Successfully Copied

आफ्नै कुरा

नारी आफ्नो प्रकाशन यात्राको १४ औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा अनेकौं आरोह-अवरोह आत्मसात् गरिसकेको यो पत्रिकाले आफ्नो कर्तव्य निर्वाह गर्ने

नारी आफ्नो प्रकाशन यात्राको १४ औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा अनेकौं आरोह-अवरोह आत्मसात् गरिसकेको यो पत्रिकाले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कुनै सम्झौता गरेको छैन । हरेक वर्गका नेपाली महिलाको माया र साथ पाएर आजको अवस्थासम्म आइपुग्दा नारी टिमले अनेकन अनुभव संगाल्ने अवसर पाएको छ । आमनेपाली महिलाको सुख-दु:खसँग साक्षात्कार गर्दै अघि बढ्न पाउनुलाई नारी टिमले आफ्नो सौभाग्यका रूपमा लिई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने अठोट गरेको छ । १४ औं वर्ष प्रवेशका अवसरमा फरक-फरक पेसा एवं व्यवसायसँग आबद्ध महिलाहरूको नारीसम्बन्धी राय :

आरजु देउवा, नेतृ नेपाली कांग्रेस तथा महिला अधिकारकर्मी

नारी पत्रिकाले महिलाहरूको पढ्ने तथा  सोच्ने  दृष्टिकोणमा परिवर्तन ल्याएको छ । कुनै समय आफू पनि यसको एउटा अंग हुन पाएकोमा मलाई गर्व लाग्छ । नारीले निरन्तर सफलता प्राप्त गरिरहेको छ । अहिले घरघरमा नारी छाएको मेरो अनुभव छ । युवतीदेखि वयस्कसम्मका लागि यसका लेखहरू निकै उपयोगी छन् । नारी पढेपछि हरेक तह एवं तप्काका महिलाहरूका विषयमा जानकारी पाइन्छ । नारीले महिलाहरूको बहुपक्षीय समस्या, दृष्टिकोण तथा भनाइहरू समेटेको छ । यसमा मनोरञ्जक मात्र होइन बौद्धिक खुराक पनि हुन्छ । नारीले महिला सशक्तीकरण तथा महिला मुद्दाहरूलाई अझ बढी स्थान दिनुपर्छ । यसले महिलाहरूको जीवनशैलीमा क्रान्ति ल्याएको छ । नियमित नारी पढ्ने जोकोही हरेक पक्षको जानकार हुन्छ । नेपाली समाजमा के-कस्तो परिवर्तन आइरहेको छ नारी पढेपछि स्पष्ट हुन्छ । नारीमा अझ पठनीय लेखहरूले स्थान पाउनुपर्छ ।

चित्रलेखा यादव, शिक्षा मन्त्री

नारी मासिकले नेपाली महिलाहरूको चाहना पूरा गरिदिएको छ । यो नेपाली नारीहरूलाई लक्षित गरी बजारमा आएको सर्वाधिक लोकपि्रय पत्रिका हो । यसले नेपाली महिलाहरूको प्रतिनिधित्व गर्छ । यसले महिलाहरूको सकारात्मक पक्षलाई प्रमुखताका साथ उजिल्याउने गरेको छ । यसले महिलाहरूको पहिचान बनाउन सहयोगीको भूमिका खेलेको छ । यसमा महिलाहरूका लागि चाहिने हरेक विधाका लेख पढ्न पाइन्छ । नारी १४ वर्ष पुगेको अवसरमा यसलाई उत्पादन गर्ने संस्था एवं यसको टिमलाई हार्दिक बधाई । यसरी कुनै पनि पत्रिका लामो समयसम्म सबैको पि्रय बन्नु चानचुने कुरा होइन । नारी सधैं सबैको पि्रय पत्रिका बनोस् । नारीले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि सफलता प्राप्त गरोस्- हार्दिक शुभकामना ।

