Successfully Copied

शशि रावलको तीज एल्बम

रक गायनमा छुट्टै पहिचान बनाइरहेकी गायिका शशि रावलले यो वर्ष भिन्नै शैलीको तीज गीत बजारमा ल्याएकी छिन्।

रक गायनमा छुट्टै पहिचान बनाइरहेकी गायिका शशि रावलले यो वर्ष भिन्नै शैलीको तीज गीत बजारमा ल्याएकी छिन्। रावलले आफ्नी आमाको रहरका कारण आफूले 'ताली बजाइदेऊ' बोलको तीज गीत गाएकी हुन्। उनले १५ मिनेटको उक्त गीतमा आफ्नी आमालाई नै नचाएकी छिन्। यो डीभीडीमा उनका पुराना चर्चित गीतहरू चाहना सकियो, तिम्रो हात समाई, त्यो ज्यानले मार्‍यो, यो कस्तो मोहनी आदि भिडियो पनि समावेश छन्। तीजको अवसर पारेर बजारमा ल्याइएको यो डीभीडीमा समाविष्ट तीजको गीतमा महिलाहरूले महिलाहरूलाई नै सताउने कुरा पनि उल्लेख छ। जिविस डिजिटलले बजारमा ल्याएको यो डीभीडीको मूल्य २ सय ५० रुपैयाँ छ।

उज्यालो अन्धकार

धादिङको छत्रेदेउरालीमा जन्मिएकी कुमारी लामा केही वर्षयतादेखि निबन्ध विधामा सशक्त रूपमा अघि बढिरहेकी छिन्। नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने लामाका निबन्ध एवं समीक्षाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन्। 'उज्यालो अन्धकार' कुमारी लामाको पहिलो कृति हो जसमा संग्रहित निबन्ध नेपाली निबन्ध लेखनमा नौलो प्रयोग साबित हुनसक्छ। जीवन भोगाइका निजी तथा अरुका अनुभवबाट बाँच्नुको खास अर्थ दिनु उनको लेखनको मुख्य विशेषता हो। कृतिमा समाविष्ट विविध विषयका २५ वटा निबन्धमा भिन्दाभिन्दै परिवेश, विषय एवं भोगाइहरू छन्। कतिपय निबन्ध कविताको धारमा बगेजस्तो लाग्छ। याम्बुरी बुक प्वाइन्टले बजारमा ल्याएको यो निबन्ध संग्रहको मूल्य २ सय २५ रुपैयाँ छ।

बिर्खेलाई चिन्छस्

यो चलचित्रको कथा साधारण जीवनमा रमाइरहेका बिर्खे नामक एकजना मान्छेको जीवनकोे घटनामा घुमेको छ। मुख्य पात्र बिर्खेमा चाहना छ, इच्छा छ, जोस छ, जाँगर छ, धैर्य छ तर त्यसको मूल्य छैन। समाजमा यस्ता थुप्रै पात्र छन्, ती सबैलाई लक्षित गरी बिर्खेलाई चिन्छस् निर्माण गरिएको देखिन्छ। जगदीश्वर थापाको कथामा तयार पारिएको यो चलचित्रमा अराज केशव गिरीको निर्देशन छ। सुवास थापाले निर्माण गरेको यो चलचित्रमा निर्माता थापासँगै आयुषा राई, विनीता खड्का, बालदीप राई, सुरवीर पाण्डे, शिशिर राणा, निर्मल शर्मा, लुनिभा तुलाधर आदिको अभिनय हेर्न सकिन्छ।

ब्युटी अन क्लासिक म्युजिक

कलाकार सपना पौडेलको यो चित्रमा देवी सरस्वतीको स्वरूप झल्कन्छ। मयूरको रमाइलो नृत्यले एकप्रकारको संगीतको झलक दिन्छ। त्यस्तै पेन्टिङमा महिलाले क्लासिक बाजा तानपुरा बजाएको देखाइएको छ। कमलको फूलले धार्मिक महत्वका साथमा पानीको आवाज, फूल, पात र कलर सबैलाई संगीतमा समेटेर त्यसको सौन्दर्य देखाउन खोजिएको छ।

 Image