्रिस्टलमा साडी एवं लेहेंगा तयार पारेका छन् । कपूरले तयार गरेका ब्राइडल लेहेंगामा हेभी लेहेंगा, हेभी सलमा सिम्पल चोली समावेश हुन्छन् । विशाल कपूरले पूरै हेभी लेहेंगा पनि तयार पारेका छन् । व्यक्तिको रुचिअनुसार पहिरन डिजाइन गर्ने कपूरले पहिरनमा प्रयोग गर्ने इम्ब्रोइडरी युनिक हुन्छ । पनास रनवेमा ८० हजारदेखि ४ लाखसम्मका ब्राइडल वेयर उपलब्ध छन् ।

प्रेमदेव, डिजाइनर

डिजाइनर प्रेमदेवको काठमाडौं यट्खास्थित टिपाज क्रियसनमा ब्राइडलका लागि साडीभन्दा पनि लेहेंगा बनाउन आउनेहरू बढी छन् । यहाँ नेटमा भेल्भेटको बोर्डर तथा चोलीमा हेभी वर्क गरेर ब्राइडल वेयर तयार पारिन्छ । बुटिकमा आममानिसले पैसा तिर्न गार्‍हो मान्ने भएकाले देवले आरम्भ कलेक्सन पनि खोलेका छन् जहाँ भारतबाट सुलभ मूल्यका तर रिच तथा इलिगेन्ट देख्ने ब्राइडल वेयरहरू ल्याइन्छ । नेपालमा त्यही पहिरन ह्यान्ड वर्क गराउँदा कालिगढका कारण महँगो पर्ने भएकाले त्यस्ता पहिरन उतै बनाएर नेपाल ल्याइएको हो । प्रेमदेवका अनुसार अहिले ३ पिस लेहेंगा, बाहिर आउटर भएको लेहेंगा, साडीमा डप्का वर्क, स्टोन वर्क तथा फिक्स साडीको माग बढी छ । राम्रो व्यवहार तथा सस्तो पहिरन पाइने हुँदा प्रेमदेवको टिपाज एवं आरम्भ दुवै ब्राइडल वेयरका लागि रुचाइएको आउटलेटका रूपमा स्थापित हुन सफल छ । प्रेम फेब्रिकमा डुवियन सिल्क, नेट, क्रेप, सिल्क, जर्जेट आदिसँग खेल्न रुचाउँछन् भने कलरमा रातोबाहेक रानी, गोल्डेन, पिच कलर बढी प्रयोग गर्छन् । अहिले गोल्डेन कन्ट्रास्ट, अरेन्जमा ग्रिनको कम्बिनेसन पनि रुचाइएको डिजाइनर प्रेमदेव बताउँछन् । टिपाजमा प्रेमले डिजाइन गरेको ब्राइडल वेयरका मूल्य १० हजारदेखि डेढलाख सम्म पर्छ भने आरम्भमा उपलब्ध रेडिमेड ब्राइडल लेहेंगा तथा साडीको ७ हजारदेखि ५० हजारसम्म पर्छ ।

सिर्जनशील राजेश

साधारण देखिने राजेश घिमिरे बाल्यकालदेखि नै रंगसँग खेल्न रुचाउँथे । त्यसो त त्यतिबेलै उनी स-साना  चित्र कोरेर साथीभाइहरूलाई बेच्थे । उनी त्यसबाट आफ्नो टिफिन चलाउँथे । घिमिरेको रंगसँगको उक्त सम्बन्धले उनलाई मेकअप गर्ने कला रोज्न उत्साहित बनाएको तथा उनको त्यही कला समयसँगै झाँगिएको हुनुपर्छ । खोटाङमा जन्मिएका राजेशको बाल्यकाल निकै सुखसँग बित्यो । शिक्षण पेसामा आबद्ध उनका बुवाले आफ्ना सन्तानलाई कुनै पनि कुराको कमी हुन दिएनन् । सन्तानमध्येका सबैभन्दा कान्छा राजेश खेल्न औधी मन पराउँथे । कुनै विशिष्ट मानिसका विषयमा सुन्दा आफू पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने सपना बुन्थे । नेपालकै लोकप्रिय मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस राजेशको जीवनमा धेरै आरोह-अवरोह आए ।

