Successfully Copied

प्रभावशाली जया

३३ वर्षको उमेरमा प्रभावशाली तथा उत्कृष्ट महिलाहरूको सूचीमा परेकी पत्रकार एवं महिला अधिकारकर्मी जया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मै

३३ वर्षको उमेरमा प्रभावशाली तथा उत्कृष्ट महिलाहरूको सूचीमा परेकी पत्रकार एवं महिला अधिकारकर्मी जया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मै लोकप्रिय तथा सफल महिला हुन् । जया अहिले बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी) ले सन् २०१४ का लागि गरेको संसारभरका सय महिलाको सूचीमा अटाएकी छिन् । कला, साहित्य एवं राजनीतिजस्ता पेसामार्फत महिला सशक्तीकरणमा महत्वपूर्ण प्रभाव पार्ने महिलाहरूलाई विश्वभरिबाट छनोट गरी बीबीसीले सन् २०१४ देखि प्रत्येक वर्ष सय जना उत्कृष्ट महिलाको सूची  सार्वजनिक गर्न थालेको छ । यस्तो सूचीमा पर्ने उत्कृष्ट महिला लुइँटेल आज यो ठाउँमा आइपुग्न उनले लामो समय महिलाहरूका लागि उठाएको आवाज नै मुख्य आधारशीला हो । विगत १५ वर्षअघि रेडियो सगरमाथाबाट पत्रकारिता सुरु गरेकी जया महिलाहरूको आवाज तथा उनीहरूको कथा बोकेको 'द स्टोरी किचन' की संस्थापक अध्यक्ष पनि हुन् ।

साहसी शर्मिला

जीवन भन्नु नै अरूको सेवामा समर्पित हुनु हो भन्ने शर्मिला श्रेष्ठ एकपटक पाएको सुन्दर जीवनमा आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाउन चाहन्छिन् । उनी जीवनलाई एउटा यात्रा मान्छिन् जहाँ कयौं सुख-दुःख र उकाली-ओरालीको सामना गर्नुपर्ने हुन्छ । आमा शोभा र बुवा शम्भु श्रेष्ठको अभिभावकत्वमा हुर्किएकी शर्मिला प्रसूतिगृहमा जन्मिएकी हुन् । इन्द्रेणी गु्रपकी साझेदार शर्मिला त्यहाँको सम्पूर्ण वित्तीय कारोबार सम्हालिरहेकी छिन् भने कुमारीपाटीस्थित इन्द्रेणी टेम्पल प्रि-स्कुल पनि उनकै मातहतमा चलिरहेको छ । लामो समयदेखि व्यवसाय सम्हालिरहेकी एक छोरीकी आमा शर्मिला आइरिस ब्युटिपार्लरकी सञ्चालिका पनि हुन् । यात्रामा रुचि भएकी श्रेष्ठ भविष्यमा महिला एवं बालबालिकाको हितमा सामाजिक कार्य गर्ने योजनामा छिन् । सफल व्यवसायका लागि राम्रो सेवा दिनुपर्ने कुरा बताउँदै शर्मिला भन्छिन्-'हामीलाई हस्पिटालिटी र हाइजिन इन्भारमेन्टले सफलता दिलाएको हो । त्यसकै परिणामस्वरूप आज हामी एउटा राम्रो ब्रान्डका रूपमा स्थापित हुन सकेका छौं ।'

युनेस्को युथ पिस एम्बास्डर डोल्मा

डोल्मा लामा अमेरिकन युनिभर्सिटी सोभेरियन संघले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा शान्ति राजदूतहरूको सात दिने कार्यशाला गोष्ठीमा नेपालका तर्फबाट सहभागी भइन् । विभिन्न राष्ट्रका युवाहरूका बीचमा शैक्षिक, सांस्कृतिक, आर्थिक  एवं सामाजिक विकाससम्बन्धी अनुभव आदान-प्रदान गर्ने र शान्ति निर्माणको प्रक्रियामा युवाहरूलाई जिम्मेवार बनाउँदै विभिन्न सामाजिक प्रश्नमा अन्तर्राष्ट्रिय बहस, छलफल गर्दै कार्ययोजना निर्माण गरी आ-आफ्नो देशको सामाजिक एवं पर्यटकीय विकासको क्षेत्रमा सहयोग पुर्‍याउन युवाहरूलाई प्रोत्साहित गर्नु उक्त कार्यक्रमको उद्देश्य थियो । शान्ति मानव समाजको विकास एवं प्रगतिका लागि अपरिहार्य आवश्यकता हो तथापि अहिले विश्वमै हिंसा, अशान्ति एवं भयको वातावरण भएको डोल्मा बताउँछिन् ।

डोल्मा भन्छिन्-शान्तिको पूर्वाधार विकासले युवाहरूमा विश्वास र सद्भाव मात्र नभएर आफ्नो समुदायभन्दा बाहिरका मानिससँग सम्बन्ध बिस्तार गरेर उनीहरूको क्षितिज फैलाउन सहयोग पनि गर्छ । युवाहरूलाई जागिर, विश्वास र आत्मसम्मान विकासको तालिम दिइए शान्तिका लागि ठूलो योगदान पुग्नसक्छ ।

 

 

 Image