Successfully Copied

छुट र सेलमा दसैं

नेपालीहरूको महान् चाड दसैं सबैको रमाइलो गर्ने तथा आफूलाई मन परेका सामग्रीहरू खरिद गर्ने सुवर्ण अवसर हो ।

नेपालीहरूको महान् चाड दसैं सबैको रमाइलो गर्ने तथा आफूलाई मन परेका सामग्रीहरू खरिद गर्ने सुवर्ण अवसर हो । दसैंका बेला हामी प्रशस्त किनमेल गर्छौं । यतिबेला मानिसहरूमा एक प्रकारको उत्साहको लहर हुन्छ । दसैं यस्तो चाड हो जुन बेला हरेक सामग्रीको किनमेल समान रूपमा हुन्छ । विकासशील देशका नागरिक हामी दसैंका बेला एकजोर भए पनि राम्रा पहिरन खरिद गर्छौं । दसैंको परिभाषामा मीठो खाना, राम्रो नाना तथा दक्षिणाको निकै महत्व छ । सबै स्तरका नेपालीले दसैं मनाउन हैसियतअनुसार बजेट छुट्याउँछन् । जतासुकै किनमेलको लहर दौडन्छ । यतिबेला व्यापारीहरूले राम्रो व्यापार गर्छन् । नेपालमा अत्यधिक व्यापार हुने समय पनि दसैं नै हो । दसैंमा हामी नेपालीहरूको मनमा एक प्रकारको उत्साह तथा उमङ्ग भरिन्छ । मानिसहरू बिनाहिचकिचाहट आफ्नो खल्ती खाली गर्न पछि पर्दैनन् । चाडपर्वको मौसमलाई सेल तथा छुटले थप रमाइलो बनाउँछ । व्यापारीहरूले चाडपर्वलाई लक्षित गरी सेल तथा छुट प्रदान गर्छन् । उनीहरू यही मौका छोपेर बढीभन्दा बढी सामान बिक्री गर्न विभिन्न अफर तथा योजना तयार गर्छन् । यतिबेला व्यापारीहरू  कम नाफा राखेर बढीभन्दा बढी सामान बिक्री गर्न चाहन्छन् । उनीहरू आफूसँग भएको बढी स्टक तथा बचेका एक-दुई पिस सामान यही समयमा कटाउँछन् । सामान चिन्न सके सेलमा राम्रा सामान पनि खरिद गर्न सकिन्छ । इन्भीकी शान्ति शेर्पा दसैंका बेला आफ्नो बिक्री पिकमा पुग्ने बताउँछिन् । शेर्पा भन्छिन्-दसैं यस्तो अवसर हो जुन बेला हामी आफ्नो पूरै स्टक बिक्री गर्न सक्षम हुन्छौं । दसैंमा छुटमा सामान बिक्री गर्दा पनि हामीलाई खासै घाटा हुँदैन । यसमा क्रेता तथा बिक्रेता दुवैका लागि राम्रो अवसर हुन्छ । तथापि सामान खरिद गर्दा होस पुर्‍याउनुपर्छ अन्यथा ड्यामेज पनि पर्न सक्छ ।

दसैंलाई किनमेलको पर्व पनि भनिन्छ । त्यसैले दसैं लाग्नेबित्तिकै बजारको कारोबार बिस्तारै मास्तिर उक्लिन्छ । के कपडा,  के गहना, के खाद्यपदार्थ, के घरायसी सामान हरेक वस्तुको बिक्री समान हुन्छ । चाडपर्वको लहरसँगै बजारमा भीडभाड बढ्छ । त्यसमा सेल, छुट, उपहार  तथा अन्य अफरहरूको पनि बाढी आउँछ । के फुटपाथ के मल सबैतिर उस्तै भीडभाड देखिन्छ । बजारमा यही अवसर पारेर नयाँ-नयाँ सामान भित्राइन्छ भने पुराना सामानहरू क्लियर गरिन्छ । बजारमा ग्राहकहरूका लागि विभिन्न कम्बो तयार हुन्छ । अहिले त सुपर मार्केटदेखि फुटपाथका पसलेहरूसम्मले छुट र सेलको रणनीति अवलम्बन गर्न थालेका छन् । हुन पनि छुट र सेलको तुल टाँगिएका पसलमा अरु पसलभन्दा बढी भीड देखिन्छ ।

