Successfully Copied

सौभाग्यको प्रतीक रातो रंग

गैरीधाराकी मञ्जु कार्की तीजका दिन रातो पहिरनमा सजिएर शिव मन्दिर जान्छिन्।

गैरीधाराकी मञ्जु कार्की तीजका दिन रातो पहिरनमा सजिएर शिव मन्दिर जान्छिन्। तीजमा विवाहको दिन लगाइएको रातो साडी नै लगाउनुपर्छ भन्ने परम्परालाई उनले निरन्तरता दिएकी छिन्। उनी तीजमा विवाहको दिन लगाएको रातो साडीका साथमा गहना तथा त्यसै दिन प्रयोग गरिएको सिन्दूर लगाउँछिन्। मञ्जु मात्र नभएर हरेक महिला तीजको दिन रातै भएर हिँड्ने गरेका छन्। महिलाहरू राता पहिरनमा सजिएर हिँड्दा वातावरण पनि निकै सुन्दर देखिन्छ। हाम्रो नेपाली समाजमा रातो रंगलाई सौभाग्यको प्रतीक मानिने भएकाले पनि यो दिन महिलाहरू श्रीमान्को दीर्घायुका लागि राताम्मे भएर हिँड्छन्। रातो रंगलाई सौभाग्यको प्रतीक मानिने भएकाले तीजमा महिलाहरू रातै भएर हिँड्न मन पराउँछन्।

महिलाहरूलाई खासगरी तीज तीन दिन लाग्छ। दर खाने दिन, तीजको दिन तथा पञ्चमी। कतिपय महिला तीजका दिन रातो पहिरन लगाएर शिव मन्दिरमा घन्टौं लाइन बस्छन्। यसरी पूजाआजा गर्दा श्रीमान्को आयु लामो हुने जनविश्वास छ।  

ज्योतिषाचार्य शालिग्राम ढकालका अनुसार परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले यही दिन व्रत बसी शिवजीलाई श्रीमान्का रूपमा पाएकी हुनाले विवाहित नारीहरू तीजको दिन आफ्ना श्रीमान् तथा परिवारको दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै व्रत बस्छन्। अविवाहित महिला पनि यो दिन सुयोग्य वरको कामना गर्दै व्रत बस्छन्।

विवाहित महिलाले तीजको दिन विवाहकै दिन लगाइएको चुरा-पोते, गरगहना एवं साडी लगाउनुको कारण स्पष्ट पार्दै ढकालले भने-अग्निको परिक्रमा गर्दा लगाएकाले जीवनभर यस्तै सुमधुर सम्बन्ध कायम होस् भनेर तीजमा विवाहको पहिरन एवं गरगहना लगाइएको हो। रातो रंग सुहाग तथा सौभाग्यको प्रतीक मान्ने निमा शर्माले यो दिन सोह्र श्रृंगार गर्दा आफूलाई छुट्टै आनन्द मिल्ने र विवाहको दिनको सम्झना हुने बताइन्।

पञ्चमीका दिन पूजा गर्दा पनि महिलाहरूले रातै पहिरन लगाउँछन्। रातो पहिरन लगाएर नाचगान गर्दा शरीरमा बेग्लै ऊर्जा प्राप्त हुने निमाले बताइन्। वर्ष दिनमा एकपटक आउने महिलाहरूको महान् चाड तीजलाई रमाइलोका साथ मनाउनुपर्ने धारणा निमाको छ।

 Image