प्रतिभा राणा, नेतृ राप्रपा

सुरुवाती दिनमा यो पत्रिकाले प्रतिभाशाली, सामाजिक क्षेत्रमा परिचित तथा चर्चामा रहेका  महिलालाई उल्लेख्य स्थान प्रदान गरेको पाइएको थियो । बीचको केही समय र अहिले नारी अलि बढी ग्ल्यामरस हुँदै गएको हो कि भन्ने लाग्छ । त्यसो त फेसन, शृंगार, खानपान पनि हामी महिलाका लागि उत्तिकै आवश्यक चीज हुन् तर अब हामी नेपाली नारीले ती कुराभन्दा माथि उठेर सामाजिक परिवर्तन, राजनीतिक चेतना, महिला सशक्तीकरण एवं निर्णायक तहमा महिलाको सहभागिताजस्ता विषयमा सचेत हुनुपर्ने बेला आएको छ । नारीले उठाएका कतिपय गम्भीर मुद्दा तथा विषय अत्यन्त उल्लेखनीय छन् । भविष्यमा पनि महिलालाई निर्णायक तहसम्म पुर्‍याउन यसले ठूलो भूमिका खेल्नेछ भन्ने विश्वास लिएकी छु । चौधौं वाषिर्कोत्सवको अवसरमा नारी अझ परिस्कृत एवं परिमार्जित हुने कामना गर्दछु ।

राधा ज्ञवाली, ऊर्जा मन्त्री

नारी मासिकले नेपाली महिलाको समग्र आयाममा प्रशंसा, उत्प्रेरणा एवं चेतना अभिवृद्धिको काम गर्दै आएको छ । विगतमा नारीसम्बन्धी कतिपय विषयमा यसले खेलेको भूमिका एवं त्यसको प्रभाव बिर्सिनसक्नु छन् । उच्च राजनीतिक तहमा होस् वा समाजका सूक्ष्म विषयमा नारी मासिकले महिलाका पक्षमा उठाएको आवाज सम्मानजनक छ भने त्यसको परिणाम पनि निक्कै सकारात्मक छ । आगामी दिनमा अझ बृहत् क्षेत्र समेट्दै नारी नेपाली महिलाको प्रगति, उन्नति एवं सफलतामा कोशेढुंगा साबित होस् । नारीको वाषिर्कोत्सवको अवसरमा यसको समय सापेक्ष परिवर्तन तथा निरन्तरताको शुभकामना ।

विनीता कार्की, अधिवक्ता तथा केन्द्रीय सदस्य

नेपाल बार एसोसियसन

महिलासम्बद्ध कानुनी मुद्दामा नारी मासिकले उठाएका कतिपय विषय प्रशंसनीय छन् । यति धेरै क्षेत्र र विषय समेटिएको महिलाहरूको मात्र पत्रिका नेपालमा कमै छन् । महिलाका कानुनी अधिकार एवं त्यसले पार्ने प्रभावका विषयमा पनि नारीले बुलन्द आवाज उठाएको पाइन्छ । जसको फलस्वरूप कतिपय मुद्दामा सफलता पनि प्राप्त भएको छ । कानुनीबाहेक अन्य थुप्रै क्षेत्रसँग सम्बन्धित विषयमा नारीले उठाएका प्रश्नले समाजमा पारेको सकारात्मक प्रभाव तथा तिनले ल्याएका परिवर्तन उल्लेखनीय छन् । आगामी दिनमा नारी अझ सशक्त एवं विविधताले भरिपूर्ण हुनुपर्छ ।

आन्विका गिरी, साहित्यकार तथा लेखिका

नारी पत्रिका मेरो रोजाइको पत्रिका नभए पनि यसका केही सुरुवाती अंक मैले पढेकी छु । नारीका लागि प्रकाशित हुने आमपत्रिका झैं यो पनि घर कसरी सजाउने, खाना कसरी पकाउने र छाला कसरी चम्काउने जस्ता विषयमैकेन्दि्रत भएपछि म निराश भएँ । यसै पनि महिलाहरूलाई महिला मात्रका विषयमा केन्दि्रत भएको भन्ने आरोप लाग्छ जसलाई नारीजस्ता पत्रिकाले थप बल पुर्‍याउँछन् ।

