Successfully Copied

कृषिमा नेपाली महिला

गत महिनाको नारी बहस 'कृषिमा महिला' पढेपछि केही लेख्न मन लाग्यो। कृषिप्रधान देश भनिने हाम्रो नेपालमा कृषिको अवस्था उति राम्रो छैन। अझ निर्वाहमुखी कृषि प्रणालीमा अघि बढिरहेको यो क्षेत्रमा लाग्ने महिलाहरूको अवस्था एकदमै विकराल छ। कृषि पेसा अँगालेर बसेका महिलाहरूको संख्या पुरुषको तुलनामा

गत महिनाको नारी बहस 'कृषिमा महिला' पढेपछि केही लेख्न मन लाग्यो। कृषिप्रधान देश भनिने हाम्रो नेपालमा कृषिको अवस्था उति राम्रो छैन। अझ निर्वाहमुखी कृषि प्रणालीमा अघि बढिरहेको यो क्षेत्रमा लाग्ने महिलाहरूको अवस्था एकदमै विकराल छ। कृषि पेसा अँगालेर बसेका महिलाहरूको संख्या पुरुषको तुलनामा कम भए पनि कष्ट बढी छ। नारीको जन्म हारेको कर्म भन्ने उखान नेपालका कृषक महिलाहरूमा लागू हुन्छ। महिलाहरू आफूले गरेको परिश्रमको उचित सम्मान एवं प्रतिफलबाट वञ्चित छन्। अझै पनि कतिपय अवस्थामा उनीहरू पहिलेभन्दा पनि बढी मानसिक दबाब झेलिरहेका छन् तर पनि बिनाकुनै हिच्किचाहट कर्मक्षेत्रमा डटिरहेका छन्। तथापि उनीहरूको समस्या कतैबाट सम्बोधन हुन सकेको छैन जुन एकदमै दुःखको कुरा हो।

कल्याणी थपलिया, नुवाकोट

महिला सिटमा पुरुष

सार्वजनिक यातायातका साधनहरूमा महिलाका लागि आरक्षणको व्यवस्था गरिएको छ। प्रस्ट देखिने गरी महिला तथा अशक्त सिट भनेर छुट्याइएको पनि छ तर त्यसको कार्यान्वयन भएको पाइँदैन। महिला तथा अशक्तहरूका लागि भनेर छुट्याइएको सिटमा बसेकाहरूलाई उठ्न आग्रह गर्दा कतिपयले त सहजै स्वीकार गर्छन् तर कतिपय भने वादविवादमै उत्रन्छन्। हालसालै मैले रत्नपार्कबाट भक्तपुर काँडाघारी जाने क्रममा त्यही स्थिति झेल्नुपर्‍यो। अधिकारको कुरा गर्दा नानाथरीको दुर्वाच्य सहनुपर्‍यो। पठित तथा सहरिया भनाउँदा शिक्षित स्वाँठहरू नै यसरी वादविवादमा उत्रदा रहेछन्। निम्नस्तरका भद्दा भनाइहरू सुन्नुपर्दा व्यर्थैमा आग्रह गरिछुजस्तो लाग्यो। बसका ड्राइभर र सहयोगी पनि त्यस्ताका अगाडि लाचार हुँदा रहेछन्। त्यस्तै हो भने आरक्षण प्रदान गरिनुको के अर्थ ? यो सार्वजनिक यातायातको मात्र कुरा होइन, आम प्रवृत्तिको कुरा पनि हो ?

सम्झना निरौला, काँडाघारी

महिला हिंसाविरुद्धका कुरा

हामीकहाँ 'पढायो पढायो पाठ, सोर्‍ह दुना आठ' भनेझैं जतिसुकै कुरा गरिए पनि महिला हिंसा रोकिएका  छैनन्। महिलाहरू विभिन्न प्रकारका हिंसा सहन बाध्य छन्। जुनसुकै बहानामा भए पनि यस्ता घटना हुनु सभ्य समाजका लागि कलंक हो। यस्ता घटनाले मुलुककै छविमा समेत गम्भीर आघात पुर्‍याउँछन्। तसर्थ महिला हिंसा रोक्नु मुलुकका प्रत्येक नागरिकको कर्तव्य हो। यस्ता कार्यका लागि एकल प्रयासले भन्दा सामूहकि प्रतिबद्धताबाट समस्याको समाधान हुन सक्छ। शिक्षा र चेतनाका कमीका कारण हुने महिला हिंसाका अधिकांश घटनालाई कम गर्ने उपाय सामाजिक जागरण नै हो। त्यसैले सरोकारवाला सबैले चेतनामूलक कार्यक्रम अघि सार्नु आवश्यक छ। जबसम्म चेतनाको बिस्तार हुदैन तबसम्म महिलाहरू पीडित भैरहने छन्।

विश्वासी राई, धरान

मनोरञ्जनमूलक समाचार बढाउनुपर्‍यो

नारी म्यागेजिनलाई सूचना र मनोरञ्जनमूलक पत्रिका भनिए पनि यसमा मनोरञ्जनमूलक समाचार भने निकै कम छापिन्छ। मनोरञ्जन समाचारमा पनि संगीत र सिनेमाका एक दुई टुक्रा मात्रै हुन्छ जुन पर्याप्त भएजस्तो लाग्दैन। फेरि महिला प्रधान पत्रिका भन्दैमा महिलाका मात्रै कुरा राख्नुपर्छ र ?

