Successfully Copied

फेसन बनेको तीज

प्रत्येक वर्षझैं यसपटकको तीज पनि धुमधामसँग मनाइयो छ । चाडपर्वमा धूमधामले सरिक भएर रमाइलो गर्नु एक प्रकारले संस्कृतिको संरक्षण नै हो तर परम्परा एवं संस्कृतिलाई त्यसको मौलिकतामा असर पर्ने गरी फेसनका रूपमा अँगाल्नु विकृति हो ।

प्रत्येक वर्षझैं यसपटकको तीज पनि धुमधामसँग मनाइयो छ । चाडपर्वमा धूमधामले सरिक भएर रमाइलो गर्नु एक प्रकारले संस्कृतिको संरक्षण नै हो तर परम्परा एवं संस्कृतिलाई त्यसको मौलिकतामा असर पर्ने गरी फेसनका रूपमा अँगाल्नु विकृति हो । केही समययता तीज मनाउने चलनमा पनि यस्तै परिवर्तन देखा परेको छ । दर खाने चलनमा निकै परिवर्तन आएको छ । भोलिपल्ट व्रत बस्नका लागि अघिल्लो दिन खाइने विशेष खानेकुराहरू तामसी हुँदै गएका छन् । पहिले दरमा माछा-मासु, लसुन-प्याज, च्याउजस्ता तामसी भोजन सामेल गरिँदैनथे । धार्मिक मान्यता एवं स्वास्थ्यमा त्यसले पार्ने कुप्रभावका कारण त्यस्तो हुन्थ्यो । अहिले स्थिति एकदम फरक छ । देखासिकीका रूपमा अघि बढेका अनेकौं प्रचलनका कारण तीज फेसनको पर्याय बनेको छ र यो गरिबहरूको पहुँचबाट टाढा हुँदैछ ।

               - पल्लवी शर्मा, घट्टेकुलो

नारी नयाँ  

म नियमित रूपमा नारी पढ्छु । नारी पत्रिका महिलाहरूका लागि निकै उपयोगी छ । नारी अहिले नयाँ रूप र साजसज्जाका साथ आउन थालेको छ । त्यसैले मलाई एकदमै खुसी लागेको छ । यसरी आफूलाई समयअनुरूप परिवर्तन गराउँदै लानु नारीको महत्वपूर्ण पक्ष हो । यो अझ राम्रो हुँदै जानुपर्छ । महिलाका पक्षमा आवाज उठाउन अझ सशक्त भएर लाग्नुपर्छ । नारीले महिलाका लागि सम्पूर्ण खुराक समेटिएको प्याकेजका रूपमा प्रस्तुत हुन सक्नुपर्छ । नारीले पृष्ठसंख्या तथा मूल्य वृद्धि गरेर भए पनि बढीभन्दा बढी क्षेत्रसँग सम्बन्धित पठनीय विषयवस्तु समेट्नुपर्छ । नेपाली नारीको प्रतिनिधिमूलक पत्रिका भएकाले यसको जिम्मेवारी पनि ठूलो छ । त्यसैले यो पत्रिकाका हरेक अंक अझ नयाँ भएर आउनुपर्छ ।

               - पवित्रा अधिकारी, कपन

स्वतन्त्रता : कुरा मात्रै

हामीकहाँ नारी समानताको चर्चा प्रशस्त हुने गरेको छ तर व्यवहारमा महिलाहरूले सदियौंदेखि झेल्दै आएको असमानता हट्न सकेको छैन । जानेर वा नजानेर विभिन्न बहानामा नारीमाथि अत्याचार भैरहेको छ । अझ शारीरिक शोषणको कुरा त गरिसाध्य छैन । हत्या, हिंसा, बलात्कार, छेडखानीजस्ता थुपै्र अभद्र क्रियाकलाप पनि महिलामाथि नै हुने गरेका छन् तर पनि त्यस्ता कार्यमाथि अंकुश लगाउन संस्थागत अग्रसरता पर्याप्त मात्रामा हुन सकेको छैन । त्यस्ता घटनाहरू हुन्जेल जतिसुकै समानताका कुरा गरे पनि महिलाले समानताको अनुभूति गर्न पाउने छैनन् र नारी समानताको कुरा गर्नु नै बेकार हुनेछ । नारी समानतालाई सशक्त रूपले व्यवहारमा लागू गर्न महिलाहरूलाई आर्थिक रूपले समृद्ध बनाउने तथा स्वनिर्णयको अधिकार प्रयोग गर्न सक्ने बनाउनु आवश्यक छ । महिलालाई घरभित्र पनि शक्तिशाली बनाइनुपर्छ । घरायसी काममा पनि यो त महिलाको काम भनेर पुरुषले बेवास्ता गर्नुहुँदैन । कुनै पनि काममा उत्तिकै सहभागी हुनुपर्छ अनि मात्र साँचो अर्थमा समानता आउँछ । यसका साथै महिलामाथि हुने हिंसामा राज्यले शून्य सहनशीलताको नीति अँगाल्नु पनि उत्तिकै आवश्यक छ ।

