Successfully Copied

सौन्दर्य

तीजमा के बिक्री हुँदैन? महिलाहरूले भएभरको सौन्दर्य सामग्री तीजमै लगाउँछन्। विशेष गरी राता प्रसाधनको माग ह्वात्तै बढ्छ।

निना गौतम, ब्युटी कलेक्सन, बानेश्वर

तीजमा कुन सौन्दर्य प्रसाधन बढी बिक्री हुन्छ?

तीजमा के बिक्री हुँदैन? महिलाहरूले भएभरको सौन्दर्य सामग्री तीजमै लगाउँछन्। विशेष गरी राता प्रसाधनको माग ह्वात्तै बढ्छ। लिपिस्टिक, नेलपोलिस, टीका एवं आइस्याडो बढी बिक्री हुन्छन्।

नेपाली बजारमा कुन ब्रान्डको माग बढी छ?

नेपाली बजारमा ब्रान्डेड वा ननब्रान्डेड सामानको माग तथा बिक्री उस्तै छ। उपभोक्ताहरूको क्रय क्षमता फरक-फरक छ भने कसैलाई कुन त कसैलाई कुन ब्राप्ड फाप्छ।

कस्मेटिक खरिद गर्दा के-कस्ता कुरामा ध्यान दिनुपर्छ?

कस्मेटिक छालामा प्रयोग गर्नुपर्छ। त्यसैले यसको छनोटमा निकै ध्यान पुर्‍याउनुपर्छ। कस्मेटिक खरिद गर्दा त्यसको लेबलिङ, वासना तथा रंगमा ध्यान पुर्‍याउनुपर्छ। नक्कली कस्मेटिकको बिगबिगी भएकाले विश्वासिलो पसलबाट मात्र कस्मेटिक खरिद गर्नुपर्छ।

गुणस्तरहीन कस्मेटिकको प्रयोगले के-कस्ता समस्या निम्त्याउँछन्?

गुणस्तरहीन कस्मेटिकले अनुहारमा विभिन्न समस्या जन्माउन सक्छन्। नक्कली लिपिस्टिकले ओठ कालो बनाउँछ भने गुणस्तरहीन नेलपोलिसले नङ पातलो बनाउँछ। त्यस्तै क्रिमले अनुहारमा डन्डिफोर तथा चायाँको समस्या निम्त्याउनुका साथै इन्फेक्सन पनि हुनसक्छ।

तीजमा कस्ता कस्मेटिक खरिद गर्नुपर्छ?

अहिले केही गर्मी छ। तीजमा दिनभरि नाच्नुपर्छ। त्यसैले ग्लसी भन्दा म्याट कस्मेटिक खरिद गर्नुपर्छ। ग्लसी कस्मेटिक पसिनाले तुरुन्त बगाउन सक्छ। अहिले बजारमा वाटरप्रुफ प्रशाधन पनि उपलब्ध छन्।

एकैपटक बढी कस्मेटिक खरिद गर्नु कत्तिको सान्दर्भिक हुन्छन्?

हरेक कस्मेटिकको आ-आफ्नो उमेर हुन्छ। कुनै पनि सामग्री खोलेपछि त्यसलाई लगाउने समयसम्म प्रयोग गर्नुपर्छ। त्यसैले आफूलाई सुहाउने तथा एकपटकमा एउटै रंगका सामग्री खरिद गर्नुपर्छ। त्यो सकिएपछि मात्र अर्को खरिद गर्नुपर्छ। एकैपटक धेरै कस्मेटिक खरिद गर्नु भनेको पैसाको बर्बादी हो।

स्वास्थ्य

डा. दीपेश्वरा नेपाल, कान्ति बाल अस्पताल

बालबालिकालाई वर्षामा कुन रोग बढी लाग्छ?

वर्षामा बालबालिकालाई विशेषगरी टाइफाइड, जन्डिस, झाडापखाला आदि रोगले बढी सताउँछन्।

वर्षामा यस्ता रोग लाग्नुको मुख्य कारण?

वर्षामा टाइफाइड तथा जन्डिस हुनुका पछाडि दूषित खाना, दूषित पानी तथा भाइरसको संक्रमण मुख्य कारण हुन्छ।

टाइफाइड तथा जन्डिसले कुन उमेरका बालबालिकालाई बढी सताउँछन्?

सामान्यतया पाँच वर्षभन्दा माथिका बालबालिकालाई टाइफाइडले बढी सताउँछ भने पाँच वर्षभन्दा कमका बालबालिकालाई जन्डिस हुनसक्ने सम्भावना बढी हुन्छ।

यस्ता रोगीलाई कस्ता खानेकुरा ख्वाउनु उचित हुन्छ?

पहिले-पहिले जन्डिस हुँदा मासु, बेसार तथा नुन खानु हुँदैन भन्ने चलन थियो जुन गलत हो। जन्डिस भएकाले ती सबै कुरा खान हुन्छ। अण्डा पनि खान हुन्छतर चिल्ला खानेकुराहरू भने खानु हुँदैन। यसैगरी टाइफाइड आन्द्राको इन्फेक्सनका कारण हुने भएकाले नरम खानेकुरा खानुपर्छ। यस्ता बिरामीले राम्रोसँग गल्नेगरी पकाइएको मासु पनि खान मिल्छ।

यस्ता रोग लागेका बिरामीमा के-कस्ता लक्षण देखापर्छन्?

जन्डिस भएका बिरामीको आँखा तथा पिसाब पहेंलो हुन्छ। यसैगरी १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउनसक्छ। वाकवाकी लाग्ने, पेट दुख्ने हुन्छ। यी सब साधारण जन्डिसका लक्षण हुन्। जन्डिसले जटिल रूप लिए बिरामी राति सुत्दैन, दिउँसो मात्र सुत्छ। बिरामी बेहोस भएर कराउँछ। बिरामीले मान्छे नचिन्ने, बिरामीको मुख तथा दिसाबाट रगत आउने हुन्छ। पेटमा पानी जमेर शरीर सुन्निन्छ। पिसाब कम लाग्छ। यसैगरी टाइफाइड हुँदा ज्वरो आउँछ। टाउको दुख्छ भने पेट दुख्ने तथा फुल्ने हुन्छ। कसैकसैैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुन्छ। जिब्रो सेतो हुन्छ।

रोकथामका उपाय के होलान्?

बालबालिकालाई सफासुग्घर राख्नुपर्छ। हात धोएर खाने बानीको विकास गराउनुपर्छ। पोषिलो, सफा तथा स्वास्थ्यवर्द्धक खानेकुरा मात्र ख्वाउनुपर्छ। फलफूल तातो पानीमा पखालेर मात्र ख्वाउनुपर्छ। नजिकको स्वास्थ्य संस्थामा गएर रोगविरुद्धको भ्याक्सिन लगाउनुपर्छ। समयमा उपचार नगराउँदा रोगले जटिल रूप लिएर बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले रोग लाग्नेबित्तिकै उपचार गराउनुपर्छ।

 Image