माया शेर्पा, हिमाल आरोही

नारी मासिकले नेपाली महिलामा कस्तो प्रभाव पारेको छ भन्ने कुरा म आफैंले प्रत्यक्ष रूपमा अनुभूति गर्न पाएकी छु । पाकिस्तानको के टु आरोहणमा जानुअघि हाम्रो टोलीका बारेमा नारीमा प्रकाशित अन्तर्वार्तासहितको एक्सक्ल्युसिभ लेखले हामीलाई उक्त यात्रामा जान थप पे्ररित मात्र गरेन हामी सफल पनि भएर फर्कियौं । मिडियामा आइसकेपछि एकप्रकारको ऊर्जा मिल्ने त छँदैछ त्यसले दबाब पनि सिर्जना गर्दोरहेछ, जसले लक्ष्यसम्म पुग्न आँट तथा साहस पनि प्रदान गर्‍यो । हाम्रा विषयमा प्रकाशित एउटा लेखले त हामीमा यति ठूलो प्रभाव पर्‍यो भने नारीले चौध वर्षमा निरन्तर उठाइरहेका विषयले कतिलाई प्रभाव पार्‍यो होला सहजै आँकलन गर्न सकिने कुरा हो । नारी मासिक आफ्नो यही भूमिका एवं प्रभावका कारण यति लामो समयसम्म एउटै गतिमा अघि बढ्न सफल भएको हुनुपर्छ ।

अबनी मैनाली भट्टराई, उप-सचिव, रक्षा मन्त्रालय

नारीमा पकवान, फेसन तथा ग्ल्यामर बढी भएजस्तो लाग्छ । फुर्सदका बेला हेरिन्छ,  मैले अहिलेसम्म नारी किनेर पढेकी छैन । आगामी दिनमा बौद्धिक पक्ष समेटियो भने किनेर पढ्नेछु । म नारी मासिकलाई संचार जगत्मा महिलाका लागि उदाएको नयाँ आयामका रूपमा लिन्छु । यसले नारी विकास एवं सशक्तीकरणमा ठूलो भूमिका निर्वाह गर्न सक्ने कुरामा दुईमत छैन । पत्रपत्रिकाले प्रेरणा दिने कन्टेन्टकै माध्यमबाट हो ।

सविता चौधरी, खेलाडी एथलेटिक्स

हरेक अंक नपढे पनि म प्राय: नारी पढिरहेकी हुन्छु, एकदमै राम्रो लाग्छ । महिलाका हरेक क्षेत्र समेट्ने नारीले खेलकुदलाई भने अलि कम स्थान दिएजस्तो लाग्छ । अबका महिला पुरुषले गर्न नसक्ने काममा पनि सफल भैसकेका छन् तसर्थ महिलाको त्यो पाटो पनि नारीमा आउनुपर्छ । सक्षम, साहसी एवं दृढनिश्चयी महिलाका सफलताका कथा नारीमा कम हुँदै गएका छन् जसले समाजका अन्य महिलालाई मोटिभेट गर्न सक्छन् । त्यस्ता समाचार-लेख पनि नारीको प्राथमिकतामा पर्नुपर्छ ।

मिलनकुमारी राजवंशी, संविधान सभा सदस्य, नेपाल परिवार दल

नारी पत्रिकाको नाम नै सशक्त छ । नारीले समाजमा सकारात्मक प्र्रभाव पारेको छ । हिजो चुल्होचौकामा मात्र बस्ने महिला आज बाहिर निस्किएर काम गर्न सफल छन् । नारी मासिकमा सामाजिक प्रतिष्ठा कमाएका महिलाका जीवनी पढेर अन्य महिला पनि अघि बढ्न प्रेरित भएका छन् । हरेक महिला सक्षम छन् तर उनीहरूले आफूलाई समाजमा प्रस्तुत गर्न नसकेको अवस्था छ । यो पत्रिकाले त्यस्ता महिलालाई अघि बढ्न प्रेरणा दिएको छ । नारीले हरेक नेपाली महिलालाई अघि बढ्न प्रेरित गरेको छ । नारीले आगामी दिनमा प्रेरक लेख-रचना खोजीखोजी बाहिर ल्याउनुपर्छ । महिलाहरू घरपरिवारभित्र मात्र होइन राष्ट्र र विश्वकै लागि अत्यन्त महत्वपूर्ण भूमिका खेल्न सक्ने क्षमता राख्छन् । नारी मासिकले नेपाली महिलामा भएका त्यस्ता क्षमता बाहिर ल्याउन सहयोग पुर्‍याओस्- हार्दिक शुभकामना ।