फेसन डिजाइनर चन्दा सापकोटाका अनुसार दसैंका बेलामा दिइने छुट तथा सेलले ग्राहकहरूलाई अधिक सामान खरिद गर्न उत्प्रेरित गर्छ भने ग्राहकहरूको मन जित्दै राम्रो व्यापार गर्न सकिन्छ । यो सुवर्ण अवसरले ग्राहक तथा क्रेताको सम्बन्धलाई पनि सुमधुर बनाउँछ । दसैं विशेष गरी कामकाजी महिलाहरूले किनमेल गर्ने उपयुक्त समय हो । यतिबेला उनीहरूसँग समय तथा पैसा दुबै हुन्छ । सापकोटा भन्छिन्-मलाई त यो दसैंको अवसर छोपेर व्यापारीहरूले आफ्ना ग्राहकहरूलाई खुसी बाँडेजस्तो लाग्छ । म दसैंका बेला सेलमा छानी-छानी सामान खरिद गर्छु । सापकोटाका अनुसार धेरै युवती तीज लागेदेखि नै दसैंको छुट तथा सेलको पर्खाइमा हुन्छन् । उनीहरू वर्षभरि चाहिने प्राय: सामग्री यही बेला खरिद गर्छन् । छुटले अप्रत्यासित खरिदलाई जन्म दिन्छ । कुनै पनि सामान छुटमा खरिद गर्दा ग्राहकलाई जति फाइदा हुन्छ, त्यसको दोब्बर फाइदा व्यापारीलाई हुन्छ । मनोवैज्ञानिक हिसाबले यस्तो रणनीति तय गरिन्छ । सेल र छुटमा सामान खरिद गर्दा साट्न भने मिल्दैन । एकपटक खरिद गरेपछि त्यसलाई आफै प्रयोगमा ल्याउनुपर्छ । यसका लागि गुनासो गर्ने कुनै ठाउँ हुँदैन । सेलमा प्राय:जसो फ्रेस पिस भन्दा पुराना सामग्रीहरू बिक्रीमा राखिन्छन् ।

प्रस्तुति : झरना नहर्की

बुनु राई मानन्धर, गायिका

दसैं मलाई सबैभन्दा मन पर्ने चाड हो । यो चाडमा म मन खोलेर किनमेल गर्छु । कार्यक्रमहरूमा जानुपर्ने हुँदा दसैंको छुट र सेलले मलाई विशेष आकषिर्त तुल्याउँछन् । निकै विचार पुर्‍याएर किनमेल गर्ने हुँदा मैले अहिलेसम्म धोका पाएकी छैन । सेल र छुट भन्दैमा म हतारमा किनमेल गर्दिन । किनमेलका लागि मनग्य समय छुट्टाएर छानीछानी किनमेल गर्छु । दसैंका बेला सबैतिर छुट र सेलको लहर हुने हुँदा म एक ठाउँमा मात्र किनमेल गर्दिन । सेलमा सबै पसलको आ-आफ्नै कलेक्सन हुन्छ । त्यसमा आफूलाई चाहिने सामान छानेर खरिद गर्छु । जे-जस्तो भए पनि छुट र सेलमा सामान खरिद गर्दा हामी ग्राहकलाई फाइदा हुन्छ । किनभने त्यहाँ महँगा सामान पनि सस्तोमा पाइन्छ भने सस्ता सामान सामान्य मूल्यमा पाइन्छ । सामान किनेर घर आएपछि एकपटक त्यसमा ड्यामेज देखिएपछि भने अहिले म निक्कै सजग भएकी छु । सेलमा सस्तोमा पाइयो भन्दैमा धेरै सामान एकैपटक खरिद गर्नु हुँदैन ।

