Successfully Copied

नेपालका देवी मन्दिर

नेपालमा अनेकौं देवी मन्दिर छन् । देशका प्राय: हरेक गाउँमा ग्रामदेवीका रूपमा प्रतिष्ठित विविध रूप एवं विशेषतायुक्त देवी मन्दिरहरू छन् ।

नेपालमा अनेकौं देवी मन्दिर छन् । देशका प्राय: हरेक गाउँमा ग्रामदेवीका रूपमा प्रतिष्ठित विविध रूप एवं विशेषतायुक्त देवी मन्दिरहरू छन् । बडादसैंका अवसरमा ती सबै स्थानमा विशेष पूजा-आराधना हुन्छ । देवीका मन्दिरहरूमा राँगा, बोका, हाँस, कुखुरा, परेवा आदिको बलि दिइन्छ । दसैंका नवरात्रभरि देवी मन्दिरहरूमा दर्शनार्थीको ठूलो भीड लाग्छ ।

देवी मन्दिरहरूमध्ये पनि शक्तिपीठ मानिने पुराणमा वणिर्त मन्दिरहरूलाई विशेष महत्व दिइन्छ । हुन त सबै देवी मन्दिर शक्तिपीठ नै हुन् तथापि सतीदेवीको अंग पतन भएर उत्पत्ति भएका मन्दिरलाई मात्र शक्तिपीठको मान्यता प्राप्त छ । स्कन्द पुराणअनुसार सत्ययुगमा भगवान् शंकरकी अर्धाङ्गिनी सतीदेवीको मृत्युपछि शक्तिपीठहरू उत्पन्न भएका हुन् । पिता दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा आफ्ना पति महादेवको निन्दा भएको कुरा सहन नसकी सतीदेवीले यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरिन् । त्यसपछि महादेवले आफ्ना गणहरूद्वारा उक्त यज्ञ विध्वंश गरी दक्षलाई सजाय दिएपछि मृत सतीदेवीलाई बोकेर जहाँतहीँ हिँड्न थाले । यसरी हिँड्दा सतीदेवीका अंग बिस्तारै झर्दै जान थाले र जहाँ-जहाँ सतीदेवीका अंग पतन भए त्यहाँ-त्यहाँ एक-एकवटा शक्तिपीठ, महादेव र योगिनी उत्पत्ति भए । विश्वभरमा यस्ता शक्तिपीठ ५२ वटा भएको बताइन्छ ।

श्री गुह्येश्वरी : सतीदेवीको गुह्य पतन भएको विश्वास गरिने गुह्येश्वरीको मन्दिर काठमाडौंको बाग्मती नदी किनारमा अवस्थित छ । उक्त स्थानमा सर्वप्रथम तेत्तीस कोटी देवताले आराधना गरेको विश्वास गरिन्छ । बडादसैंको अवसरमा घटस्थापनाको दिनदेखि नै विशेष पूजाआजा हुने यो शक्तिपीठमा अन्य समयमा पनि भक्तजनको भीड रहन्छ । यहाँ देवीको कुनै मूर्ति छैन । सतीदेवीको गुह्य पतन भएको ठाउँमा मन्दिरको गर्भगृह छ जहाँ एउटा सानो दुलो मात्र छ । त्यही स्थानमा श्रद्धालुहरूले भक्तिपूर्वक पूजा-आराधना गर्छन् ।

श्री दन्तकाली : दन्तकाली देवीको मन्दिर सुनसरी जिल्लाको धरानमा छ जहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । उक्त स्थानमा सर्वप्रथम गङ्गा प्रभृति नदीहरू आई पूजा-आराधना गरी वरदान प्राप्त गरेको शास्त्रहरूमा उल्लेख छ । बडादसैंको अवसरमा दन्तकालीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ ।

श्री वागेश्वरी : बाँके जिल्लाको नेपालगञ्जमा वागेश्वरी देवीको मन्दिर छ जहाँ सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम किन्नरहरू आई आराधना गरेको कथन छ । एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाल अधिराज्यमा गाभिएपछि मात्र पत्ता लागेको हो । बडादसैंको अवसरमा वागेश्वरीमा घटस्थापनका दिनदेखि नै विशेष पूजाआजा हुन्छ ।

श्री कमलाक्षी : सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षी देवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । कमलाक्षीमा सर्वप्रथम योगमार्गीहरूले आराधना गरी योगसिद्धि प्राप्त गरेको विश्वास गरिन्छ । एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देख्न सकिन्छ । बडादसैंको अवसरमा कमलाक्षीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ ।