रेविका थापा, साझा बस चालक

नारी मासिकले शहरका मात्र नभएर समय-समयमा ग्रामीण क्षेत्रका महिलाहरूलाई पनि समेट्ने गरेको छ । यसले गर्दा दुवै क्षेत्रका महिलालाई काम गर्न थप हौसला तथा प्रेरणा मिल्छ । यसले अचार बनाउने गृहिणीदेखि लिएर चिकित्सक, पाइलट, राजनीतिज्ञ आदि विभिन्न क्षेत्रका महिलालाई समेट्दै आएको छ जुन सकारात्मक पनि छ । यसले गर्दा महिलाहरूको आत्मविश्वास बढ्छ । काममा थप जोस-जाँगर भरिन्छ, प्रोत्साहन मिल्छ । नारीले आगामी दिनमा आफूलाई परिमार्जन गर्दै अझ सशक्त बनाउँदै लैजाओस् ।

सन्ध्या श्रेष्ठ, फोटो पत्रकार

नेपाली महिलाका लागि महिलाको मात्र सूचनाको अभाव खट्किरहेको अवस्थामा नारी मासिकको जन्म भयो । जसले त्यतिबेला पढ्न चाहने र आफ्नो व्यक्तित्व विकास गर्न चाहने महिलाहरूका लागि राम्रो खुराकको काम गर्‍यो । अन्य पत्रिकाको तुलनामा पृथक् कलेवर, कन्टेन्टमा विविधता, महिलाका लागि अत्यावश्यक मानिने फेसन एवं सौन्दर्यसम्बन्धी जानकारी यसका विशेषता हुन् । मेरो व्यक्तिगत अनुभवमा पनि मैले नारी पढेर धेरै कुरा सिकेकी छु । समेट्न सक्ने जति हरेक क्षेत्रलाई छोएर यसले महिलाहरूका लागि फराकिलो दायरा सृजना गरिदिएको छ ।

पूनम क्षेत्री गौतम, चलचित्र निर्मातृ

नारी मासिकले विभिन्न स्थानमा रहेका महिलाको खोजी गरी उनीहरूको खुबी प्रस्तुत गर्ने एवं प्रतिभा उजागर गर्ने काममा अहम् भूमिका खेलिरहेको छ । समाजमा सकारात्मक छवि छोड्न सफल यो पत्रिकाले गर्दा नै आज हामी घरभित्रै बसेर त्यस्ता प्रतिभाशाली महिलाका बारेमा अध्ययन गर्न सक्ने भएका छौं जसले सबैमा हौसला प्रदान गरेको छ ।

रीता खनाल, नेतृ ने.का.तथा महिला साक्षरता अभियान

नारी नेपाली महिलाहरूको अत्यन्तै पि्रय पत्रिका हो । यो पत्रिका सहर-बजारमा रहेका प्रतिभाशाली एवं योग्य महिलाहरूको पहिचान एवै उनीहरूको गुणात्मक क्षमता उजागर गर्दै पछि परेका वा पारिएका महिलाहरूको उत्थानमा प्रेरणाको स्रोत एवं मार्गदर्शक बनेको छ । नारीकै कारण आज कतिपय नेपाली महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक आदि हरेक क्षेत्रमा आफ्नो अग्रसरता कायम राख्न सफल छन् । समाजका अरू पक्षबाट हतोत्साहित भएका महिलाहरूलाई पनि नारीले आर्थिक प्रलोभन, राजनीतिक हस्तक्षेप एवं दाउपेचमा नपरी अघि बढ्न प्रेरित गर्दै आएको छ । नारीले आगामी दिनमा ग्रामीण भेगमा ओझेलमा परेका प्रतिभाहरूको खोजी गरेर उनीहरूलाई अघि ल्याउनुपर्छ । १३ वर्ष पूरा गरी १४ वर्षमा पाइला टेक्न लागेकी किशोरीलाई जसरी जीवनमा प्रगति र उन्नतिको कामना गरिन्छ त्यसैगरी नारीलाई पनि धेरै-धेरै बधाई एवं निरन्तर सफलताको मंगलमय शुभकामना ।

इन्दिरा सापकोटा, समाजसेवी

मैले नारी मासिक पढ्न थालेको एक दशकभन्दा बढी भयो । अहिले यसको विषयवस्तुमा सुधार आएको छ तर यतिले मात्र पुग्दैन । पछिल्ला केही अंकदेखि नारीमा विज्ञापनको मात्रा बढी भएको छ भने फेसन पनि बढी भयो । यद्यपि महिलाका विषयमा नारी मासिकले खेलेको भूमिकालाई प्रशंसनीय मान्नुपर्छ । नारी मासिकले सादगी अपनाउनुपर्छ । नारीले ज्येष्ठ नागरिकका कुरा पनि समेटे सुनमा सुगन्ध थपिने थियो ।

