Successfully Copied

साउन र सौभाग्यको महत्व

धर्म-संस्कृति जोगाउने कुरामा मात्र हामी सौभाग्यमा केन्दि्रत छौं। हिन्दू धर्मशास्त्रले श्रीमतीले सौभाग्यका सामग्री नलगाउँदा

ज्यो. पुष्पकला कौशिक, फलित ज्योतिष

धर्म-संस्कृति जोगाउने कुरामा मात्र हामी सौभाग्यमा केन्दि्रत छौं। हिन्दू धर्मशास्त्रले श्रीमतीले सौभाग्यका सामग्री नलगाउँदा श्रीमान्को आयु घट्ने र प्रगतिको बाधक भनिदिएको छ तर हामीले खाँदैमा श्रीमान् नअघाएजस्तै सौभाग्यका चिन्ह धारण गर्दैमा श्रीमान्लाई केही फरक पर्दैन। यी सब व्यक्तिगत सौन्दर्य वृद्धिका लागि गरिने कुरा हुन्। हाम्रो परम्परामा धर्मको आड लिएर श्रीमान् मात्र सबैथोक हुन् भन्ने भ्रम फैलाइएको छ। हामी नारीहरू पुरुषको सहयोगमा मात्र बाँचेका मानिएका छौं। सोर्‍ह शृंगार गर्दैमा श्रीमान् बलिया हुने होइनन्। पार्वतीले महादेवलाई स्वामीका रूपमा प्राप्त गर्न व्रत बस्दा रातो, हरियो तथा पहेंलो रंग प्रयोग गरी सोर्‍ह शृंगार गरेकीले अहिले पनि साउन महिनामा श्रीमान्का लागि त्यहीअनुरूप व्रत बसिन्छ। दुई वर्षअघि साउन महिनामा छोरा भएकाहरूले मागेर सौभाग्यका प्रसाधन प्रयोग गर्ने लहर चलेको थियो। धेरैले मेरी छोरी मात्र भएकीले त्यसो गर्नु पर्दैन भने। किन छोराको मात्रै दीर्घायु छोरीको चाहिँदैन ? यो विभेद हो।

सुषमा महरा, व्यवसायी तथा प्रोप्राइटर फेसियल हाउस

म विवाह नहुँदासम्म धर्म-संस्कृतिमा त्यति केन्दि्रत थिइन। माइती नेवार भएकाले तीज मान्ने चलन पनि थिएन तर ठकुरी खानदानमा विवाह गरेपछि श्रीमान्का लागि गरिने हरेक पूजापाठ, आराधना, व्रत आदि पूरा गरें। उहाँको दीर्घायुका लागि छपक्कै सौभाग्य सामग्रीहरू लगाइरहें तर मेरो जीवनमा जे घटना घट्यो त्यसपछि मलाई यी कुराप्रति कुनै विश्वास छैन। धर्मप्रति पनि विश्वास उड्यो। उहाँको स्वर्गारोहण भएको दुई वर्ष पनि पुगेको छैन। अहिले मेरो छोरालाई संस्कार सिकाउन मात्र मन नलागे पनि पूजा गर्छु। एकल महिला भए पनि घरपरिवारले मलाई सौभाग्य सामग्री छोड्न दिएका छैनन्। म उहाँकै परिवारको सहयोगमा बाँचिरहेकी छु। सायद परिवारको सहयोग, माया र मप्रति विश्वास हुँदैनथ्यो भने म अहिले रहन्थें रहँदिनथें थाहा छैन।  हरियो रंग भनेको प्रेमिल रंग हो भन्ने सुनेकी छु। साउन महिनामा श्रीमान्को माया प्राप्त गर्न हरिया पहिरन, चुरा-पोते लगाइन्छ भनिन्छ तर म भने हरियो रंग सुहाउने भएकाले लगाउँछु, कुनै विश्वाससँग जोडिएर होइन। म फेसनका लागि समसामयिक हुन रुचाउँछु।

