Successfully Copied

चलचित्र : कोहिनूर

६ वर्षअघि नायक श्रीकृष्ण श्रेष्ठले नयाँ नायिका श्वेता खड्का खोजेर कहाँ भेटिएला चलचित्र बनाए जुन निकै सफल भयो।

६ वर्षअघि नायक श्रीकृष्ण श्रेष्ठले नयाँ नायिका श्वेता खड्का खोजेर कहाँ भेटिएला चलचित्र बनाए जुन निकै सफल भयो। चलचित्रपछि यी दुईको जोडीलाई धेरैले रुचाए। गत महिना वास्तविक जीवनमै वैवाहिक सम्बन्ध गाँसेको यो जोडीको दोस्रो चलचित्र कोहिनूर यही महिना रिलिज हुँदैछ। नेपाल मुभिज् प्रालिको ब्यानरमा श्रीकृष्ण श्रेष्ठको प्रस्तुति रहेको कोहिनूरमा मुम्बईको कोठीमा जीवन चलाउन विवश पात्रको कथा छ। मुम्बई तथा काठमाडौंमा सुटिङ गरिएको कोहिनूरमा आकाश अधिकारीको कथा एवं निर्देशन छ भने श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा आदि कलाकारहरूले अभिनय गरेका छन्।

क्यासेट : ऋतुका फूलहरू

गायिका ऋतु कँडेलले आधुनिक पप संग्रह बजारमा ल्याएकी छिन्। गायिका कोमल वलीलाई गुरु मान्ने ऋतुको यो एल्बममा ६ वटा आधुनिक तथा पप गीत छन्। एल्बमका गीतमा कालीप्रसाद बास्कोटा, डा. कृष्णहरि बराल, दीपक सिलवाल, बिजु बज्र, पवित्रा, विरेन्द्र राई तथा राज क्षितिजको शब्द एवं कालीप्रसाद बास्कोटा, गैरे सुरेश, दीपक सिलवाल, बिजु बज्र, थानेश्वर गौतम तथा फणिन्द्र राईको संगीत छ। के सिरिज कुपण्डोलले बजारमा ल्याएको यो एल्बमको मूल्य २ सय ५० रुपैयाँ छ।

पुस्तक : स्पन्दनका रागहरु

पूर्वी नेपालको पाँचथर रविमा जन्मेर काठमाडौं एवं अमेरिकालाई कर्मथलो बनाएकी दीपा राई पुन सिर्जनशील स्रस्टा हुन्। उनले भर्खरै स्पन्दनका रागहरू नामक आफ्नो दोस्रो कविता संग्रह बजारमा ल्याएकी छिन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले प्रकाशित गरेको यो कविता संग्रह साहित्य सिर्जनामा सक्रिय दीपाको उत्कृष्ट कृति हो। कविता संग्रहका कवितामा विषयवस्तुगत विविधता पाइन्छ, जसमा देशप्रेम, प्रकृतिप्रेम एवं प्रणय मुख्य विषय बनेर आएका छन्। संग्रहमा आएका ५१ वटा कवितामा अनुभूतिजन्य विविध सन्दर्भर् कतै यथार्थमूलक त कतै स्वच्छन्द ढंगबाट प्रस्तुत भएको देखिन्छ।  कविता संग्रहको साधारण मूल्य १ सय ५० रुपैयाँ छ भने विशेष मूल्य ५ सय रुपैयाँ छ।

कला : सम्झनाको इनर एक्सप्रेस अफ वुमन

कलाकार सम्झना राजभण्डारीको इनर एक्सप्रेस अफ वुमन नेपाली महिलाहरूको अवस्था बुझाउने कलाकृति हो। आम नेपाली महिलाहरू हिजोआज पनि घरपरिवारकै वरिपरि केन्दि्रत हुन्छन्। चाडबाड, मेलापर्व एवं जात्रामात्रामा भने खुलेर नाचगान गरी खुसी प्रकट गर्छन्। यस्तैयस्ता भाव दर्शाउने उनका चित्रहरू उत्कृष्ट छन्। चित्रमा कालो रंगको प्रयोग गरेर महिलाहरूको पीडा झल्काइएको छ भने हरियो रंगद्वारा पर्व र वातावरणको संकेत गरिएको छ।

 Image