Successfully Copied

यस्ता छन् दसैंका चलचित्र

नायिका रेखा थापाले विगत लामो समयदेखि दसैंकै अवसर पारेर आफ्ना नयाँ चलचित्र सार्वजनिक गर्दै आएकी छिन् ।

हिम्मतवाली

नायिका रेखा थापाले विगत लामो समयदेखि दसैंकै अवसर पारेर आफ्ना नयाँ चलचित्र सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको दसैंमा उनी चलचित्र 'काली' मार्फत दर्शकमाझ आएकी थिइन् भने त्यसभन्दा अघि उनले 'अन्दाज' चलचित्रसँगै दसैं मनाएकी थिइन् । यसपटकको दसैंका लागि रेखाले 'हिम्मतवाली' तयार पारेकी छिन् । चलचित्रको छायांकन सम्पन्न भएलगत्तै रेखाले यसलाई दसैंको फूलपातीका दिनदेखि प्रदर्शन हुने घोषणा गरेकी थिइन् । घोषित मितिअनुसार यो चलचित्र आगामी असोज १५ गते बुधबारदेखि देशव्यापी रूपमा प्रदर्शन हुनेछ । यही चलचित्रमार्फत रेखा पहिलो पटक निर्देश्ाक बन्दैछिन् । सेन्सर बोर्डले पिजी अर्थात् १६ वर्षमुनिका बालबालिकाले अभिभावकसँग हेर्नुपर्ने प्रमाणपत्र दिएको चलचित्र हिम्मतवालीमा रेखा स्वयं मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रमा रेखालाई दुवै हात नभएका सुदर्शन गौतमले साथ दिएका छन् । चलचित्रका गीत-संगीत तथा केही संवाद यसअघि नै लोकप्रिय भैसकेकाले नायिका थापा आफ्नो चलचित्र सफल हुने कुरामा ढुक्क देखिन्छिन् । यसअघि दसैंमा प्रदर्शन भएका आफ्ना सबै चलचित्र सफल भएकाले पनि रेखाका लागि दसैंको समय शुभ हुने अनुमान गरिन्छ । चलचित्रमा रेखाले खतरनाक स्टन्टहरू गरेको बताइन्छ । यो चलचित्रले अपाङ्ग दर्शकहरूलाई टिकटमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

एउटा साथी

सञ्चारकर्मी लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको चलचित्र 'एउटा साथी' ले 'हिम्मतवाली' लाई टक्कर दिनेछ । सुवेदीको डेब्यु निर्देशनको 'एउटा साथी' पनि असोज १५ अर्थात् फूलपातीकै दिनदेखि प्रदर्शन आउँदैछ । प्रेम कथामा आधारित चलचित्र एउटा साथीको कथा सुशील पंगेनीले लेखेका हुन् । यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी, अलिशा खड्का, रेन थापा आदि कलाकारले अभिनय गरेका छन् । एउटा साथीको साथले जीवनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा आधारित यो चलचित्रमा शोभित बस्नेत तथा अनु शाहले अतिथि कलाकारका रूपमा अभिनय गरेका छन् ।

क्यारेङग्याङ-३

द्वन्द्वप्रधान चलचित्र 'क्यारेङग्याङ' को तेस्रो सिक्वेल 'क्यारेङग्याङ-३' पनि दसैंकै अवसर पारेर प्रदर्शन हुने भएको छ । फूलपातीकै दिन प्रदर्शन हुने भनिएको यो चलचित्र पनि द्वन्द्वप्रधान छ । राजु लामाद्वारा निर्देशित चलचित्र क्यारेङग्याङमा अजु लामा मुख्य भूमिकामा छन् । प्रिया भट्टराई, ईश्वर अधिकारी, वसन्त रिजाल आदि कलाकारले अभिनय गरेको यो चलचित्रले द्वन्द्वप्रधान चलचित्रका दर्शकलाई पर्याप्त मनोरञ्जन दिनेछ ।

दानव

पुराना अभिनेता दिनेश शर्मा लामो समयपछि चलचित्र 'दानव' मार्फत दर्शकमाझ आउँदैछन् । चलचित्र तथा टेलिशृंखलाहरूमा प्राय: नकारात्मक भूमिका निर्वाह गरिरहेका दिनेशले आफ्नै निर्माण तथा निर्देशनमा तयार पारेको चलचित्र