सिर्जना अधिकारी, युवानेतृ

नारी समस्त नारी जगत्ले चाहेजस्तै पत्रिका हो । नारीको प्रकाशन प्रारम्भ भएदेखि नै म यसको नियमित पाठक हुँ । मसँग नारीको हरेक अंकको संकलन छ । नारीले आफनो १३ वर्षे यात्रामा अनवरत नयाँ-नयाँ विषयमा कलम चलाउँदै महिलाहरूलाई हरेक क्षेत्रबाट सशक्त तथा जागरुक बनाउने प्रयास गरिरहेको छ । नारी नियमित पढ्ने जोसुकैले विविध विषयमा जानकारी प्राप्त गर्न सक्छन् । यो महिलाहरूबीच बलियो कडीका रूपमा उभिएको छ । नारीका हरेक अंक विशेष तथा फरक सामग्रीका साथमा प्रकाशित हुन्छ ।

डा. उर्मिला कार्की, काठमाडौं मेडिकल कलेज, सिनामंगल

म नारीको नियमित पाठक हुँ । विगत केही वर्षअघिदेखि नारी नछुटाई हेर्ने गरेकी छु । नारी मासिकमा प्रकाशित सबै सामग्री पठनीय छन् तर पनि केही महिनायतादेखि यसमा विज्ञापनको बाढी आएको छ । यसले गर्दा पठनीय सामग्री कम भएको महसुस हुन्छ भने कुनै पनि स्तम्भ नियमित छैनन् । त्यसैले नारीमा पृष्ठ वृद्धि गरेर भए पनि पठनीय सामग्रीमा जोड दिनुपर्छ । नारीले समय सान्दर्भिक विषयवस्तुमा पनि ध्यान पुर्‍याउनुपर्छ । महिलाको एक मात्र नारी मासिक नम्बर एक नै छ । नारीको वाषिर्कोत्सवका अवसरमा यससँग सम्बद्ध सबैलाई शुभकामना । आगामी अंकको नारी थप परिमार्जन भएको हेर्न पाऊँ ।

अमृता घिमिरे, गृहिणी

नारी पत्रिका हेर्न थालेको धेरै वर्ष भयो । नारी मासिकले महिलाहरूका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । यसले महिलाका सकारात्मक कुराहरू बाहिर ल्याएर महिलालाई आत्मविश्वासी बनाउने काम पनि गरेको छ जसले गर्दा महिलाहरूलाई काममा लाग्न थप प्रेरणा तथा हौसला मिलेको छ । नारीको नकारात्मक कुरा खासै नभए पनि यसमा प्रकाशित विषयवस्तुमा केही सुधार तथा थप गर्नु उपयुक्त हुन्छ । नारीले ग्रामीण भेग तथा सुदूर पश्चिमका महिलाहरूलाई पनि समेट्नु पर्‍यो । त्यसबाट उनीहरूको जीवनस्तरमा सुधार आउनसक्छ । नेपाली महिलाहरूको नम्बर १ पत्रिकाको वाषिर्कोत्सवको उपलक्ष्यमा यसको निरन्तर प्रगतिको कामना गर्दछु ।

मञ्जु बञ्जारा, फेसन डिजाइनर    

मेरो सफलताको रहस्य मेरो मेहनतका साथमा मेरो कामको मूल्यांकन पनि हो जुन नारीले राम्रोसँग गरेको छ । मजस्ता धेरै महिलाको कामलाई सबैमाझ उजागर गरेर नारीले महिलाहरूको कामको उच्च मूल्यांकन गर्दै आएको  छ । नारीमा प्रकाशित आजकी नारी, व्यक्तित्व विकास, जीवनसाथी, घर, फेसन, स्वास्थ्य, मनोरञ्जन आदि सम्बन्धी जानकारीहरू निकै उपयोगी छन् । अझै पनि धेरै जिल्लामा महिलाहरूले गरेका कामको उचित मूल्यांकन हुन सकेको छैन । त्यस्ता ठाउँका महिलालाई प्रोत्साहित गर्न सके अझ राम्रो हुने थियो । नारीलाई उत्कृष्ट बनाउन यसको प्रकाशन समूहले पनि उत्तिकै मेहनत गरेको देखिन्छ ।

