Successfully Copied

सुखका लागि सहनशीलता

ग्लोबलाइजेसनका कारण धेरै कुराको अर्थ र महत्व परिवर्तन भएको छ। महिलाको कार्यक्षेत्र फराकिलो हुन थालेको छ।

असहनशीलताको कारण

ग्लोबलाइजेसनका कारण धेरै कुराको अर्थ र महत्व परिवर्तन भएको छ। महिलाको कार्यक्षेत्र फराकिलो हुन थालेको छ। पुरुषको जिम्मेवारी पनि पहिलेको तुलनामा बढेको छ। सबैको व्यस्तता बढेका कारण परम्परागत जीवनमा परिवर्तन देखिनु स्वाभाविक हो। सबैमा कोभन्दा को कमको भावना जागृत भएको छ। महिलामा जागरुकता बढ्दो छ। महिलाहरू आफ्नो कर्तव्यका साथै अधिकारका लागि पनि सचेत हुन थालेका छन्। अर्कातर्फ विभिन्न तनावका कारण पुरुषमा धैर्यको कमी हुन थालेको छ।

सम्पन्नतामा पालन-पोषण

हिजोआज बालबालिका प्रत्येक दिन केही न केही हराउँछन्, त्यसलाई अभिभावकहरूले सामान्य रूपमा लिन्छन्। हराउनेबित्तिकै अर्को सामग्री किनिदिने चलन छ। उनीहरूले एकछिन पनि प्रतीक्षा गर्नुपर्दैन। यसले उनीहरूमा कुनै कुरामा धैर्य गर्नु नपर्ने बानीको विकास गरेको छ। कालान्तरमा अरू कुराको पनि प्रतीक्षा गर्न नसक्ने बानीको विकास हुँदा मानिस धैर्य नै गर्न नसक्ने अवस्थामा पुग्छ। युवापुस्तामा देखिएको धैर्यको अभावमा पनि यस्तै कुराले काम गरेको हुनसक्ने मनोवैज्ञानिकहरूको ठहर छ।

सुविधाजनक जीवन

आर्थिक एवं वैज्ञानिक प्रगतिका कारण जीवनशैली सुविधा सम्पन्न हुँदै गएको छ। केही समयअघिसम्म अधिकांश महिलाको सम्पूर्ण दिन भान्सामा बित्थ्यो। पुरुषहरू बाहिरी कामकाजमा सीमित हुन्थे। आज घरेलु उपकरणको उपस्थितिले घरेलु कामकाज सरल भएको छ। इन्टरनेटले विश्वको दूरी घटाएको छ। काखे कम्प्युटर, मोबाइल फोन तथा टेलिभिजनका कारण मानिसहरू थोरै समयमै धेरै व्यक्तिसँग गफगाफ गर्न सक्छन्। यसले मानिसमा धैर्य गर्ने बानी हराएको छ। पहिले सानो कामका लागि पनि ठूलो परिश्रम गर्नुपथ्र्यो परिणामका लागि धैर्य गर्नुपथ्र्यो। आज थोरै समयमा क्षणभरमै धेरै उपलब्धि हासिल हुन थालेको छ। जीवन सहज बन्दैछ। यद्यपि यसले धैर्य र सहनशीलताबाट मानिसलाई टाढा पुर्‍याएको छ।

आत्मनिर्भरता

घरमा दुवैजना कमाउँछन् भने त्यसबाट परिवारको आर्थिक एवं मानसिक दुवै स्थिति सुदृढ हुन्छ। यो आत्मनिर्भरतालाई यदि आत्मकेन्दि्रत भएर हेरिए मानिस मतलबी बन्न पुग्छ। व्यक्ति मतलबी बन्न थालेपछि उसमा फरक किसिमको स्वभाव विकसित हुन थाल्छ। यसले अरूबाट चाँडै फाइदा खोज्ने बानीको विकास भएको छ। चाँडै कुनै कुरा चाहनु अधैर्यको उदाहरण हो।

महत्वाकांक्षा

आत्मनिर्भरतासँगै मानिस बढी महत्वाकांक्षी हुन थालेको छ। निरन्तर अघि बढ्न ऊ विभिन्न विकल्पको खोजीमा हुन्छ। कुनै विकल्प भेट्नेबित्तिकै पहिले गरिरहेको कुरा छाड्ने प्रवृत्ति बढेको छ।

बदलिँदो सामाजिक परिवेश

पछिल्ला केही वर्षयता हाम्रो सामाजिक परिवेश धेरै हदसम्म बदलिएको छ। पहिले संयुक्त परिवार थियो। संयुक्त परिवारको जिम्मेवारी परिवारका सबै सदस्यमा बराबर हुन्थ्यो। आज एकल परिवारको चलन बढ्दो छ। यस्तो परिवारमा श्रीमान्-श्रीमती दुवै कामकाजी हुन थालेका छन्। घर-बच्चा र घरबाहिरको जिम्मेवारी बाँड्ने तेस्रो व्यक्ति छैन। फलस्वरूप थोरै चाहने, तर तुरुन्तै प्राप्त गर्नुपर्ने धारणाको विकास भएको छ।

केही विवशता पनि

धैर्य एवं सहनशीलताको कमीका पछाडि थुप्र्रै कारण हुन्छन्। केही वर्षयता दैनिक जीवन तुलनात्मक रूपमा सहज भए पनि जीवन संघर्षपूर्ण नै छ। कतै घरमा अनुशासनहीन बालबालिका त कतै आफ्नै जिम्मेवारीबाट भाग्न चाहने श्रीमान् भने कतै लापरबाह र गैरजिम्मेवार महिलाको उपस्थिति देखिन्छ। कतै शिशुको पढाइ र करिअरका लागि चिन्तन हुन्छ भने कतै घर र नोकरीबीच सन्तुलन कायम गर्न परिश्रम गर्नुपर्ने बाध्यता छ। कतै आवश्यकताभन्दा बढी काम गराउने हाकिम छन् त कतै कामचोर सहयोगी। यस्तो अवस्थामा संवेदनशील व्यक्तिले कति सहनशीलता कायम गर्न सक्छ? यद्यपि सबैले धैर्य कायम राख्ने प्रयास भने छाड्नुहुँदैन। आफूमा धैर्यको कमी हुँदै गएको महसुस भए मनोचिकित्सकसँग सम्पर्क राख्नु उपयुक्त हुन्छ।

 Image