श्री छत्रेश्वरी : सल्यान जिल्लाको छायाक्षेत्रमा छत्रेश्वरी देवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीका शेष रहेका सम्पूर्ण अंग पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेको विश्वास छ । भगवान् शंकरले विशेष पूजा-आराधना गरेको विश्वास रहेको हुँदा यो स्थानमा कुनै पनि अवसरमा बलि चढाइँदैन । नेपाल अधिराज्यभित्र यो मात्र त्यस्तो शक्तिपीठ हो जसमा बलि निषेध छ ।

श्री भैरवी : काठमाडौं जिल्लाको गोकर्ण क्षेत्रमा भैरवी देवीको मन्दिर छ जहाँ सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ । उक्त स्थानमा सर्वप्रथम विष्कुम्भहरू आई पूजा गरेको बताइन्छ । बडादसैंको अवसरमा भैरवी मन्दिरमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ ।

श्री ज्वालादेवी : दैलेख जिल्लाको सदरमुकामनजिक नाभी र छामगाड खोलाको किनारमा ज्वालादेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । ज्वालादेवी मन्दिरमा सर्वप्रथम हनुमान्ले पूजा-आराधना गरेको विश्वास गरिन्छ । ज्वालादेवीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ ।

श्री जालपादेवी : नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली र तादी नदीको दोभान देवीघाटमा जालपादेवीको मन्दिर छ । उक्त स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । जालपादेवी  मन्दिरमा सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गरेको वर्णन पाइन्छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिर नजिकै दोभानमा गरिएकाले नेपालको इतिहासमा यो मन्दिरको विशेष स्थान छ ।

श्री गलेश्वरी : म्याग्दी जिल्लाको राहुघाटस्थित कालीगण्डकीको किनारमा गलेश्वरी देवीको मन्दिर छ । त्यहाँको गलेश्वर महादेवको मन्दिर पनि निकै प्रसिद्ध छ । एउटै परिसरमा शक्ति र शिवको मन्दिर भएकाले पनि यो स्थानको विशेष महत्व छ यहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको पौराणिक प्रसङ्गमा उल्लेख छ ।

अन्य प्रमुख देवीमन्दिर

श्री तलेजु भवानी : काठमाडौं उपत्यकाको हनुमानढोका दरबार क्षेत्रमा अवस्थित तलेजु वा तुलजा भवानीको मन्दिर यसकारण पनि प्रसिद्ध छ कि यो वर्षको एकदिन अर्थात् शारदीय नवरात्रको महानवमीका दिन मात्र खुल्छ । उपत्यकाका तीनवटै सहरमा अवस्थित तलेजु भवनीलाई सिम्रौनगढबाट ल्याइएको हो । मल्लकालदेखि नै राजाहरूका इष्टदेवीका रूपमा पूजा गरिने यी देवीलाई नेवारहरूले समेत इष्टदेवी मान्ने गरेका छन् । यी देवीसित जोडिएका अनेक किंवदन्ती प्रचलित छन् । उपत्यकाका तीन सहरबाहेक नुवाकोट, बनेपा, दोलखा, नाला आदि स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ ।

श्री चण्डेश्वरी : काभ्रे पलाञ्चोक जिल्लाको बनेपास्थित चण्डेश्वरीलाई स्थानीय बासिन्दाहरू शक्तिपीठ नै मान्छन् । बडादसैं र चैतेदसैंका अवसरमा भक्तजनको घुइँचो लाग्ने यो मन्दिरप्रति स्थानीय जनताको अनुपम श्रद्धा रहिआएको छ ।

श्री पाथीभरा : ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा १२ हजार फिटको उचाइमा अवस्थित पाथीभरा मन्दिर नेपालका हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि उत्तिकै आस्थाको केन्द्र बनेको पाइन्छ । यहाँ श्री भवानीको ठूलो मन्दिर छ ।

श्री सिंहवाहिनी : तेर्‍हथुम र पाँचथर जिल्लाको सीमाक्षेत्र यासोकमा सिंहवाहिनी देवीको मन्दिर छ । यो मन्दिर परापूर्व कालमा बटुवाहरूले पत्ता लगाएको विश्वास गरिन्छ । बडादसैंको अवसरमा सिंहवाहिनी मन्दिरमा श्रद्धालुहरूको घुइँचो देख्न सकिन्छ ।