कला राई,  महिला अधिकारकर्मी तथा निर्देशक, गोल्डेन पिक हाइस्कुल

मेरो विचारमा थोरै मात्र महिला छन् जसले श्रीमान्का लागि सौभाग्य लगाइँदैन भन्छन्।  धेरैजसो नेपाली महिला आफूलाई मन नलागे पनि श्रीमान्कै लागि लगाइदिन्छन्। मलाई लाग्छ, हामीले ती चीज लगाएर श्रीमान्को आयु बढ्ने, प्रगति हुने होइन। म पनि साडी लगाएका दिन टीका, चुरा लगाउँछु तर पाइन्ट लगाएका दिन केही लगाउँदिन। कति त खान मन लागेर पनि व्रत बस्छन् त्यो राम्रो होइन। मलाई एउटा प्रश्न गर्न मन लाग्छ किन महिलाले मात्र सोर्‍ह शृंगार गर्ने ? एउटी महिला मरिन् भने कतिपय पुरुषले भोलिपल्टै अर्की श्रीमती ल्याउने कुरा सोच्न थाल्छ तर पुरुष मरे भने श्रीमतीले सारा घरपरिवार थामेर राख्छिन्, बालबच्चा हुर्काउँछिन्। भनेपछि हाम्रो आयु बढाउन पुरुषले पो सोह्र शंृगार गरिदिनुपर्ने होइन र ? सर्प आउने सिजन साउनमा हरिया चुरा, हरिया लुगा लगाउँदा सर्पले डस्दैन भन्ने चलन छ। हामीले महिलालाई विभेद गर्ने कुरालाई संस्कृति बनाउनु हुँदैन। यसको व्याख्या र परिभाषा फेरिनुपर्छ।

देविका के.सी., लोक गायिका

मलाई एक प्रतिशत पनि विश्वास छैन यस्ता कुरामा। म विवाहित हुँ तर हरसमय सोर्‍ह शृंगारमा हिँड्दिन। आफूलाई सुहाउने भएकाले सुन्दर देखिन चाडपर्वहरूमा विशेष रूपमा सजिन्छु। म नास्तिक भने होइन, सोर्‍ह शृंगार गर्दैमा श्रीमान्को आयु बढ्छ भन्ने कुरामा विश्वास नभएकाले नलगाएकी हुँ। म साउनमा हरिया लुगा, चुरा-पोते लगाएर हिँड्नुलाई इन्जोयका रूपमा लिन्छु। साउन महिनामा वातावरणसमेत हरियो हुने भएकाले हरिया चुरा, पोते लगाएर हिँड्दा रमाइलो हुन्छ। मलाई लाग्छ शंृगारभन्दा पनि आफूभित्र भएको शिक्षा र ज्ञान नै गहना हो।

मिलु थापा, अध्यक्ष, वुमन्स क्रियसन

मेरी आमा तीजमा पानी नपिई व्रत बस्दा बिरामी पर्नुभयो त्यो देखेर आफू जीवनमा यसरी कहिल्यै व्रत बस्दिन भने पनि पछि रहर जागेर आयो र विवाहपछि २-४ वर्ष त्यसरी नै व्रत बसें। पछि गएर श्रीमान्ले मासु पनि खान हुने म चाहिँ किन केही नखाई व्रत बस्ने भन्ने लाग्यो। घरभित्र सीमित रहँदा व्रत बसे पनि बाहिर काम गर्न थालेपछि फराकिलो संसार देख्दै गएँ, त्यसपछि चोखो खाएर बस्न थालें। शृंगार नारीको सिम्बोल हो, संस्कार हो। म संस्कृति जोगाउने हिसाबले सौन्दर्य प्रसाधन प्रयोग गर्छु। विदेशमा भएको मेरो छोराको विवाहमा सबैले सेता पहिरन लगाए तर मैले रातै साडी लगाएँ। उनीहरूले जस्तै गरेको भए पनि मलाई त्यो विदेशी भूमिमा कसले देख्थ्यो र ? कसले छेक्थ्यो ? हामी जुन संस्कारमा छौं त्यो हाम्रो मन मस्तिष्कमा गढेकाले त्यसलाई नकार्न सकिँदैन। साउनमा हरियो र पहेंलो रंग फेसनकै रूपमा आइरहेको छ। हामी संस्कारमा चल्छौं, धर्ममा चल्छौं, त्यसैले पनि यस्तो चलन हामीलाई प्रिय छ।

सौजन्य : गीताञ्जली ज्वेल्स, दरबारमार्ग

 Image