दिव्या कोइराला, विराटनगर

समान अधिकार आवश्यक

हिजोआजका महिला पुरुषभन्दा कुनै पनि कुरामा कम छैनन्। पुरुषले गर्ने सबै काम महिलाले गरेकै छन्। यस्तो अवस्थामा पनि महिलालाई हेर्ने पुरुष दृष्टिकोण भने लगभग उस्तै छ। अहिले पनि महिलालाई उपभोग्य सामानजत्तिकै मानेर विज्ञापनमा प्रयोग गरिन्छ। महिलामा निहित प्रतिभा, क्षमता, व्यक्तित्व एवं सिर्जनशीलताजस्ता महत्वपूर्ण पक्षहरूलाई बेवास्ता गरेर रूपका आधारमा प्रतिस्पर्धा गराइन्छ, रूपको छाँयामा गुण दबाइन्छ। यस्तो उपभोगवादी चिन्तनले महिलालाई पुरुषसरहको हैसियत प्रदान गर्दैन। जब कि पहिले श्रीमान्कै कमाइमा निर्भर रहनुपर्ने महिलाहरू हिजोआज कामकाजी हुन थालेका छन्। पहिले उनीहरू आफ्नो आय पनि नभएको र परिवारमा शान्ति पनि होस् भनेर जस्तोसुकै अवहेलना पनि सहेर बस्थे भने कामकाजी हुन थालेसँगै चेतनामा वृद्धि भएपछि उनीहरू आत्मसम्मान र स्वपहिचानका लागि कुनै सम्झौता गर्न नहुने रहेछ भन्ने निष्कर्षमा पुगेका छन्। यस्तो अवस्थामा समान अधिकारको अपेक्षा गर्नु अस्वाभाविक होइन।  तथापि समान अधिकारका लागि महिला स्वयंले सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिकजस्ता महिला अधिकारका विरुद्ध खडा भएका पर्खाल भत्काउनु आवश्यक छ।

विनीता थापा, चितवन

बहस सान्दर्भिक लाग्यो

गत महिनाको नारी निकै पठनीय लाग्यो। महिलाहरूको प्राथमिक मुद्दाका विषयमा जानकारहरूसँग गरिएको कुराकानी मन पर्‍यो तर संविधान नै नबन्ने हो कि भनेजस्तो अवस्थामा महिलाहरूले नयाँ संविधानबाट धेरै आशा गर्नुको के लाभ र ? यद्यपि प्रश्न सार्‍है सान्दर्भिक लाग्यो। वर्तमान समय समानता र सहअस्तित्वको भएकाले स्वतन्त्रता पाउनु हरेकको अधिकार हो। बहसमा शर्मिलाजीले उठाउनुभएको महिलाको आर्थिक मुक्तिको कुरा होस् वा अन्जुजीले उठाउनुभएको समानताको कुरा अथवा मोहनाजीले उठाउनुभएको कानुनी तथा संवैधानिक रूपमा महिलाको पहिचान हुनुपर्ने कुरा वा ओनसरीजीले उठाउनुभएको हरेक प्रकारका विभेद अन्त्यको कुरा होस् सबै उत्तिकै सान्दर्भिक छन्। यी सबै महिलाका प्राथमिक मुद्दा हुन् जुन महिला सशक्तिकरणका लागि अपरिहार्य छन्।  

तारा दाहाल, ओखलढुंगा (हाल ः चावहिल, काठमाडौं)

गतांकको नारीमा प्रकाशित डीएसपी गंगा पन्तको एकदिन हेर्दा उनलाई सलाम गर्न मन लाग्यो।

      - सविता श्रेष्ठ, गोंगबु

नारीमा प्रकाशित हुने योग टिप्स मजस्ता महिलाका लागि सार्‍है उपयोगी छ। टिप्सका लागि रीता कार्कीलाई धन्यवाद।

      - शकुन्तला प्रधान, चावहिल

अचेल पैसाभन्दा महत्वपूर्ण के छ र ? पैसाबिना बाँच्न पनि त सकिँदैन। (पैसा ए पैसा, नारी असार)

      - नर्मदा पाण्डे, धादिङ

शिक्षक एवं अभिभावकहरूले विद्यार्थीलाई कसरी पढाउनुपर्छ भन्ने कुरामा ध्यान दिऊन्। (किन फेल हुन्छन् बालबालिका, नारी असार)

      - सरस्वती धमला, सीतापाइला

मिलेको जोडी देख्दा खुसी लाग्यो, एक-अर्कामा रमाएर बाँच्न सके जीवन सार्थक बन्छ भन्ने कुरा सिकें। (दिलभूषणकी चालक शिखा, नारी असार)

      - पवित्रा शाह, दाङ

नारीमा प्रकाशन हुने सौन्दर्य प्रसाधनसम्बन्धी जानकारी उपयोगी हुन्छन्।

      - विमला गौतम, वनस्थली

बालमैत्री शिक्षाका नाममा फस्टाएको व्यापारलाई निरुत्साहित गर्ने हो भने एसएलसीको रिजल्ट राम्रो आउँथ्यो कि ?

      - सजना गिरी, सातदोबाटो

नारी टिप्स महिलाका लागि निकै उपयोगी छ, यसको क्षेत्र फराकिलो होस् र यसले निरन्तरता पाओस्।

      - रीता बलामी, दक्षिणकाली

औषधि सेवन नगरी छुटकारा पाउन सकिने रोगका लागि अनावश्यक रूपमा औषधि खानु हुँदैन भन्नेमा म पनि सहमत छु। (औषधिबिना पनि बाँच्न सिकौं, नारी असार)

      - कृपा बस्नेत, ललितपुर

परिवर्तनका संवाहक नारीहरूलाई मेरो सलाम। (परिवर्तनका संवाहक, नारी असार)

      - सौरभी आचार्य, कलंकी

गतांकमा प्रकाशित रंगमञ्च कलाकार सिर्जना सुब्बाको तस्बिर निकै आकर्षक लाग्यो।

      - रमिता तामाङ, बालाजु

 Image