यहाँसम्म आइपुग्दाको कथा सुन्दा उनले आफ्नो खुट्टामा आफै उभिन निकै संघर्ष गरेको अनुभव हुन्छ । फाइन आर्ट पढ्न काठमाडौं जाने आफ्नो मनसायमा बुवाले  सहमति नदिए पनि राजेश अटेर गरी काठमाडांै आए । ललित कला क्याम्पसमा उनले फाइन आर्ट अध्ययन गरे । राजेशका बुवा सरकारी जागिरलाई नै प्राथमिकता दिन्थे फलस्वरूप राजेशले मेची अञ्चल अस्पतालमा १ वर्ष ल्याब टेक्निसियनका रूपमा काम गरे । यद्यपि उनी त्यहाँ रम्न सकेनन् । उक्त जागिरलाई उनले बीचमै बिट मारे । त्यसपछि उनलाई केही समय विदेश जाने हावाले छोयो । त्यही परिप्रेक्ष्यमा उनले सौन्दर्यसम्बन्धीे तालिम लिए । सुरुमा उनले नेपालमै तालिम हासिल गरे । त्यसलगत्तै दिल्ली पुगेर सिल्भी इन्स्िटच्युटमा भर्ना भए ।

उक्त तालिमपछि राजेशले केही समय हायत रिजेन्सीको सैलुनमा काम गरे । काम गर्दागर्दै यत्तिले मात्र नपुग्ने रहेछ भन्ने अनुभव गरी उनी आफूलाई अझ परिस्कृत गर्न थाइल्यान्ड पुगे । के भन्डरनी, ग्र्रान्डिनी तथा नीरनरात आदि विश्वव्यापी रूपमा लोकप्रिय संस्थाहरूबाट तालिम लिएपछि राजेशले आफूलाई कामका लागि परिपक्व भएको महसुस गरे । जुन काम गरे पनि उत्कृष्ट काम गर्न मन पराउने राजेश मेकअपमा आफ्ना ग्राहकलाई शतप्रतिशत सन्तुष्टि प्रदान गर्छन् ।  सुरुमा उनको पार्लर आर्डेन दि ब्युटी प्वाइन्ट जोशी कम्प्लेक्समा थियो । पार्किङ तथा अन्य समस्याका कारण राजेशले ३ वर्षपछि आफ्नो पार्लरलाई कानदेवतानजिक स्थानान्तरण गरे । आर्डेनले सौन्दर्यका क्षेत्रमा ७ वर्ष पूरा गरिसकेको छ । राजेशसँगै उनको ब्युटी प्वाइन्ट पनि निरन्तर सफलता हासिल गर्दै अघि बढिरहेको छ । राजेशको ब्युटी प्वाइन्टमा छालाबाहेक अरु सौन्दर्य सेवा पनि प्रदान गरिन्छ । राजेशलाई अहिले भ्याइनभ्याइ छ । अझ विवाहको मौसममा त उनलाई सास फेर्नेसम्म फुर्सद हुँदैन । जसले राजेशसँग एकपटक मेकअप गराउँछन् उनीहरू उनीकहाँ दोहोर्‍याएर आउँछन् । गुणस्तरमा विश्वास गर्ने राजेश शृंगार गर्दा गुणस्तरीय कस्मेटिक प्रयोग गर्छन् । झारा नटारी निकै समय खर्च गरेर मेकअप गर्छन् । उनको मेकअप पृथक् तथा लाइट हुन्छ ।

राजेशको विशेषता भनेको लाइट तर स्पेशल मेकअप  हो । ब्राइडल मेकअपमा उनको आफ्नै प्रकारको वर्चश्व छ । आफ्नो करियरको आधा दशकमा उनले सयकडौं महिला तथा पुरुषको अनुहार सिंगारिसकेका छन् । राजेश नेपालमा पहिलो पटक आयोजित ब्राइडल मेकअप प्रतियोगिता-२००७ का विजेता पनि हुन् । जसमा उनले धेरै ब्युटिसियनलाई उछिनेर प्रथम स्थान हासिल गरेका थिए । हरेक वर्ष आयोजना हुने फेसन विकमा उनी केश सज्जा गर्छन् । त्यसबाहेक उनले थुप्रै सेलिब्रेटिलाई आफ्नो हातले सजाइसकेका छन् । आफ्नो काम तथा फरक मेकअपका कारण आफू यहाँसम्म आइपुगेको राजेश बताउँछन् । आफू एवार्ड भन्दा पनि आफ्नै काममा फोकस भएको उनको तर्क छ । उनको एकमात्र उद्देश्य आफ्नो काममा उत्कृष्ट परिणाम दिनु हो ।

व्यस्त जीवनलाई बुझेर उनलाई साथ दिने उनकी जीवन संगिनी पनि राजेशको जीवनको महत्वपूर्ण हिस्सा हुन् । राजेशको विश्वास छ-कुनै पनि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहे एक दिन त्यसको कदर हुँदो रहेछ । सुरुका दिनमा सौन्दर्य क्षेत्रमा काम गर्न उनलाई केही असहज पनि थियो । आफू बुझेर यो क्षेत्रमा आए पनि आफूकहाँ आउने ग्राहकहरू अलमल्लिने, खिसी गरेजस्तो गर्थे तर ती सबै कुरालाई उनले जीवनको शिक्षा मानेर अघि बढे, फलस्वरूप राजेशले अहिले नाम र दाम दुवै कमाइरहेका छन् । राजेश भन्छन्,

'मलाई यत्तिले पुगेको छैन । समयले मलाई धेरै परिपक्व बनाएको छ । समयसँगै मैले आफूलाई परिवर्तन गर्दै लगेको छु । सौन्दर्य क्षेत्रमा तीव्र गतिमा परिवर्तन भैरहेको छ । त्यसैले मैले निरन्तर अपटुडेट भैरहनुपर्छ ।'

र्‍यापिड फायर

मेकअप के हो ?