'दानव' घटस्थापनाको भोलिपल्ट अर्थात् असोज १० गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । चलचित्रको शीर्षकबाटै अनुमान गर्न सकिन्छ, यो चलचित्रमा सकारात्मक तथा नकारात्मक पक्षबीच द्वन्द्व छ । अभिनेता शर्माको यो डेब्यु निर्देशनको चलचित्रमा दिनेश स्वयंका साथै महिमा सिलवाल, सगुन श्रेष्ठ, दिनेश केसी, सुवास कार्की आदि कलाकारले अभिनय गरेका छन् । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र द्वन्द्वप्रधान छ । पश्चिम नेपालको कन्चनपुर आसपासका क्षेत्रमा छायांकन गरिएको यो चलचित्रले समाजमा मानव र दानव दुवै हुन्छन् तर समाजलाइ बिगार्ने दानवको अन्त्य हुनैपर्छ भन्ने सन्देश बोकेको छ ।

नाइके

दसैंकै अवसर पारेर प्रदर्शन हुने चलचित्र 'नाइके' द ब्ल्याक स्याडो प्रोडक्सनले निर्माण गरेको हो । अभिनेता आर्यन सिग्देलले नाइकेको भूमिका निर्वाह गरेको यो चलचित्रको सम्पूर्ण छायांकन पोखरामा गरिएको हो । असोज ३ गते शुक्रबारदेखि प्रदर्शनमा आउने यो चलचित्र ग्याङस्टरहरूको कथामा आधारित छ । चलचित्रमा ग्याङस्टरको आत्मव्यथा, उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण एवं गर्ने व्यवहार, देशको राजनीतिक चलखेलमा ग्याङस्टरको भूमिकाका साथै मानवीय सम्बन्धका आयामहरूलाई चित्रण गरिएको छ । नेत्र गुरुङको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल पहिलो पटक पृथक् भूमिकामा प्रस्तुत भएको बताइएको छ । चलचित्र नाइकेमा आर्यनका अतिरिक्त रेम विक, बोधराज रेग्मी, सुरबिना कार्की, सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी आदिले अभिनय गरेका छन् ।

पुन्टे परेड

असोज ३ गते शुक्रबार सार्वजनिक हुने चलचित्र 'पुन्टे परेड' हास्य शैलीमा आधारित छ । यो चलचित्रको निर्देशन सुवास कोइरालाले गरेका हुन् । आइडियाज एण्ड इमेजेजको व्यानरमा तयार पारिएको यो चलचित्रमा संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, सरोज श्रेष्ठ, नाजिर हुसेन, रवीन्द्र अधिकारी आदि कलाकारले अभिनय गरेका छन् । शान बस्न्यातको पटकथा तथा संवादमा तयार पारिएको यो चलचित्रमा ताराप्रकाश लिम्बू र टेकनन्द लामाको संगीत निर्देशन छ । अधिकांश नेपाली चलचित्र माया-प्रेमको सेरोफेरोमा निर्माण भैरहेकोमा यो चलचित्र भने एसएलसीपछि प्रारम्भ हुने कलेज जीवनमा आधारित छ । चलचित्र पुन्टे परेड एसएलसी उत्तीर्ण भएपछि कलेज प्रवेश गर्ने टिनएजरहरूको मनस्थिति, प्रेम, छेडछाड आदि विषयलाई चलचित्रले प्राथमिकता दिएको छ । यो चलचित्रमा टिनएजरहरूको प्रेम, साथीभाइलाई सुनाउने जोक्स र उडाउने कलाजस्ता विषयलाई हास्यपरक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र हेरिसकेपछि दर्शकले आफ्नो टिनएजको स्वणिर्म दिन स्मरण गर्ने निर्देशक कोइरालाको दाबी  छ । यो चलचित्रमा अभिनेता संयम पुरीले पुन्टे परेडको नेतृत्व गरेका छन् भने नायिका प्रियंका कार्कीले विशेष भूमिका निर्वाह गरेकी छिन् ।

-

 Image