सिर्जना सुब्बा, रंगकर्मी

नारी मलाई असाध्यै मनपर्ने पत्रिका हो । पहिलेदेखि नै म नारीलाई विशेष पत्रिकाका रूपमा लिन्थें । नारीले विभिन्न क्षेत्रमा लुकेका नारीहरूलाई समाज अघि ल्याएर चिनाउने काम गर्दै आएको छ । नारीमा समावेश हुने फेसन, चलचित्र एवं सौन्दर्यसम्बन्धी सामग्रीले गाउँघरका महिलालाई पनि त्यसको जानकारी दिएको छ । नारीमा पहिलेको तुलनामा अहिले विज्ञापन अलि बढी भएजस्तो लाग्छ तर पनि नारीको उचाइ बढ्दो क्रममा छ ।

सीता पाठक, सौन्दर्यविद्

म नारीको पहिलो अंकदेखि अहिलेसम्मकै नियमित पाठक हुँ । नारी मासिकले महिलाहरूका लागि प्रभावकारी भूमिका खेलेको छ । यसले महिलाका सकारात्मक कुराहरू पाठकमाझ ल्याएर उनीहरूलाई आत्मविश्वासी बनाउने काम पनि गरेको छ । नारीले महिलाहरूलाई काममा लाग्न थप प्रेरणा तथा हौसला प्रदान गरेको छ । हामीजस्ता सौन्दर्यकर्मीहरूलाई त नारीले विशेष सहयोग गर्दै आएको छ ।

प्रिया अधिकारी, पाइलट  

नेपालमा धेरै पत्रपत्रिका बजारमा आउने र केही समयमै हराउने प्रवृत्ति छ तर विगत १३ वर्षदेखि मासिक रूपमा प्रकाशित नारी सधैं सबैको मनमा छाइरहेको छ । नारी बजारमा आउनासाथ मेरा आँखा फेसन पेजहरूमा जान्छन् । काममा व्यस्त हुने भएकाले म के-कस्तो फेसन चलिरहेको छ, कस्तो मेकअप ट्रेन्ड छ, महिलाहरूको प्रगति आदि सबै कुरा नारीबाटै थाहा पाउँछु । यद्यपि अहिले नारी विज्ञापनमय भएजस्तो लाग्न थालेको छ । नारीले स्टोरी अफ आउट अफ भ्याली शीर्षकमा काठमाडौं बाहिरका महिलाहरूको कथा पनि नियमित प्रकाशन गर्ने व्यवस्था गरे सुनमा सुगन्ध हुने थियो ।

एरिना ताम्राकार, कलाकार

हामीजस्ता सिर्जनामा लागेका महिलाहरूका लागि नारी मासिक हौसला हो । नारी धेरै नारीको दिमागमा गडेको छ तर पनि नारीले सुरुवातमा कला एवं संगीतलाई जसरी ठूलो स्पेस दिएको थियो अहिले त्यसमा कन्जुस्याईं गरेजस्तो लाग्छ । यसरी सिर्जनामा लाग्नेहरूलाई राम्रो प्लेट र्फम दिने नारीमा अहिले फेसन एवं सौन्दर्यसम्बन्धी सामग्री बढी भएको देखिन्छ । कलालाई दुई पेजबाट आधा पेजमा झार्दा हामीजस्ता कलाकारलाई आफ्नो सिर्जना देखाउने ठाउँ कम भएको अनुभव भएको छ ।