वर्तमान समयमा जीवनको महत्वपूर्ण अङ्ग जसले आफ्नो विकनेसलाई लुकाउन सघाउँछ ।

मेकअपले के दिन्छ ?

जब मानिसले ऐनामा आफूलाई सुन्दर देख्छ तब ऊ भित्री रूपमा निकै खुसी हुन्छ ।

कुन बेला रिस उठ्छ ?

सार्वजनिक रूपमा हेप्ने मान्छेसँग ।

आफ्नो कमजोरी केलाई मान्नुहुन्छ ?

समयअनुसार आफूलाई बदल्न नसक्नु ।

केसँग डर लाग्छ ?  

स्वास्थ्यसँग ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

पेन्टिङ बनाउँछु ।

के सिक्ने मन छ ?

मादल बजाउन ।

भावी योजना के छ ?  

काम गर्दै जान्छु तर योजना बनाउँदिन ।

कुन कुराले सुखी  बनाउँछ ?

मेकअपपछि जब मानिसहरूले खुसी हुँदै धन्यवाद दिन्छन् ।

मेकअपका सबैभन्दा महत्वपूर्ण तत्व के हुन् ?

अरू कुरा जति महत्वपूर्ण भए पनि गाजल तथा लिपिस्टिकले मेकअप खुल्छ ।

अन्त्यमा

आफ्नो काम आफ्नै ढंगले अघि बढाउन भगवान्ले सदैव साथ दिऊन् ।

माई मेकअप सिक्रेट

- राजेश घिमिरे

वर्तमान परिप्रेक्ष्यमा मेकअप अपरिहार्य तत्व हो । हिजोआज महिला मात्र होइन पुरुषहरू पनि मेकअप गर्न रुचाउँछन् । मेकअपले अनुहारका कमी-कमजोरीहरू लुकाउने काम गर्छ । मेकअपले सुन्दर अनुहारमा रौनक थप्छ । त्यसैले अहिले सबै उमेर र वर्गका मानिसहरू मेकअप गर्न रुचाउँछन् । अहिले बजारमा मेकअपका विविध प्रसाधन भित्रिएका छन् । मेकअपको सबैभन्दा बढी महत्व विवाहको दिन दुलहीका लागि हुन्छ । दुलही हुने दिन जुनसुकै युवती आफूमा अपूर्व सौन्दर्य झल्कियोस् भन्ने चाहन्छन् र हरसम्भव आकर्षक देखिने उपाय अपनाउँछन् । युवतीहरू परफेक्ट दुलही देखिन सौन्दर्यविद्हरूको हातबाट मेकअप गराउँछन् । दुलहीको मेकअप अन्य मेकअपभन्दा फरक हुन्छ । दुलहीको मेकअपमा रातो रंग बढी प्रयोग हुन्छ । लामा-लामा कार्यक्रम हुने भएकाले दुलहीको मेकअप टिकाउ एवं प्राकृतिक हुनुपर्छ ।

मेकअप गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू

-    आफू जाने कार्यक्रमका बारेमा थाहा हुनुपर्छ ।

-    स्थानको पनि जानकारी हुनुपर्छ ।

-    आफू केका लागि तयार हुने हो त्यो पनि थाहा हुनुपर्छ ।

-    मेकअपका लागि अनुहारको फिचर, छालाको प्रकार, आँखाको आकार, आइब्रो, गालाको हड्डी आदिमा ध्यान दिनुपर्छ ।

-    कस्तो खालको पहिरन छ, सोहीअनुरूप मेकअप गर्नुपर्छ ।

-    मेकअप गहनाअनुसार सुहाउने हुनुपर्छ ।  

-    आफ्नो व्यक्तित्वमा रहेका कमी-कमजोरी हटाई सबल पक्षलाई उजिल्याउनुपर्छ ।  

    मेकअप सुरु गर्नुभन्दा पहिले आइब्रो तथा अनुहारका अनावश्यक रौं हटाउनुपर्छ । त्यसपछि अनुहारमा चायाँ, डन्डिफोर, एलर्जी आदि छ-छैन ध्यान दिनुपर्छ । अनुहारको प्रकृति पहिचान गर्नुपर्छ । कस्तो मेकअप गर्ने हो स्पष्ट हुनुपर्छ । फिनिसिङ भएपछि कस्तो देखिने हो मेकअपअघि नै थाहा हुनुपर्छ ।