               - सुभद्रा थापा, बानेश्वर

मापसे परीक्षणको सकारात्मक प्रभाव

केही वर्षअघिदेखि ट्राफिक प्रहरीद्वारा सञ्चालित मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेहरू माथिको कारबाही अत्यन्तै प्रशंसनीय छ । मापसेविरुद्ध हुने कडा कारबाहीका डरले मादकपदार्थ सेवन गरेर हुने अपराध एवं दुर्घटनामा पनि कमी आएको छ जुन ट्राफिक प्रहरीको तथ्यांकबाट समेत पुष्टि हुन्छ । मापसेका कारण धेरैको अंगभंग भएको, ज्यान गएको तथा ठूलो धनजनको क्षति भैरहेको सन्दर्भमा ट्राफिक प्रहरीले चलाएको यस्तो सकारात्मक अभियानले निकै प्रशंसा पाएको छ । उक्त अभियानका विरुद्ध केही मदिरा व्यवसायी एवं उद्योगीले दबाब बढाइरहेका भए पनि मदिरा प्रयोगसम्बन्धी मापदण्ड परिवर्तन गर्नु तथा परीक्षण खुकुलो पार्नु हुँदैन । कडा नियम-कानुन नभए कसैले टेर्दैन । अब मापसे गरे-नगरेको जाँच गर्ने क्रममा अत्याधुनिक ब्रेथलाइजर प्रयोग हुन थालेको छ । त्यसका साथै राडार गन पनि प्रयोग हुने भएपछि त सडकका अन्य कतिपय विकृति अन्त्य हुने विश्वास गर्न सकिन्छ ।

               - सरिता आचार्य, कुपन्डोल

नारीको आवरणमा सञ्चिता लुइँटेल सार्‍है राम्री देखिएकी छिन् । बेजोडको सौन्दर्य छ-उनमा ।

               - रमिता शर्मा, गैरीगाउँ

स्वतन्त्रता प्रमुख अधिकार त हो तर स्वतन्त्रताको परिभाषा के ? (उल्लासमा अवरोध किन, भदौ नारी)

               - सरस्वती थापा, थापागाउँ, बानेश्वर

तीजलाई नारी मासिकले राम्रै गरी मनाएको पाएँ ।

               - प्रगति बस्नेत, कौशलटार

नखाँदैमा व्रत हुने हो र ? खाना नखानु त अनशन पो हो । व्रतका अनेकौं प्रकार छन् जसलाई आफ्नो शरीर एवं स्वास्थ्यअनुकूल प्रयोग गर्न सकिन्छ । (स्वास्थ्यलाई ध्यान दिँदै व्रत बसौं, भदौ नारी)

               - लक्ष्मी भट्टराई निरौला, झापा

नारीमा परिकार स्तम्भअन्तर्गत प्रकाशित रेसिपीहरू पढेर म पनि परिकार तयार पार्न खप्पिस भैसकें ।

               - पद्मा राई, धरान

गतांकको नारी सञ्चिताको सौन्दर्यले धपक्क बलेको पाएँ ।

               - लोकमाया बाँस्तोला, मोरङ

भदौ महिनाको नारी मेकओभर मन पर्‍यो । सरु बराइलीलाई रिना प्रधानले चिटिक्कै पारिदिएकी छिन् ।

               - सुमना ढकाल, सामाखुसी

कस्मेटिक प्रोडक्ट्ससम्बन्धी जानकारीका लागि नारीलाई

मुरीमुरी धन्यवाद ।

               - कविता लामा, धादिङ

भदौमा प्रकाशित महादेव मन्दिरहरूको जानकारी अपूर्ण  छ । दिइएको जानकारी पनि सार्‍है  छोटो भयो ।

               - पल्लवी पाठक, नुवाकोट

केटु हिमाल आरोहण गरेर नेपालीहरूको शिर उँचो पार्ने नारीहरूलाई हार्दिक सलाम । (यसरी चढ्यौं केटु, भदौ नारी)

               - रूपा फुयाँल, मूलपानी

साउन महिनाको नारीमा प्रकाशित महिला स्वास्थ्यसम्बन्धी जानकारी

उपयोगी छन् ।

               - पवित्रा सुनार, गोंगबु

नारीले सामाजिक काममा लागेर उदाहरणीय बनेका आमनेपाली महिलाका विषयमा अझ बढी जानकारी प्रदान गरोस् ।

               - विनीता अधिकारी, स्वयम्भू

 Image