विपुला जोशी, मिडियाकर्मी

मेरो विवाह भएको वर्ष नै नारी मासिक प्रकाशनमा आएको थियो । पहिलो  अंकदेखि नै म नारीको नियमित पाठक बन्न पुगें । नेपाली पत्रपत्रिकाको बजारमा नारी एउटा अलग धार बोकेर आएको महिलाहरूको एक मात्र पत्रिका हो । फेसन, सौन्दर्य, ग्याजेटका साथै सम्पूर्ण महिलाको पूर्ण प्याकेजका साथ प्रकाशित नारी महिलाहरूको सम्पूर्ण पत्रिका हो । मसँग नारीको पहिलो अंकदेखि पछिल्लो अंकसम्मको कलेक्सन छ । नारीमा कतिपय बेला एउटै अनुहार धेरै पटक दोहोरिरहन्छन् । अरू पनि थुप्रै लुकेर बसेका प्रतिभाशाली तथा आदर्श व्यक्तित्वहरू छन् । नारीले उनीहरूलाई कुनाकाप्चाबाट खोजेर बाहिर ल्याउन सक्नुपर्छ । १२ महिनामा १२ जना व्यक्तित्वलाई समेट्न सक्ने हो भने पनि नारी सधैं नम्बर वान नै रहनेछ । नारीको हरेक अंक उत्तिकै आकर्षक हुनु र यसको क्वालिटी मेन्टेन  गरिराख्न सक्नु यसको प्लस प्वाइन्ट हो ।

स्नेहा राणा, मेकअप आर्टिस्ट

नेपालमा नारी मासिकको कुनै विकल्प छैन । बजारमा बेलाबेलामा देखिने महिलासम्बन्धी पत्रिकाहरू ६-८ महिनापछि बन्द हुन्छन् तर नारीले कन्टेन्ट मेन्टेनदेखि आफ्नो बेग्लै पहिचान छोडिसकेको छ । हरेक क्षेत्र र वर्गका महिलाहरूका लागि नारी एक मात्र पि्रय पत्रिका हो । महिलाहरूका जति पनि मुद्दा छन्, ती नारीले कुनै न कुनै एंगलबाट समेटिरहेको हुन्छ । लुकेका महिलाहरूलाई चिनाएर सफल बनाउन पनि नारी मासिकको उत्तिकै भूमिका छ । टिनएजर्सदेखि वृद्धवृद्धाहरूका कुरा पनि समेटिने भएकाले मलाई नारी पत्रिका प्यारो लाग्छ ।

सुषमा महरा, व्यवसायी

नारी नेपाली महिलाहरूको पि्रय पत्रिका हो । हामीजस्ता संघर्षरत महिलाहरूलाई नारीको साथले सफलता हासिल गर्न सहयोग गरेको छ । यसका लेख-रचनाहरू उत्प्रेरक हुन्छन् । यसले सफल महिलाहरूका कथा पनि प्रकाशित गर्ने गरेको छ जसले हरेक महिलालाई केही गर्न उत्साहित गर्छ । यसले हरेक वर्ग, स्थान तथा तह-तप्काका महिलाहरूलाई स्थान दिन्छ । हरेक अंक नौला तथा रोचक सामग्रीहरूले भरिभराउ यो पत्रिकाले महिलाहरूलाई सुसूचित गर्दै आएको छ । आफ्नो लक्ष्य एवं उद्धेश्य प्राप्तिका लागि प्रगतिपथमा अघि बढिरहेको नारीलाई हार्दिक शुभकामना ।

दीपिका थापा, उपाध्यक्ष, प्याब्सन

नारी पत्रिका पहिले अनलाइनमा हेर्थें तर अहिले किनेर पढ्न थालेकी छु । यो महिलाहरूलाई चाहिने सबै सामग्रीले भरिएको नेपालकै एक मात्र महिला पत्रिका हो । हरेक महिनाको १ गते म नारीको प्रतीक्षामा हुन्छु । नारी पत्रिकाले मलाई नारी भएको महसुस गराउँछ, आफू नारी भएकोमा गर्व महसुस गराउँछ । नारी ज्ञानवर्द्धक, सन्देशमूलक तथा मनोरञ्जक छ । यसले सबै क्षेत्रका महिलालाई समेटेर नेपाली महिलाहरूको स्थान उत्कृष्ट बनाएको छ । नारीले महिलाहरूलाई सशक्त बनाउने काममा सघाउँदै आएको छ । नारीको यो सफल यात्रामा नारीका सहकर्मीहरूले अझ बढी परिश्रम गरी नयाँ-नयाँ लेखहरू प्रस्तुत गरून्-जय नारी ।