रिसेप्सन मेकअप

विवाहको दिन दुलहीहरू सेलिब्रेटीझैं देखिन चाहन्छन् । उनीहरू आफ्नो केश नयाँ तरिकाको र आँखाको मेकअप पनि स्मोकी होस् भन्ने चाहन्छन् । उनीहरू आफ्नो लुक कन्टेम्पोररी तर रेड कार्पेटमा उत्रने खालको होस् भन्ने चाहन्छन् । मेकअपले मानिसहरूमा कन्फिडेन्ट जगाउँछ । त्यसैले रिसेप्सन मेकअपका लागि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ । आफूमा आत्मविश्वासको कमी भए मेकअप फितलो देखिन्छ ।

-    रिसेप्सन पार्टी प्राय: साँझदेखि राति अबेरसम्म हुने हुँदा नाइट मेकअपमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    पार्टी हुने ठाउँमा बढी तामझाम हुने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ ।

-    पहिरन कस्तो प्रकृतिको छ लाइट, एलिगेन्ट आदिले पनि कस्तो मेकअप गर्ने निर्धारण हुन्छ ।

-    रिसेप्सन मेकअप लामो समयसम्म टिक्ने खालको हुनुपर्छ ।

-    रिसेप्सनका लागि गरिएको मेकअपको कुनै साइड इफेक्ट हुनु हुँदैन ।

मेकअपअघि

-    अनुहारमा क्लिजिङ, मोस्चराइजिङ गर्नुपर्छ । त्यसपछि एच डी प्राइमर प्रयोग गर्नुपर्छ । अनुहारका रोमछिद्र अलिक ठूला छन् भने फललेस फिनिसिङका लागि अनुहारको पोर लुकाउनुपर्छ ।

-    लाइट वेट, लाइट कलर तथा लङ लास्टिङ एच डी फाउन्डेसन प्रयोग गर्नुपर्छ ।

-    अनुहारमा फाउन्डेसन ब्लेन्डिङ गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    कन्सिलर प्रयोग गर्नुपर्ने अनुहार छ भने त्यसलाई पनि प्रयोगमा ल्याउनुपर्छ ।

-    त्यसपछि एच डी लुस पाउडर तथा कम्प्याक्ट प्रयोगमा गर्नुपर्छ । आँखा, चिकबोन एवं जलाइनमा ध्यान दिनुपर्छ ।

-    आई मेकअप गर्नुअघि सिमर, म्याट वा सेमी कस्तो मेकअप गर्ने क्लियर हुनुपर्छ अनि सोहीअनुरूप आइस्याडो प्राइमर लगाउनुपर्छ ।

-    दुलहीको चाहना भए आँखाको सेप, पहिरन एवं उत्सवअनुरूप आई मेकअप गर्नुपर्छ । आइब्रोलाई सोहीअनुरूप सेप दिनुपर्छ ।

-    ओठलाई उत्कृष्ट सेप दिन लिप कलर, सेड, लिक्विड जेल, पेन्सिल, बाम आदि सबैमा उत्कृष्ट ब्रान्डकै प्रसाधन प्रयोग गर्नुपर्छ ।

-    मेकअपपछि फिनिसिङ स्प्रे पनि निकै महत्वपूर्ण हुन्छ ।

-    रिसेप्सन मेकअपलाई मोर्डन फिनिसिङ दिनुपर्छ ।

मुख्य ब्राइडल मेकअप

-    ब्राइडल मेकअप एलिगेन्ट, ट्रान्सपरेन्ट, फ्रेस तथा जवान देखिने खालको हुनुपर्छ ।

-    प्राइमर प्रयोग गर्नुपर्छ ।

-    एच डी फाउन्डेसनको डबल कोट लगाएर त्यसलाई राम्रोसँग ब्लेन्ड गर्नुपर्छ ।

-    पाउडर पनि डबल कोट प्रयोग गर्नुपर्छ ।

-    अनुहारमा साइन आवश्यक हुन्छ । त्यसैले चिकबोनमा ब्रोन्ज प्रयोग गर्नुपर्छ ।

-    आई मेकअप सफा, स्वस्थकर एवं लामो समयसम्म टिक्ने खालको हुनुपर्छ । गाजललाई डबल कोट लगाउनुपर्छ । गाजलको एक कोट लगाएपछि अर्को कोट १० मिनेटपछि  लगाउनुपर्छ ।

-    लामो समयसम्म टिक्ने खालको लिपिस्टिक प्रयोग गर्नुपर्छ ।

-    अन्त्यमा फिनिसिङ स्प्रे छर्कनुपर्छ ।

 

 Image