Successfully Copied

कर्जा लिने हो भने ?

बैंकहरूले हालै महिलाका लागि विशेष सुविधासहितकोे घर तथा गाडी कर्जा योजना प्रारम्भ गरेका छन्।

घर तथा गाडी कर्जा

बैंकहरूले हालै महिलाका लागि विशेष सुविधासहितकोे घर तथा गाडी कर्जा योजना प्रारम्भ गरेका छन्। यो कर्जामा ९ प्रतिशतमा गाडी तथा ७ दशमलव ९ प्रतिशतमा घर कर्जाको व्यवस्था छ। दुई वर्षसम्म व्याजदर परिवर्तन नहुने प्रकृतिको यो योजनामा अन्य सुविधा पनि उपलब्ध छन्। यो कर्जा लिने ग्राहकको सेवा शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था छ। घर खरिद तथा निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह हुने यो योजनामा एक व्यक्तिका लागि अधिकतम १ करोड रुपैंयाँसम्म कर्जा उपलब्ध हुन्छ। भुक्तानी अवधि अधिकतम दस वर्ष रहनेछ भने दुई वर्षपछि कर्जा चुक्ता गर्न चाहे अतिरिक्त शुल्क पनि लाग्दैन।

उपभोक्ता कर्जा

यो कर्जा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका गाविसहरूका लागि हो। यो कर्जा नियमित तथा स्थायी आम्दानीको स्रोत भएका व्यक्ति एवं जुनसुकै तलब भएका वा स्वरोजगार व्यक्तिहरूलाई उपलब्ध छ। यसमा नगरपालिका क्षेेत्रभित्र पर्ने घर/जग्गामा लगानी हुँदैन। यो कर्जा मोटरबाटो पुगेको जग्गा वा घर धितो राखेर प्राप्त गर्न सकिन्छ। ऋण तथा ग्यारेन्टी दिने व्यक्ति नेपाल राष्ट्र बैंकको कालोसूचीमा सूचीकृत भएको हुनुहुँदैन। ऋणी कम्तीमा २१ वर्ष उमेर पुगेको तथा कर्जा भुक्तानी गर्ने  अन्तिम समयमा ६० वर्ष ननाघेको हुनुपर्छ।

घरायसी खर्च कर्जा

ग्राहकहरूले तत्काल गर्जो टार्न र आफ्नो सामाजिक, आर्थिक तथा अन्य घरायसी व्यवहार मिलाउन वा दैनिक जीवनमा आउने हरेक प्रकारका घरायसी समस्या समाधान गर्न पनि अब कर्जा प्राप्त गर्न सक्छन्। सेवा निवृत्त कर्मचारीले आफ्नो पेन्सन पट्टाको प्रतिलिपिमार्फत यो कर्जा हासिल गर्न सक्छन् भने अन्य निकायमा कार्यरत कर्मचारी भए सम्बन्धित कार्यालयबाट कार्यरत पद, कार्यरत अवधि र वाषिर्क आय खुलेको प्रमाण अथवा करारमा कार्यरत भए करारको प्रतिलिपि प्रस्तुत गर्नुपर्छ। कुनै व्यापार-व्यवसाय गरिरहेका व्यक्तिले आफू वा आफ्नोे परिवारको सदस्यको नाममा कर्जा माग गर्दा व्यवसायको दर्ता प्रमाणपत्र, प्यान नम्बर तथा आयकर तिरेको रसिद, लेखा परीक्षण प्रतिवेदनका साथै व्यवसायीको तस्बिरसमेत पेस गर्नुपर्ने हुन्छ। यो कर्जाको व्याज मासिक रूपमा बुझाउनुपर्छ। कर्जा लिएको वाषिर्क किस्ता निर्धारण गरी दुई वर्षभित्र ऋण चुक्ता गर्नुपर्छ।

सवारी कर्जा

व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि नयाँ गाडी खरिद गर्न सवारी कर्जाले सहयोग पुर्‍याउँछ। खरिद गरेको पाँच वर्ष ननाघेको सेकेन्ड ह्यान्ड गाडी खरिद गर्न पनि यो कर्जा प्राप्त गर्न सकिन्छ। यो कर्जाको भुक्तानी पाँच वर्षमा पूरा गरिसक्नुपर्छ भने ऋण चुक्ता गर्नेे अवधिसम्म्ामा ६० वर्ष नकाट्ने नेपाली नागरिकले यो कर्जा प्राप्त गर्न सक्छन्। १८ वर्ष नाघेको र राम्रो मासिक आय हुने व्यक्तिलाई बैंकको सीमाभित्र रहने गरी सवारी कर्जाको व्यवस्था छ।