श्री कन्काई माई : यो मन्दिर झापा जिल्लाको कन्काई नदीको किनारमा अवस्थित छ । झापा जिल्लाका आदिवासी राजवंशीहरूकी आराध्यदेवी कन्काई माईले रोग-व्याधिहरूबाट रक्षा गर्छिन् भन्ने जनविश्वास छ ।

श्री छिन्ताङ भगवती : यो मन्दिर धनकुटाको छिन्ताङ गाविसमा छ । श्रीभवानीका सहस्रौं स्वरूपमध्ये एक छिन्ताङ भगवती लिम्बू समुदायकी आस्थाकी

प्रतीक मानिन्छिन् ।

श्री कमलामाई : विष्णु पुराणको मिथिला महात्म्यमा समेत वणिर्त कमला माईको मन्दिर सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीबाट ११ किलोमिटर दक्षिणमा छ । त्यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको पाइन्छ ।

श्री तौथलीमाई : सिन्धुपाल्चोक जिल्लाको पूर्वी भेगमा रहेको तौथलीमाई मन्दिरमा बडादसैंको टीकाका दिन ठूलो मेला लाग्छ ।

श्री मैदी भगवती : यो मन्दिर धादिङ जिल्लामा छ । महिषासुरको विनाशपछि सिंहवाहिनी देवीले विश्राम लिएको विश्वास गरिने यो मन्दिरमा पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएकाले यसको ऐतिहासिक महत्व छ ।

श्री विन्ध्यवासिनी : कास्की जिल्लाको पोखरामा अवस्थित विन्ध्यवासिनीलाई नेपालमा आगन्तुक देवी मानिन्छ । पुराणमा वणिर्त कथाअनुसार श्रीभवानी दक्षिण भारतको विन्ध्यांचलबाट हिमालयतर्फ जाने क्रममा यहाँ आएर रोकिएकी हुन् । बडादसैंको अवसरमा यो मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लाग्छ ।

श्री कालीकादेवी : लमजुङ जिल्लाको बेसी सहरस्थित कालिकादेवी शाहवंशीय राजाहरूकी आराध्यदेवी हुन् । द्रव्य शाहले गोर्खा राज्यको स्थापना गरेपछि यिनै कालिकादेवीको प्रतिरूपलाई गोर्खा राज्यमा स्थापित गरेका थिए ।

श्री अर्घाकोटदेवी : चौबीसे राज्यहरूमध्ये एक अर्घा राज्यका शाह राजाहरूकी आराध्यदेवी अर्घाकोट देवीको मन्दिर अर्घाखाँची जिल्लाको अर्घाकोटमा छ । अर्घाकोटदेवीको मन्दिरमा नौरथाभरि विशेष पूजा हुन्छ र पूणिर्माका दिन ठूलो मेला लाग्छ ।

श्री खैरावाङ : सल्यान जिल्लाको सदरमुकाम खलङ्गा बजारबाट २० किलोमिटर दक्षिणमा खैरावाङ भगवतीको मन्दिर छ । यो मन्दिरमा घटस्थापनाका दिनदेखि पूणिर्मासम्म विशेष पूजाआजा हुन्छ ।

श्री देउती बज्यै : सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरबाट २ किलोमिटर पूर्वमा अवस्थित देउती बज्यैलाई बालबालिकाहरूकी संरक्षक मानिन्छ । बडादसैंको अवसरमा यो मन्दिरमा विशेष पूजाआजा गरिन्छ ।

श्री त्रिपुरासुन्दरी : डोल्पा जिल्लाको उत्तर-पश्चिम क्षेत्रमा सानी भेरी नदीको किनारमा अवस्थित त्रिपुरासुन्दरी देवीलाई दानवराज यमकी आराध्यदेवी मानिन्छ । त्रिपुरासुन्दरीदेवीको अर्को प्रसिद्ध मन्दिर धादिङ जिल्लामा छ । यी दुवै मन्दिरमा दसैंका अवसरमा विशेष पूजा हुन्छ ।

श्री बडीमालिका : बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल यात्रा गरेपछि पुगिने बडीमालिका मन्दिर समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । बडादसैं र चैतेदसैंमा ठूलो मेला लाग्ने यो मन्दिरमा भक्तहरू मालिकादेवीकी आमाको पूजा गर्छन् । स्मरणीय छ, मालिकादेवीको मन्दिर पनि बाजुरामै १४ हजार ४ सय फिटको उचाइमा छ ।