पूजा सेढाइँ, अभिनेत्री

मलाई बाल्यकालदेखि नै दसैंको किनमेलले निकै आकषिर्त गथ्र्यो । उतिबेला दसैंमा आमाबुवाले एक जोर कपडा मात्र किनिदिनुहुन्थ्यो । व्यापारीहरूले छुट र सेलको कुनै सहुलियत पनि दिँदैनथे तर अहिले बजारको शैली पनि परिवर्तन भएको छ । चाडपर्व आउनेबित्तिकै व्यापारीहरू आफ्नो स्टक क्लियर गर्न कम नाफामा सामान बिक्री गर्छन् । व्यापारीहरू चाँडै नगद जम्मा गरी अरू नयाँ तथा थप सामान खरिद गर्न लालायित हुन्छन् । फेसनको यो युगमा व्यापारीहरू पनि आफूसँग एकैथरी सामान जम्मा गरी राख्नुभन्दा त्यसलाई बिक्री गर्नु बुद्धिमानी मान्छन् । यसको प्रत्यक्ष फाइदा ग्राहकलाई हुन्छ । हामी कुनै-कुनै सामान आफूले सोचेभन्दा कम दाममा पाउँछौं । म प्रत्येक वर्ष दसैंको छुट र सेलको प्रतीक्षामा हुन्छु । यसमा व्यापारीहरूको आफ्नो के स्वार्थ हुन्छ मलाई थाहा छैन तर म यसबाट व्यापारीहरूले ग्राहकलाई सम्बोधन गरेको मान्छु ।

विनीता न्यौपाने, गृहिणी

मलाई छुट र सेलको रणनीति मन पर्दैन । यो ग्राहकलाई झुक्याउने रणनीति हो । व्यापारीहरूले कहिल्यै आफूलाई घाटा हुने गरी सामान बिक्री गर्दैनन् । सेलमा राखिएको सामानको मूल्य बढाएर आफूलाई नाफा हुने गरी सामान बिक्री गरिन्छ । छुट र सेलमा राखिएका सामानमध्ये ९० प्रतिशत आउट अफ फेसन, नमिल्ने साइजका तथा ड्यामेज हुन्छन् । बरू त्यसमा खर्चिने पैसामा एक-दुई सय खर्च गरे राम्रो फ्रेस पिस खरिद गर्न सकिन्छ । चाडपर्वमा हामी ग्राहकहरू निकै उत्साहित हुन्छौं र दसैंको रौनकमा मन पनि थाम्न सकिँदैन । यही कुरालाई मनन गरी व्यापारीहरूले मौकाको फाइदा उठाउँछन् । त्यसैले म कहिल्यै छुट र सेलमा सामान खरिद गर्दिन ।

किनमेलको काइदा

तपाईं एउटी कुशल गृहिणी हुनुहुन्छ । तपाईंलाई घरका सदस्यहरूलाई मनपर्ने-मन नपर्ने सबै कुराको जानकारी छ । विशेष अवसरका लागि कस्तो पहिरन किन्ने, कस्तो नकिन्ने, कस्तो पकाउने, कस्तो नपकाउने सबै थाहा छ । कुन कुरा बोल्दा कसलाई खुसी लाग्छ भन्ने कुराबाट पनि परिचित भैसक्नुभएको छ । त्यसो भए, के तपाईं पक्का गृहिणी हुनुभयो त ?

अहँ, यतिमै असल गृहिणी हुन सकिँदैन । असल गृहिणीले अर्को कुरा पनि जान्नैपर्ने हुन्छ, किनमेल गर्ने काइदा । किनभने बचत गर्नु पनि कमाउनु सरह नै हो । आजको महँगीमा उचित सामान उचित मूल्यमा किन्नु असल गृहिणीको परिचायक हो ।

उचित पसलको छनोट : खाद्य तथा पेय पदार्थ किन्दा विश्वसनीय एवं प्रतिष्ठित पसलबाटै किन्नुपर्छ । प्रतिष्ठित पसलमा विश्वसनीय कम्पनीका सामग्री मात्र पाइन्छ । कारण उनीहरू पनि उपभोक्ताको मन जित्न चाहन्छन् । यस्ता पसलमा डेट एक्सपायर सामग्री साट्न सकिन्छ । त्यस्तै कुनै गुनासो सुनाउन सकिन्छ । त्यस्तो गुनासो ती पसलहरूले कम्पनीसम्म पनि पुर्‍याइदिन्छन् ।