यशोदा तिम्सिना, पत्रकार

नारी मासिकले नेपाली महिलामा आत्मविश्वास बढाउन सहयोग गरेको छ । नारीमा महिलाहरूले भोगिरहेका, गर्न खोजेका, गर्न सक्नेजस्ता विषय समेटिएका छन् । नारीकै माध्यमबाट महिलाहरूले प्रेरणा लिने, आत्मनिर्भर बन्न खोज्ने वा घरभित्रका कामलाई पनि चुस्त-दुरुस्त रूपमा गर्न सक्ने भएका छन् । कुरा जसरी गरे पनि महिलाको मुख्य दायित्व घर, बालबालिका एवं बूढाबूढीको स्याहार-सुसारमा बित्छ । पछिल्लो समय घरबाहिरका काममा पनि महिलाहरूको सहभागिता बढेको छ । पहिलो कुरा घरायसी धन्दाबाट बाहिर निस्कन कठिन, निस्किए पनि समयको समायोजन गर्न अझ कठिन । यी दुवै अवस्थामा नारीको भूमिका महत्वपूर्ण छ । समानुपातिक समाज निर्माण आजको आवश्यकता हो । यसका लागि नारी मासिकले कुनै न कुनै रूपमा योगदान पुर्‍याएको छ । ओझेलमा परेका वा विश्वका विभिन्न देशमा पुगेर स्थान बनाउन सफल दुवैलाई नारीले ठाउँ दिएको छ ।

अञ्जु पन्त, बैंकर्स

मैले नियमित रूपमा नारी  पत्रिका पढ्न थालेको करिब १० वर्ष भयो । नारी महिलाहरूका लागि सम्पूर्ण पत्रिका हो । नारीले महिला दिदीबहिनीहरूमा पत्रिका पढ्ने बानीको विकास गरेको छ । यसले प्रत्येक वर्ष आफूलाई परिमार्जन गर्दै लगेको छ । हरेक अंक नयाँ सामग्रीहरूका साथ प्रस्तुत हुन सक्नु नारीको विशेषता हो । नारीले केही वर्षयता आर्थिक लेखहरू पनि नियमित रूपमा प्रस्तुत गरिरहेको छ । यस्ता सामग्रीहरूले महिलाहरूमा आर्थिक चेतना जगाउँछन् । अझ नयाँ-नयाँ स्तम्भहरूको विकास गरी नारी हरेक महिलाको घर-आँगनमा पुग्न सकोस्-हार्दिक शुभकामना ।

मेनुका थापा, सामाजिक अभियन्ता

नारी विविधताले भरिएको सुन्दर रचना जत्तिकै आकर्षक छ । एउटी पूर्ण र सशक्त महिलामा जे-जति गुण भेटिन्छन् नारी पत्रिकामा मैले त्यति नै गुण भेटेकी छु । सुन्दर, आकर्षक, क्षमतावान्, धैर्यशील अनि अरूलाई पे्ररित गर्ने खुबी नारीका विशेषता हुन् । वास्तवमा नेपालमा यी समग्र क्षमताले भरिएका अर्थात् सबै क्षेत्रलाई उत्तिकै महत्वका साथ समेटिएका पत्रिका कमै होलान् । नारीले महिलाको आर्थिक, सामाजिक, शैक्षिक विकास एवं सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपाली मिडिया जगत्मा महिलाका पक्षमा बलियो खम्बा भएर उभिन सफल यो पत्रिका महिलाका बहुआयामिक पाटाहरूमा सशक्त भूमिका खेल्न सफल छ । आगामी दिनमा नारीले ग्रामीण क्षेत्रका महिलाहरूलाई अघि बढाउन विशेष प्रयास गर्नुपर्छ । नारीलाई निरन्तर सफलताको शुभकामना ।

बुनु राई मानन्धर,  गायिका

आई एम सो प्राउडफुल टु नारी । हामी  नेपाली नारी जगत्लाई समेटेर हामीहरूलाई प्राथमिकता दिएर लेखहरू प्रकाशित गर्ने नारीको यो सफल यात्रालाई हार्दिक साधुवाद । नारी जसरी सबै विधालाई समेटेर अघि बढेको छ त्यसरी नै उन्नति एवं प्रगतिको मार्गमा अझ अघि बढोस् । नारीले विभिन्न क्षेत्रका महिला प्रतिभाहरूलाई उजिल्याउनुका साथै नेपाली दिदीबहिनीहरूको चौतर्फी विकासमा सहयोग पुर्‍याएको छ । मुरी-मुरी शुभकामनाका साथ बेस्ट अफ लक नारी  ।

 Image