श्री वरदादेवी : अछाम जिल्लाको सदरमुकाम मंगलसेन नजिकै गाजरा भन्ने ठाउँमा वरदादेवीको मन्दिर छ । रामारोशन पहाडको फेदीमा अवस्थित वरदादेवीको यही मन्दिरमा जुम्लाका प्रसिद्ध राजा जितारी मल्लले आफ्नो राज्य विस्तारका क्रममा विशेष पूजा-आराधना गरेको जनविश्वास छ ।

श्री सखडा भगवती : सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा सखडा भगवतीको मन्दिर छ । छिन्नमस्ता भगवती समेत भनिने यो मन्दिरमा बडादसैंका अवसरमा विशेष पूजा-आराधना हुने गरेको छ ।

श्री उग्रतारा : डडेलधुरा जिल्लाको सदरमुकामस्थित श्री उग्रताराको मन्दिरमा वर्षैभरि श्रद्धालुहरूको भीड लाग्छ । स्थानीय बासिन्दाहरू उग्रतारालाई सबै किसिमका विघ्नहर्ताका रूपमा पूजा गर्छन् ।

श्री महाकाली : कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरस्थित महाकालीलाई स्थानीय जनता भारतको पूर्णगिरिमा रहेको शक्तिपीठको एउटा खण्डका रूपमा पूजा गर्छन् । नेपालको पश्चिमी सीमा महाकाली नदीको नामकरण यिनै देवीको नामबाट गरिएको विश्वास छ ।

श्री तालबाराही : कास्की जिल्लाको पोखरास्थित फेवातालमा रहेकी तालबाराहीलाई सबै किसिमका तालतलाउहरूकी स्वामिनीका रूपमा पूजा गरिन्छ । बडादसैंको अवसरमा यो मन्दिरमा दर्शनार्थीहरूको घुइँचो दर्शनीय हुन्छ ।

श्री गढीमाई : बारा जिल्लाको सदरमुकाम कलैया बजारबाट दक्षिणमा पर्ने गढीमाई स्थानीय जनताको ठूलो आस्थाकेन्द्र हो । हरेक ५ वर्षमा ठूलो मेला लाग्ने यो मन्दिरमा नेपाल अधिराज्यमै सबैभन्दा बढी बलि चढाइन्छ । बडादसैंको अवसरमा गढीमाईमा विशेष पूजाआजा हुने गरेको छ ।

श्री डिंग्रे भगवती : रुकुम जिल्लाको सदरमुकाम मुसिकोटस्थित यी भगवतीलाई स्थानीय बासिन्दाहरू सन्तानेश्वरी देवीका रूपमा पूजाआजा गर्छन् । बडादसैंको अवसरमा यो मन्दिरमा ठूलो घुइँचो हुन्छ ।

श्री नैनादेवी : कैलाली जिल्लाको सदरमुकाम धनगढीमा अवस्थित नैनादेवी मन्दिरको सम्बन्ध भारतको नैनीतालस्थित नैनादेवीसँग रहेको स्थानीय जनविश्वास छ । बडादसैंको अवसरमा बलि चढाइने यो मन्दिरप्रति स्थानीय जनताको ठूलो आस्था छ ।

श्री दक्षिणकाली : काठमाडौं उपत्यकाबाट २१ किलोमिटर दक्षिणमा पर्ने शेषनारायण गाविसमा दक्षिणकाली मन्दिर छ । हरेक समय उत्तिकै भीड लाग्ने यो मन्दिरमा शनिबार र मंगलबार विशेष घुइँचो हुन्छ । नवरात्रका अवसरमा विशेष रूपले पूजाआजा गरिने यो मन्दिर निकै प्रसिद्ध छ ।

श्री शोभा भगवती : काठमाडौं उपत्यकामा विष्णुमती नदीको किनारमा अवस्थित यो मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो । बडादसैंका अवसरमा यो मन्दिरमा भक्तजनको ठूलो भीड रहन्छ ।

श्री मैतीदेवी : काठमाडौं उपत्यकाको मैतीदेवीमा अवस्थित यो मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो । मैतीदेवी भन्ने स्थानको नाम यिनै देवीको नामबाट रहेको हो । बडादसैंका अवसरमा यो मन्दिरमा भक्तजनको ठूलो भीड लाग्छ ।

श्री भद्रकाली : श्रीमद्भागवत महापुराणमा समेत उल्लेखित भद्रकाली मन्दिर काठमाडौं उपत्यकाको केन्द्रमा अवस्थित छ । यो निकै प्रसिद्ध मन्दिर हो । अन्य समयमा पनि श्रद्धालुहरूको कमी नहुने यो मन्दिरमा बडादसैंका अवसरमा भक्तजनको ठूलो भीड देखिन्छ ।

 Image