गुणस्तरीय सामग्रीको छनोट : आजभोलि सहरी क्षेत्रमा दर्जनौं कम्पनीका खाद्य सामग्री उपलब्ध छन् । तीमध्ये कुनै सस्ता त कुनै महँगा हुन्छन् । सामान्यतया: महँगा सामान गुणस्तरीय र सस्ता सामान गुणस्तरहीन मान्ने हाम्रो सोच हुन्छ तर त्यस्तो होइन, कम्पनीले प्रयोग गर्ने वस्तुका आधारमा गुणस्तर मापन गरिन्छ । किनेको सामग्री खानेबित्तिकै कुन गुणस्तरीय र कुन गुणस्तरहीन भन्ने थाहा भैहाल्छ । यदि गुणस्तरीय सामग्री अरूभन्दा महँगो छ भने पनि गुणस्तरीय वस्तु नै छनोट गर्नुपर्छ ।

निर्माण तथा उत्पादनको तिथि : प्रत्येक खाद्य एवं पेय पदार्थमा उत्पादन मिति र उपभोग्य मिति लेख्नैपर्ने नियम छ । जुनसुकै विधिले उत्पादन गरे पनि खाद्यपदार्थ उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित भएकाले यसमा राम्रो ध्यान पुर्‍याउनुपर्छ । उत्पादन मिति उल्लेख नगर्ने कम्पनीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको मानिन्छ । त्यसैले सामग्री किन्दा उपभोग गर्ने अन्तिम मिति र उत्पादन मिति लेखिएको छ-छैन हेरेर मात्र किन्नुपर्छ ।

मिश्रणको जानकारी : धेरैजसो सामग्री दुई वा दुईभन्दा बढी वस्तु मिलेर बनेका हुन्छन् । त्यस्ता खाद्यपदार्थमा कुन-कुन पदार्थ मिसाइएको छ भनेर प्रस्ट लेखिएको हुनुपर्छ । यसरी लेखिएका आधारमा उपभोक्ताले यो किन्नैपर्ने सामग्री हो कि होइन छुट्याउन सक्छन् ।

उपयोग गर्ने तरिकाको जानकारी : आजभोलि धेरै थरिका तयारी खानेकुरा बजारमा उपलब्ध छन् । ती सबैको जानकारी उपभोक्तालाई नहुन सक्छ । त्यसैले त्यस्ता सामग्री मात्र खरिद गर्नुपर्छ जुन सामग्रीमा उपभोग गर्ने तरिका पनि लेखिएको हुन्छ ।

पकाउने तरिका : खाद्य सामग्रीमा पकाउने तरिका पनि उल्लेख हुनुपर्छ । पकाउने तरिका उल्लेख गर्ने कम्पनीले लामो शोधपछि मात्र त्यस्ता वस्तु बजारमा उतारेका हुन्छन् ।

उपयुक्त मात्रा वा वजन : कुनै पनि खाद्यपदार्थको प्याकेटमा मात्रा वा वजन उल्लेख हुनु जरुरी छ । कारण यसले कम्पनीको विश्वसनीयतालाई मापन गर्छ । जुन कम्पनीले मात्रा वा वजनलाई ध्यान दिन्छ त्यही कम्पनीले उपभोक्तालाई खुसी बनाउने सामान्य सिद्धान्तलाई पछ्याएको छ भन्ने देखाउँछ ।

गुणस्तर चिन्ह : स्वदेश तथा विदेशमा कुन वस्तु कति प्रतिष्ठित हो भन्ने कुरा त्यसको गुणस्तर चिन्हले मापन गर्छ । नेपालमा एनएस चिन्ह भएका खाद्यपदार्थलाई गुणस्तरीय मानिन्छ ।

 Image