Successfully Copied

चाडपर्वमा आन्तरिक सजावट

दसैं भन्नेबित्तिकै हाम्रो मन हर्षले भरिन्छ । दसैंमा धेरै इष्टमित्र, साथीभाइ एवं नातागोतासँग भेटघाट एवं रमाइलो गर्ने अवसर प्राप्त हुन्छ ।

दसैं भन्नेबित्तिकै हाम्रो मन हर्षले भरिन्छ । दसैंमा धेरै इष्टमित्र, साथीभाइ एवं नातागोतासँग भेटघाट एवं रमाइलो गर्ने अवसर प्राप्त हुन्छ । त्यसैले आफ्नो घरलाई कसरी राम्रो, सफा र सुन्दर बनाउने भन्ने चिन्ता सबैमा हुन्छ । चाडपर्वमा सम्पूर्ण घरको आन्तरिक सजावट आवश्यक हुँदैन । विशेष गरी अतिथिहरूको आगमन हुने बैठक कोठा एवं डाइनिङका साथै हलहरूलाई मात्र ध्यान दिए पुग्छ । जसले गर्दा पैसा एवं समय दुवैको बचत हुन्छ ।

दसैं भन्नेबित्तिकै हामी रंगलाई महत्व दिन्छौं । रंगले नै घर सफा-सुग्घर देखाउने काम गर्छ । रंग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । रंग गर्नुअघि समयलाई विशेष ध्यान दिनु जरुरी छ । छोटो दिनमा रंग गर्न सम्भव हुँदैन । पर्याप्त समय लिए लगाइएको रंग सकभर उज्यालो लाइट फाल्ने किसिमको हुनुपर्छ । हाम्रो संस्कृतिमा गोल्डेन रंगसँग रातो, सेतो, गेरु वा हरियो रंग कम्बिनेसन हुने गरी प्रयोग गरिएको पाइन्छ । हाम्रो परम्परागत रंग गेरुलाई क्रिम वा अन्य लाइट कलरसँग मिसाउन सकियो भने यसले परम्परागत रूप प्राप्त गर्छ । जस्तो लिभिङ रुममा क्रिम र गेरु रंगको कुसन वा साझा कलर म्याच गर्न सकिन्छ । रंग छनोट गर्दा लाइट र डार्कको कम्बिनेसनलाई नै मूलमन्त्र वा सूत्र मानिन्छ । पर्दाका लागि पनि मिल्ने गरी रंग छान्न सकिन्छ । रंग छनोट गर्दा हल्का कलरमा आफ्नो थिम कलर मिक्स गरी नयाँ लुक्स दिन सकिन्छ । यसैगरी कार्पेटलाई पनि थिमसँग मिल्दोजुल्दो गरी ओछ्याउन मिल्छ ।

आन्तरिक सजावट  

फर्निचरको पुन: संयोजन : गलत तरिकाले राखिएका फर्निचरले घरलाई असजिलो बनाउँछन् । भरसक काउँच, कुर्ची, टेबल, डेक्स एवं सोफाहरूलाई भित्ताको प्रतिकूल हुने गरी राख्नुहुँदैन । फर्निचर पुन: संयोजन गर्दा ढोकाको नजिक तथा धेरै हिँडडुल गर्ने ठाउँको अगाडि फैलाउनु हुँदैन । विशेष गरी चाडपर्वमा धेरैजना अट्ने गरी फर्निचर सजाउनुपर्छ । फर्निचर सकभर कोठाको थिमसँग मिल्दो हुनुपर्छ ।

दियोको सजावट : दियोलाई विभिन्न चाडपर्वमा प्रयोग गरिन्छ । माटो, पित्तल, तामा आदिका दियो बजारमा सजिलै उपलब्ध हुन्छन् । विभिन्न प्रकारका दियोलाई फूल र रंगहरूले सजाउँदा चाडपर्व अझ रमाइलो हुन्छ ।

फ्लाटिङ क्यान्डल : फ्लाटिङ क्यान्डलले घरको वातावरणलाई सुमधुर बनाउनुका साथै आनन्द पनि प्रदान गर्छ । फ्लाटिङ क्यान्डललाई डाइनिङ टेबल, आन्तरिक बगैंचा, बैठक कोठाको लोकल प्वाइन्टका साथै मुख्य प्रवेशद्वारमा प्रयोग गर्न सकिन्छ । फ्लाटिङ क्यान्डलहरूलाई तामाको आरीमा पानी र फूलका साथ सजाउँदा आनन्द पनि प्राप्त हुन्छ ।

फूलको सजावट : ताजा फूलले कोठा र घरको सौन्दर्य बढाउनुका साथै शरीर तथा मस्तिष्कलाई ताजा बनाउँछ । फूलको गुच्छाले मानिसमा सकारात्मक प्रभाव पार्छ । फूल भगवान्को विशेष रचना हो । त्यसकारण फूललाई घरको कुनै ठाउँमा वा फ्लाटिङ क्यान्डलसँग प्रयोग गरेर न्यानो स्वागतको अनुभव प्रदान गर्न सकिन्छ ।

रंगोली : रंगोली भगवान्, धन, समृद्धि आदिलाई स्वागत गर्न बनाइन्छ । रंगोलीले घरको सजावटमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । रंगोली विशेष गरी महिलाहरूले बनाउँछन् । रंगोली विभिन्न रेखाजडित, धार्मिक विषयवस्तु, थिम, गरगहना आदि डिजाइनमा बनाइन्छ । रंगोली बनाउँदा पीठो एवं पातहरू प्रयोग गरिन्छ । यो सजावटका साथै धार्मिक विधि पनि हो ।

कुनै पनि चाडपर्वमा घर वा कोठा सजाउनु पर्दा बजारमा सहजै उपलब्ध हुने परम्परागत वस्तु एवं रंग छनोट गर्नु उपयुक्त हुन्छ । ढाकाको कपडा, करुवा, पानस, लोकताका बत्ती र वालफ्रेम, वालपेपर, हस्तकला, माटोका मूर्ति आदिले हाम्रो आन्तरिक सजावटलाई फरक बनाउँछन् । यी वस्तुहरूको प्रयोगबाट अतिथिहरूको ध्यान आकर्षण मात्र हुँदैन बेग्लै किसिमको आध्यात्मिक ऊर्जासमेत प्राप्त हुन्छ ।

- सपना सापकोटा

इन्टोरियर डिजाइनर

 Image