शैक्षिक कर्जा

बैंकहरूले शैक्षिक कर्जाको व्यवस्था गर्दै आएका छन्। नियमित आय स्रोत भएकाहरूले यो कर्जा प्राप्त गर्ने व्यवस्था छ। बैंकहरूले विद्यार्थीहरूलाई लक्षित गरी आकर्षक व्याजदरमा शैक्षिक कर्जाको व्यवस्था गरेका छन्। विदेशमा वा स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी बैंकहरूले यो कर्जाको व्यवस्था मिलाएका हुन्। बैंकले कलेज वा विश्वविद्यालयमा अध्ययनका लागि लाग्ने शुल्कका आधारमा शैक्षिक कर्जा उपलब्ध गराउँदै आएका छन्। कर्जा रकम बैंकले गरेको व्यवस्थाअनुसार प्राप्त गर्न सकिन्छ।

कृषि कर्जा

कृषि कर्जाले कृषिमा भविष्य खोज्ने समस्त नेपालीलाई सहयोग पुर्‍याउँदै आएको छ। यो कर्जा प्राप्त गरी पशु, माछा वा मौरी पालन, फलफूल तथा तरकारी खेती, नगदे बाली एवं जडीबुटी उत्पादन तथा प्रशोधन, कृषिमा आधारित हस्तकलाका साथै कृषि उपकरण आदि खरिद गर्न सकिन्छ। ऋणीको प्रकृति र बैंकको आवश्यक मापदण्ड पूरा गरेको  अवस्थामा यो ऋण उपलब्ध हुन्छ।

युवा स्वरोजगार कर्जा

बैंकहरूले तालिम प्राप्त बेरोजगार युवालाई बिनाधितो कर्जा उपलब्ध गराउँदै आएका छन्। नैतिकता धितो राखेर कर्जा प्राप्त गर्दै आएका युवाहरूले तालिम प्राप्त गरिसकेको हुनुपर्नेछ। विभिन्न सीपमूलक तालिम प्राप्त गरेको प्रमाणित कागजातका आधारमा यो कर्जा प्राप्त गर्न सकिन्छ। युवाले व्याजसहितको कर्जा चुक्ता गरे तिरेको व्याजको ६० प्रतिशत बोनसका रूपमा फिर्ता पाउने व्यवस्था छ। युवाले पाएको कर्जाबाट पशुपालन, जडीबुटी संकलन, अन्न तथा नगदेबालीका साथै कुखुरा एवं बंगुर पालनजस्ता क्षेत्रमा लगानी  गर्न सक्छन्।

व्यक्तिगत कर्जा

यो कर्जा निजी वा आफ्नो व्यक्तिगत आवश्यकता पूरा गर्न पाइने कर्जा हो। आफ्नो घर तथा जग्गा धितो राखी यो कर्जा प्राप्त गर्न सकिन्छ। नियमित आय हुने तथा राम्रो आयस्रोत भएका नेपाली नागरिकले यो कर्जा प्राप्त गर्न सक्छन्। धितो राखेको घर अथवा जग्गा मोटर बाटोले छोएको हुनुपर्छ। परिचय खुल्ने कागजात, घर तथा जग्गाको कागजात एवं नियमित आयस्रोतको प्रमाणित कागजात पेस गरेपछि बैंकहरूले कम्तीमा  ५ लाख रुपैंयाँभन्दा माथिको कर्जा उपलब्ध गराउँछन्।

घर कर्जा

घर बनाउन वा पुनर्निर्माण गर्न यो कर्जा लिन सकिन्छ। नियमित आयस्रोत भएका वा आय हुने काममा लागेका नेपाली नागरिकले यो कर्जा प्राप्त गर्न सक्छन्। धितो राखेको कागजात कानुनी रूपमा प्रमाणित तथा घर वा जग्गा भएको क्षेत्रमा यातायातको सुविधा भए कर्जा स्वीकृत हुनसक्छ। यो कर्जामार्फत कम्तीमा ४ लाखदेखि ५० लाख रुपैंयाँसम्म निकाल्न सकिन्छ।

- सरस्वती कटुवाल

 Image